हिले । गायक शम्भु राई धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ सिफारिस हुनुभएको छ । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुम्माङ्ग जन्मथलो रहेका राईलाई नेकपा माओवादी केन्द्रेले सिफारिस गरेको हो । उहाँसँगै तीन व्यक्तिलाई समेत सिफारिस गरेको छ । त्यस्तै केन्द्रले प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता हेमराज भण्डारीलाई चयन गरेको छ । भण्डारी २०७४ सालको धनकुटा एकबाट संविधान सभा सदस्यसमेत हुनुहुन्छ । नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । त्यस्तै केन्द्रले प्रदेश क र ख प्रत्यक्ष तर्फ ४र४ जना तथा समानुपातिकतर्फ ५र५ जना सिफारिस गरेको छ ।
भैरहवा । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा आउन चाहन्नथे । बसाइँसराइको प्रभाव पनि भैरहवामा न्यून थियो । तर अहिले भैरहवाको रुप फेरिएको छ । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा–तौलिहवा फराकिलो सडक, नगरको भित्री क्षेत्रमासमेत फराकिलो तथा हरियाली बाटो, आकर्षक प्रवेशद्वार, तारे होटल, ‘सपिङ मल’, क्रिकेट रङ्गशालाले भैरहवाको आकर्षण बढाएका छन् । केही पहिलासम्म यहाँ आउन नाक खुम्च्याउनेहरु अहिले भैरहवा आउन लालयित हुने गरेका छन् । अन्र्राष्ट्रिय विमानस्थल भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई अहिले स्तरोन्नति गरी मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । करिब ३० अर्बको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अल जजिरा एयरलाइन्सले साताको तीन उडान गर्दै आएको छ । भदौ ३१ गते देखि जजिराको दैनिक उडानको तयारी रहेको छ । त्यस लगत्तै कात्तिक १३ गते देखि बिज एयरलाइन्सले पनि भैरहवामा अवतरणको तयारी गरिरहेको छ । यस बाहेक यहाँबाट अन्य विमान कम्पनीलेसमेत उडानमा चासो दिइरहेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताउनुभयो । गौतमबुद्ध विमानस्थल अहिले वैदेशिक रोजगारीमा जान चाहनेका लागि रोजाइँमा पर्ने गरेको छ । अहिले उडान भरिरहेको जजिरा एयरमा पनि आउने जानेको सङ्ख्या बराबरजसो रहेको छ । जजिरा एयरका देशीय व्यवस्थापक अमित नागरथका अनुसार विमानमा ९० प्रतिशत सिट बुक गरी उडान गरिरहेको छ । लुम्बिनी भैरहवाको अर्को परिचय हो गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार । स्थलमार्ग हुँदै सबै भन्दा बढी पर्यटक भित्र्याउने भैरहवामा अब अन्तर्राष्ट्रिय हवाई मार्ग पनि जोडिएको छ । यसले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई अझै बढावा दिएको छ । लुम्बिनी आउने पर्यटक भैरहवा हँुदै गन्तव्यमा जानुपर्ने हुन्छ । बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई स्वागत गर्न भैरहवा तम्तयार भएर बसेको छ । पर्यटनमा पूर्वाधार भैरहवालाई आकर्षक बनाउनमा यहाका होटल व्यवसायको पनि उत्तिकै सहयोग छ । भैरहवा, लुम्बिनी तथा बेलहियामा गरी ८९ वटा स्तरीय होटल रहेको सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) बताउनुहुन्छ । होटल कसाइ, होक्के, पवन प्यालेस, टाईगर रिसोर्ट, मौर्या होटल, होटल बोधी रेडसन्, बुद्धमाया गार्डेन लगायतकास्तरीय होटलको लामै सूची छ यहाँ । यस अतिरिक्त अहिले करिब आधादर्जन पाँच तारे होटल निर्माणाधीन अवस्थामा रहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भित्र्याउने पर्यटकलाई लक्षित गरी होटल व्यवसायमा अहिले अर्बौको लगानी भइरहेको छ । यस बाहेक पर्यटकलाई लक्षित गरी भैरहवा क्षेत्रमा ६ वटा मिनी क्यासिनोसमेत सञ्चालनमा रहेका छन् । विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरी खोलिएका यी क्यासिनो नै कोभिडपछिको वर्तमान अवस्थामा यस क्षेत्रको विदेशी मुद्राको साधन बनेका छन् । औद्योगिक क्षेत्र भैरहवा–लुम्बिनी, भैरहवा–बुटवल तथा भैरहवा–परासी औद्योगिक कोरिडोर गरी यहाँ दर्जनाँै उद्योग रहेका छन् । मुलुुककै अर्थतन्त्रमा असर गरिरहेका पञ्चकन्या समूह, अर्घाखाँची सिमेन्ट, गोयन्का सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे स्टिल, श्री स्टिल, सिद्धार्थ सिमेन्ट, ब्रिज सिमेन्ट लगायतका उद्योग रहेका छन् । औद्योगिक विकासको सम्भावना देखेर नै उद्योगीमा अहिले यहाँ लगानी गर्न आकर्षण बढेको छ । अहिले भैरहवा–परासी करिडोरमा ठूलाठूला उद्योग खुलिरहेका छन् । स्टिल, छड, प्लास्टिक, जुत्ता–चप्पल, चाउचाउ, खाद्यान्न, दाल, साबुन, मैदा, बियर, छाला, बिस्कुट, कृषिजन्य उद्योग भैरहवामा सञ्चालन भइरहेका छन् । यस बाहेक मुलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको विशेष आर्थिक क्षेत्र (सेज) पनि भैरहवामा सञ्चालनमा आइसकेको छ । कूल ५२ बिघा क्षेत्रफलमा रहेको सेजमा एक हजार चार सय देखी तीन हजार सात सय वर्गमिटर सम्मका ६८ वटा प्लट रहे पनि हालसम्म सात वटा उद्योग सञ्चालनमा आइसकेका छन् । दोस्रो ठूलो भन्सार नाका स्थलमार्गबाट सबै भन्दा बढी पर्यटक भित्र्याउने भैरहवामै दोस्रो ठूलो भन्सार रहेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार यस भन्सारले गत आर्थिक वर्षमा रु एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख पच्चीस राजश्व आर्जन गरेको थियो । दैनिक सरदर चार मालबाहक ट्रक भित्र्याइरहेको भैरहवा भन्सार नाकाबन्दीको समयमा पनि चलेको थियो । भैरहवा भन्सार वीरगञ्जपछि मुलुकको दोस्रो ठूलो नाकामा पर्छ । भारततर्फ चार लेन र नेपालतर्फ ६ लेनको सडक बनेको छ । आयातनिर्यातका लागि सहज पहुँच भएको भैरहवा नाका मुलुककै ‘लाइफलाइन’ बनेको छ । भन्सारमा मालबाहक सवारीको चाप बढ्दै जाँदा अहिले पार्किङको समस्या बढेको छ । नेपाल र भारत सरकारले भैरहवा र सुनौली नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्दै छन् । नेपालले ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । तर भारतले जग्गा अधिग्रहणको काम सकिसकेको छैन । अहिले ‘आइसिपी’ बनाउने भनिएको जग्गामा कन्टेनर पार्किङ गर्न थालिएको छ । व्यवस्थित सहरीकरण भैरहवाले पछिल्लो समय व्यवस्थित सहरीकरणको परिचय बनाएको छ । विशेष गरी एसियाली विकास बैंकले भैरहवामा गरेको लगानीको कारण यसको मुहार फेरिएको छ । भैरहवाका भित्री बाटो फराकिलो बनेका छन् । बाटोको छेउमा रहेको ग्रिनरीले यसलाई थप सुन्दर बनाएको छ । भैरहवा–बुटवल ६ लेनको व्यापारिक मार्ग, यसमा रहेका अपाङ्गतामैत्री आकाशे पुल, भैरहवा–तौलिहवा चार लेनको बाटोले नगरलाई भव्य बनाउन सहयोग गरेका छन् । भैरहवामा प्रवेश गर्ने पर्यटकका लागि बेलहियाबाट एक किलोमिटर उत्तर सात करोड बढीको लागतमा आकर्षक प्रवेशद्वार बनेको छ । यस्तै भैरहवाबाट लुम्बनी जाने पर्यटकलाई पनि “लुम्बिनी गेट”ले स्वागत गरिरहेको छ । सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईश्तियाक अहमद खाँनले भैरहवालाई थप सुन्दर र हरियो बनाउने लक्ष्य रहेको बताउनुभएको छ । उहाँले भैरहवालाई सुन्दर बनाउनुको साथै बेलहिया हुँदै आउने पर्यटकलाई फुलले स्वागत गर्ने नगरपालिकाको लक्ष्य रहेको जानकारी दिनुभयो । मेडिकल तथा बैंकिङ– हब पर्यटकीय, औद्योगिक र व्यवस्थित सहरीकरण रहेको भैरहवा मेडिकल तथा बैंकिङ हब पनि हो । भैरहवामा रहेको रण अम्बिका शाह आँखा अस्पतालमा आउने आँखाका बिरामीमा ९० प्रतिशत भारतीय रहेका छन् । यसबाहेक यो अस्पतालले तेस्रो मुलुककासमेत बिरामीलाई सेवा प्रदान गरिरहेको छ । यस क्षेत्रकै उत्कृष्ट अस्पतालको रुपमा रहेको अस्पतालको कारण “हेल्थ टुरिज्म” समेत फस्टाएको छ । यस्तै भैरहवामै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि ख्याति कमाएको छ । अस्पतालका प्रशासन प्रमुख तेज केसीका अनुसार सात सय शय्याको अस्पतालले विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै यसै क्षेत्रमा सिद्धार्थनगर सिटी अस्पताल, क्रिमसन अस्पतालले पनि उत्कृष्ट सेवा दिने अस्पतालका रुपमा रहेका छन् । यस्तै भैरहवामा प्राय सबै वाणिज्य बैंकहरुले आफ्नो शाखा खोलेका छन् ।
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । निजामती सेवा दिवसका अवसरमा प्रदेश मुल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यी दुई अध्यादेश ल्याउन सरकारले अन्तिम तयारी गरेको बताए । कर्मचारी समायोजन ऐन लागु भएर त्यही अनुसार समायोजन भएका कर्मचारीको वृत्तिविकास रोकिएको, कर्मचारीको पदपूर्ति गर्न नसकिएकाले प्रदेशले अध्यादेशबाटै भए पनि यी दुई कानुन ल्याउन लागेको मुख्यमन्त्रीले बताए । उनले भने, संघ सरकारले निजामती सेवा ऐन ल्याउला कि भनेर कुर्दा ५ वर्ष बित्न लाग्यो, हामीले तयारी गर्दागर्दै ढिला भयो, अब छिटै अध्यादेश ल्याउँछौं । स्थानीय तहमा कार्यरत सबै खालका कर्मचारी र प्रदेशमा समायोजन भएर आएकाहरुको हितलाई ख्याल गरी सरोकारवालासँग छलफल गरेर अध्यादेशको मस्यौदा तयार भइरहेको मुख्यमन्त्रीले भनाइ राखे । शासन व्यवस्था फेरिए पनि संघले प्रदेश र स्थानीय तहमा अधिकार हस्तान्तरण गर्न आनाकानी गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । एकात्मक शासन व्यवस्थाबाट संघीयतामा गएको अवस्थामा संविधानले निदृष्ट गरेका अधिकारसमेत दिन हिचकिचाउनुलाई उनले पुरातन राज्यव्यवस्थाको अवशेषको संज्ञा दिए । मुख्यमन्त्री पोखरेलले कर्मचारीले सम्पादन गर्ने कार्यले सरकारको व्यवहार झल्काउने भएकाले त्यही अनुसार संवेदनशील भएर काम गर्न आग्रह गरे । मुलुकको आर्थिक अवस्था अनुसार निजामती कर्मचारीको तलब र सुविधा निर्धारण गरिएको भन्दै उनले अन्य देशको तुलनामा यो कम रहे पनि सन्तुष्ट भएर काम गर्नुपर्ने अवस्था रहेको भनाइ राखे । कार्यक्रममा आन्त्रिक मामिला मन्त्री डोबाटे विश्वकर्माले संघबाट अधिकार नपाएको खण्डमा प्रदेश र स्थानीय तह संघर्षमै उत्रनुपर्ने उनले भनाइ राखे । नागरिकको चाहाना अनुसार कर्मचारीले कार्यसम्पादन गर्न पनि उनले आग्रह गरे । प्रमुख सचिव रवीलाल पन्थले काम गर्ने सिलसिलामा भएका कमीकमजोरी सुधार गरेर सुशासन कायमका लागि निजामती कर्मचारी प्रतबद्ध हुनुपर्ने बताए । सामूहिक स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सके लक्ष्य प्राप्ति हुने उनको भनाइ थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विश्वव्यापीकरणमा प्रतिस्पर्धा गर्न गरी फिल्डमा उत्रन उनले कर्मचारीवर्गमा आग्रह गरे । राज्यशक्तिको स्थायित्वका लागि मुख्य औजार नै निजामती सेवा रहेको भन्दै उनले कर्मचारीले सेवा प्रवाह गर्ने मात्र नभई लोकतन्त्रको जगेर्ना समेत गर्ने भनाइ राखे । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष अशोक खनाल, नेपाल निजामती कर्मचारी युनियनका प्रदेश अध्यक्ष दीपक रेग्मी, राष्ट्रिय कर्मचारी संगठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद पौडेलले प्रदेश सरकारले ल्याउन लागेको अध्यादेश कर्मचारीमैत्री हुनुपर्ने भनाइ राखे । दिवसका अवसरमा निजामती कर्मचारी संगठनले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरेको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई मुख्यमन्त्री पोखरेलले प्रमाणपत्र र पुरस्कार प्रदान गरे । निजामती कर्मचारी युनियनले रक्तदान कार्यक्रम गरेको थियो । उक्त अवसरमा रक्तदान गर्ने ३० जनालाई पनि मुख्यमन्त्री पोखरेलले प्रमाणपत्र हस्तान्तरण गरे । उक्त अवसरमा पूर्व कर्मचारी सेवा परिषदले प्रकाशन गरेको गोधुलीको सन्देश पत्रिका मुख्यमन्त्री पोखरेलले विमोचन गरेका छन् । पूर्व कर्मचारीहरुलाई पनि मुख्यमन्त्रीले सम्मान गरेका छन् । निजामती कर्मचारी दिवसकै अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले डिजिटल नागरिक सेवा बडापत्र सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त सेवा सार्वजनिक गरे । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका बारेमा अडियो, भिजुअल सामग्री बनाएर प्रतिक्षालयमा राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालले हालका लागि १ ठाउँमा दृश्य र ३ ठाउँमा अडियोमार्फत् सन्देश सार्वजनिक गरिने जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”, क्यान अध्यक्ष चन्दले भन्नुभयो । उहाँले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने राससलाई बताउनुभयो । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिश भएको छ । कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुंग, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त रहेका छन् । केन्द्रीय उपाध्यक्ष गुरुंगको नाम यसअघि क्षेत्र नम्बर १ बाट समेत सिफारिश भएको छ । त्यस्तै प्रत्यक्षतर्फ प्रदेश क मा राप्रपाका प्रदेश अध्यक्ष समेत रहेका पञ्चराम गुरुंग, जिल्ला उपाध्यक्ष ईश्वरी चापागाँई र जिल्ला सविच भानु भण्डारी क्षितिजको नाम सिफारिश भएको छ । प्रदेश ख तर्फ भने कास्की जिल्ला प्रवक्ता अरुण गिरी सर्वसम्मत सिफारिशमा परेका छन् । त्यस्तै प्रतिनीधिसभा समानुपातिक तर्फ रोमबहादुर भण्डारी, बिष्णुकुमारी गुरुंग, जयलाल पुन, शंकर खराल, हरिप्रसाद बराल र पार्वता पौडेल गरि ६ जनाको नाम सिफारिश भएको छ । प्रदेशतर्फ समानुपातिकमा शिवप्रसाद चालिसे, मदन परियार, चित्रबहादुर भण्डारी, सिता खड्का, मादाप्रसाद जैसी, विष्णु खड्का कार्की, सूर्य पुन, रञ्जना सेन पौडेल र शंकर खरालको नाम सिफारिश भएको राप्रपा कास्की क्षेत्र नम्बर २ का अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेङ्गु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै तराईमा विपन्नलाई निःशुल्क झुलको व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद तेजुलाल चौधरीले शिक्षालाई सरकारले ध्यान दिन नसक्दा १२ कक्षामा ४१ प्रतिशत मात्र नतिजा आएको उल्लेख गर्दै सबैको तलब बढ्दा विद्यालयका कर्मचारीको तलब पनि बढ्नुपर्ने माग गर्नुभयो । सांसद नरमाया ढकाल र सांसद पार्वता डिसी चौधरीले थारु समुदायका होनाहार युवालाई थुनामा राखेर निर्वाचनमा जानु सही नभएको धारणा राख्नुभयो । सांसद नवराज सिलवालले नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा हुने गरेको अस्तव्यस्त र गैरकानुनी क्रियाकलाप रोक्नुपर्ने माग गर्दै भिजिट भिसाका कारण मानव तस्कार बढ्दै गएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पद्यमनारायण चौधरीले भूउपयोग नीति अवलम्बन गरेको हुनाले जगाको कित्ताकाट गर्न नसक्दा किसान मारमा परेको हुँदा कित्ताकाट गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने सुझाव दिनुभयो । सांसद पार्वतीकुमारी विसङखेले संविधानअनुसार गठन गरिएको राष्ट्रिय समावेशी आयोगले तयार पारेको प्रतिवेदनमा आरक्षण नै आवश्यक छैन भन्ने पूर्वाग्रही प्रतिवेदन सार्वजनिक गरेको उल्लेख गर्दे उक्त सुझाव दिने र प्रतिवेदन निकाल्ने पदाधिकारीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो । सांसद पुष्पकुमारी कर्णले सांसदले समसामयिक विषयमा शून्य समय र विशेष समयमा उठेका विषयको पाँच दिनभित्र सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने तर त्यो हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो । सांसद प्रमिला राईले समावेशी र समानुपातिकाको प्रावधान भए पनि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा महिलाको नाम सिफारिस भएको नदेखिएकोप्रति दुःख व्यक्त गर्दै प्रत्यक्ष तथा समानुपातिकमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थालाई नकार्न नमिल्ने बताउनुभयो ।
कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ असुलउपर गरेको छ । कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुल नबुझाएका नौ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत काटिएको बताउनुभयो । रु चार करोड ८४ लाख ८३ हजार नौ सय ९७ मूल्य बराबरको ग्राहकबाट असुुल गर्न बाँकी रहेकोमध्ये विद्युत् लाइन पुन: जडान गरिएबापत अहिले तत्काल रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ सङ्कलन गरेको केन्द्र प्रमुख साहले जानकारी दिनुभयो । छ सय २५ जना ग्राहकले उक्त रकम बराबरको महसुल तिरेको उहाँले बताउनुभयो । कञ्चनपुर वितरण केन्द्रको औसत सङ्कलन पनि ९९.९ प्रतिशत रहेको बताउँदै बितेको आर्थिक वर्षमा विद्युत् चुहावट गर्ने दुई सय ८१ जनालाई कार्वाहीसमेत गरिएको प्रमुख साहले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् चुहावट गर्ने क्रममा ४२ जनालाई कारबाही गरिएको छ ।” चुहावटबाट रु २० लाख ८४ हजार चार सय ९३ असुल गरिएको हो । आर्थिक वर्ष २०७७/७८मा औसत २६ प्रतिशत घटी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २४.०३ प्रतिशतमा झारिएको साहले दाबी गर्नुभयो ।कञ्चनपुर वितरण केन्द्र अन्तर्गत २२ प्रतिशत ग्राहकले अनलाईनमार्फत भुक्तानी गरेका छनु । इन्टरनेटको पहुुँचमा हुने ग्राहकलाई अनलाईनमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ ।
महोत्तरी । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । उहाँका अनुसार रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो । अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरि हो–हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए । हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक नष्ट भएको छ भने घर भत्किएर ती परिवारको बिजोग भएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
काठमाडौं । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष बिद्यार्थीको चापका कारण भर्ना नै रोक्नु पर्ने भएको छ । क्याम्पस प्रमुख डा विश्व सुवेदीका अनुसार ‘क्युएए’ प्राप्त भएसँगै भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षालगायतका कारण छात्राहरुको आकर्षण बढेको हो । यस बर्ष कक्षा ११ मा तीन सय जना विद्यार्थी भर्ना भइसकेका छन् । गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई सय २० विद्यार्थी भर्ना भएका थिए । सुवेदीले भन्नुभयो, “अब हामीसँग थप विद्यार्थी पढाउन कक्षा कोठा नभएकाले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ ।” एसइईको पूरक परीक्षाको नतिजा आएपछि विद्यार्थीहरू भर्ना हुन आउने गर्दछन् । ती विद्यार्थीलाई भर्ना गर्ने अवस्थामा आफूहरु नरहेको उहाँले बताउनुभयो । क्याम्पसमा मुख्यरुपमा चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै आउने गरेका छन् । यसका अतिरिक्त २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । ती जिल्लामा प्रचारात्मक अभियानका लागि प्राध्यापक कर्मचारीहरु आफैँ जानुपर्ने बाध्यता विगतमा रहेको थियो । ‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्नुहुन्छ, “क्याम्पसले प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको हो ।” समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उहाँको भनाइ छ । स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो क्याम्पस सबै हिसावबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ ।” अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले–पहिले हामी विद्यार्थी खोज्दै हिँड्थ्यो, अहिले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ ।” क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातकोत्तरसम्मको पढाइ हुने गरेको छ । हाल एक हजार सात सय विद्यार्थी विभिन्न सङ्कायमा अध्ययनरत छन् ।

