काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ । राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ । बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताउनुभएको छ । उहाँले उनीहरूलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेकोसमेत उल्लेख गर्नुभएको छ । “बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ”, उहाँको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले मुलुक सङ्घीय शासन प्रणालीमा रुपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हकअधिकारको संरक्षण एवं विकासमा सङ्घका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । बालबालिकाको हकअधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उहाँले सबैको साझा लक्ष्य र गन्तव्य भनेको बालअधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण गर्नुभएको बताउनुभएको छ । बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गर्नुभएको छ । उहाँले दिवसका अवसरमा बालबालिकाको हकअधिकार र कल्याणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायलाई आगामी दिनमा बालबालिकाको हकअधिकारको संरक्षण र विकासमा अझ बढी जिम्मेवार भई कार्य गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नवलपुर : नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणा गर्ने तयारी गरेको छ । मध्यविन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि कार्यक्रमलाई अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणा गर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयलाई खादा प्रयोग नगर्न पत्राचार गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुँदै आएको खादा प्रयोग नगर्न तथा नगराउन नगरप्रमुख अधिकारीले सबैलाई आग्रह गर्नुभएको छ । अतिथि सत्कारमा प्रयोग गरिने खादा अन्य कुनै पनि प्रयोजनमा काम नलाग्ने र त्यसको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले खादामुक्त नगर निर्माण गर्न लागिएको अधिकारीले बताउनुभयो । विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि खादाको विकल्पमा फूल, माला तथा अन्य उपयोगी सामग्री प्रयोग गर्न सकिने पनि अधिकारीको भनाइ छ ।
काठमाडौं : निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ । दलले असोज २ र ३ गते आयोगमा बन्द सूचीमा रहेका उम्मेदवारको नाम पेश गर्नुपर्ने छ । सम्बन्धित पार्टीले सूचीमा रहेका उम्मेदवारको नाम सञ्चाउन चाहेमा असोज ४ देखि ९ गतेसम्म गर्नुपर्ने र त्यसका आधारमा आयोगले १० देखि १६ गतेसम्म संशोधनको समय सिमा राखेको छ । त्यस्तै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १७ गतेको तालिका तय गरिएको छ । रिक्त स्थानमा परिवर्तन गर्नुपर्ने नाम दलले २० देखि २२ गतेसम्म आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । त्यस्तै २३ देखि २९ गतेसम्म दावी बिरोधका लागि समय राखिएको छ । यही असोज ३० देखि कात्तिक ५ गतेसम्म आयोगले जाँचबुझ गरी ८ गते सूचीबाट नाम हटाउने छ । आयोगले कात्तिक ९ गते अन्तिम नाम प्रकाशन गर्ने कार्यतालिका छ ।
कैलाली । कैलालीको टीकापुरका निर्मला चौधरीको जीवनमा विभिन्न खाले समस्या आइरहन्छन् । उहाँ समस्या पर्दा श्रीमान्लाई सबैभन्दा पहिले सम्झनुहुन्छ । आर्थिकलगायतका समस्या हुँदा उहाँ श्रीमान्सँग सल्लाह गर्ने, मनलाई बलियो बनाउने गर्नुहुन्छ । “समस्याबिनाको जीवन हुँदैन, आर्थिकलगायतका विभिन्न समस्या झेल्नुपर्छ । मलाई पनि विभिन्न समस्या पर्दै आएका छन्”, उहाँ भन्नुहुन्छ, “आर्थिक समस्या पर्दा श्रीमान्सँग सल्लाह गर्छु । अन्य समस्या पनि पर्छन् । तिनको समाधानका लागि अरुलाई सहयोग माग्ने गर्छु तर समाधान छैन भन्दै पीर मानेर बस्दिनँ ।” जुन्नी चौधरी पनि आर्थिक अभावजस्ता समस्या हुँदा श्रीमान्सँग माग्ने, गाउँमा भएको समूहबाट ऋण लिने गर्नुहुन्छ । अन्य खाले समस्या परेमा गाउँकै बडघर र भल्मन्साको सहयोग लिनेजस्ता कार्य गर्नुहुन्छ । “हाम्रो समाजमा बडघर, भल्मन्सा र जनप्रतिनिधि छन् । हामी उनीहरुको सहयोगमा समस्या समाधान गर्छौँ”, जुन्नी भन्नुहुन्छ, “बच्चा बिरामी हुन्छन्, गाइभैँसी बिरामी हुन्छन्, आर्थिक अभाव हुन्छ, खेतीपाती गर्दा सहयोगी चाहिन्छन् । यी सबै समस्यामा साथ र सहयोग लिन्छु, तनावमा बसेर फाइदा छैन ।” मानिसको जीवनमा समस्या आइरहन्छन् । समस्या, अभाव, दुःख, खुसी जीवन चलाउने माध्यम हुन् । खुसीले उमङ्ग दिन्छ भने समस्याले समाधानको खोजी गर्न र हिम्मतिलो बनाउँछ । समस्याले नै मानिसलाई सङ्घर्ष गर्न सिकाउनुका साथै हिम्मतिलो बनाउने गर्छ । जो मानिस समस्यासँग डराउँछ ऊ कमजोर हुन्छ भने जसले समस्यासँग जुध्ने कोसिस गर्छ ऊ सफल हुनुका साथै मानसिकरूपमा समेत बलियो बन्छ । धेरैजसो महिलाको जीवनमा आर्थिकलगायतका समस्या बढी हुन्छन् । ललिता थारूले समस्या पर्दा सासुलाई सबैभन्दा पहिला बाँड्नुहुन्छ । अन्य समस्या पर्दा छिमेकी तथा आफन्तलाई भन्नुहुन्छ र समस्यामा हिम्मत हार्नुहुन्न । “कस्ता अप्ठ्याराहरू झेल्नुपर्छ । म हिम्मत हार्दिनँ, हिम्मत हारेमा मन कमजोर हुन्छ”, उहाँ भन्नुहुन्छ, “कति कठिन दिन सहनुपरेको छ । समस्या निम्तनेबित्तिकै सासु–बुहारी छलफल गर्छौँ, उपाय सोच्छौँ र सहयोगी पहिचान गरेर सहयोग लिन्छौँ ।” टीकापुरकी कविता चौधरीका घरमा घरमुली सासु–ससुरा हुनुहुन्छ । घरका सबै समस्या उहाँहरूले नै समाधान गर्नुहुन्छ । घरमा आइपर्ने समस्या उहाँहरूलाई कविताले राम्रो साथ दिनुहुन्छ । “आजभोलि सामान्य समस्या छिमेकीसँग सहयोग लिने, थप जटिल भएमा जनप्रतिनिधि, बडघरलाई गुहार्ने चलन छ”, कविताले भन्नुभयो, “समाज सरसापट र सहयोगमा चलेको छ ।” अधिकांश महिलाले समस्या पर्दा श्रीमान्, सासुससुरालाई गुहार्छन् । बाँकी समस्या हुँदा आजभोलि वडामा रहेका जनप्रतिनिधिसँग सहयोग लिनेहरू पनि बढेका छन् । समस्या पर्दा नआत्तिने गरेको उनीहरू बताउँछन् । कैलालीकै सुनिता धामी समस्या समाधान गर्न नसक्दा आफैँ समस्यामा पर्नुभएको छ । “सुनिताको परिवारले गत वर्ष कोरोना महामारीका कारण धेरै पीडा झेल्यो । भारतमा कमाउने सुनिताका श्रीमान्को रोजगारी गुमेपछि आर्थिक सङ्कटसँगै थप सङ्कट झेल्नुप¥यो । “गत वर्ष निकै कठिन समय चल्यो । कोरोना महामारीले ठूलो मर्का पर्यो । श्रीमान्को कमाइ नभएपछि घर चलाउन धौँधौँ भयो”, उहाँले भन्नुभयो, “त्यसैमाथि सासु र मलाई कोभिड सङ्क्रमण भयो । अभाव र रोगले च्यापेपछि मलाई तवान भयो, म त निद्रा नलाग्ने समस्याले जेलिए ।” लामो समय यस्तै चलेपछि आजभोलि सुनिताले मनोपरामर्श सेवा र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहनुभएको छ । समस्याको समयमै समाधान गर्न नसकेमा मानिसमा मनोसमस्या हुने, काम गर्न नसक्दा आर्थिकरूपले कमजोर हुनसक्ने, गलत निर्णय लिनसक्ने भएकाले मानिस संयमित हुन आवश्यक रहेको टीकापुर अस्पतालका डा लालसिंह टमट्टा बताउनुहुन्छ । “समस्या नभएको मानिस हुन्न तर समस्या समाधान गर्न पहल गर्नुपर्छ, नत्र समस्याले मानिसलाई खान्छ”, उहाँ भन्नुहुन्छ, “समस्याका कारण तनावमा बस्नु हुँदैन । एकोहोरो भएर बस्नु, मनमा कुरा राख्नुभन्दा योग, ध्यान गर्ने, मनका कुरा अरुलाई बाँड्ने, समस्याको पहिचान गरेर समाधानको बाटो खोजेमा जीवन सहज हुन्छ । समस्या आइपर्दा मन शान्त राख्न ध्यान दिनुपर्छ यसले स्वास्थ्य जोगाइराख्छ ।”
गलकोट । बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उहाँले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गर्नुभएको थियो । खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् । “ग्यासको मूल्य एक हजार तीन सय थियो, विद्युतीय चुलोका विषयमा सोचेकै थिइन, जब रुस–युक्रेन युद्धका कारण ग्यासको मूल्यमा निरन्तर उकालो लाग्यो त्यसपछि ग्याससँगै विद्युतीय चुलो प्रयोग गर्ने निधो गरेँ”, उपभोक्ता शर्माले भन्नुभयो, “पहिलो महिना त धेरै विद्युत् महशुल उठ्छ कि भन्ने चिन्ता थियो तर ग्यासभन्दा निकै सस्तो पर्यो, अहिले भातदाल विद्युतीय चुलोमै पकाउने गरेको छु भने तरकारी मात्रै ग्यासमा पकाउने गरेको छु ।” ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न थालेपछि दुई महिनामा सकिने ग्यास सिलिन्डर चार महिना बित्दासमेत नसकिएको बताउँदै उहाँले सुरुको विद्युतीय चुलोको लगानी नजोड्ने हो भने लगभग विद्युतीय चुलोमा दोब्बर फाइदा हुने उल्लेख गर्नुभयो । विद्युत्मा पकाएको खाना नमिठो हुने सुन्दै आउनुभएकी शर्माले राइसकुकरभन्दा विद्युतीय चुलोमा प्रेसर कुकरको प्रयोग गर्दा ग्यासमा नै पकाए जस्तै खाना पाक्छ भन्नुभयो । बागलुङ बजारमा पछिल्लो समय विद्युतीय चुलोको माग उच्च रहेको विद्युतीय उपकरण बिक्रीकर्ताले बताए । विद्युतीय चुलोे धेरै पहिलेदेखि नै बिक्री भए पनि पछिल्लो समय परिमार्जन भएर आएको विद्युतीय चुलोको माग ह्वात्तै बढेको बागलुङ बजारको शङ्कर इलेक्ट्रिोनिक्सका सञ्चालक शङ्कर नकर्मीले बताउनुभयो । “पहिला विद्युतीय चुलोमो जुनसुकै भाँडा मिल्दैनथ्यो, भाँडा छुट्टै खरिद गर्दा महँगो र झन्झट थियो तर पछिल्लो समय बजारमा आएका विद्युतीय चुलो घरमा प्रयोगमा आइराखेका जुनसुकै भाँडा प्रयोग गर्न मिल्छ”, उहाँले भन्नुभयो, “अहिले ग्यास चुलोभन्दा विद्युतीय चुलो खरिद गर्ने उपभोक्ता दोब्बरले वृद्धि भएका छन्, अहिले बागलुङ बजारवासीका अधिकांश भान्छामा विद्युतीय चुलोसमेत प्रयोगमा आएको देखिन्छ ।” नकर्मीका अनुसार ग्यास विस्थापित नभएपनि त्यसको विकल्पमा विद्युतीय चुलो प्रयोग हुँदा ग्यास खपतमा कमी आएको र उपभोक्तालाई केही राहतसमेत मिलेको छ । विद्युतीय चुलो चलाउनका लागि न्यूनतम १५ एम्पियर क्षमताको मिटर जडान गर्नुपर्ने हुन्छ । बागलुङ बजारका पक्की घरमा धेरैले १५ एम्पिएर भन्दामाथि क्षमताको विद्युत् जडान गरेका छन् । सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न प्रत्येक घरधुरीमा निःशुल्क विद्युतीय चुलो वितरण गर्ने योजना अघि सारेको छ । बीस वर्ष अगाडि खाना पकाउनका लागि सबैभन्दा बढी खर्चिलोरुपमा मानिएको विद्युत् अहिले सबैभन्दा सस्तो भएको हो । बागलुङ बजार क्षेत्रमा विद्युतीय चुलोको माग बढिरहेको भए पनि विद्युत्को नियमित आपूर्तिमा समस्या हुनसक्ने भन्दै विकल्पमा भने ग्यास प्रयोग गरिरहेको पाइन्छ । ग्यास उपभोक्ताले विस्तारै आफूहरुले भान्छामा विद्युतीय उपकरणको प्रयोग वृद्धि गर्दै लगेका छन् । भान्छामा विद्युतीय चुलोसँगै मिक्चर, फ्रिजलगायत उपकरणको प्रयोगले विद्युत्को खपतसमेत वृद्धि भइरहेको छ । विद्युतीय चुलो ग्यासको प्रयोगमा करिब ४० प्रतिशत सस्तो हुने गरेको छ । विद्युतीय चुलो विशेषगरी बागलुङ बजारका पक्की घरमा बढी प्रयोग भइरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले जानकारी दिनुभयो । उहाँले क्रमशः घरमा विद्युतीय क्षमता बढाउने उपभोक्ताको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो । “विद्युतीय चुलोको प्रयोग बढिरहेको छ तर पक्की घरमा यसको प्रयोग सहज भए पनि कमजोर विद्युतीकरण भएको घरमा समस्या हुन्छ, विस्तारै विद्युत् ट्रान्सर्फरमरको समेत क्षमता बढाउन आवश्यक छ”, केन्द्रका प्रमुख मरासिनीले भन्नुभयो, “घरमा विद्युत् क्षमता थपेर विद्युतीय चुलो प्रयोग गर्दा जोखिम कम हुने र फाइदा बढी हुने गर्छ ।” अहिले ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय पुगेको छ, भने एक परिवारका लागि खाना पकाउन विद्युत्बाट मासिक सात सय ५० र ग्यासबाट एक हजार दुई सय बढी खर्च लाग्ने भएकाले विद्युतीय चुलो सस्तो र छिटो हुने अध्ययनले देखाइसकेको छ ।
वालिङ: सडकमा हिंँड्दै गरेका सहाराविहीन बालबालिका देख्दा कमलाको मन छोयो । अभिभावक कोही भएको भए त अरु बालबालिका जस्तै घरमै बस्थे होलान्, पढ्थे होलान्, आमा बुवाको काखमा रमाउँथे होलान् भन्ने कुराले मनमा चसक्क घोच्यो । दुई/तीन यस्ता असहाय बालबालिकाको अभिभावक बन्छु भन्ने त उहाँलाई भयो तर आफूले दुई/तीनको अभिभावकत्व लिँदैमा समाजमा थप अरु असहाय बालबालिकाको अभिभावक को बन्छ त ? उहाँलाई यही कुराले बारम्बार झकझकाइ रहयो । दुई /तीन जनाको अभिभावक बनेर साहारा दिन्छु भन्ने सोच मनैबाट पलाए पनि आफ्ना आफन्तहरु र यस विषयका जानकारहरुसँगै बुझ्दा व्यक्तिगतभन्दा पनि संस्थागत तरिकाले अगाडि बढ्दा राम्रो हुने सुझाव पाएपछि संस्था दर्ता गरेर असहाय बालबालिकाको अभिभावक बन्ने अभियान थाल्नुभयो । दश वर्षे द्वन्द्वका समयमा अभिभावक गुमाएका, अङ्गभङ्ग भएका परिवारका बालबालिका हाल समाजमा विभिन्न कारणबाट अभिभावकविहीन बन्न पुगेका बालबालिकालाई आश्रय दिनेगरी अमोर सेवा नेपाल संस्था स्थापना भयो । कमला पराजुलीको अध्यक्षतामा स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा कार्यालय रहने गरी विसं २०६८ मा संस्था स्थापना भएको हो । विसं २०६८ मा संस्था स्थापना भए पनि विसं २०७२ मा सात जना अभिभावकविहीन बालबालिका राखेर काम अभियान थालिएको हो उहाँले जानकारी दिनुभयो । बालगृहमा अहिले ३० जना बालबालिका बस्दै आएका छन् । अभिभावकविहीन, घर परिवारबाट त्यागिएका, अपाङ्गता वा घाइते भई पालनपोषण गर्न नसक्ने परिवारका रुकुम, मुगु, पर्वत र स्याङ्जाका बालबालिका बालगृहमा राखेर अभिभावकत्व प्रदान गरिएको पराजुली बताउनुहुन्छ । बालगृहमा तीन वर्षदेखि १७ वर्ष उमेर समूहका २० बालक र १० बालिका छन् । अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै उनीहरुको लुगाफाटो, खानपिन, बसोबास तथा अध्ययनको व्यवस्थापन कमलाले मिलाउँदै आउनुभएको छ । “बालगृह सञ्चालनका लागि आम्दानीको स्रोत भने केही छैन”, उहाँले भन्नुभयो, “मुख्य स्रोत भनेकै मुठीदानसहित जन्मदिन, वार्षिक पुण्यतिथिमा गरिने कार्य, धार्मिक कार्य, विभिन्न सङ्घसंस्थाले खाद्यान्न, लत्ताकपडालगायत नगद तथा जिन्सीका रुपमा प्राप्त हुने सहयोग नै हो ।” असहाय बालबालिकाको अभिभावकको रुपमा स्थापित भएको बालगृहमा स्थानीय तहले हालसम्म कुनै पनि किसिमको सहयोग गरेका छैन । बालगृहले हालसम्म सञ्चालनका लागि कुनै पनि विदेशी सहयोग नलिएको उहाँले बताउनुभयो । बालगृहमा बस्दै आएका २८ बालबालिका दामगाडे माध्यमिक विद्यालयमा र २ जना सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनगर्दै आएका छन् । बालगृहमा आश्रित रहेका बालबालिकालाई अध्यक्ष कमला, बुवाआमा र २ जना सहयोगीहरु निरन्तर खट्दै आउनुभएको छ । बालगृह सञ्चालनका लागि मासिक रुपमा करिब रु दुई लाख ५० हजार खर्च हुने गरेको उहाँले बताउनुभयो ।
पोखरा । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले प्लेयर स्वायड सार्वजनिक गरेको छ । पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख रहेका छन् भने शरद भेषावकर पनि पोखराबाटै खेल्नेछन् । पोखराका अन्य खेलाडीहरुमा कुशल मल्ल, प्रतिस जिसी, आरिफ शेख, तुलबहादुर थापा, विसन विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी रहेका छन् । विदेशी खेलाडीहरुमा पाकिस्तानी विकेट किपर व्याट्स्म्यान मोहम्मद हाफिज, पाकिस्तानकै सलमान इर्साद तथा श्रीलंकन खेलाडीहरु निरोशान डिक्वेला, शेहन मधुशंका जस्ता दिग्गज खेलाडीहरुलाई पोखरा एभेन्जर्सले आफ्नों टिममा अनुबन्धन गराएको छ । सुवोध त्रिपाटी र आतिस ज्ञवालीको वर्नशिपमा रहेको यो टिम मेण्टरमा भारतका पूर्वखेलाडी सन्दीप पाटिल रहेका छन् । प्रतियोगिता आगामी असोज ८ देखि कार्तिक ५ गते सम्म टियु खेल मैदानमा हुनेछ ।
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरमा आयोजित बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बालबालिकाको प्रश्नसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सबै पक्षले हातेमालो गरे मात्र कानुन कार्यान्वयनमा सहजता हुने बताउनुभयो । मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेकोतर्फ प्रदेश सरकार गम्भीर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । “यस्ता अपराध न्यूनीकरण गर्न सबै जुट्नुप¥यो, म अस्ती जुम्लामा जाँदा चार वर्षीया बालिका बलात्कृत भएको घटना थाहा पाए । यस्ता घटना न्यूनीकरणको लागि हामी सबै एक भएर अगाडि बढौँ ।” उहाँले भन्नुभयो, “छुवाछूत विरुद्धको कानुन त विसं २०२० मा बनिसकेको थियो नी, तर छुवाछूत त अहिलेसम्म नै कायम छ, यसो हुनु भनेको चेतनाको कमीले हो । त्यसैले हामी सबैले हातेमालो गरेर बालअधिकार सुनिश्चित गर्न सक्छौँ ।” बालविवाह न्यूनीकरणमा सरकार लागि रहेको भन्दै उहाँले यसको लागि पनि सचेतना नै आवश्यक हुने उहाँको भनाइ छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो । मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्नै प्रश्न कार्यक्रममा बालबालिकाले मुख्यमन्त्री शाहीलाई बालअधिकारका कुरा कागजमा मात्रै नभएर कार्यान्वयन पनि जोड दिन माग गर्दै प्रश्नैप्रश्न सोधका थिए । उनीहरुले बालबालिका अहिले पनि श्रममा परिरहेको, बालिका बलात्कार बढ्दै गएकोतर्फ सरकारले किन ध्यान दिन नसकेको भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए । जनमावि सुर्खेतमा कक्षा १२ पढ्दै गरेकी आसिका खत्रीले बालिका बलात्कृत भइरहेको भन्दै बलात्कृत भएपछि पैसामा न्याय साटिने प्रवृतिको अन्त्य गर्न सरकारको किन ध्यान पुग्न नसकेको भन्दै प्रश्न गर्नुभयो । “बलात्कृत भएको बालिकालाई न्याय त दिइएला, उसको जीवन नष्ट भइसकेको हुन्छ, तर न्याय जग्गा र पैसामा साटेर न्याय दिलाइन्छ । यसले बालअधिकार हनन गर्दैन र ?” उहाँको प्रश्न थियो । सुर्खेतकै कृति काफ्लेले पनि कर्णालीमा बालविवाहको अवस्था गम्भीर रहेको भन्दै बालविवाह विरुद्धका बनेका कानुनहरु कार्यान्वयन हुन नसक्नुको कारण जिज्ञासा राख्दै भन्नुभयो, “हाम्रो ठाउँमा धेरै बालविवाह भइरहेका छन । त्यो मुख्यमन्त्रीलाई पनि थाहा छ, बालविवाह विरुद्धका कानुनहरु पनि बनेका छनु । मुख्यमन्त्रीले ति कानुन सक्रियतापूर्वक किन कार्यान्वयन गर्न सक्नुभएको छैन ?” सुर्खेत जनमाविका छात्र खगेन्द्र विकले नेपालको संविधानले व्यवस्था गरेको बालअधिकार अन्तर्गतका जोखिममा रहेका बालबालिकाको राज्यले संरक्षण गर्ने भनिएको बताउँदै यसको कार्यान्वयनको अवस्थाका बारेमा मुख्यमन्त्री शाहीलाई सोध्नुभएको थियो । कार्यक्रममा विभिन्न जिल्लाका बालबालिकाहरुले टेलिफोन र भिडियोमार्फत मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए भने राउटे समुदायका बालबालिकाले राउटे बालबालिकालाई प्रदेश सरकारले के गर्छ ? भनेर प्रश्न सोधेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कार्पी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी वक्ताको रुपमा रहनुभएको थियो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका महाशाखा प्रमुखहरुले लगातारको तालाबन्दी कायम रहेमा आसन्न बडादसैँमा तलब दिन नसकिने स्थिति उत्पन्न हुने बताउनुभएको छ । विश्वविद्यालयका सबै महाशाखा प्रमुखले यससम्बन्धी एक विज्ञप्ति जारी गर्दै तालाबन्दीकै कारण विश्वविद्यालयमा कार्यरत कर्मचारीको तलब भत्ता र पेन्सन आदि गत असार महिनादेखि रोकिएको उल्लेख गर्नुभएको छ । काम बापत पाउनु पर्ने न्यूनतम पारिश्रमिकसमेत नपाउँदा कर्मचारी मर्माहत भएकाले तत्काल तालाबन्दी खोलिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । तालाबन्दीले दैनिक अत्यावश्यक काम रोकिनुका साथै विश्वविद्यालय नै धरासायी हुन लागेको भन्दै तत्काल तालाबन्दी अन्त्य गर्न सम्बन्धित निकाय र विद्यार्थी सङ्गठनसँग अपिल गरिएको छ । विज्ञप्ति जारी गर्नेमा त्रिभुवन विश्वविद्यालयका आर्थिक, सामान्य प्रशासन, केन्द्रीय पुस्तकालय लगायतका महाशाखा प्रमुख हुनुुहुन्छ ।

