काठमाडौं ।  त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।   कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

दाङ :  निर्वाचन आचारसंहिता विपरित चामल बाँडेको भन्दै नेकपा एकिकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।    शहरी विकास मन्त्री समेत रहेका चौधरीले निर्वाचन आचारसंहिता विपरित चामल बाडेको शिर्षकमा एक अनलाइनमा समाचार प्रकाशन भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।    निर्वाचन आयोग नेपालले मन्त्रीलाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?’   स्पष्टीकरणपत्रमा तपाईंबाट निर्वाचन आचारसहिताको उल्लंघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ? भन्ने प्रश्न गरिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।   तर, मन्त्री चौधरीले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति लिएका थिएनन् ।    मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा शहरी विकास मन्त्री तथा नेकपा एकिकृत समाजवादीका नेता चौधरी दाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार रहेका छन् । भने यस क्षेत्रमा उनका प्रतिष्पर्धी नेकपा एमालेकी शान्ता चौधरी रहेकी छिन् । 

  चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमाँै सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको सङ्ख्या केही बढेको थियो । यस वर्ष पनि चाडपर्व सकिएपछि पुनः घुमौँ सौराहा भन्दै देशका सातवटै प्रदेशमा पुग्ने तयारीमा सौराहाका व्यवसायी जुटेका हुन ।      क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा आन्तरिक पर्यटक बढाउन देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले यसवर्ष देशका सातै प्रदेश पुग्ने योजना रहेपनि पहिलो चरणमा पाँच प्रदेशमा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । “कोरोनाका कारण भएको लकडाउनपछि प्रदेश १ र मधेश प्रदेशमा अभियान सञ्चालन गरेका थियौँ त्यो प्रभावकारी बन्यो”, उहाँले भन्नुभयो । यसपटक देशका सबै प्रदेशमा पुगेर त्यहाँका व्यवसायी, सङ्घ संस्थाका प्रतिनिधि, वुद्धिजीवी, नागरिक समाज र पत्रकारसँग छलफल गर्दै सौराहा घुम्न आउनका लागि निमन्त्रणा दिइने उहाँले बताउनुभयो । भट्टराईका अनुसार अभियानका क्रममा यहाँका पर्यटकीय गतिविधिका दृश्य देखाइनेछ । “प्रदेश सरकारले घोषणा गरेको बागमती प्रदेश भ्रमण वर्ष अभियानलाई पनि टेवा पुग्नेगरी ‘घुमौँ सौराहा’ का कार्यक्रम सञ्चालन हुनेछन्”, उहाँले भन्नुभयो ।      बागमती प्रदेश सरकारले सौराहामा नै कार्यक्रमको आयोजना गरेर बागमती प्रदेश भ्रमण वर्ष सुभारम्भ गरिसकेको छ । ‘घुमौँ सौराहा’ अभियानमा छुट प्याकेजकोसमेत घोषणा गरिने भट्टराईले बताउनुभयो ।       यो समयमा सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । यतिबेला सौरामा चाडपर्वका कारण केही चहलपहल बढे पनि सन्तोषजनक नरहेको उहाँले बताउनुभयो । “अहिले २० देखि ३० प्रतिशत पर्यटक मात्र सौराहा आएका छन्, केही विदेशी पर्यटक पनि छन्”, उहाँले भन्नुभयो । मनसुन सकिएको र जाडोयाम सुरु भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा सौराहाका व्यवसायीले गरेका छन् ।      रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल सौराहा (रेवान) का अध्यक्ष नरेश गिरीले सौराहामा पर्यटकको चहलपहल केही बढेको र ‘घुमौँ सौराहा’ अभियानले यहाँ आन्तरिक पर्यटक थप बढ्ने अपेक्षा गर्नुभयो । “यही रफ्तारमा बढ्दै गयो भने यहाँ पर्यटकको आवागमन राम्रै हुन्छ”,उहाँले भन्नुभयो, “चुनावका कारण केही समय पर्यटक आगमन केही कम भए पनि चुनाव पछि बढ्नेछ ।” उहाँले पछिल्लो समय देशव्यापीरुपमा भएको आर्थिक मन्दीका कारण पनि पर्यटन क्षेत्र चलायमान हुन नसकेको बताउनुभयो गर्नुभयो ।       रेवानले सौराहा आउने आन्तरिक पर्यटकलाई लक्षित गरेर नियमित १० प्रतिशत छुट दिइरहेको गिरीले बताउनुभयो । सौराहाको पार्क सफारी रिसोर्टका निर्देशक योगेश अधिकारीले दसैँसम्म पानी परेका कारण यसवर्ष सिजनमा पनि पर्यटक सौराहा आउन नसकेको बताउनुभयो । उहाँले चिनियाँ पर्यटक नेपाल नआएसम्म नेपालको पर्यटकीय क्षेत्र पुरानो लयमा फर्कन नसक्ने बताउनुभयो । चितवनसँग अन्य जिल्ला जोडिने सडक सञ्जाल राम्रो नहुँदा पनि यहाँको पर्यटन थप चलायमान बन्न नसकेको उहाँको भनाइ छ ।      नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा छ भने नारायणगढ–मुग्लिन सडकखण्डमा पनि यो वर्ष मात्रै दुई दर्जन बढी पटक पहिरो खसेर सडक अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुलर्भ एकसिङ्गे गैँडा, बाघ र घडियाल गोही यहाँका मुख्य आकर्षण हुन् । यहाँ हात्ती सफारी, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइदै आएको छ । सौराहामा ठूला–साना एक सय ४० होटल छन् भने करिब एक सय रेष्टुराँ सञ्चालनमा छन् । 

  बागलुङ । बागलुङका दुई नगरपालिका बालमैत्री नगर बनाउने अभियानमा जुटेका छन् । बागलुङ नगरपालिका र गलकोट नगरपालिकाले जिल्लामा सबैभन्दा पहिले बालमैत्री पालिका बनाउन थालेका हुन् । गलकोट नगरपालिकाले गत वर्षदेखि अभियान सुरु गरेको थियो भने बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षदेखि सुरु गरेको छ ।     नगरलाई बालमैत्री बनाउन विद्यालय तहबाटै अभियान सुरु गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । उहाँले विद्यालय र स्वास्थ्य संस्थादेखि नै अभियान सुरु गरेको भन्दै स्थानीय शासन तथा बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ वटा शिक्षा र १३ वटा स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट काम थालिएको बताउनुभयो ।       समुदायमा पूरा गर्ने सूचकका लागि विभिन्न कार्यक्रम भइरहेको सापकोटाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बालमैत्री नगर निर्माणका लागि हाम्रो अभियान तीव्ररुपमा सचालन भइरहेको छ, बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ शिक्षा र १३ स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट हामीले काम सुरु गरेका छौँ ।”      नगरप्रमुख वसन्तकुमार श्रेष्ठ निर्वाचित भएर आएपछि कार्यभार सम्हाल्दा नै बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्घोष गर्नुभएको थियो । श्रेष्ठले बागलुङ नगरपालिकाभित्र विद्यालय धेरै भएको हुँदा विद्यालय तहबाटै यो अभियान सफल हुने बताउनुहुन्छ । अभियान तीव्ररुपमा चलिरहेको हुँदा एक वर्षभित्रै बालमैत्री नगर घोषणा गर्न सकिने उहाँको भनाइ छ ।     “बालमैत्री नगर बनाउन चाहिने सूचकमध्ये केही हामीले पूरा गरिसकेका छौँ भने केही पूरा गर्ने तयारीमा छौँ, हाम्रा अभियान तीव्ररुपमा छ, यहाँ विद्यालय धेरै भएको हुँदा विद्यालयस्तरबाटै अभियान सुरु गरेका छौँ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “आगामी वर्षसम्म नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी काम भएको छ ।” बागलुङ नगरपालिकाभित्र ८८ सामुदायिक र १५ निजी गरी एक सय तीन विद्यालय छन् ।       गलकोट नगरपालिकाले पनि अभियानलाई तीव्र पारेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उहाँले आवश्यक केही पूर्वाधार र समुदायस्तरबाट पूरा गर्ने सूचक मात्रै बाँकी बताउनुभयो । नगर प्रमुख गैरे भन्नुहुन्छ, “यो अभियान गत वर्षदेख सुरु गरेका हौँ, धेरै काम भएका छन्, अब केही काम बाँकी छन्, त्यो पनि चाँडै सक्नेछौँ र मङ्सिरसम्ममा बालमैत्री नगर घोषणा गर्छौं ।”     विद्यालयमा पुस्तकालय, खेलमैदान, शौचालय, धारालगायतका आवश्यक पूर्वाधार बालबालिकाको पहुँच पुग्नेगरी निर्माण भएको गलकोट नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष र भण्डारीले बताउनुभयो ।       उहाँले विद्यालयको अचल सम्पत्ति संरक्षण गर्ने, अनिवार्य सूचना अधिकारी तोक्ने, प्रअको स्वीकृतिविना शिक्षक बाहिर नजाने, बालबालिकाको स्वास्थ्य, पूर्ण खोप, सरसफाइ र शुद्ध खानेपानीको व्यवस्थापनमा विद्यालय तहमै व्यवस्था गर्ने काम भइरहेको बताउनुभयो ।     यहाँका कही विद्यालयमा छात्रा महिनावारी हुँदा नुहाउने, कपडा फेर्ने र पर्याप्त सेनिटरी प्याड लगाउन पाउने गरी पूर्वाधार निर्माण भएर प्रयोगमा आइसकेको भण्डारीको भनाइ छ । उहाँका अनुसार गलकोट बालमैत्री नगर घोषणा गर्न थोरै काम मात्रै बाँकी छ । भण्डारी भन्नुहुन्छ, “बालमैत्री नगर बनाउने हाम्रो अभियान अन्तिम चरणमा पुगेको छ, असोज मसान्तमै गर्ने भन्ने थियो चुनावले गर्दा गर्न सकिएन, चुनावपछि गलकोटलाई बालमैत्री नगर घोषणा गछौँ ।”

  काठमाडौं । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ ।    बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पु¥याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिनुभयो । उहाँले कृषितर्फ बाढीले पु¥याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । “हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “वडा नं ५, ६, ७, ८ र ९ मा धानबालीमा बढी क्षति भएको छ । कतिपय किसानको बाली खेतमै गलेको छ ।”   पालिकाभरिको कुरा गर्दा २० प्रतिशत बढी बालीमा क्षति भएको छ । डुबान भएका क्षेत्रमा पानी जमेर धानबाली गलेर नोक्सान भएको उहाँको भनाइ छ । टीकापुर–५ का किसान सुधा चौधरीको १० कठ्ठा जमिनमा लगाएको धानबाली सबै नोक्सान भएको छ । “धान पाकेर काट्न तयार भएको थियो, एक सातासम्म खेत पानीले जलमग्न भयो, पानी सुक्नेबेला खेत हेर्न जाँदा धानको एक बोट पनि टाढो थिएन, सबै धान मल भइसकेको थियो”, उहाँले भन्नुभयो, “ पानीसँगै हावा चलेकाले धानबाली ढल्यो, त्यसपछि एक सातासम्म खेत जलमग्न भएपछि बाली रहने कुरै भएन ।”   टीकापुर–८ का राहुल साउदको पनि धानबालीमा क्षति भएको छ । कर्णाली नदीको भङ्गालो बस्तीमा पसेपछि उहाँको धानबाली लगाएको खेत बालुवाले भरिएको छ । “गत वर्ष काटेको धान बाढीले बगायो, यस वर्ष सबै खेतमै सकियो”, उहाँ भन्नुहुन्छ, “अब के खाने होला रु हामीले दुई वर्षसम्म खेतको बाली देख्न पाउने भएनौँ । किन खेती लगाइएछ जस्तै लागेको छ ।”   बाढीले भजनी नगरपालिकामा कृषितर्र्फ ठूलो क्षति भएको छ । भजनीमा कृषिजन्य उत्पादनमा ९० प्रतिशत क्षति भएको छ भने ७० प्रतिशत धानबालीमा क्षति भएको पालिकाले जनाएको छ । “समग्रमा ९० प्रतिशतमाथि क्षति भएको छ । धानबालीका कुरा गर्दा कोही–कोही किसानको उच्च जमिनमा रहेको बाली बचेको देखिन्छ”, कृषि शाखा प्रमुख हरिलाल रेग्मी भन्नुहुन्छ, “बाढीले लगातार दुई वर्ष किसानले उत्पादन लिन पाएनन्, भजनीमा जस्तो बिचल्ली कतै भएको छैन । हामी तथ्याङक ‘इन्ट्री’ गर्ने काम गरिरहेका छौँ । त्यसपछि क्षति यकिन विवरण भन्न सकिन्छ ।”   कृषि शाखा प्रमुख रेग्मी भजनीमा माछापालक ४० किसानका सबै क्षति भएको बताउनुहुन्छ । “पशुपालनमा क्षति भएको छ । कुखुरा, बङ्गुरपालनमा समेत त्यस्तै क्षति छ” उहाँले भन्नुभयो, “धानबाली कसै–कसैको मात्र बचेको छ । बचेको बालीमा समेत बाला छैन, अघिल्लो पटकको बाढीले फूल झारेकाले बाला छैन ।”   भजनी–८ का धनलाल चौधरीको धानबाली सबै नोक्सान भएको छ । घरमा बाढी पसेपछि हुलाकी सडक भागेका धनलाल असोज २६ गते घर फर्कँदा उहाँको न त घर बचेको थियो, न त खेतको धानबाली । “घरका सबै भित्ता भत्केका, अन्न राखेका माटाका डेहरी ९भकारी० भत्किएर अन्न बगिसकेका, केही सडेका थिए”, उहाँले गुनासो गर्नुभयो, “खेततिर हेर्दा बाली सबै ढलेर नोक्सान । धानबाली ढलेर धानबालीमाथि हिलो थुपारिएको छ । एक दाना पनि धान देख्न पाइएन ।” यस्तो समस्या यहाँका अधिकांश किसानको छ । कतिपयले बचेका धानका बाला काट्न थालेका छन् तर जताततै जलमग्न भएकाले सुकाउने ठाउँ छैन । “अधिकांशको बाली खेतमै सकियो, कतिपय बचेका किसान बाला टिप्न थालेका छन्”, स्थानीय जयप्रसाद ढुङ्गानाले भन्नुभयो, “बाला टिपेकाहरू सडकमा, विद्यालयमा, उच्च स्थानमा लगेर सुकाउन थालेका छन् । यस क्षेत्रका किसानसँग अब धानको बीउ पनि रहने देखिएन । अर्को वर्ष किसानलाई बीउ पनि खोजाखोज गर्नुपर्ने अवस्था आउँछ ।”    जानकी र जोशीपुर गाउँपालिकामा पनि बाढीले धानबालीमा क्षति भएको छ । जानकीमा वडास्तरमा तथ्याङ्क लिने काम भइरहेको पालिकाले जनाएको छ । जोशीपुरमा पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको पालिकाले जानकारी दिएको छ । किसान स्थानीय सरकारले राहतमा खाद्यान्नसँगै हिउँदे खेतीका लागि बीउ, मल, खेती गर्न आवश्यक खर्चमा सघाइदिनुपर्ने माग गर्छन् । उनीहरूले हिउँदे खेती गर्न पाएमा किसान बाँच्ने बताउँछन् । “धान बेचेर हिउँदे खेतीको जोहो गर्ने हामी अब कसरी हिउँदे बाली लगाउनु”, स्थानीय रमेश विकले भन्नुभयो, “हिउँदे बालीका लागि राखिएको बीउ पनि रहेन, किसानलाई जस्तो पीडा कसैलाई छैन ।”

                                                                          गोरखा: गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गरेका छन् ।   प्रतियोगिता अन्र्तगत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन ।   क्लासिकलतर्फको अहिलेसम्मको ५ खेलमध्ये फुयाँलले ४ खेलमा जीत हात पारेका छन् भने एक खेलमा मात्र पराजय भएको निर्णायक दिपेश गिरीले जानकारी दिए ।   प्रतियोगिता अन्र्तगत पाँचौ चरणको क्लासिकल इभेन्टमा फुँयालले नेपाल पुलिस क्लबका क्षतिज भण्डारीसंग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल भएका हुन् ।    फुँयालले क्लासिक इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुवीर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गरेका हुन् ।   प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रुपेश जैसवालले ४÷४ खेल जितेर फुँयाललाई पच्छ्याई रहेका छन् ।

  पोखरा । गण्डकी प्रदेशका पर्यटनमन्त्री माननीय मणिभद्र शर्माले पोखरा रंगशालामा भइरहेको नवौँ राष्ट्रिय खेलकुदमा मार्सल आर्टस्अन्तर्गतको हाप्किडोलाई प्रदर्शन तथा प्रतियोगितामा स्थान नदिइनु  दुखद्  भएको बताएका छन् ।   नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको नेपाल हाप्किडो संघको हाप्किडो खेल प्रदर्शनी, राष्ट्रिय प्रशिक्षक लिडरसिप तथा रेफ्री सेमिनार कार्यक्रममा बोल्दै मन्त्री शर्माले हाप्किडोलाई राज्यले अन्य खेल सरह हेर्न नसक्नु दुखपूर्ण भएको बताउँदै यस्तो कार्य खेलकुदका लागि असल अभ्यास नभएको बताए । खेलकुदका गतिविधिले पनि नेपालको पर्यटनमा टेवा पुर्याएको भन्दै मार्सल आर्टअन्तर्गतको हाप्किडो खेललाई राज्यले राष्ट्रिय खेलका रुपमा नचिनेकोमा दुख व्यक्त गर्दै शर्माले अब आउने दिनमा मार्सल आर्टस्अन्र्तगतका हाप्किडोलाई गण्डकी प्रदेश सरकारले ध्यान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।   गण्डकी प्रदेश हाप्किडो संघको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटनमन्त्री माननीय मणिभद्र शर्माले खेलकुदका गतिविधिले पनि नेपालको पर्यटनमा टेवा पुर्याएको भन्दै मार्सल आर्टअन्तर्गतको हाप्किडो खेललाई राज्यले राष्ट्रिय खेलका रुपमा नचिनेकोमा दुख व्यक्त गरे । शर्माले पोखरा रंगशालामा भइरहेको नवौँ राष्ट्रिय खेलकुदमा हाप्किडोलाई प्रदर्शन तथा प्रतियोगितामा पनि स्थान नदिएकोमा यो कार्य खेलकुदको असल अभ्यास नभएको बताउँदै अब आउने दिनमा मार्सल आर्टस्अन्र्तगतका हाप्किडोलाई गण्डकी प्रदेश सरकारले ध्यान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।   ग्लोबल हाप्किडो एसोसियनका संस्थापक तथा सिनियर ग्राण्ड मास्टर ही क्वाल लीले हिजो आफूले हाप्किडोको स्थापना गर्दा धेरै सङ्घर्ष गरेको बताउँदै अहिले यस खेल नेपालमा पनि विस्तारित भएकोमा खुसी व्यक्त गरे । उनले राज्यले सहयोग गरेपनि नगरेपनि खेलाडीको काम खेल्ने भएको बताउँदै लीले भविष्यप्रति आसावादी भएर खेल्नुपर्ने बताए । खेलाडीहरुको हाप्किडो प्रदर्शनी उत्कृष्ट भएको बताउँदे लीले हाप्किडोको उज्ज्वल भविष्य रहेको बताए ।   त्यस्तै साउथ एसियन हाप्किडो संघको अध्यक्ष, नेपाल हाप्किडो संघका संस्थापक तथा केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले राष्ट्रिय खेलकुदमा राज्यले हाप्किडोलाई प्रतियोगिताका रुपमा सहभागी नगरेमा दुख लागेको बताए । मगरले हाल नेपालभर हाप्किडो खेल निशुुल्क रुपमा खेलाइरहेको बताउँदै हाप्किडो खेलबाट उत्पादित खेलाडीको भविष्यका बारेमा राज्यले सोच्नुपर्ने बेला आएको बताए ।   हाप्किडो संघ गण्डकी प्रदेशका अध्यक्ष खेमबहादुर गुरुङले राज्यले हाप्किडोलाई उपेक्षित गरेता पनि हाप्किडोले देशभर निशुल्क खेल खेलाउन सफल भएको र अहिलेसम्म हाप्किडोको सातौँ सेमिनार गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए ।   कार्यक्रममा हाप्किडो संघ इण्डियाका अध्यक्ष आनन्देश्वर पाण्डे, हाप्किडो संघ इण्डियाका कोषाध्यक्ष अमनदेव यादव, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेल, गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तथा नेपाल ओलम्पिकका केन्द्रिय उपाध्यक्ष तेजबहादुर गुरुङ,  गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य तथा नेपाल हाप्किडो संघका केन्दीय सदस्य तारामाया थापा मगरलगायतले बोलेका थिए ।   अमरसिंह चोकबाट पञ्चेबाजा र झाँकीसहितको र्याली बुद्धचोकको कान्तिपुर पार्टी प्यालेसमा आयोजित कार्यक्रम हाप्किडो संघ गण्डकी प्रदेशका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जुना थापाले गरेकी थिइन् ।   गण्डकी प्रदेशका ३०० खेलाडीको उपस्थित भएको कार्यक्रममा हाप्किडो खेलको डेमो प्रदर्शनी, हाइफल तथा लङफल, दिनेश गुरुङ र समीर गुरुङको फाइटलगायतको खेल र बालकल्याण संस्था सेंदीका नानीको नृत्य प्रदर्शन गरिएको थियो ।   कार्यक्रममा प्रतिभा आमा समूह, सृजना आमा समूह, लालीगुराँस आमा समूह, वडा नम्बर १०,बुद्धचोक आमा समूह, शैलुङमार्ग टोल विकास संस्था, टप्स स्कुल, एसओएस हर्मन माइनर स्कुल, प्यारामाउन्ट स्कुल र बेथानी स्कुलका विद्यालय तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा कर्माचार्य ग्रुपले पनि कार्यक्रममा सहयोग गरेको थियो । 

पोखरा : त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडीको खेलको क्रममा मृत्यु भएको छ ।    पोखरा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका २६वर्षीय प्याराग्लाइडिङ खेलाडी  निसिम थापाको खेलका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।    सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेको थिए । 

   बागलुङ । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले गाउने गर्छन् । केहीले एकलरूपमा पनि गाउने गर्छन् । अहिले बजारमा आएका आधुनिक र लोकदोहोरीलगायतका गीतले गर्दा यानीमाया गीत गाइन छाडेको बूढापाकाको भनाइ छ ।   धवलागिरिको म्याग्दी, बागलुङमा बढी चर्चित यानीमाया गीत पर्वतका मगर तथा मुस्ताङका केही थकाली समुदायले गाउने गरेको पाइन्छ । खासगरी आदिवासी, जनजाति समुदायमा लोकप्रिय मानिने यो गीत मगर र छन्त्याल जातिले बढी गाउने गर्छन् । बजारमा भन्दा बढी गाउँहरूमा गुन्जिने यानीमाया गीत कम गाइन थालेको पाइन्छ ।   बागलुङ जिल्लाको निसीखोलाका बूढापाकाले अहिले पनि मेला महोत्सव हुँदा यो गीत गाउने गरेको पाइन्छ । तर पहिलेको जस्तो रौनक भने छैन । गाउँदा–गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरी गीतभन्दा विल्कुलै फरक हुन्छ । गीतको बीच–बीचमा यानीमाया जोडेर गाइने हुँदा यसलाई यानीमाया गीत भन्ने गरिएको निसीखोला गाउँपालिका–६ सिपकी ५९ वर्षीया तिर्सना घर्तीमगरले सुनाउनुभयो । उहाँले यो गीत नयाँ पुस्ताले नजान्ने बताउनुभयो ।   “गीतहरू सबै एउटै हुँदैनन्, शब्दै एउटै भए पनि त्यसको लय फरक हुन्छ, यानीमाया गीतको बीच–बीचमा यानीमाया भनेर जोडिन्छ, त्यही भएर यसलाई यानीमाया गीत भन्ने गरिएको हो, पहिले–पहिले हामीहरूले निकै गाउने गथ्र्यौँ”, उहाँले भन्नुभयो, “अहिले यो गीत कहीँकतै पनि सुनिदैन, अहिलेका युवायुवतीले गाउन जान्दैनन्, हामी पनि बूढो भइयो, पहिलेको जस्तो स्वर तान्न सकिँदैन, यो गीतका लागि धेरै लामो स्वर तान्नुपर्छ, यानीमाया गीत गाउँदा–गाउँदै कति रुन्छन्, कति हाँस्छन्, यो गीतमा मान्छेलाई रुवाउने र हँसाउन सक्ने शक्ति हुन्छ ।”   घर्तीमगरले आफूहरूले रोधी बस्दा पनि यानीमाया गीत गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडिएको बताउनुभयो । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक र लोकगीतले यानीमाया गीत हराउन थालेको उहाँको भनाइ छ । घर्ती यानीमाया गीत कलाकारले पनि कमै मात्रा गाउने गरेको बताउनुहुन्छ ।   “हाम्रो गाउँतिर पहिले–पहिले रोधी बस्ने चलन थियो, रोधीमा तरुनी–तन्नेरी भएर गीत गाउने गथ्र्यौँ, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छाडिएको हो”, उहाँले भन्नुभयो, “यो गीत त कलाकारले पनि गाएका छैनन्, पुराना केही कलाकारले गाएको त सुनियो तर अहिले सुनिदैन ।”   उहाँले रोधीमा यानीमाया गीत गाउँदा–गाउँदै आफूले विवाहसमेत गरेको सुनाउँदै अहिले त्यो चलन हटेको बताउनुभयो । गीत गाउँदा–गाउँदै यस क्षेत्रमा धेरैले विवाह गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले त रोधी बस्ने, गीत गाउने, गीत गाउँदा गाउँदै तरुनी तन्नेरी मन पर्यो भने बिहे गर्ने चलन थियो, अहिले रोधी पनि बस्न छाडियो, त्यसरी बिहे पनि हुँदैन, गीत गाउनेहरू पनि छैनन्, हामीभन्दा पछाडिका नयाँ युवाले यो गीत गाउँदैनन् ।”       बागलुङ गलकोटका पूर्णबहादुर श्रीषले यानीमायासँगै गीतमा मौलिकता हराउँदै गएको सुनाउनुभयो । उहाँले यानीमाया गीतहरूमध्ये विशिष्ट गीत रहेको जनाउँदै पछिल्लो समय धवलागिरि क्षेत्रमै निकै कम गुन्जिने बताउनुहुन्छ । “यानीमाया गीतले मौलिकता बोकेको थियो, त्यो गीतले जस्तो अन्य कुनै पनि गीतमा मौलिकता पाइँदैन, यसले साङ्गीतिक क्षेत्रमा सिङ्गो धवलागिरिको पहिचानलाई बेग्लै बनाउन सफल भएको थियो, अहिले हराउन थालेको”, उहाँले भन्नुभयो ।   उहाँले लोक, आधुनिक र पप गीतजस्तै रेकर्ड भएर विभिन्न माध्यमबाट नागरिकसम्म पुगेको भए अरु गीत ओझेलमा पर्ने बताउनुभयो । यानीमायासँगै सुनिमाया र शिरफुलेमाया पनि हराएको श्रीषको भनाइ छ । “यानीमाया तीन दिन तीन रात गाएर पनि सकिँदैन, गाउँदै गयो भने यसको गहिराइमा पुगिन्छ, गहिराइबाट निस्किन समय लाग्छ”, उहाँले भन्नुभयो, “अहिले गाइने गीतहरुजस्तै यानीमाया गीत पनि रेकर्ड भएर रेडियो, टेलिभिजन र मोबाइलमा आएको भए, अरु गीत ओझेलमा पर्ने थियो, यानीमाया गीत गाउन सुन्न थालियो भने अरु गीत सुनेजस्तो, गाएजस्तो हुन्न ।”   उहाँले यानीमाया गीत टिभी, रेडियोमा सुनेर नभई बूढापाकाले गाएको सुनेर सिकेको बताउनुभयो । कलाकारले यो गीतलाई रेकर्ड गरेर जनस्तरमा ल्याउन सके संरक्षित हुन सक्ने उहाँको भनाइ छ ।

  काठमाडौँ । सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँदै गएका छन् ।   केही वर्ष अघिसम्म परम्परागत र ढड्डामा विवरण राखेर सेवा प्रदान गरिरहेका संस्था अहिले कम्प्युटराइज हुनुका साथै खानेपानीसँग सम्बन्धित विभिन्न सफ्टवेयर प्रयोग गरेर अत्याधुनिक बन्दै गएका छन् । हालसम्म देशभरका छ सयभन्दा बढी खानेपानी तथा उपभोक्ता समिति डिजिटलाइज भइसकेको सरकारी विवरण छ ।    हाल ६८ जिल्लाका ११ लाख घरधुरी र करिब ४६ लाख जनसङ्ख्यामा यस्तो डिजिटलाइज सेवा पुगिसकेको छ । ती समितिले दियालो टेक्नोलोजीले विकास गरेको वाटरमार्क नामक सफ्टवेयर प्रयोग गर्दै आएका छन् ।    नेपालको फिनटेक कम्पनी दियालोले खानेपानीको क्षेत्रमा आवश्यक पर्ने विभिन्न सफ्टवेयर तथा प्रविधिको विकास गर्दै आइरहेको छ । दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, जिन्सी व्यवस्थापन, लेखा प्रणाली, मानव संशाधन  प्रणाली, पानी चुहावट विश्लेषण प्रणाली, प्रयोगशाला व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, भूमिगत तहको पानी विश्लेषण गर्ने प्रविधि, पानीको तह मापन गर्नेलगायतका प्रणाली तथा प्रविधिको विकास गरेको छ । यस्तै  कतिपय प्रविधि निर्माणको अन्तिम चरणमा छन् । यी प्रविधि प्रयोग गरी खानेपानी संस्था डिजिटलाइज बन्नुका साथै अत्याधुनिक सेवा प्रदान गर्न सक्षम हुँदै गएका छन् । देशभित्रै सबैभन्दा ठूलो उपभोक्ता समितिमध्येको एक कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नवलपुरका व्यवस्थापक बाबुराम ज्ञवालीले प्रविधिको प्रयोगले आश्चर्यजनक परिवर्तन ल्याएको बताउनुभयो ।    मानिसले गर्नुपर्ने कतिपय काम सहजैरूपमा प्रविधिको प्रयोगबाट भएका छन् । पानी खोल्न वा बन्द गर्न प्रत्यक्षरूपमा जानु पर्दैन भने पानीको गुणस्तरसमेत पत्ता लगाउन सजिलो भएको छ । जमिनमुनिको पानीको सतहसमेत सेन्सरको सहयोगले पत्ता लगाउने गरिएको छ ।    कति समय पानी तानियोदेखि उपभोक्ताको घरमा के–कति पानी पठाइयो भन्ने विवरणसमेत मोबाइल एपको माध्यमबाटै हेर्न सकिने ज्ञवालीको भनाइ छ  । उपभोक्ताले समेत पानीको बिल तिर्न खानेपानीको कार्यालय वा उपभोक्ता समितिको  कार्यालय पुग्नु पर्दैन । मोबाइलमार्फत अनलाइन माध्यमबाटै बिल तिर्न सक्छन् । आगामी तीन महिनाभित्र कुनै पनि कामका लागि अब मानवीय उपस्थिति नै नभए पनि हुने गरी प्रबन्ध गर्ने गरी थप तयारी भइरहेको ज्ञवालीको कथन छ ।    प्रविधिको प्रयोगले खानेपानी संस्थाहरू परदर्शी र उपभोक्ताप्रति जवाफदेहीसमेत हँुदै गएको उपभोक्ताहरूको अनुभव छ ।  नेपालको वर्तमान नीतिअनुसार कुनै पनि खानेपानी योजना निर्माण गर्दा स्थानीय उपभोक्ता समितिको संलग्नता अनिवार्य रहेको छ । नेपालमा यस्ता उपभोक्ता संस्था ४२ हजार बराबर रहेका छन् ।   तीमध्ये करिब १६ हजार चार सय संस्था मात्र दर्ता छन् ।  दर्ता भएकामध्ये ११ हजार आठ सय २८ वटा संस्था सञ्चालनमा छन् । यीमध्ये पनि नियमित बैठक बस्ने, आवधिकरूपमा साधारणसभा गर्ने, संस्थाको हरहिसाब पारदर्शी राख्ने समिति त झन् निकै न्यून छन् । प्रविधिको प्रयोग नभएका समितिमा आवश्यक सही तथ्याङ्क निकाल्न समस्या हुने, निर्णय गर्न ढिला हुनेजस्ता समस्या देखिने गरेका छन् । परम्परागत ढङ्गले सञ्चालन हुँदा संस्थालाई चुस्तदुरुस्त राख्न नसक्ने, पारदर्शी नहुने, समितिमा विवाद हुनेजस्ता समस्या देखिँदै आएका थिए । त्यसलाई सही मार्गमा ल्याउन पनि प्रविधिको प्रयोग नै उत्तम विकल्प हुनसक्ने उपभोक्ता लक्ष्मण जोशीको भनाइ छ ।   प्रविधिको प्रयोग गर्दा ढड्डा, फाराम, रसिदजस्ता कगजी वस्तुको प्रयोग गर्दा जस्तो समस्या नआउने खानेपानी समितिका सञ्चालकको अनुभव छ । प्रविधिको प्रयोग भएका खानेपानी समितिले हाल चुस्तदुरुस्त सेवा मात्र दिएका छैनन् कि ती समितिमा पारदर्शिता कायम हुनुका साथै उपभोक्तामा जवाफदेही सेवासमेत भइरहेको छ ।    प्रविधिको प्रयोग गरेका खानेपानी समितिका उपभोक्तालाई समेत निकै सहजता भइरहेको छ । उपभोक्ताले आफ्नो खानेपानीको महसुलको बिल पनि आफ्नो मोबाइलबाटै जानकारी पाएका छन् । महसुल मोबाइलबाटै भुक्तानी गरिरहेका छन् । जसले गर्दा उनीहरूको समय र खर्च दुवै बचत भइरहेको छ । हाल मासिक तीन लाख ५० हजारभन्दा बढी घरधुरीले मोबाइलबाटै आफ्नो महसुल भुक्तानी गरिरहेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिकाका केही खानेपानी उपभोक्ता समितिले पनि यस्तै प्रविधिको प्रयोग गरेका छन् । चन्द्रागिरि नगर विकास समिति मातहतको खानेपानी, टोखा खानेपानी, महादेवस्थान र तीनथाना खानोपानीमा यस खालका प्रविधिको प्रयोग गरिएको छ । यसबाट आफूहरूलाई असाध्यै सहज भएको उपभोक्ता जोशीको अनुभव छ ।   यस्ता छन् खानेपानी क्षेत्रमा प्रयोग भएका सफ्टवेयर   मिटर रिडिङ मोबाइल एप : मिटर रिडिङ मोबाइल एप हाल खानेपानी समितिमा सञ्चालनमा रहेको छ । मिटर रिडिङ मोबाइल एपले पिओएस मेसिनमार्फत घरघरमै पुगेर थर्मल पेपरमा ग्राहकले तिर्नुपर्ने रकम प्रिन्ट गरेर दिन्छन् । मिटर रिडिङ गरेको र रकम भुक्तानी लिएको विवरण कुनै पनि स्थानबाट सिधै सफ्टवेयरमा अपडेट हुन्छ । यस सुविधाबाट मिटर रिडिङ र महसुल सङ्कलनको कामलाई पारदर्शी बनाएको छ । यसअघि कागजी बिल प्रयोग गर्दा बिल हराउने, कार्यालयको ढड्डामा अपडेट गर्न बिर्सिनेजस्ता समस्या आउने गरेका थिए । सिधै सफ्टवेयरमा अपडेट हुने हुँदा यसबाट ग्राहक र खानेपानी समितिलाई काम गर्न सहज भएको छ ।   त्यस्तै बिलिङ व्यवस्थापन प्रणाली पनि हाल सञ्चालनमा छ । यस प्रणालीमा ग्राहकको सम्पूर्ण जानकारी ९केवाइसी० विवरण रहेको हुन्छ । यस प्रणालीमा खानेपानी महसुलको छुट तथा जरिवाना व्यवस्थापन हुन्छ । यसमा खानेपानीको दर पनि समावेश हुन्छ । यसबाट खानेपानीको उपभोग, आम्दानी विश्लेषण गर्नुका साथै ग्राहकको परिचयपत्र बनाउन सकिन्छ ।   पहिले–पहिले हरेक ग्राहकको छुट्टाछुट्टै फारम रहन्थे । ती फारम कहिले हराउने, कहिले च्यातिनेजस्ता समस्या आउँथे । फारम हराउने, अव्यवस्थित हुँदा आफ्नै ग्राहक हो कि होइन भनेर चिन्न नसक्ने अवस्था पनि आउँथ्यो । तर यस प्रणाली राखिसकेपछि सबै विवरण दुरुस्त हुन्छ ।   कसैले आफ्ना नजिकका व्यक्तिलाई ग्राहक नै नबनाई निःशुल्क पानी दिनसक्ने, आवश्यकताभन्दा बढी छुट दिनेजस्ता गलत क्रियाकलापलाई पनि यस प्रणालीले नियन्त्रण गर्छ । यो प्रणाली भएपछि ढड्डामा केरमेट गर्ने, हराउने समस्याको निराकरण हुन्छ भने एक क्लिकमा सम्पूर्ण विवरण प्राप्त गर्न सकिन्छ । यसमा खानेपानीको रकम कति उठ्यो, बक्यौता कति उठ्न बाँकी छ जस्ता कुरा सहजै राख्न सकिने हुँदा पारदर्शी हुन्छ ।  एसएमएस सिस्टमले ग्राहक र समितिका बीचमा पुलको काम गरेको छ । यसअघि साधारणसभा गर्नुपरेमा अथवा कुनै सूचना ग्राहकका बीचमा पु¥याउनुपरेमा सबै ग्राहकलाई पत्राचार गर्नुपर्दथ्यो । तर अहिले यस सिस्टमले सबै ग्राहकका बीचमा एसएमएसमार्फत एकैपटक सूचना सम्प्रेषण गर्न सकिन्छ । साथै यस प्रणालीले खानेपानीको महसुल नतिरेको अवस्था अथवा जरिवाना लागेको अवस्थामा सिस्टमले नै सूचना उपलब्ध गराउँछ ।    अनलाइन भुक्तानी  अनलाइन भुक्तानी प्रणालीले गर्दा आम उपभोक्तालाई महसुल भुक्तानी गर्नका लागि खर्चनुपर्ने समय र खर्चको बचत भएको छ । खानेपानी समितिका कार्यालय केही किलोमिटरको दूरीमा हुँदा सवारीसाधन चढेर कार्यालयमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । उपभोक्ताले आफ्नो मोबाइलमार्फत सहजै खानेपानीको महसुल भुक्तानी गर्न सक्छन् । हाल ६० भन्दा धेरै बैंक तथा वित्तीय संस्था, इसेवा, खल्ती, आइएमईलगायतका भुक्तानी प्रदायकमार्फत सहजै महसुल भुक्तानी गर्न सकिन्छ । खानेपानी क्षेत्रमा रहेका विभिन्न प्रणालीमध्ये लेखा प्रणाली पनि एक प्रमुख प्रणाली हो । हाल यो प्रणाली सञ्चालनमा रहेको छ । यो प्रणालीले संस्थाको आम्दानी खर्च, सम्पत्ति दायित्व, नाफा–नोक्सान, आर्थिक अवस्थालगायतका सबै विवरण हेर्छ । यो प्रणाली नेपाल लेखामानकअनुसार विकास गरिएको छ  । यो प्रणाली खानेपानी सफ्टवेयर, एसएमएस, मिटर रिडिङलगायतका सबै प्रणालीसँग जोडिएको हुँदा यसले हरेक विषयलाई पारदर्शी बनाउन सहयोग पुगेको दियालो टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत परशुराम (पीआर) खनालको भनाइ छ । यो प्रणाली क्लाउड बेस टेक्नोलोजीमा आधारित रहेको हुँदा सञ्चालक समिति अथवा खानेपानी व्यवस्थापकले  कुनै पनि स्थानमा बसेर संस्थाको हिसाब–किताब हेर्न सक्ने उहाँको भनाइ छ ।    जिन्सी व्यवस्थापन प्रणालीमार्फत संस्थामा कुन सामान, कति मात्रामा मौज्दात छ, कति खरिद–बिक्री भए, कति फिर्ता भए, कति मर्मतसम्भारमा प्रयोग भएजस्ता सबै विवरण उल्लेख हुने हुँदा जिन्सी तथा सामानको अपचलन हुने कुरालाई निराकरण गर्छ । मौज्दात परीक्षण गर्न सकिने सुविधाले मौज्दात नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाएको प्रमुख कार्यकारी अधिकृत खनाल बताउनुहुन्छ ।     त्यस्तै भौगोलिक सूचना प्रणालीले खानेपानीको प्रसारण र वितरण पाइपलाइन तथा अन्य संरचनाको भौगोलिक अवस्थितिको जानकारी दिन्छ । यसैगरी मर्मतसम्भारका लागि पाइपलाइन गाडिएका स्थान, च्याम्बर, भल्व, ट्याङ्की, ग्राहकको घरजस्ता खानेपानीका सम्पत्तिलगायतका सबै विवरण उपलब्ध गराउँछ ।   पानी चुहावट विश्लेषण गर्ने प्रविधि पनि हाल सञ्चालनमा छ । यसमा स्रोतबाट खानेपानी कति उत्पादन भयो, ट्याङ्कीमा पानी कति जम्मा भयो, उपभोक्ताले कति उपभोग गरे र कति चुहावट भयो भन्ने सबै कुरा उल्लेख हुन्छ । यसले दिने तथ्याङ्कका आधारमा चुहावट भइरहेको स्थानसमेत सहजै पत्ता लगाउन सकिने खनालको भनाइ छ । त्यस्तै पानी ट्याङ्की सफा गर्दा कति पानी खेर गयो, उत्पादन र उपभोगको विश्लेषणलगायतका सबै विवरण हेर्न सकिन्छ । पानी चुहाहट नियन्त्रण गर्न सहज हुने हुँदा घर–घरमा खानेपानीको आपूर्ति बढाउन सहयोग पुग्छ ।   यसैगरी प्रयोगशाला व्यवस्थापन प्रणाली पनि हाल सञ्चालनमा छ । यसले खानेपानीको स्रोत, वितरण प्रणालीका विभिन्न खण्डमा खानेपानीको गुणस्तर स्वचालितरूपमा मापन, विश्लेषण तथा सम्प्रेषण गर्दछ । यसमा आम उपभोक्ताले मोबाइबाटै आफूले प्रयोग गरिरहेको पानीको गुणस्तर हेर्न सक्छन् । जसले गर्दा हरक्षण खानेपानीको गुणस्तर मापन भइराख्छ भने शुद्ध र सफा पानी उपभोग गर्न पाइन्छ ।   पम्प कन्ट्रोल प्रणालीले स्वचालितरूपमा पम्प अन र अफ गर्छ । यसअघि पम्प खोल्न वा बन्द गर्न निरन्तररूपमा जनशक्ति लाग्थ्यो । तर यो प्रणाली जडान गरेपछि पम्प अन अफ गर्न कुनै मानिसको आवश्यकता पर्दैन । यसले ट्याङ्की खाली हुँदा अटोमेटिकरूपमा पम्प अन हुन्छ भने ट्याङ्की भरिएपछि आफैँ अफ हुन्छ । जसले गर्दा पम्प सञ्चालन नहुँदा पानी नपाइने र पानी भरिएपछि खेर जानेजस्ता समस्याको निराकरण हुने गरी प्रविधिको विकास गरिएको दियालो टेक्नोलोजिजको भनाइ छ । यस प्रणालीमा पम्पबाट कति पानी उत्पादन भयो, पम्प कति घण्टा चल्योजस्ता सबै विवरण हेर्न सकिन्छ भने पम्प सञ्चालन खर्चमा समेत कमी आउँछ । पम्पलाई मोबाइल र सफ्टवेयरबाट नियन्त्रण गर्न सकिन्छ ।   ग्राहक गुनासो व्यवस्थापन प्रणालीले मोबाइल एपमार्फत नै ग्राहकले आफ्ना गुनासो राख्न सक्छन् भने कर्मचारीले गुनासाको समाधान गर्छन् ।  समितिले संस्थामा के–कति र कस्ता गुनासा आएका छन्, कति सम्बोधन भए भनेर सबै विवरण हेर्न सक्छन् । यसले गर्दा संस्थालाई जवावदेही बन्न सहयोग पु¥याउँछ ।   भूमिगत पानीको तह विश्लेषण यस प्रणालीले जमिनको सतहमुनि कति पानी छ, यो पानीले कति समयसम्म पुग्छ, जमिनमा पानी पुन जम्मा भइरहेको छ कि, छैन जस्ता कुराको विश्लेषण गर्छ । पानीको स्रोत कति घटिरहेको छ, हरेक महिना, वर्ष कति पानी घटिरहेकोे छ, पानी सुक्दै गइरहेको छ या पुनः जम्मा पनि भइरहेको छ भन्ने कुराको विश्लेषण हुने हुँदा पानीको स्रोत कहिले सुक्न सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । यसले गर्दा भविष्यमा आउने पानीको सङ्कट समाधान गर्न वैकल्पिक स्रोत व्यवस्थापनमा रणनीति बनाउन सकिन्छ ।    मोबाइल एप  ग्राहक र खानेपानी समितिका लागि छुट्टाछुट्टै विशेषता भएका मोबाइल एप्लिकेशनको विकास गरिएको खनालले बताउनुभयो । ग्राहकका लागि ग्राहक सूचना प्रणाली र सञ्चालक तथा व्यवस्थापनका लागि खानेपानी ज्ञान प्रणालीको विकास गरिएको छ । ग्राहक सूचना प्रणालीमा ग्राहकले संस्थाका सूचना, जानकारी पढ्ने, एपबाटै महसुल भुक्तानी गर्ने, संस्था र समितका सम्पर्क नम्बर हेर्ने, खानेपानीको महसुल विवरण हेर्ने, मिटर रिडिङ विवरण हेर्ने, खानेपानीको गुणस्तर हेर्ने, खानेपानी वितरण तालिका हेर्ने, खानेपानीको गुनासो तथा सेवा अनुरोध गर्नेजस्ता कुरामा सहजता ल्याएको उहाँको भनाइ छ । खानेपानी ज्ञान प्रणालीले संस्थाको विभिन्न महत्वपूर्ण सूचकहरू बिलिङ, महसुल सङ्कलन, लेखा, जिन्सी, गुनासो, पानी चुवाहट, गुणस्तर, पम्प नियन्त्रण, कर्मचारीलगायतका सबै विषयमा निर्णय गर्न आवश्यक पर्ने सबै सूचना मोबाइलबाटै प्राप्त गर्न सकिन्छ ।    इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर जस्तो प्रविधि पानीको स्रोतमा जडान गर्दा स्वचालितरूपमा प्रतिसेकेण्ड कति पानी उत्पादन भएको छ भनेर वास्तविक समयमै जानकारी पाउन सकिन्छ । जसका आधारमा उत्पादनको मात्रा विश्लेषण गरी पानी आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न सकिन्छ ।     ट्याङ्कीको पानी तह मापन प्रविधिले खानेपानी ट्याङ्कीमा कति पानी छ भनेर हेर्न सकिन्छ । यस आधारमा कति वितरण गर्ने, कति पानी स्रोतबाट थप्ने, घटाउने आदि कुराको नीति बनाउन सहज बनाउँछ । खानेपानी क्षेत्रका संस्थालाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउन दियालो टेक्नोलोजीले निकट भविष्यमै स्मार्ट मिटर प्रविधि, खानेपानीको स्रोतको सुरक्षा प्रणाली, खानेपानी मर्मतसम्भार प्रणाली,  गेटभल्भ अटोमेशनजस्ता प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो ।