गाउँघरमा बज्नै छाडे मङ्गल धुन
पाल्पा | असोज १२, २०७९
पाल्पा: नेपालीको महान् पर्व दशैँ–तिहारजस्ता ठूला चाडमा मङ्गल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जयमान बनाउँथ्यो । मङ्गल धुन बज्न थालेपछि हरेक नेपालीमा दशैँ–तिहार सुरु भएको आभास छाउँछ ।
कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ । दशैँको घटस्थापनादेखि नै गाउँ–गाउँमा पुगेर मालश्री धुन बाबुबाजेले बजाउने गरे पनि पछिल्ला वर्षमा यो धुन बजाउने व्यक्ति नहुँदा संस्कृति नै लोप भएको बताउनुहुन्छ, पाल्पा रामपुरका ५९ वर्षीय रामबहादुर बादी ।
“दशैँ सुरु भएपछि विभिन्न बाजागाजा लिएर मङ्गल धुन बजाउने चलन हुन्थ्यो, हाम्रा पुर्खादेखि नै चलिआएको संस्कृति पछिल्ला वर्षमा कतै बजेको सुन्न पाइँदैन, बजाउने व्यक्तिको अभावमा रेकर्ड गरिएका धुन रेडियो, टिभीबाट बज्ने गरेका छन् ।”
मङ्गल धुन बजाउने कला भएका व्यक्तिको पहिचान र प्रोत्साहन नहुँदा वर्षौँदेखि गाउँघरमा चलिआएको संस्कृति अहिले हराउँदै गएको बादीको बुझाइ छ । समाजमा प्रत्यक्ष बाजागाजा अनि थिति मिलाएर सामूहिकरूपमा बजाइने मङ्गल धुन वास्तवमै अलौकिक छ । न त कुनै शब्द छ न त कुनै बोली तर मङ्गल धुन अर्थात् मालश्री धुन आफ्ना कर्णप्रिय र भावात्मक लयमार्फत हरेक नेपालीको मनभित्र बस्न सफल छ ।
झ्याम्टा, मादल, सारङ्गी, ढोल, मुरलीलगायत थुप्रै बाजा मालश्री धुनमा बजाइन्छन् । रेडियो र टिभीबाट बज्ने मीठो धुनको गुञ्जनले बल्ल दशैँ लाग्यो भन्ने जनमानसमा आभाष हुन्छ । गाउँघरमा अहिले सबैका हातहातमा मोबाइल, इन्टरनेट तथा सूचना प्रविधिको सुविधाले मालश्री धुन सुन्ने गरिए पनि गन्धर्वले बजाएको धुन प्रत्यक्ष सुनेजस्तो अनुभूति नभएको बाद्यवादक टीकाराम ढकाल बताउनुहुन्छ ।
“पुराना तथा आधुनिक खालका धेरै बाजा बजाउन सिकियो तर मालश्री धुन बजाउने औधी रहर भएर पनि बजाउन आएन, गाउँमा सिकाउने पुराना व्यक्ति कोही छैनन्, कोसँग सीप सिक्ने होला?”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ घरमा युट्युबमा धुन सुनेर अभ्यास गर्छु, तर अरु बाजाको जस्तो ताल आएन ।”
गाउँघर, सहरबजारमा गन्धर्वले मालश्री धुन बजाएको सुन्ने र हेर्नेको उल्लास छाउँथ्यो । गाउँका चौतारी, कोतघर, शक्तिपीठमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको रौनकता बढाउँथ्यो । हिजोआज यी ठाउँमा मालश्रीका आवाज सुन्नै छाडिएको देवराज अर्याल बताउनुुहुन्छ ।
घटस्थापनादेखि पूर्णिमासम्म माता दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो । धुन बजाउन सीप जानेको व्यक्तिको अभाव, पुराना संस्कृतिप्रति नयाँ पुस्ताले चासो नदिँदा पर्व विशेषसँग जोडिएका मौलिक संस्कृति नै लोप हुदै गएका छन् ।
पुराना पुस्तामा भएको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु अर्थात् आधुनिक प्रविधिको विकास र सुविधा, नयाँ पुस्ताले मौलिक संस्कृति जगेर्नामा बेवास्ता गर्दा लोपोन्मुख संस्कृति हराउन पुगेको लेखनाथ शर्मा मरासिनीको भनाइ छ ।
देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ । यो धुनलाई नेपाली परिप्रेक्ष्यमा दशैँ अनि तिहारको अवसरमा बजाइन्छ, प्रयोग गरिन्छ । ठाउँअनुसार बाजागाजा र बजाउने लय पनि फरक–फरक छन् ।
मालश्री धुन, माल अर्थात् वस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पत्ति, धनधान्य आदि बुझिन्छ । कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको सुरुआतसँगै आउने चाड दशैँ अनि यसै लहरसँग फुल्न तयार धानका बाला, फूल, विभिन्न प्रजातिका दानालगायत आगमनको खुसी पनि हो, मालश्री धुन । मालश्री धुनलाई दशैँ पर्वसँग मात्र सम्बन्धित नभई शरद ऋतुको सुरुआतका रुपमा लिइन्छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

