डोल्पा । डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउनुहुन्छ । उहाँले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउनुहुन्छ । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ । दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ । पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा जानकारी फोन, इन्टरनेटमार्फत लिने गर्दछन् । धो आफैँमा सुन्दर फाँट छ । उपल्लो डोल्पाको चर्चित ठाउँसमेत हो । अहिले धो मा पहेलपुर हुँदै उवा बाली पोकेको छ । कृषक वर्षमा एकपटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउनका लागि उपयुक्त समयको खोजीमा छन् । उवा उपल्लो डोल्पाको मुख्यबालीरुपमा लिइन्छ । हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लोे डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ । वैशाखमा लगाएको उवा बाली असोज महिनामा उपयुक्त साइत हेरेर भित्र्याउने गरिन्छ । उपल्लो डोल्पाका स्थानीयवासी अबको हप्ता दिनमा उपयुक्त समय हेरेर उवा भित्र्याउने योजनामा रहेको दोर्जेले बताउनुभयो । धो, छार्कामोट, सिमेन, फोक्सुण्डो, कु गाउँलगायतका २३ वटा गाउँमा उवाको खेती गरिन्छ । वर्षायामको झरीसँगै उपल्लो डोल्पाको फोक्सुण्डो ताल, पौराणिक गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट उपल्लो डोल्पाका सर्वसाधारण जाने गर्दछन् । उपल्लो डोल्पालाई चिनाउनका लागि बर्सेनि विभिन्न नाम दिएर मेला तथा महोत्सवसमेत हुँदै आएका छन् । मध्य तथा उपल्लो डोल्पाको भाग समेटेर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसमेत रहेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्र डोल्पा र मुगु जिल्लामा समेत फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत दुई सय प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण हिमाल (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ । उपल्लो डोल्पाको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । जैविक विविधताको धनी उपल्लो डोल्पामा राज्यले हिमाली सहरको नीति ल्याएर काम सुरु गरेको छ । पशुपालनका लागिसमेत जोड दिँदै सरकारले अनुदानको व्यवस्थालाई व्यापक बढाएको छ । वर्षको आधा समय हिउँले ढाक्ने यहाँ आधा समयमा मात्र खेतीबाली गरिँदै आएको छ । चिसो मौसममा हिमपात हुने भएकाले खेतीबाली १२ महिना नहुने गरेको शे–फोक्सुण्डोकी प्रेमा गुरुङले बताउनुभयो । उवा बाली भित्र्याएपछि उपल्लो डोल्पाका सर्वसाधारण चिसो छल्न बेंसी झर्ने गर्दछ । केही सर्वसाधारण उपल्लो डोल्पामा आयतित र आफैँले उत्पादन गरेको उवाबाट बनेका परिकार खाएर जीवन चलाउने गरेको गुरुङले बताउनुभयो । उपल्लो डोल्पाको मौसम कुन समय के हुन्छ भन्ने थाहा नहुने गर्दछ । पानीभन्दा पनि हिउँ मात्र पर्ने भएकाले मौसमबारे धारणा बनाउन मुस्किल हुने गर्दछ । उपल्लो डोल्पामा छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो गाउँपालिका पर्दछन् । भूगोलको हिसाबले ठूलो रहेको डोल्पा चीनको सिमानासँग जोडिएको क्षेत्र हो । मुस्ताङबाटसमेत उपल्लो डोल्पामा सडक जोड्ने प्रयास जारी रहेको छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्का लागि काम निरन्तर जारी रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडक निर्माण जारी राखेको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्याक खुलेसँगै साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण कार्य जारी रहेको छ । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ । मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने पूवमन्त्री सत्य पहाडीको बुझाइ छ । अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुने अपेक्षा गरिएको छ । कृषिउपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्नेसमेत विश्वास छ । भेरी करिडोरअन्तर्गत अर्को नेपाल र भारतको सिमाना जमुनाह सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिब्बत जोड्ने त्रिदेशी सडकको निर्माण कार्य जारी रहेको छ । यही सडकको जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तरोन्नति कालोपत्रको काम निरन्तर जारी रहेको छ । यो पर्यटकीय रुटका रुपमा स्थापित हुँदै आएको छ । यो सडक निर्माणसँगै मध्य डोल्पामा निर्माण कार्य जारी रहेका दुई ठूलो जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्नेछ । यातायात जोडिएसँगै डोल्पामा उत्पादन हुने जडीबुटी निर्यातमा सहयोग पुग्नेछ । डोल्पामा पाइने उच्च कोटीको स्याउलेसमेत बजार पाउनेछ । आर्थिकरुपमा सक्षम बनाउनका लागि यहाँको स्याउ आम्दानीको स्रोत हो । यार्सागुम्वासहित अन्य मुल्यवान जडीवुटी डोल्पाका आम्दानीका आधार हुन् । डोल्पाको पूर्वमा मुस्ताङ, चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु पर्दछन् । उत्तरमा चीनको तिब्बत, दक्षिणमा जाजरकोट र रुकुम पश्चिम पर्दछन् । डोल्पामा स्थलमार्ग हुँदै घुम्न जानेको सङ्ख्या दुई हजार भन्दाबढी रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले बताएको छ ।
गलेश्वर । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देख्नुभएको छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा जानुहोस् । टोपीदेखि जुत्तासम्म चोयाकै पोशाक लगाएर जीविकोपार्जन गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ, रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेल । विगत दुई वर्षदेखि चोयाका पोशाक तयार पारी तिनलाई लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी उहाँले जीविकोपार्जन गर्दै आउनुभएको छ । जङ्लबाट निगालो ल्याइ त्यसबाट चोया निकालेर उहाँले टोपी,कोट,इस्टकोट,पाइन्ट,जाँगे,जुता,झोला,मनिव्यागलगाएत पोशाकहरु बनाउने र आफूले बनाएका ती पोशाकहरु लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्नुहुन्छ । आधुनिक युगमा पनि पर्तेलले चोयाँका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरु छक्कै पर्ने गर्दछन् भने कतिले उहाँको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्ने गर्दछन् । शौखिन व्यक्तिहरुले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन् । “मेरो आम्दानीको श्रोत भनेकै यही कला हो । मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु, उहाँ भन्नुहुन्छ । पर्तेलको घरमा चार छोरा,एक छोरी र श्रीमती छन् । छोराहरु अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले घरमा दुई दम्पतिमात्र छन् । बिहान उठेर नजिकको जङ्लमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै पोशाक तथा अन्य कृषि सामाग्रीहरु बुनेर दिन विताउने गर्नुभएका उहाँ चोयाका पोशाक बेचेरै वर्षमा रु एक लाख बराबरको आम्दानी गर्दै आएको बताउनुहुन्छ । चोयाका पोशाक लगाएर गाउँघर र सहर बजार जाँदा मानिसहरुले त्यस्ता पोशाक लगाएको देखेर खशी हुँदै पैसा समेत दिने गरेका र अहिलेसम्म त्यसरी रु ६० हजार भन्दा बढी कमाएको पर्तेलको भनाइ छ । हिजोआज गाउँघरका युवायुवतीले उहाँले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने र त्यसबापत रु एक सय दिने गरेका छन् । पर्तेल भन्नुहुन्छ, “अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोशाक लगाएर मोवाइलमा फोटो खिच्छन्, टिकटक बनाउछन् र बदलामा मलाई पैसा दिने गरेका छन् ।” शनिवार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाकहरु प्रदर्शन गरेर नै उहाँले रु तीन हजार भन्दाबढी आम्दानी गर्नुभयो । पर्तेलको सीपको सम्मान गर्नु पर्ने र उहाँलाई प्रोत्साहित गरेर यस्तो कला प्रवद्र्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुन बताउनुहुन्छ। । पर्तेलले पोशाकका अतिरिक्त चोयाँबाट डोका, नाम्ला, भकारी,थुन्सेलगायत घरायसी कृषि सामाग्रीहरु पनि बनाउने गर्नुभएको छ । यस्ता सामाग्रीहरु गाउँघरमा फाट्ट फुट्ट विक्री हुने गरे पनि यो पेशा व्यवसायिक हुन नसकेकाले आफूले पोशाक बनाएर प्रर्दशन तथा विक्री वितरण गर्न थालेको उहाँको भनाइ छ । आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरु र प्रशासन प्रमुखहरुलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेल बताउनुहुन्छ । “चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,” उहाँ भन्नुहुन्छ, “यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरुको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन् ।”स्थानीय सरकार वा सम्वन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्रीहरु बनाउन सक्ने पर्तेलको भनाइ छ ।
काठमाडौं । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । दसैँ प्रवेशको दिन घटस्थापना आइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार बिरलै देख्न सकिन्छ । “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, भेटे बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो,” कावासोतीका स्थानीय विनोद सिग्देलले भन्नुभयो, “अहिले सबै नौलो जस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।” गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नु अघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको, बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उहाँले स्मरण गर्नुभयो । “कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गार्थौँ, बाहिरबाट आएका पनि जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह उस्तै हुन्थ्यो,” सिग्देलले भन्नुभोय, “पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराए जस्तो लाग्न थाल्यो ।” नेपाली संस्कृति परम्परा अनुसार दसैँमा पिङ राख्ने चलन छ । अझ गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने बिश्वास रहिआएको छ । तर, नेपाली संस्कृति बोकेको पिङ आफैमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ । कावासोतीका रमाकान्त पौडेलले भन्नुभयो, “सहरबजारमा त केही वर्ष पहिलेनै पिङ हराउदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ ।” बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय गौड बन्दै गएको उहाँको भनाइ छ । “सहर बजारमा पिङ राख्ने सार्वजनिक खाली ठाउँ पनि पाउन मुस्किल बन्न थाल्यो, त्यसमाथि मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थाले,” पौडेलले भन्नुभयो, “सहरबजारका मानिसको दैनिकी पनि आफैमा व्यस्त हुन्छ, कसले पिङका लिङ्गा खोज्नु, कसले लठ्ठा खोज्नु ।” गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको होकी भन्ने हुप्सेकोटका रामकृष्ण चापागाईंको ठम्याइ छ । “रोजगारीको खोजीमा युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँ घर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ,” चापागाईंले भन्नुभयो, “यसैले पहिले जस्तो चहलपहल पनि हरायो, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो ।” फाट्टफुट्ट रुपमा कही कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको चापागाईंले बताउनुभयो । पहिले टोल टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको उहाँको भनाइ रहको छ । पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । दसैँ र तिहार जस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो की भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन पर्वसँगै जोडिएका परम्परागत कार्यकोसमेत जगेर्ना गर्दै जानुपर्ने उनीहरुको भनाइ छ । “हामीले हाम्रा संस्कृति, परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यलाई समेत जगेर्ना गर्दै जानुपर्छ, यी सबै हराउन सक्छन्, यसका लागि सबै लाग्नुपर्छ”, कावासोती–१७, का अगुवा युक्तप्रसाद गौडेलले भन्नुभयो ।
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौ देखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् । उनीहरुले हैबुङ कृषि फार्मबाट मेलम्ची–१ भोटेचौर र मेलम्ची–३ हैबुङमा किबी उत्पादन गर्दै आएका छन् । पचास रोपनी बढी जमिनमा उनीहरुले खेती गर्दै आएका हुन् । परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर हावापानीअनुसारको खेती गर्न उनीहरु लागिरहेका छन् । मेलम्चीमा किबी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको मेलम्ची–१ का कृषक राजेन्द्र दुलालले बताउनुभयो । “करिब १२०० बोट किबी लगाएका छौँ । २०७० साल बाट सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “बजारमा किबीको मूल्य र माग दुवै रहेको छ । किबी रोपेर आम्दानी राम्रो भएको छ ।” “बिरुवा हुर्केर आम्दानी दिन पाँच वर्ष लाग्ने रहेछ । युट्युव र किताब हेरेरै खेती गर्ने प्रक्रिया सिकेका हौँ । सुरुमा रु एक करोडभन्दा माथि लगानी लागेको छ”, उहाँले सुनाउनुभयो । किबी खेती सँगसँगै बिरुवा पनि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “जमिन बाँझो भएर बसेको छ । धेरै युवाहरुले वैदेशिक रोजगारी लाई रोज्ने गरेका छन् । हामी गाउँमै आधुनिक खेती गर्नपर्छ भनेर लागीरहेका छौँ । यो खेती गरेपछि पहिलाको जस्तो धेरै बाँदर र बँदेलले पनि दु:ख दिएको छैन । वार्षिक १० लाखभन्दा माथि आम्दानी हुन्छ”, दुलालले थप्नुभयो । किबीखेती गरेमा आम्दानी राम्रो हुने भएपछि आफूले किबी लगाएको मेलम्ची नगरपालिका–१ कुलप्रसाद चौँलागाइले बताउनुभयो । “किबी फल गाउँमा बिरलै सुन्न पाइन्थ्यो, एकजना अग्रज बाट यो फल राम्रो हो भन्ने जानकारी पाएँ । नौ/दश वटा फलमा हुने गुण एउटै किबी फलमा हुने रहेछ भन्ने ज्ञान प्राप्त गरेर हामीले यो फल सुरु गरेका हौँ’, उहाँले भन्नुभयो । किबी फलको भविष्य राम्रो रहेको उहाँले बताउनुभयो । यो व्यवसाय अन्य बाली भन्दा उपलब्धिमूलक रहेको समेत उहाँले बताउनुभयो । सरकारले यो खेतीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको माग छ । घरपरिवारको जीविकोपार्जन समेत किबी खेतीबाट राम्रो चलाइरहेको उहाँ बताउनुहुन्छ । मेलम्ची नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ९ वडाका कृषकले १० हजार किबीको बिरुवा लगाएका छन् । करिब छ सय २५ रोपनी जमिनमा कृषकले किबीखेती गर्दै आएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । “पचास प्रतिशत लागत साझेदारीमा गतवर्ष १६ वटा फार्मलाई अनुदान दिएको थियो । यस वर्ष पनि प्रदेशको रु १५ लाख अनुदान वडा नं १ र ९ का कृषकलाई दिन लागिएको छ”, आचार्यले भन्नुभयो । सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने भएपछि किसान यो खेतीतर्फ आकर्षित भएका हुन् । किबीखेती मौसमका अनुसार पनि मेलम्ची उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भएर यो खेतीको सुरुआत गरिएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । किबी खेती समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि दुईहजार चार सय मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्वपूर्ण औषधिका रूपमा लिइन्छ ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताउनुभयोे । “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ”, पौडेलले भन्नुभयो, “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस् ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गर्नुभयो । निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गर्नुभयो । “गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेसभित्रका नेताहरुलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो । छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराउनुभयो । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए ।
तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो । बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । शैक्षिक गुणस्तरका आधारमा दण्ड तथा पुरस्कारको नीति अवलम्बन गरेको सो गाउँपालिकाले जनाएको छ । पालिकाका सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति लिइएको छ । ‘एक विद्यालय, एक विज्ञान प्रयोगशाला’ विकासको अवधारणाअनुरुप क्रमश: सबै विद्यालयमा विस्तार गर्दै लैजाने कार्यलाई पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । गाउँपालिकाले सामुदायिक विद्यालयलाई अपाङ्गतामैत्री, आधारभूत खानेपानी तथा शौचालययुक्त र शिक्षा सिकाइलाई सहयोग पुग्ने सुरक्षित पूर्वाधार विकासमा जोड दिँदै आएको छ । गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको संरक्षण र संवद्र्धनका लागि गाउँपालिकामा मर्मतसम्भार कोषको स्थापना गर्ने योजना बनाएको छ । आधारभूत तहसम्मको शिक्षालाई प्रवद्र्धन गरी विपन्न, कमजोर तथा पिछाडिएका वर्गका बालबालिकालाई विद्यालय पहुँचमा पुर्याउन विपन्न लक्षित कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्र रहेका गरिब तथा जेहेन्दार कक्षा १२ उत्तीर्ण गरेका छजना विद्यार्थीलाई वार्षिकरूपमा छात्रावृत्ति प्रदान गर्ने नीति अवलम्बन गरिएको छ । प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै गाउँपालिकाका सबै सामुदायिक विद्यालयका दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । शैक्षिक सुधारका लागि एकाइ परीक्षाको नीति लिएर अघि बढिएको गाउँपालिकाले जनाएको छ ।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुस्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्यो । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरी चामल कहाँबाट ल्याउने भन्ने पिर उहाँलाई छैन । अम्रिसो खेतीबाट आएको आम्दानीले चामल खरिद गरेर वर्षभरि खान पुग्ने भएको छ । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखैपाखो छ, लगाएको धानले बढीमा चार महिना चल्थ्यो, त्यसपछि अरु आम्दानी पनि नहुने, के खाने कसरी खाने भन्ने पिर हुन्थ्यो” उहाँले भन्नुभयो, “तर जहिलेदेखि पहाडको पाखामा अम्रिसो खेती सुरु गरियो, अहिले त्यसबाट हुने आम्दानीले साँझ–बिहान के पकाउने भन्ने पिर हुन छाड्यो, अम्रिसोबाट हुने आम्दानीले चामल किनेर राख्यो खायो ।” किसान राई जस्तै बुलिङटार–४ देउरालीका मीनबहादुर आलेको अवस्था पनि उस्तै छ । “घरपरिवारको खर्च कसरी चलाउने भन्ने पिरले सताउँथ्यो, नियमित आम्दानी केही थिएन”, उहाँले भन्नुभयो, “अहिले त कम्तीमा अम्रिसो पाखामा फुलेपछि पैसा आउने बेला भयो भन्ने हुन्छ ।” किसान राईले वार्षिकरूपमा करिब रु ९५ हजार र आलेलेले करिब रु ६० हजार अम्रिसो बेचेर आम्दानी गर्ने गर्नुभएको छ । “पैसा कति भन्ने हुँदो रहेनछ, गर्जो कति टर्यो भन्नेले ठूलो अर्थ राख्ने रहेछ, कम्तीमा वर्षभरि खान पुग्ने चामल किन्ने खर्च, यही पाखोमा फुलेको अम्रिसोले दिएको त छ”, आलेले भन्नुभयो । नवलपुरका पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएका छन् । पहाडका बासिन्दाको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको छ । केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेका छन् । पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो बरदानजस्तै बनेको कबुलियती वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियती वनमा अम्रिसो खेती लगाउने गरिएको छ । यसअनुसार राम्चे क्षेत्रमा १९ वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या एक सय ९० रहेको छ । रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आवद्ध रहेका छन् । चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियती वनमा आवद्ध भएर अम्रिसो खेती गर्दै आएका छन् । सामूहिकरूपमा अम्रिसो खेती गर्ने र आएको रकम दामासाहीरूपमा प्रतिघर बाँड्ने गरेको उहाँले बताउनुभयो । अम्रिसोबाट भएको आम्दानीमध्ये केही वन समूहमा राख्ने र समूहमा आवद्ध सदस्यलाई न्यून ब्याज प्रतिशतमा बिनाधितो छ महिनासम्म ऋण लगाउने गरिएको उहाँले बताउनुभयो । बैंक र वित्तीय संस्थाको पहुँच नभएका पहाडी क्षेत्रमा आफूले गरेको आम्दानीबाट बचत भएको रकम खाँचो पर्दा लिन सकिने हुँदा स्थानीयलाई थप राहत पुगेको रानाले बताउनुभयो । “आफ्नो आम्दानी त छँदै छ, वन समूहमा भएको बचतले अप्ठ्यारो परिस्थितिमा खाँचो टार्नसमेत सहयोग पुगेको छ”, सुपरभाइजर रानाले भन्नुभयो, “अहिले वन समूहले कम्तीमा रु ५० हजारदेखि चार लाखसम्म बचत गरेका छन् ।” प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ सम्म अम्रिसो लगाउने गरिन्छ । मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने बेला हुने रानाले बताउनुभयो । नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्ने गरेको उहाँले बताउनुभयो । यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ, बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको उहाँले बताउनुभयो । गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा लगाइएको अम्रिसोबाट एक सय ५२ दशमलव सात सय १३ मेट्रिक टन अम्रिसोको कुचो उत्पादन भएको थियो । जसबाट गत वर्ष रु एक करोड ९८ लाख ५२ हजार आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो । डिभिजन वनले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेशामा जोड्नका लागि पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपेको छ । यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने उहाँले बताउनुभयो ।
भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उहाँले बताउनुभयो । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ । दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी ९सिरु० काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ । छाकी चढाइसकेपछि मात्र खानपिन सुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाइ खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाइ काइँयोले कोरिदिने र फूल सिउरीदिने चलन छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पितृपित्राइन बिदाइ’ भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । यस्तै यमोसकै दिन गाउँका सबै जना एकै ठाउँमा भेला भइ पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच– छ वटा पिङ लगाइन्थ्यो । यस्तै युवाहरूले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् । बेलुकीपख बालबालिका तथा युवायुवतीहरू समूह–समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । पछिल्लो समय मौलिक थारू लोकगीत, ती म्वार्हा र बरहा, पितरी र पितृपत्रायन, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । चितवन र नवलपरासी दुई जिल्लामा थारूको जनसङ्ख्या करिब दुई लाख हाराहारीमा छ । यसै पर्वको अवसरमा पूर्वीचितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । तराई क्षेत्रमा थारूहरुको बसोबास छ । यमोसा चितवन र नवलपुरका थारूहरुले मात्रै मनाउँछन् । चितवनमा पूर्वी क्षेत्रमा यमोसाको ठूलो रौनक छ । “यही पर्व मनाउन भनेर विदेश गएका व्यक्ति पनि घर फर्कन्छन्”, थारू अगुवा कारी महतोले भन्नुभयो । थारू समुदायको मुख्य पर्वभित्र परे पनि अचेल यो पर्व ओझेल पर्न थालेको उहाँले बताउनुभयो । चितवन र नवलपुरका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका अभियानसमेत थालिएको छ ।
काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्यरूपमा रेकर्ड राख्नुपर्ने भएको छ । होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायी आवद्ध छन् ।

