काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

  सुर्खेत । कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पढिरहनुभएको छ ।  माध्यामिक शिक्षा परीक्षा (एसइई) पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका उहाँ अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहनुभएको छ ।   पढाइ सँगैसँगै उहाँले सोही विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले दिएको ऋणले १२  बङ्गुर र एक सय ५० बट्टाइपालन गरिरहनुभएको छ । आचार्यसहित छ विद्यार्थीले बङ्गुर र बट्टाइबाटै विद्यालयको शुल्क र ऋण तिरिरहनुभएको छ । “स्कुलको ऋण तिरेर पनि फाइदा हुन्छ”, उहाँ भन्नुहुन्छ, “पढाइ खर्चबाट बचेको पैसा घरमा पठाउँछु ।”   उहाँका अनुसार विद्यार्थीले लिएको ऋणको ब्याज तिर्नुपर्दैन । विद्यालय छाड्ने बेलासम्म साँवा रकममात्रै तिरे पुग्ने उहाँले बताउनुभयो । सोही विद्यालयमा तीनवर्षे भेटेरेनरी जेटिए अध्ययन गरिरहनुभएका सुर्खेतकै दीपक शाही विद्यालयको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत बट्टाइको चल्ला ह्याचरी सञ्चालन गर्नुहुन्छ ।   यसबाट उहाँले आफ्नो पढाइ खर्चसँगै घरपरिवारलाई खर्च पठाउने गर्नुभएको छ । अहिले उहाँलाई विभिन्न ठाउँबाट चार हजार दुई सय चल्लाको माग आएको छ । दीपक जनज्योतिमा पढेर उद्यम गरेकै कारण विद्यालयको सिफारिसमा उहाँका आमाबुवालाई कृषि गर्नका लागि बैंकले सहुलियतमा रु १० लाख ऋण दियो । सैद्धान्तिकसँगै प्रयोगात्मक गर्दा बुझ्न सहजता हुनुका साथ पढाइ प्रभावकारी भएको आचार्य र शाहीको अनुभव छ । विद्यालयले तीन वर्षदेखि ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।   विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । विद्यालयमा अध्ययन गरिरहेका सबैले ऋण लिएर कृषि व्यवसाय गर्न सक्छन् । ‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देलले जानकारी दिनुभयो । “विद्यार्थीले काम गर्ने जाँगर मात्रै देखाउनुपर्यो”,  उहाँले भन्नुभयो, “उनीहरूलाई समूह वा व्यक्तिगतरूपमा सानोतिनो व्यवसायका लागि ऋण दिइरहेका छौँ ।” विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ । भेटेरेनरी र कृषितर्फ १८ महिने र तीनवर्षे कक्षा सञ्चालन भइरहेको छ । विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा कुन व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन्, त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् ।   विद्यार्थीलाई पाँच हजारदेखि रु एक लाख २० हजारसम्म ऋण दिइरहेको प्रअ सिग्देलले जानकारी दिनुभयो । “विद्यार्थीलाई सर्च–रिसर्च र खर्चको विधि अपनाएर व्यवसायमा संलग्न गराएका छौँ”, उहाँले भन्नुभयो, “यसबाट विद्यार्थीले कतिसम्मको व्यवसाय गर्न सक्छु भनेर पहिचान गर्दछन् ।” धेरै लगानी गरेर व्यवसाय गर्नुपरे बैंकिङ प्रक्रियाबाट भए पनि ऋण उपलब्ध गराउँछौँ ।” प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले पहिले रु पाँच हजार धरौटी राख्छन् । त्यही कोषमा जम्मा भएको रकमबाट विद्यालयले ऋण दिन्छ । कर्णाली प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको छ । उक्त रकमबाट रु ३५ लाखको लागतमा विद्यालयले तीन हजार कुखुरा, ५० बङ्गुर र २० माउ बाख्रा अट्ने खोर बनाएको छ ।   प्रअ सिग्देलका अनुसार रु ३० लाखमा अर्को कोष बनाएर विद्यार्थीलाई आवश्यकतानुसार ऋण दिँदै आएको छ । प्राविधिक शिक्षाअन्तर्गत प्रयोगात्मक कक्षाका लागि आवश्यक पर्ने सबै संरचना विद्यालयको आफ्नै छ । आफूसँग भएको जग्गा नपुगेपछि विद्यालयले पाँच रोपनी जग्गा भाडामा लिएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार भाडामा लिएको जग्गामा पनि विद्यार्थीले माछा, बङ्गुर, कुखुरा तथा मौरीपालन गरिरहेका छन् । तरकारी र च्याउलगायत खेती पनि गरिरहेका छन् । विद्यालयले सञ्चालन गरेको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई कापी, कलममात्रै होइन विद्यार्थीले उत्पादन गरेको कृषिजन्य सामग्री लिएर विद्यालय आउन–जान पनि सिकाएको छ ।   कार्यक्रम सञ्चालनपछि जनज्योतिका विद्यार्थी हरेक दिन विद्यालय आउने समयमा अण्डा, मह, तरकारी, कुखुरा ल्याएर विद्यालयको कृषि तथा पशु व्यवसाय प्रवद्र्धन सेवा केन्द्रमा जम्मा गर्छन् । कुन विद्यार्थीले के ल्याए भनेर सेवा केन्द्रमा बसेका शिक्षकले तथ्याङ्क सङ्कलन गर्छन् । विद्यालयले बजारमा वस्तु बिक्री गरेर विद्यार्थीलाई पैसा दिन्छ ।   प्रअ सिग्देलका अनुसार विद्यार्थी खाली हात आउन नपाउने गरी विद्यालयले नियम बनाएको छ । विद्यालयले ३ कक्षामुनिका बालबालिकाका अभिभावकसँग कृषिमा कसरी बालबालिकालाई जोड्न सकिन्छ भनेर अन्तक्र्रिया गर्छ भने ४ देखि १२ कक्षासम्म प्रत्येक कक्षामा ४० जनाका दरले विद्यार्थीलाई कृषि विषय पढाइन्छ ।   जनज्योतिले ल्याएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रमलाई  सरकारले गत वर्ष मात्रै नीति तथा कार्यक्रममा समावेश गरी यसलाई कार्यान्वयनमा ल्याएको हो । जनज्योतिले त्यसअघि नै कार्यान्वनमा ल्याइसकेको थियो । विद्यालयमा दुई सय ५० विद्यार्थी १८ महिनेदेखि तीन वर्षे कृषि तथा भेटेनरी जेटिए अध्ययन गर्दैछन् । यस वर्ष एक सय ६० भर्ना हुँदैछन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रदेश सरकारले सहयोग गरेको छ । पहिलो चरणमा कर्णाली प्रदेश सरकारले विद्यालयलाई रु ५० लाख दिएको थियो । सोही रकमबाट विद्यालयले अध्ययनसँगै कृषि, पशुपालन र सीप विकासमा विद्यार्थीलाई केन्द्रित ग¥यो । देशका विभिन्न ठाउँबाट कृषि अध्ययन गर्ने जनज्योतिमा अवलोकनका लागि आउने गर्छन् । पैसा नभएर पढ्न नसकेका विद्यार्थीले पनि पढ्न पाइरहेका छन् ।      अहिले विद्यालयले जङ्गलमा खेर जाने थाकलका पातबाट विद्यार्थीलाई टोपी र झोला बनाउने तालिम दिन थालिएको छ । विभिन्न व्यक्ति र सङ्घ संस्थाको सहयोगमा विद्यालयले विद्यार्थीलाई यो सीप सिकाएको हो । अहिले विदेशबाट नौँ लाख झोला र टोपीको माग आएको छ । त्यहीँ परिपूर्ति गर्नका लागि विद्यालयले तालिमलाई निरन्तरता दिएको छ ।       त्योसँगै विद्यालयले चुरापोते, चप्पललगायत सीपमूलक तालिम सञ्चालनमा ल्याएको सो विद्यालयका प्रअ सिग्देल बताउनुभयो । “सर्टिफिकेट भएर मात्र केही हुनेवाला छैन, सीपको विकास नै महत्वपूर्ण शिक्षा हो”, उहाँले भन्नुभयो, “अहिले हाम्रा विद्यार्थी पढ्दै कमाउँदै छन्, यसबाट समुदायको पनि विकास भएको छ ।” अहिले विद्यालयमा अध्ययनरत एक हजार दुई सय ९७ विद्यार्थी कुनै न कुनै माध्यमबाट कृषि तथा पशुपालनमा जोडिएका छन् । कुनाथरी गाउँका प्रत्येक कुना–कुनामा लोकल कुखुराका चल्ला वितरण गर्ने र मौरीपालनको तालिम चलाएर गाउँलाई नै मौरी हबको रूपमा विकास गर्ने विद्यालयको योजना छ ।

पोखराः गणतन्त्रको पहिलो कार्यकाल सकिँनैलाग्दा प्रदेश सरकारहरुको खर्च सार्वजनिक हुन थालेको छ ।    प्रदेशको खर्च विवरणअनुसार गण्डकी प्रदेश सरकारले ५ वर्षमा सांसद र पिएको सेवा–सुविधामामात्रै ३३ करोड ४२ लाख रुपैयाँ खर्चेको छ । कानूनतः तलब वा पारिश्रमिक नभनि सेवा, सुविधा भनिन्छ ।    यस ५ वर्षमा प्रदेशमा विभिन्न संसदीय दल सञ्चालनको लागि चियापान खर्चमा ६४ लाख ७५ हजार १ सय रुपैयाँ खर्च भएको जनाएको छ । जसमध्ये पछिल्लो तीन आर्थिक वर्षमा संसदीय दलका सदस्यहरुले वार्षिक २० लाख बढीको चियापान गरेका छन् ।    प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एसको कार्यालय रहेको छ ।    त्यस्तै, प्रदेश सभा बैठकमा २७ लाख ६६ हजार २७१ रुपैयाँ चियापानमा खर्च भएको प्रदेशसभा सचिवालयको विवरणमा जनाइएको छ ।    सभा र सचिवालयको चियापानमामात्रै कूल ९२ लाख ४१ हजार ३७१ रुपैयाँ खर्च भएको छ ।   

दमौली  ः  डेङ्गु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।   सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड–१९ को सङ्क्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेङ्गुले दुःख दिन थाल्यो”, उहाँले भन्नुभयो, “हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।”   डेङ्गु नियन्त्रणका लागि लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थान जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रत्येक वडामा जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।”   ‘सबै जागौँ, सबै लागौँ ः वरिपरि जमेको पानी हटाई डेङ्गु भगाऔँ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ । व्यास नगरपालिकाले मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फाल्नुका साथै सचेतना प्रदान गरेको छ ।   आँबुखैरेनी गाउँपालिकाले पनि डेङ्गुबाट बच्नका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।   “डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्रायः दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ”, उहाँले भन्नुभयो, “यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।”   यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यस्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिएको छ ।   डेङ्गुबाट ८८ सङ्क्रमित   तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ । सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार ८८ जनामा डेङ्गु पुष्टि भएको हो । दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।   डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा भर्ना भएर उपचार गराउने तीन जनामध्ये एक जना उपचारपश्चात घर फर्किएका छन् दुई जनाको उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख डा राजु रानाले जानकारी दिनुभयो । बन्दीपुर अस्पतालमा भर्ना भएर सात जनाको उपचार गरिएकामा चार जना उपचारपश्चात घर फर्किएका छन् । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनालाई डेङ्गु पुष्टि भएकामा २७ जना भर्ना भएर उपचार गराएका थिए । उपचाररत २७ जना नै उपचारपश्चात घर फर्किसकेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    डेङ्गु परीक्षणका लागि स्वास्थ्य कार्यालयमा किट अभाव रहेको छ । स्थानीय तह र अस्पतालले नै किट खरिद गरेर परीक्षण गर्ने गरेकाले सहज भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताउनुभयो । “स्वास्थ्य कार्यालयमा किट छैन, पालिकाले नै व्यवस्थापन गरिदिएकाले परीक्षणमा सहज भएको छ”, अधिकारीले भन्नुभयो ।    लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको चिकित्सक बताउँछन् । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखापरिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।   एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको दमौली अस्पतालका निमित्त प्रमुख डा रानाले बताउनुभयो ।   डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।  

  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण देशभर ७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा चार हजार एक सय २६ जनाको परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।   आज एक सय १६ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ । आज एक जनाको सङ्क्रमणका कारणले निधन भएको जनाइएको छ । अहिलेसम्म सङ्क्रमणका कारणले १२ हजार १७ जनाको निधन भइसकेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८३ पुगेको छ ।   पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । यस्तै १५ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । होमआइसोलेशनमा एक हजार दुई सय ३४, संस्थागत आइसोलेशनमा ४९ र सघन उपचारकक्ष (आइसीयू)मा १०  जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको मन्त्रालयले जनाएको छ ।

  कपिलवस्तु: दशैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि ।       दशैँको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् ।      दशैँलाई सस्तो, राम्रो र आकर्षक सामग्री खरिदका लागि भन्दै नेपालीहरु सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीको समस्या विगतका वर्षभन्दा कम छैन यतिखेर ।  सीमापारिका बढ्नी, खुनुवा, अलिगढवा लगायतका भारतीय बजारमा यतिखेर नेपालीको बाक्लो चलहपहल देखिन्छ ।      दशैँका लागि अत्यावश्यक वस्तुदेखि विलाशिताका सामग्री किन्न नेपाली भारतीय बजारमा निर्भर देखिन्छन् । यसपालिको दशैँमा नेपालमा हरेक सामानमा मूल्य बढेको छ । त्यसैले पनि भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षण बढेको हो ।      मुख्यगरी नेपाली उपभोक्ताहरु लत्ताकपडा, जुत्ता चप्पल, चिनी, दाल, तेल तथा टिभी, फ्रिजसम्म किन्न भारतीय बजार धाउछन् । सीमापारिका बजारमा पाइने वस्तु नेपाली बजारमा महँगो हुने भएकाले आफू भारतीय बजारतर्फ आकर्षित भएको बुद्धभूमि नगरपालिका–९ की मनिषा भाटले बताउनुभयो ।     “नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा दुई हजार बढी पर्दैन, दशैँ खर्चिलो छ, बचत त गर्नै पर्यो”, ‘इमिलियाबाट बढनी किनमेलका लागि जानुभएकी भाटले भन्नुभयो ।      खाद्यान्न वस्तुहरु पनि सस्तो भएकाले उपभोक्ताहरु भारतीय बजारमा आकर्षित हुने गरेको देखिन्छ ।   जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल सञ्चालन गरेमा उपभोक्ता भारतीय बजारमा कम जाने उपभोक्ता हकहित संरक्षण मञ्चले जनाएको छ । भारतीय बजारभन्दा पनि सस्तोमा लत्ताकपडा दिए पनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको कृष्णनगरमा कपडा पसल सञ्चालन गरेर बस्नुभएकी सीता घिमिरेले बतानुभयो । भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महसुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महँगो हुन जाने उहाँ बताउनुहुन्छ ।      कृष्णनगर र मर्यादापुर भन्सार कार्यालयका अनुसार एक सातामा जिल्लाका विभिन्न सीमानाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ । दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सारसमेत नतिर्दा राज्यलाई समेत लाखौँ राजश्व घाटा लाग्ने गरेको छ ।      कपिलवस्तु व्यापार सङ्घका अध्यक्ष महादेव पोख्रेलले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाउनुभयो । केही वस्तु सस्तोमा दिएर अन्य वस्तुहरुमा चर्को मूल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उहाँले बताउनुभयो । “नेपालीको मानसिकता सीमापारि सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउँदै व्यापारीले ठग्ने गर्दछन्”, उहाँ भन्नुहुन्छ । 

  तनहुँ । तनहुँको ऋषिङ गाउँपलिका–८ पल्ट्याङका गञ्जसिं गुरुङलाई बर्खायाममा फेदीखोला तर्न निकै सकस थियो । हिउँदमा सामान्य भए पनि बर्खाका बेला फेदीखोला उर्लेर तर्न समस्या हुन्थ्योे ।        खोला बढेको बेला वारपार गर्न सास्ती थियो । खोला बढेर मान्छे नै बगाउने स्थिति आउने गर्दथ्यो । विसं २०७५ मा कक्षा सातमा अध्ययनरत एक बालकलाई यही खोलाले बगाएर ज्यानै लियो तर अब यस भेगका बासिन्दालाई अहिले खोला तर्नु पर्दैन । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त गाउँपालिका–८ र भिमाद नगरपालिका–५ जोड्ने फेदीखोलामा पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको हो । खोला तर्नुपर्दाको विगत सम्झिँदै गुरुङले भन्नुभयो, “खोलामा पुल नहुँदा यस भेगका जनताले निकै दुःख पाए तर अब त पक्की पुल बनेकाले सहज भयो ।”   उक्त गाउँपालिकाका विभिन्न वडावासीकोे प्रमुख व्यापारिक केन्द्र भिमाद बजार हो । त्यस भेगका सर्वसाधारण यही बाटो हुँदै भीमाद बजार आउँछन् तर पुल बनेपछि दैनिक जीवन यापनमा सहज भएको उहाँले बताउनुभयो । गुरुङका अनुसार फेदीखोलामा पुल निर्माण भएपछि भिमाद नगरपालिका र यस गाउँपालिकाका हजारौँ सर्वसाधारण लाभान्वित भएका छन् । पक्की पुल बनेपछि ग्रामीण भेगमा उत्पादित तरकारी पनि सहजरुपमा बजारसम्म लगेर बिक्री गर्न सहज भएको छ ।    भिमाद नगरपालिका–५ का तिलबहादुर थापाले पक्की पुल निर्माण भएसँगै भिमादका अतिरिक्त ऋषिङको राम्जाकोट, कोटदरवारलगायत ठाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको जानकारी दिनुभयो । “हेर्दा सामान्य देखिए पनि बर्खामा खोलाको वास्तविक रुप देखिन्छ तर अब पुल बनेपछि राहत भयो”, उहाँले भन्नुभयो ।    सोही नगरपालिका–३ स्थित बुडुवा खोलामा पनि पक्की पुल नहुँदा स्थानीयवासीलाई खोला पारपार गर्न कठिन थियो । बर्खाका बेला यो खोला निकै ठूलो हुन्थ्यो । खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँसदाउरा र मेलापात गर्ने स्थानीयवासीलाई पनि खोला तर्न समस्या थियो । यहाँ पनि प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण सम्पन्न भएको छ । वर्षौंदेखि पक्की पुल बनाउन आवाज उठाउँदै आएका स्थानीयवासीको माग प्रदेश सरकारले सम्बोधन गरेको वडाध्यक्ष पदमराज ठकुरीले बताउनुभयो ।    “पुल नहुँदा यहाँका बासिन्दाले दुःख झेल्नुप¥यो तर सङ्घीयतासँगै बनेको प्रदेश सरकारले यहाँ पुलको आवश्यकता महसुस ग¥यो, किरण गुरुङ अर्थमन्त्री हुँदा बजेट विनियोजन भएर पुल निर्माण भएको छ”, उहाँले भन्नुभयो ।   तनहुँमा गण्डकी प्रदेश सरकार मातहत पूर्वाधार विकास कार्यालयमार्फत चारवटा पक्की पुल निर्माण भएको छ । आर्थिक वर्ष ०७८÷७९ मा रु १६ करोडको लागतमा ती पक्की पुल निर्माण भएका हुन् ।    विभिन्न मितिमा निर्माण सुरु गरिएका उक्त पुल आर्थिक वर्ष ०७८÷७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेवल पुल सोतीवेशी, बुडुवाखोला मोटरेवल पुल, फेदीखोला मोटरेवल पुल र रिस्तीखोला मोटरेवल पुल बगुवा निर्माण गरेको कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिनुभयो ।   फेदीखोलाको पुल रु चार करोड २८ लाख ३२ हजार, बुडुवा खोलाको पुल रु दुई करोड नौ लाख, रिस्ती बगुवाखोलाको पुल रु चार करोड २५ लाख र रिस्ती सोतीवेशीको पुल रु चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो । फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीवेशीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेवल पुल निर्माण भएको उहाँको भनाइ थियो ।    उक्त आर्थिक वर्षमा सात वटा पुल सम्पन्न गर्ने लक्ष्य रहे पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीन वटा पुल निर्माण हुन नसकेको सूचना अधिकारी मिश्रले बताउनुभयो ।    “सात वटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो तर तीन वटा पुलको काममा ढिलाइ भयो, चार वटा मात्रै सम्पन्न भएको छ”, उहाँले भन्नुभयो । करिब रु ११ करोडको लागतमा निर्माण गरिने तीन पुल अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेवल पुल रु तीन करोड २१ लाख, द्रोपद खोला मोटरेवल पुल रु तीन करोड ८३ लाख र बरखोला पुल रु तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।  

बागलुङ :  गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक ।   असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् ।   गाउँमा पुगेका अधिकांश सडक बिना सर्भेक्षण निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन सक्दैनन् । बर्खाको तीन महिना स्थानीयवासीलाई बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्छ । गाउँमा कोही बिरामी परेर अपरझट अस्पताल पु¥याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ ।    गाउँ पुगेका सडक बर्खाका कारण दर्जनौँ स्थानमा पहिराले परिएका छन् भने कयौँ स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नुपरेको निसीखोला गाउँपालिका–१ मा मदन घर्तीमगरले बताउनुभयो । उहाँले सडक पहिराले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको बताउनुभयो ।   “गाउँमा बाटो छैन भनौ भने छ, तर बर्खामा गाडीनै चल्न सक्दैनन्, हिउँदमा त गाडी निरन्तर चल्छन्, बर्गा लाग्यो भने त सबै ठप्प हुन्छन्, गाउँलेले निकै दुःख पाए, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ”, स्थानीयवासी घर्तीमगरले भन्नुभयो, “हिउँदमा मात्रै अल्ली सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलुन् रु, दसैँ आउन लाग्यो अझै खुलाउने सुरसार छैन ।”   उहाँले बर्खामा सडक सञ्चालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेरै अस्पताल झर्नुपरेको र सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको बताउनुभयो । “सडक भत्किएर गाडी त चल्दैन नै, मान्छे हिँड्न पनि निकै जोखिमपूर्ण भएको छ, पैदलयात्रा गर्दामाथिदेखि पहिरो झरेर पुरिने होकी भन्ने डर उस्तै छ, गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने रु, बोकेर भए पनि अस्पताल पु¥याउनु प¥यो, हाम्लाई त सडक भएर पनि दुःख नभएर पनि दुःख,” घर्तीमगरले गुनसो गर्नुभयो ।    बडिगाड गाउँपालिका–७ का गाडी चालक बोमबहादुर बुढामगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताउनुभयो । उहाँले असार अन्तिम सातातिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्काएर राख्नुपरेको बताउनुभयो । अब दसैँमा सडक खुलेमात्रै गाडी चलाउन सुरु गर्ने चालक बुढामगरको भनाइ थियो ।   “बाटो बिग्रिएर खतम भएको छ, पहिराले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताले खनेर खुलाउन सकिने थिए, धेरै ठूलो–ठूलो पहिराले ठाउँ–ठाउँमा सडक पुरिएको छ, ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजार तिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता चिर्ने उपाय त हुन्थ्यो”, उहाँले भन्नुभयो, “पहिराले गाउँमै अड्कियो, अब दसैँ आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो पैसा पनि छैन केले दसैँ मनाउने रु, पोहोर साल त बजारतिरै थिए, ठिकठिकै कमाइ भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खाजेर तिर्नुप¥यो ।”   लामो समयदेखि गाउँ–गाउँमा गाडी चलाउँदै आउनुभएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताउनुभयो । उहाँले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलतिर भासिने हुँदा दुर्घटना हुने सम्भावना बढी हुने बताउनुभयो । विकले अहिले गाउँका सडक पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्छ भन्नुभयो ।   “बर्खामा गाउँमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर चाप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छे बोक्नै प¥यो, सामान ओसार्न परिहाल्यो, अझ गाउँका सडक निकै साँघुरा हुन्छ, धेरै पानी प¥यो भने चिप्लिने डर हुन्छ”, चालक विकले भन्नुभयो, “सम्बन्धित निकायले सडक निर्माण गरेर मत्र छोड्छ, तर कहाँ नाली बनाउनुपर्छ, कहाँ पर्खाल उठाउनुपर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नुपर्छ, नाली निर्माण भयो भने धेरै सडक बर्खामा पनि चल्छन् ।”   उहाँले गाउँपालिका तथा नगरपालिकाले अनावश्यक ठाउँमा पनि बिना नापजाँच सडक निर्माण गर्दा सडक बर्खाको समयमा ठप्प हुने गरेको बताउनुभयो । गाउँका सडकबाट आएको बाढी पहिराले मुख्य सडक पनि अवरुद्ध हुने गरेको छ । बिना नापजाँच निर्माण भएका सडकका कारण धेरै बस्तीसमेत उच्च जोखिममा परेको छ ।   दुई/चार वटा घर भएको लेकको टुप्पामा पनि सडक खन्ने प्रवृत्ति बढेको छ, त्यसको असर कति धेरै परेको छ भन्नेकुरा सम्बन्धित निकायलाई थाहा छैन, सडक लेकको टुप्पमा त पुगेको छ तर त्यसको तलतिर कति धेरै बस्ती पहिराको उच्च जोखिममा परेका र समथर खेतीयोग्य जमिन पनि सडकदेखि बगेर आएको बाढीले बगर बनाइदिएको छ । यो एक ठाउँको समस्या होइन, धेरै ठाउँमा यस्तो भएको छ र पनि बाटो खन्न छोडेका छैनन् ।

नवलपुर  ः  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।    धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उहाँको भनाइ थियो । “नगरभित्रका धेरै किसानले ह्वाइट फ्लाईबारे गुनासो गर्न थाल्नुभएको छ”, शाखाप्रमुख शर्माले भन्नुभयो, “कृषकको धान खेतमा गएर हेर्दा पनि पसाउने बेलाको धानमा धेरै सङ्क्रमण देखेका छौँ, यसको नियन्त्रणका लागि माथिल्लो निकायलाई जानकारी गराइसकेका छौँ ।”    कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले ह्वाइट फ्लाई सङ्क्रमण जिल्लाभरि नै देखिएको बताउनुभयो । जिल्लाको जम्मा कति क्षेत्रफलमा यसको सङ्क्रमण देखिएको छ भनेर कार्यालयले तथ्याङ्क लिने काम गरिरहेको उहाँको भनाइ थियो । “धान खेतीमा देखिएको ह्वाइट फ्लाई थप बढ्दै गएर नियन्त्रण गर्न नसकिए धान उत्पादनमा कमी आउन सक्छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “मसिनो खालको सेतो झिङ्गाले धानको पात चुस्ने, पसाउने बेलाको बाला चुस्ने गरेका कारण धानको बोट नै पहेँलो भएर जाने गरेको छ ।”    किराको कारणले धान पहेँलोे भएका बेला किसानले धान खेतमा रासायनिक मल हाल्दा समस्या थप बढेको उहाँले बताउनुभयो । “जिल्लामा लगाइएका धान खेतीमध्ये केही ठाउँमा खाद्य तत्वको कमी पनि देखिएको छ तर कृषि प्राविधिकको सल्लाहबिना युरिया मात्रै राख्दा धानलाई हरियो बनाउन सहयोग गर्छ र किरालाई थप खानेकुरा मिल्छ”, उहाँले भन्नुभयो, “धान हरियो हुँदै गएपछि यसले किराको सङ्ख्या अझै बढाउने हुँदा रोगको सङ्क्रमण सजिलै फैलिन सक्छ, त्यसैले कृषि प्राविधिकको सल्लाह लिएर मात्रै धानमा मल हाल्ने तथा उपचार गर्ने गर्नुपर्छ ।”    नवलपुरको मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट नगरपालिकासहित विनयी त्रिवेणी, हुप्सेकोट गाउँपालिकामा बर्खे धान लगाउने गरिएको छ । यस वर्ष जिल्लामा करिब १८ हजार आठ सय १६ हेक्टर जमिनमा बर्खे धान लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ । 

लमजुङ :  सरकारले एक पालिका एक सडक पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको यहाँको एक पालिकाको केन्द्रसम्म जोड्ने सडक निर्माण अवधि सकिए पनि काम भने अधुरै छ ।    गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रे गर्न तोकिएको अवधि सकिए पनि काम सम्पन्न हुन नसकेको हो । दुई वष  (गत असार २ गते)सम्ममा निर्माण  सम्पन्न गर्ने भनी सम्झौता भएको थियो ।    काठमाडौँस्थित कन्ट्र्याक निर्माण प्राइभेट लिमिटेडले निर्माण गर्दै आएको यस सडक विसं २०७७ असार ३ गते सम्झौता भएर विसं २०७९ असार २ गते कालोपत्रे गरिसक्नुपर्ने  सम्झौता थियो तर निर्धारित समयमा काम हुन नसकेपछि आगामी पुस १५ गतेसम्मका लागि पुनः म्याद थप गरिएको छ । प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार दुई सय २५ मा लगानीमा सात दशमलव १२१ किलोमिटर कालोपत्रे हुन लागेको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।    कार्यालयका रोड इन्जिनियर राजेश अधिकारीका अनुसार हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ३६ दशमलव ५१ प्रतिशत छ । हालसम्म रु नौ करोड ६० लाख २० हजार १० उक्त कार्यालयले ठेकेदार कम्पनीलाई दिइसकेको उहाँको भनाइ थियो । हालसम्म नाली  र एउटा आरसीसी कल्र्भटका साथै सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने यतिबेला ग्याबेल, ग्याबिन वाल, मेसिन वाल, स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ थियो । सो सडकमध्ये दुई ठाउँमा एक हजार एक सय १३ घनमिटर सडक ढलान गर्ने भएको छ ।    उक्त सडक कोभिडका कारण र निर्माण कार्य सुरु गर्न ढिलाइ भएको जनाउँदै निर्माण कम्पनीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरे पनि पुनः म्याद थप गरिएको समयमा भने सम्पन्न गर्नसक्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडकको विभिन्न स्थानमा ६० कामदार सम्लग्न छन् । उक्त सडक निर्माण भएसँगै दोर्दी पालिका र सडक आसपासका बासिन्दालाई सदरमुकाम बेँसीसहरसम्म आउनका लागि समय समयको बचत हुनाका साथै सहज यात्रा गर्न पाउने छन् भने किसानले उब्जाएका खेतीपातीसमेत सदरमुकामसम्म ल्याउन सहज हुने भएको छ ।   गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले यस सडक चाँडै सम्पन्न गराउन सम्बन्धित निकायमा कुरा उठाउँदै आएको बताउनुभयो । सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडककोे यात्रामा कठिनाइ हुँदा जनताले सास्ती भोग्दै आउनुपरेकाले आफूले सक्दो पहल गर्दै आएको उहाँको भनाइ थियो ।