काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो लागेर एक हजार नौ सय १० दशमलव ३८ मा सीमित भएको छ । यस्तै, ठूल कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७१ दशमलव ९० मा सीमित भएको छ । कूल दुई सय २० कम्पनीको २९ लाख १६ हजार दुई सय ७१ कित्ता शेयर रु ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर मूल्य शून्य दशमलव शून्य एक अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ छ दशमलव ८७, व्यापार छ दशमलव शून्य दुई, होटल तथा पर्यटन १९ दशमलव तीन, विकास बैंक ४४ दशमलव शून्य एक, जलविद्युत् २५ दशमलव २४, वित्त २२ दशमलव ४१, निर्जीवन बीमा २७ दशमलव ३५, उत्पादन ५५ दशमलव ८९, अन्य चार दशमलव शून्य छ, लघुवित्त ४३ दशमलव ८६, जीवन बीमा २२ दशमलव २६ र लगानी शून्य दशमलव ७६ अङ्कले ओरालो लाग्यो । शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४४ अर्ब ८८ करोड ३५ लाख ८५ हजार बराबर रहेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड २३ लाख ३२ हजार छ सय ७७ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु तीन करोड दुई लाख दुई हजार दुई सय ६८, नबिल बैंक रु तीन करोड ५५ हजार, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ८४ लाख ६९ हजार चार सय ८१ र अपि पावर कम्पनी रु दुई करोड ७५ लाख ७५ हजार चार सय दुई बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार नबिल ब्यालेन्स फण्ड दोस्रो सात दशमलव ८७, बुद्ध भूमि नेपाल हाइड्रोपावर छ, अप्पर हेवाखोला हाइड्रोपावर पाँच दशमलव ७५, लाइफ इन्स्योरेन्स कर्पोरेशन तीन दशमलव ९९ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले तीन दशमलव ५७ प्रतिशतले कमाएका छन् । त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स पाँच दशमलव ५९, रिभल फल्स पावर पाँच दशमलव ३१, अप्पर सोलु हाइड्रोपावर पाँच दशमलव ३०, ग्रीन डेभलपमेन्ट बैंक चार दशमलव शून्य नौ र एनएमबी– ५० का लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं । मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेङ्गु सङ्क्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेङ्गु फैलिएकोे जनाएको छ । गत साउनदेखि हालसम्म १२ हजार दुई सय १७ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । डेङ्गुका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा चार सय दुई, मधेसमा दुई सय २३, बागमतीमा नौ हजार तीन सय चार, गण्डकीमा दुई सय ४५, लुम्बिनीमा एक हजार चार सय ७९, कर्णालीमा एक सय ८४ र सुदूरपश्चिम प्रदेशमा तीन सय ८० जनामा डेङ्गु देखिएको छ । सांसद शर्माले देशका धेरै स्थानमा बाढीपहिरो गएको जनाउँदै बाढीपहिरो प्रभावितको उद्धार र राहत वितरणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । दार्चुला, काभ्रेपलाञ्चोकलगायत जिल्लामा बाढी, पहिरोले मानवीय र भौतिक क्षति पु¥याएको छ । उहाँले बाढी, पहिरो प्रभावितलाई राहत र प्रभावित क्षेत्रमा तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा विमला राई पौडेलले डेङ्गुले तहल्का मच्चाइरहेकाले यसको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । “प्रत्येक घरमा बिरामी छन् । सरकार डेङ्गु नियन्त्रण गर्नेतर्फ ध्यान दिन सकेन । बजारमा सिटामोलको अभाव छ, जनतालाई ज्वरो आएको छ, सिटामोल पुर्याउनु पर्दैन ?”, उहाँले भन्नुभयो । उहाँले डेङ्गु प्रतिकारात्मक काम कहाँ पुग्यो भनी स्वास्थ्य मन्त्रालयसँग प्रश्न गर्नुभयो । सांसद जयन्तीदेवी राईले महँगीको चपेटामा जनता परिरहेको र महँगी नियन्त्रणमा सरकारको ध्यान दिन नसकेको बताउनुभयो । “सबैको ध्यान पेट्रोलियम पदार्थको मूल्य बढेकामा गएको देखियो”, उहाँले भन्नुभयो, “तर दैनिक उपभोग्यवस्तुको मूल्य अकासिएको छ, यतातर्फ कसैको ध्यान गएको देखिएन ।” किसानका उत्पादनले उचित मूल्य पाउन नसकेको तथा उपभोक्ताले चर्को मूल्य तिरेर तरकारी खानुपरेको जनाउँदै उहाँले कृषिजन्य उत्पादनको बिक्री वितरणमा संलग्न विचौलियाको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद खिमलाल देवकोटाले प्रदेशलाई अधिकार दिन कुनै कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । पाँच वर्षसम्म प्रदेशले सरकारको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उहाँले संविधानको अनुसूचीमा रहेको एकल अधिकार सूचीका अधिकार पनि प्रदेशले प्रयोग गर्न नसकेको बताउनुभयो । “एकल अधिकार क्षेत्रभित्र रहे पनि अहिलेसम्म प्रहरी समायोजन भएको छैन, सङ्घीय निजामतीसम्बन्धी कानून नहुँदा प्रदेश निजामती कानून बन्न सकेको छैन, बनेका पनि प्रभाकारी छैनन्”, उहाँले भन्नुभयो, “प्रदेश लोकसेवा आयोग प्रभावकारी बन्न सकेको छैन, प्रदेशमा ४० प्रतिशत कर्मचारी न्यून छन्, भएका कर्मचारीको पनि स्थायित्व छैन, प्रदेश मन्त्रालयका सचिवको छोटो अवधिमा नै सरुवा हुने गरेको छ ।” प्रदेशका अधिकारलाई सङ्कुचन हुनेगरी विभिन्न सङ्घीय कानुन बनेको जनाउँदै उहाँले कर्मचारी, कानून, वित्तीय साधन स्रोतलगायत आधारभूत संरचना सुनिश्चिता नगरिए प्रदेश सरकारले आफ्नो औँचित्य पुष्टि गर्न नसक्ने बताउनुभयो । सांसद कमला पन्तले आगामी निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्न राजनीतिक दलले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाले निर्वाचनमा भाग लिन सक्दैनन् भन्ने होइन, उनीहरुले निर्वाचनमा विजयी हुन्छन् भन्ने मानसिकता नेतृत्वले गर्नुपर्छ ।” सांसद देवेन्द्र दाहालले मुलुकको समृद्धि, सुशासनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, अनुशासनहिनताको अन्त्य गरिनुपर्छ”, उहाँले भन्नुभयो । सांसद गोमादेवी तिमिल्सना जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको जनाउँदै जनजीविकाका सवाल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “महँगीले चरम सीमा नाघेको छ, स्वदेशमै उत्पादित सामग्रीको मूल्य पनि अकासिएको छ”, उहाँले भन्नुभयो, “कृषिप्रधान मुलुक भने पनि दैनिक उपभोग्य वस्तु आयातमा आधारित छ, सरकारले खेतीयोग्य जमिन बाँझो नराखी कृषि उत्पादन गराउनेतर्फ लाग्नुपर्छ ।”
तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ । कार्यालयले रु एक लाख ३५ हजार छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले रु ४५ लाख ४८ हजार अनुदान दिएको हो । जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन् । तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमाङ्क रु ४५ करोड ४८ लाख बराबरको बीमा गरिदिएको छ । “पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो”, उहाँले भन्नुभयो, “बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।” त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत रु ४१ लाख ४१ हजार तीन सय ६५ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो । व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक/एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको हो । कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । प्रतिपाडी बाच्छीका लागि रु दश हजारका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबार थापालाई उच्च ज्वरो आएको थियो। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने। शुक्रबार भने ज्वरो केही कम भएको छ। ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए।
धनकुटा । कोरोना महामारीसँगै थलिएर सुनसान बनेका जिल्लाको प्रमुख केन्द्र धनकुटा नगपालिकाका एक दर्जन बढी पार्क (उद्यान) को अवस्थामा अझै सुधार आउन सकेको छैन्। लाखौँ खर्चेर बनेका ती पार्क अहिले आन्तरिक पर्यटकसमेत नआएर सुनसान बनेका छन् । धनकुटा नगरपालिकाको मुख्य पर्यटकीयस्थलका रूपमा रहेको वडा नं ७ को चुलिवन पार्कमा बनेको भ्यूटावर चढ्न फाट्टफुट्ट आन्तरिक पर्यटक आए पनि चहलपहल बढ्न सकेको छैन । विसं २०७५ बाट सो स्थानमा निजी रु ३५ लाख खर्चेर मिनीमेला तथा पार्क सञ्चालन गर्दै आउनुभएका रामकुमार राई र उहाँकी श्रीमती सीमा थापा (राई) अहिले व्यवसायमा घाटा लागेको बताउनुहुन्छ । स्थानीय सामुदायिक वनलाई वार्षिक नाफाको २० प्रतिशत रकम दिने शर्तमा रोटेपिङ, बालबालिकाका लागि खेल तथा क्यान्टिन सञ्चालनमा लगानी गर्नुभएका उहाँहरूले वार्षिक रु ५० हजार पनि आम्दानी नहुने बताउनुभयो । “घाटैघाटा छ, ऋणको ब्याज तिर्दा–तिर्दा भएको जायजेथासमेत सकिन लाग्यो”, थापाले भन्नुभयो, “पिङ बेचौँभन्दा पनि बिक्दैन, अब के गर्ने होला, तनावमा छौँ ।” आफूहरूले काम सुरु गर्नेबित्तिकै कोरोना सुरु भएकाले आफूहरू ठूलो मर्कामा परेको श्रीमान् राईले चिन्ता व्यक्त गर्नुभयो । विसं २०६३ बाट गत वर्षसम्म नगरले रु एक करोड ३६ लाख खर्च गरेको यस स्थानमा मात्र होइन अन्य स्थानका पार्कहरूको अवस्था पनि उस्तै छ । धनकुटा नगरपालिका–१ जौटारमा बनेको वनभोज पार्क कोरोनाको मारसँगै बाटोघाटोको असुविधाका कारण सुनसान रहेको पूर्ववडाध्यक्ष नीरन तामाङले जानकारी दिनुभयो । यो पार्क विसं २०७४ मा प्रदेश नं १, जिल्ला वन कार्यालय र पाख्रिबास नगरपालिकाको रु १०–१० लाख गरी जम्मा रु ३० लाखको लागतमा निर्माण गरिएको थियो । त्यस्तै सोही वडाको व्यापारिक केन्द्र हिलेबजार नजिक निर्मित पर्यटन मन्त्रालयको रु १० लाख र धनकुटा नगरपालिकाको रु ३८ लाख लागतमा निर्मित बक्रकुड मन्दिर तथा पार्क पनि धार्मिक तिथिबाहेक अन्य समयमा ठप्प छ । “पहिला त निकै मान्छे पो आउँथे त, कोरोनापछि ठप्पै पो बन्यो भन्या !”, बक्रकुड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले भन्नुभयो । धनकुटा नगपालिका वडा नं ३ कागतेमा प्रदेश सरकारको रु ३० लाख लगानीमा निर्मित बाल उद्यान पनि सुनसानजस्तै छ । पार्कहरू सुनसान हुनुमा कोरोनामात्र कारक नभएर नगरको सडक सञ्जाल तथा व्यापारिक गतिविधिमा सुधार नभएर पनि यस क्षेत्रका पर्यटकीय क्षेत्र प्रभावित भएको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । नगर र गाउँ आवतजावत गर्ने सडकको स्तरोन्नति नहुनु, नगरमा निजी लगानीकर्ता आकर्षित हुन नसकेर व्यापार व्यवसायमा मन्दी आएसँगै पर्यटन क्षेत्र पनि प्रभावित भएको घिमिरेको तर्क छ । विज्ञहरूको योजना र अनुसन्धानबाट भन्दा पनि जनताका स्वेच्छिक धारणाबाट पर्यटकीय क्षेत्र बनेकाले लगानीअनुसारको प्रतिफल नआएको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टको भनाइ छ । “काम गर्दा कसैले परामर्श गर्दैनन् । करोडौँ खर्चेर बनेका पर्यटकीय क्षेत्रबाट कुनै आम्दानी छैन”, विष्टले भन्नुभयो । नागरिकका माग इन्कार गर्न नसकेर जताततै बनेका पार्क तथा पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र प्रवद्र्धन गर्न कठिनाइ हुँदा समस्या आएको धनकुटा नगपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिनुभयो ।
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन् । “विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ”, स्थानीय महेन्द्र बोहराले भन्नुभयो, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।” कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उहाँको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । “बेदकोटको चिनारीका रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ”, अर्का स्थानीय कपिल जोशीले भन्नुभयो, “नगरलाई देश–विदेशमा चिनाएको छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।” बाढीले लिङ्गेश्वर क्षेत्रमा पर्यटकहरूका लागि तस्वीर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ बगाएको छ । यस्तै धाम क्षेत्रमा रहेको लिङ्गेश्वर मन्दिर कटानको उच्च जोखिममा छ । “नदीले कटान गरेर मन्दिर बगाउने स्थिति छ, एक मिटरमात्रै बाँकी छ”, बेदकोट नगरपालिका–४ का अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, “फोटो खिच्न बनाइएको सेल्फी प्वाइन्ट बगाएको छ ।” उहाँका अनुसार बाढीले लिङ्गेश्वर जोड्न बगुन खोलामा निर्माणाधीन झोलुङ्गे पुलको ढङ्गाले निर्माण गरिएको पिलर पनि बगाएको छ । “तटबन्ध बगाएर बाढीले क्षति गरिरहेको छ, अहिले तटबन्ध गर्नु र नगर्नुको अर्थ छैन, बाढीले बगाउँछ”, उहाँले भन्नुभयो, “अहिले सामान्य ढुङ्गा राखेर अस्थायी तटबन्ध गरेका छौँ ।” आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि बेदकोट नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । स्थानीय तहको बजेटले मात्रै लिङ्गेश्वर धाम कटानको दीर्घकालीन समाधान गर्न नसकिने बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताउनुभयो । प्रदेश र सङ्घ सरकारसँग थप बजेट माग गरेर कटान समस्याको दीर्घकालीन समाधान खोजिने उहाँले बताउनुभयो । “नगरपालिकाको बजेटले मात्रै यो सम्भव छैन, करोडौँ लगानी लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउँछौँ ।”
कञ्चनपुर । चौतीस वर्षअघि कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंहले ओलम्पिकमा रचेको इतिहास अझै जीवित छ । सिओल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेर ‘एक वाउट’ जित्ने अहिलेसम्मकै एक्ला खेलाडी हुनुहुन्छ सिंह । राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण विभागको उपनिर्देशक पदमा कार्यरत सिंह अब जागिरको उत्तराद्र्धमा हुनुहुन्छ । सिओल ओलम्पिकमा सुदूरपश्चिमबाटै डम्बरदत्त भट्टले पनि बक्सिङ खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पछिल्लो समय ब्याडमिन्टन खेलको जुनियरतर्फ विश्व वरियताको नम्बर एकमा रहनुभएका प्रिन्स दाहाल पनि सुदूरपश्चिमकै खेलाडी हुनुहुन्छ । दार्चुलामा बुवाको पछि लागेर बुवाकै साथ र सहयोगले ब्याडमिन्टनको विश्व वरियतासम्म पुग्नुभएका प्रतिभावान खेलाडी दाहाल जन्मिएको दार्चुलाको खेलको अवस्था भने अझै दयनीय छ । केही वर्षअघिसम्म तेक्वान्दोमा तहल्का मच्चाउनुभएका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि सुदूरपश्चिमबाटै खेल जीवन सुरु गर्नुभएको हो । यसरी विसं २०४०÷४२ को दशकयता निरन्तर खेलाडी तयार गरिरहेको सुदूरपश्चिम प्रदेश खेलकुदका लागि चाहिने पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा छ । कैलाली र कञ्चनपुरमा केही खेल संरचना र पूर्वाधार सरकारले लगानी गरेर बेलाबखत बनाइरहेको भए पनि सात पहाडी जिल्लामा अझै त्यो सुविधाबाट खेलाडी बञ्चितजस्तै छन् । विगतदेखि नै भलिबलमा पहाडी जिल्लाबाट खेलाडी उत्पादन हुँदै आएका छन् । तर खेलाडीलाई नियमित प्रशिक्षण दिएर निखार ल्याउन यहाँ पर्याप्त प्रशिक्षकसमेत नभएको अवस्था छ । पूर्व राष्ट्रिय खेलाडी भोजराज जोशी दुई दशकयता दार्चुलामा स्वयंसेवक प्रशिक्षक भएर भलिबल खेलाडी तयारीमा लाग्नुभएको छ । भोजराज त एक उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । उहाँजस्तै लामो समय खेलकुदमा खर्चिएका सिनियर खेलाडी यहाँ विभिन्न खेलमा बिना सुविधा स्वयंसेवक प्रशिक्षक छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट सकिएर प्रदेशस्तरीय छनोट सुरु भइरहँदा यहाँ कुनै खालको रौनकता भने देखिँदैन । प्रिन्सको जिल्लामा बगेको कवर्डहल रासस दार्चुला समाचारदाताका अनुसार चर्चित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको गृहजिल्ला दार्चुलामा एउटा कभर्डहलसम्म छैन । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सफल भएका दाहालको गृहजिल्ला दार्चुलामा नौ वर्षअघि महाकाली नदीमा आएको बाढीले यहाँको कभर्डहल बगाएको थियो । बाढी यता यहाँ खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको निकै अभाव रहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकी बताउनुहुन्छ । “बाढीले कभर्डहल बगाएयता यहाँ खेल गतिविधि सञ्चालनका लागि संरचना बनेनन्”, अध्यक्ष बुढाथोकीले भन्नुभयो, “खेलाडीलाई प्रशिक्षण दिन सदरमुकाम बाहिरका क्षेत्र लैजानुपर्ने बाध्यता छ ।” त्यसैगरी भलिबलका स्वयंसेवक प्रशिक्षक भोजराज जोशीले खेल मैदान र कभर्डहलका बारेमा पटक–पटक समस्या राख्दा पनि कसैले चासो नदेखाएको गुनासो पोख्नुभयो । दार्चुलाबाट आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट एक सय ७२ खेलाडी छनोट भएका छन् । यहाँबाट भलिबल, कराते, फुटबल, हयाण्डबल, तेक्वान्दो, बुद्धिचाललगायतका खेलका खेलाडी छनोटमा परेका हुन् । उता सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा पनि खेल संरचना, खेल प्रशिक्षकबिना खेलाडी खेल गतिविधिमा संलग्न छन् । बक्सिङकी अन्तर्राष्ट्रिय खेलाडी पुनम रावलको गृहजिल्ला हो बाजुरा । डडेल्धुरा खेलकुद पनि समस्याग्रसित डडेल्धुरा जिल्लामा व्यवस्थित खेलमैदानको अभाव छ । सदरमुकाम अमरगढी नगरपालिकामा तीनवटा रङ्गशाला र खेलमैदान निर्माणधीन अवस्थामा छन् । तर बजेट अभावमा पूरा हुनसकेको छैन । लामो समयदेखि खेलमैदान अभावमा जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रमा खेलकुदसम्बन्धी गतिविधि प्रभावकारी हुनसकेका छैनन् । सात स्थानीय तह रहेको डडेल्धुरामा परशुराम नगरपालिकाबाहेक अन्य स्थानमा बहुखेल प्रतियोगिता गर्न सकिने खेलमैदान नहँुदा खेलाडी र दर्शकलाई समस्या हुने गर्छ । भलिबलबाहेक क्रिकेट, दौड र इन्डोरमा खेलाइने खेलहरूका लागि बढी समस्या भइरहेको खेलाडीको दुःखेसो छ । यहाँ खेलाडीले जोखिम मोलेर अभ्यास गर्नुपर्ने अवस्था छ । खेलमैदान निर्माणाधीन अवस्थामा रहेकाले खेलाडीले असहजता महसुस गरी खेल्ने गरेको भलिबल प्रशिक्षक नरेश थापाले जानकारी दिनुभयो । स्थानीय तहका अनुसार बजेटको कमी र भौगोलिक विकटताका कारणले रङ्गशाला वा खेलमैदान खेलाडीमुखी हुन नसकेको उहाँको भनाइ छ । “ढुङ्गा र खाल्डाखुल्डीसहितको मैदानमा खेलाडी लैजाँदा चोटपटक र शारीरिक अशक्त नै हुने डर रहन्छ”, खेलकुद विकास समिति डडेल्धुराका प्रमुख डम्बर भण्डारीले भन्नुभयो, “यहाँबाट खेलाडी भलिबल र क्रिकेटका राष्ट्रिय टिमबाट समेत खेल्दैछन् ।” खेलाडीले नै राष्ट्रको नाम विश्वमा चिनाउन सक्ने र नियमितरूपमा खेल खेल्दा स्वस्थ भइने खेलकुदको मान्यता रहेको भए पनि खेलमैदान नहुँदा धेरैजसो प्रतियोगिता ओझेलमा परिरहेका जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन भण्डारीले बताउनुभयो । “डडेल्धुरा पनि खेलाडीको उर्वरभूमि नै हो”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सहयोग गर्न आवश्यक छ ।” बझाङ: बगरमा खेल तीन साताअघि बझाङमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट तयारी हुँदै थियो । जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोट गरेपछि १२ वटै पालिकाका खेलाडी सदरमुकाम चैनपुर आए । चैनपुरका विभिन्न स्थानमा विभिन्न खेलका लागि खेलाडी छनोट प्रक्रिया सुरु भयो । खेल खेलाउनका लागि समितिले सदरमुकाम नजिकैका विद्यालयलाई चौर प्रयोग गर्न अनुमति माग्यो र सोही ठाउँमा खेल खेलायो । मैदान नहुँदा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोटका लागि स–साना खेल बगरमै खेलाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयो । क्रिकेट, फुटबलजस्ता ठूलो ठाउँमा खेल खेलाउनका लागि मात्रै नभई सानो ठाउँमा हुने भलिबल, क्रिकेट, ब्याटमिन्टन, ह्याण्डबल, टेबलटेनिस, बक्सिङ, तेक्वान्दो, फुलकन्टयाक्ट पौडी, खोखो, एथलेटिक्स, बुद्धिचाललगायतका खेल खेलाउनका लागि पनि बझाङमा खेलमैदान अभाव छ । उहाँले भन्नुभयो, “प्रदेश छनोटका लागि बझाङबाट दुई सय तीन जना खेलाडीको माग थियो । तर पाँच सय ५० जनाको आवेदन परेको हुँदा उनीहरूलाई विभिन्न विद्यालयका चौर र बगर प्रयोग गरेर खेलाडीलाई प्रतिस्पर्धा गराउँदै छनोट गरेका हौँ ।” खेलमैदान निर्माणका लागि स्थानीय निकायसँग पनि सहकार्य भइरहेको अध्यक्ष रोकायाले बताउनुभयो । “स्थानीय निकाय तथा अन्य निकायसँग पनि खेलमैदानका लागि समन्वय गरिरहेका छौँ । उहाँहरूले हुन्छ त भन्नुभएको छ तर अहिलेसम्म खेलमैदानका लागि गहिरिएर चासो भने कसैले पनि दिएका छैनन्”, उहाँले भन्नुभयो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशका लागि बझाङबाट १७ विधामा एक सय १४ पुरूष र ८९ महिला छनोट भएका छन् । बझाङमा करातेबाहेक कुनै खेलमा पनि प्रशिक्षक छैनन् । “यहाँ करातेबाहेक कुनै खेलका लागि पनि प्रशिक्षक छैनन् । अरू खेलका लागि क्लबहरूबाट स्वयंसेवकका रूपमा सहयोग गरिदिनुहुन्छ ।” विगतमा १२ खेल जतिमात्रै खेलाइन्थे भने यसपटक १८ विधामा खेलाडी छनोट गरिएको उहाँले बताउनुभयो । अध्यक्ष रोकायाका अनुसार खेलमैदान नहुँदा खेलकुद विकास समितिले जिल्ला क्रिकेट सङ्घको एकेडेमी, सत्यवादी मावि भोपुर, जालपा मावि देवल, ब्याडमिन्टन हल, क्रिकेट महिला सङ्घ एकेडेमी, जिल्ला प्रशासन कार्यालयको आँगन, फुलकन्ट्याक्ट कराते केडब्ल्यूएफ क्योकुसिन कराते प्रशिक्षण हल, जिल्ला खेलकुद विकास समितिको कार्यालय अगाडि खेलाइने गरिएको छ । बैतडीमा बिना प्रशिक्षक खेलाडी प्रशिक्षणमा बैतडीमा भने जिल्लास्तरीय छनोटका क्रममा जिल्लास्तरमा प्रशिक्षक र खेल पूर्वाधारबिनै खेलाडी छनोट गरिएका छन् । जिल्लाबाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि १३ खेलका एक सय ५६ खेलाडी छनोट गरिएका छन् । छनोट भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् । तर जिल्लामा छनोट भएका अधिकांश खेलाडी प्रशिक्षक र खेलमैदानको अभावका बीच छनोट गरिएका हुन् । यहाँ भलिबलका मात्रै एक प्रशिक्षक रहेका र अन्य खेलका प्रशिक्षक नै नरहेका बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ । प्रशिक्षक र प्रशिक्षणबिनै हरेक वर्ष यहाँका खेलाडीले राष्ट्रिय खेलकुदमा भाग लिन छनोट खेल खेल्ने गरेका छन् । जिल्लाका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिदा प्रशिक्षक र खेलमैदानबिना खेल्ने समस्या वर्षौँदेखिको हो । न त यहाँ कुनै खेलको गतिलो खेलमैदान छ, न कभर्डहल नै । खेलमैदान नहुँदा अभ्यास गर्न तथा बन्द प्रशिक्षणका लागि समस्या हुने गरेको क्रिकेट खेलाडी रितु कनौजियाले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलाडीका लागि आवश्यक पर्ने खेलमैदानको अभाव छ, खेलमैदानबिनै राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्ने बाध्यता छ । यसले गर्दा आफ्नो क्षमतामा निखारता आउन सक्दैन ।” कराते, भारोत्तोलन, ब्याडमिन्टनलगायतका खेलका लागि कभर्डहल आवश्यक पर्दछ । तर यहाँ कभर्डहल नै छैन । खेलाडी छनोट खुला आकाशमा हुने गरेको कराते खेलाडी नरेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ खुला आकाशमा प्रतिस्पर्धा गरेर छनोट भएका छौँ तर प्रदेश र राष्ट्रिय प्रतियोगिता कभर्डहलमा खेलाइन्छ । जिल्लामा खुला आकाश र माथि गएर कभर्डहलमा प्रतिस्पर्धा गर्दा निकै समस्या हुने गरेको छ ।” प्रशिक्षकबिनै छनोट खेलमा सहभागिता जनाउँदा सबै कुरा थाहा नहुने गरेको खेलाडी दिनेश ठगुन्नाले बताउनुभयो । बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी भने खेलमैदान र प्रशिक्षक नहुँदा खेलाडी उत्पादनमा समस्या हुने बताउनुहुन्छ । हलभित्र खेल्नुपर्ने खेल खुला चौरमा खेलाउनुपरेको र खेलमैदानमै खेलाउनुपर्ने खेलका लागि पनि उपयुक्त मैदान अभाव छ । उहाँले भन्नुभयो, “खेलमैदान नहुँदा सडक तथा विद्यालयका स–साना खेलमैदानमा छनोट खल खेलाउनुपरेको छ, खेलाडीको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पनि यो जोखिम छ, यहाँ राम्रोसँग प्रशिक्षण नहुँदा माथि गएर प्रतियोगिता जित्न सक्दैनन्, यसले दक्ष खेलाडी उत्पादन हुन सकिराखेको छैन ।” साथै प्रशिक्षक नहुँदा पनि जिल्ला छनोट गर्दा निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ । उहाँले भन्नुभयो, “जिल्ला छनोटका बेला प्रदेशका तराईका जिल्लाबाट प्रशिक्षक बोलाउनुपर्छ, कुनै बेला म आफैँ पूर्वखेलाडी भएकाले प्रशिक्षक अभावमा आफैँले प्रशिक्षक बनेर धेरै खेल खेलाउने गरेको छु ।” प्रशिक्षकका लागि प्रदेश सरकारलाई पटक–पटक माग गरेको भए पनि कुनै सुनुवाइ नभएकोे भण्डारीको दुःखेसो छ । पहाडी जिल्लामा प्रशिक्षक आउन आनाकानी गर्ने गरेका र उनीहरूलाई तराईभन्दा पहाडमा सेवा–सुविधा थपेर भए पनि सरकारले पठाउने व्यवस्था गर्नुपर्नेमा भण्डारीको जोड छ । बहुउद्देश्यीय कभर्डहल कञ्चनपुरमा निर्माण हुने कञ्चनपुरमा भने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरेर अघि बढेको बताउनुभयो । “यहाँ विभिन्न खेलका स–साना टहराहरू मात्रै भए”, मन्त्री रावलले भन्नुभयो, “इन्डोर खेल सञ्चालनलाई करिब रु २५ करोडभन्दा बढीको लगानीमा खेलकुद परिसरमा कभर्डहल बनाउन प्रक्रिया अघि बढेको छ ।” कञ्चनपुरमा हाल नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत आठ खेलको प्रदेशस्तरीय छनोट शनिबारदेखि हँुदैछ । यहाँ भलिबल, कबड्डी, कराते, कुस्तीलगायतका खेलको प्रदेशस्तरीय छनोट हुन लागेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । कञ्चनपुरबाट मात्रै ३१ खेलका चार सयभन्दा बढी खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भइरहेको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख गोपालदत्त भट्टले बताउनुभयो ।
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटका २९ विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार नुवाकोटका चार विद्यालयमा चारकोठे भवन र २५ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएको केन्द्रको अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् । चारकोठे भवन निर्माणका लागि छनोटमा परेका नुवाकोटको ऐंसेलुभूमे मावि किस्पाङ, सुन्दरादेवी मावि तादी, नवजीवन मावि र कालिका मावि ककनीले रु ५० लाखका दरले र सूचना प्रविधि प्रयोगशाला कार्यक्रममा छानिएका २५ विद्यालयले रु छ लाख ५० हजारका दरले बजेट प्राप्त गर्ने कार्यविधिमा भनिएको छ । कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत रु आठ अर्ब ८८ करोड छुट्याएको थियो ।
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ । आज (शुक्रबार) साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिने छ । ट्रफीलाई असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरमा लगिने लक्ष्य छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते पोखरा रंगशालामामा उदघाटन गरिने छ ।

