काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

  पोखरा  : अभिनेता पल शाहलाई बलात्कार मुद्दामा नवलपुर जिल्ला अदातलले सफाइ दिएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीमा सफाइ दिएपनि बाल यौन दुरुपयोग मुद्दामा भने साढे दुई वर्ष थुनामा राख्न आदेश दिएको छ ।   त्यसबाहेक २५ हजार जरिबाना र १० लाख क्षतिपूर्ति पीडितलाई दिन आदेश भएको जिल्ला अदालत नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए ।   शाहविरुद्ध गत चैत ४ गते जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो । नाबालक किशोरीका बुवाले दायर गरेको जाहेरीमाथि न्यायाधीश आचार्यले मंगलबार सुनुवाइ गर्दै जबर्जस्ती करणी नभई बालयौन दुरुपयोग भएको फैसला गरेका हुन् ।   मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गरी मुद्दा दायर भएको थियो । सरकारी वकिलको कार्यालयले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्तिको माग गरेको थियो ।   कानुनको सो दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मन्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । शाहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ‘३’ को ‘ग’ अनुसार सजाय माग गरिएको थियो । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।   अभियोगपत्रमा बलात्कार हुँदा बालिका १५ वर्ष आठ महिना चार दिनकी भएको उल्लेख छ ।

काठमाडौँ  ः  अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका ।   नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ । बाह्य मुलुकबाट यसरी सानो परिमाणमा लागुऔषध भित्रिएका घटना बेलाबेलामा सुनिएको हो ।   यसपटक भने झण्डै दुई किलो गाँजा त्यसैगरी हुलाक हुँदै नेपाल भित्रिएको छ । उक्त पार्सल अनुसन्धानका लागि प्रहरीले बरामद गरी त्यसमा संलग्न रहेका तीन व्यक्तिलाई पक्राउ गरेको छ । त्यसका मुख्य कारोवारीको हुन् भन्ने विषयमा भने अझै अनुसन्धान कै क्रममा रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।    घटना यही सोमबारको हो । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट गाँजा हालेर उपहारका रुपमा पार्सल आयो । कुनै व्यक्तिको नाममा उपहार भनेर उक्त पार्सल आएको थियो । हुलाकमा प्रहरी टोली खटाइँदै आएको छ । उक्त पार्सल मेसिनमा स्क्रिनिङ गर्दा असहज देखियो । “अनुसन्धानका क्रममा भित्र गाँजा भएको खुल्यो, त्यसपछि अनुसन्धानलाई थप बलिायो बनाउँदै मान्छे समाउन लाग्यौँ”, खड्काले भन्नुभयो, “लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिएर थप व्यक्ति खोज्न थाल्यौँ ।”   हुलमा उक्त पार्सल लिन काभ्रेको माण्डनदेउपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राई आए । हुलाकबाट पार्सल रिसिभ गर्ने बित्तिकै उनी पक्राउ परे । त्यहाँ थियो दुई किलो गाँजा । सुरुमा उनले केही कुरा खुलाएनन् । विस्तारै सोधपुछका क्रममा राईबाट काठमाडौँ महानगरपालिका–१ नक्सालका ३० वर्षीय अङ्कितकुमार श्रेष्ठ पनि यसमा संलग्न रहेको कुरा खुलेपछि काठमाडौँको खुस्बुबाट पक्राउ परे । थप अनुसन्धान गर्दै जाँदा मनोजलाई रु ३० हजार दिने शर्तमा राहुल र अङ्कीतले परिचालन गरेको पत्ता लाग्यो । तत्कालै प्रहरीले काठमाडौँको नक्सालबाट क्षेत्रीलाई पनि पक्राउ गर्‍यो । यो पार्सल उनीहरुमा मात्रै सीमित छैन । उनीहरु पहिलो तहका संलग्न व्यक्ति हुन् । गाँजा मगाउने मुख्य व्यक्ति को हुन् प्रहरीले अझै खुलाएको छैन तर पार्सल तीनै जनाको मिलेमतोमा भित्राइएको पाइएको छ ।    यसरी बनेको थियो त्रिपक्षीय योजना   धेरै पहिलेदेखि नै राहुल र अङ्कित साथी थिए । उक्त पार्सल मगाउने राहुलले अङ्कितको नाममा मगाउन प्रस्ताव गरेर तर राहुलले पक्राउ पर्ने डरले मानेन् । बरु चिनजानको अर्को साथीको नाम लिँदै उनको नाममा मगाउन प्रस्ताव गरे । उनको नाम हो मनोज राई । मनोजको नाममा पार्सल मगाउने अङ्कित र राहुलको सहमतिमा मनोज पनि राजी भए ।    विगतमा मनोज ठमेलको एक पबमा काम गर्थे । उक्त पबका अङ्कित नियमित ग्राहक थिए । विस्तारै उनीहरुको चिनाजान साथीमा परिणत भयो । बन्दाबन्दीमा समयमा पब बन्द भएपछि राईलाई अङ्कितले नयाँ जागीर लगाइदिएपछि उनीहरुको सम्बन्ध घनिष्ट भयो । त्यसैले उनीहरुले मनोजलाई प्रयोग गरेर उनको नाममा पार्सल मगाउन सफल भएका थिए ।    लागुऔषधसहित पक्राउ परेका १५ जना सार्वजनिक    उनीहरुसहित विभिन्न मितिमा लागुऔषधसहित पक्राउ परेका १५ जनालाई प्रहरीले आज सार्वजनिकसमेत गरेको छ । उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले जनाएको छ ।    प्रहरीले ललितपुरको भोलाखेलका सञ्जय कपाली, र रामेछापको मन्थलीका २७ वर्षीय कुमार तामाङलाई नियन्त्रित लागुऔषध ब्रुप्रोनोर्फिन ३१ एम्बुपल, डाइजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गरेको हो । यस्तै ललितपुरका २९ वर्षीय अनिश महर्जन तथा सप्तरीका धर्मदेव रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित ललितपुरका प्रताप कार्की, पाँचथरका भुवन विक र देङ्हाङ नेम्वाङ पनि पक्राउ परेका छन् ।   यस्तै काठमाडौँको माकलबारीका उत्सव घिमिरे, भोजपुरका दोर्ची शेर्पालाई पनि खैरो हेरोइनसहित र उक्त खैरो हेरोइन कारोबारमा संलग्न भोजपुरका फुर्लामी शेर्पा, अप्सरा राजवंशी, नौसाद आलम पक्राउ परेका छन् । उनीहरुबाट रु १० लाख ४० हजार नगदसमेत बरामद गरिएको छ । प्रहरीले १५ जनाबाट खैरो हेरोइन २८७.५ ग्राम, गाँजा दुई किलो, अन्य लागुऔषध २५२ एम्पुल, डिजिटल तराजु, मोबाइललगायत साम्रगीसमेत बरामद गरेको छ । 

काठमाडौं   :  १० वर्षपछि दशरथ रंगशालामा  सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । दशैं छेको पारेर असोज १५ गते दी एज ब्याण्ड, नितेशजंग कुँवर दर्जन कलाकारले कन्सर्ट गर्ने भएका हुन् ।   काठमाडौंमा पत्रकार सम्मेलन गरेर १० वर्षपछि दशरथ रंगशालमा सांगीतिक कार्यक्रम हुुने जानकारी दिएको हो । कन्सर्टमा वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुबानी मोक्तान र दी इलेमेन्ट्स ब्यान्डले प्रस्तुति दिने भएका छन् ।   कन्सर्टले सहरी युवावर्गमा बडादशैंको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साथै, कोरोना महामारीले थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ ।   दशैं महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेजजस्ता पुरस्कार पाउनेछन् । विगत २० वर्षदेखि कन्सर्ट, सडक महोत्सव गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी समूह, केटीएम लाइभ तथा अप–ट्रेण्डली मिडियाले संयुक्त रूपमा यो सांगीतिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।

  पोखरा  :  ३९ वर्ष पछि पोखरामा आयोजना हुने लागे नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।    गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत खेलाडी छनोट गरेको हो । पोखराका विभिन्न स्थानमा साइक्लिङ प्रतियोगितामार्फत नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक शङ्कर भण्डारीले जानकारी दिनुभयो ।   राष्ट्रिय खेलकुदका लागि महिलातर्फ प्रदेशबाट ‘क्रसकन्ट्री’ विधामा कास्कीका हिमान्सु राई, सोफिया विक, सदीक्षा भण्डारी छनोट हुन सफल हुनुभयो । यसैगरी ‘रोड रेसमा’ निकिता परियार, बविता परियार, स्पर्श उदास र  पवित्रा परियार छनोट हुँदा ‘डाउन हिल’तर्फ जमुना थापा छनोटमा पर्नुभएको छ । छनोट प्रतियोगितामा कास्कीबाहेक अन्य जिल्लाले साइक्लिङमा सहभागिता जनाएका थिएनन् ।   यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशबाट प्रतियोगिताको ‘क्रस कन्ट्री’ विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट हुनुभयो । ‘डाउन हिल’तर्फ कास्कीका अजय क्षेत्री र सुजन अधिकारी छनोट हुँदा ‘रोड रेस’तर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।   कास्कीबाट पुरुषतर्फको ‘क्रस कन्ट्री’मा हिक्मत विक, अनिल विक, आलोकश्री खड्का र अजित बराल, ‘डाउन हिल’तर्फ अजय क्षेत्री, सुजन अधिकारी र ‘रोड रेस’मा सुमित गुरुङ र सुवास लामा छनोट हुनुभएको छ । प्रतियोगिता क्रस कन्ट्री र रोड रेस पोखरा–१८ मेथलाङडाँडा र डाउन हिल पोखरा–२२ स्थित रानीवन–तितेपानी क्षेत्रमा सञ्चालन भएको थियो ।   नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताका लागि प्रदेशको छनोट खेल सम्पन्न भएका छन् भने खेलस्थलको अन्तिम टुङ्गो लगाउने काम भइरहेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो ।   प्रतियोगिताको एक महिनाभन्दा अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौँमा राम्रो नतिजाका लागि असोज १ देखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेशले जनाएको छ ।   यसैगरी परिषद्ले पदकको बढी आशा भएका विभिन्न छ खेलका एक सय खेलाडीलाई मनाङमा दुई साताको उच्च पर्वतीय (हाइ अल्टिच्युड) प्रशिक्षण दिइने जनाएको छ । भलिबल, बास्केटबल, कराते, आइटीएफ तेक्वान्दो, फूलकन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ गतेसम्म हाइअल्टिच्युड प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

काठमाडौँ  :  छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा  आयोजना हुने भएकोछ ।    साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ ।   नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यस खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।    आजको उद्घाटन खेल नेपाल र  भुटानबीच  साँझ ५ः३० बजे हुनेछ  । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्ने दाउमा  छ  भने  भुटान पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरवात गर्न चाहन्छ ।   नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुमार थापाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताउनुभयो । नेपालले हालसम्म साफ च्यापियनसीपको उपाधि जित्न सकेको छैन ।   भुटानकी प्रशिक्षक क्युङ सुक होङले भने प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको जानकारी दिनुभयो । नेपाली टोलीमा  एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, हीराकुमारी भुजेल, अमृता जैसी (उपकप्तान), गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक र विमला चौधरी छन् ।    यसैगरी टोलीमा मञ्जलीकुमारी योञ्जन, प्रिती राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिशा कार्की, रेखाकुमारी पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ छन् ।

मनाङ  :  हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।   केन्द्रका प्रमुख नारायण कुसुमले  खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिनुभयो । “ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ”, उहाँले भन्नुभयो ।   समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौरी मरेको केन्द्रले जनाएको छ । “भ्राकामा चौरी मर्ने क्रम रोकिएको छ । तर ङावल क्षेत्रमा अझै चौरी बिरामी रहेकाले पशु विज्ञको निगरानी जारी रहेको छ”, केन्द्र प्रमुख कुसुमले भन्नुभयो ।    जिल्लामा पूर्णखोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ ।    भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका-८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले जानकारी दिनुभयो । हालसम्म ४२  चौरी बिरामी परेकामध्ये ३० मरेको उहाँले बताउनुभयो ।    रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ । प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन । “चौरीको गोबर परीक्षण गर्न नमूना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टि हुनसकेको छैन”, उहाँले भन्नुभयो, “हिमाली चौरीमा भाद्र-आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहन्छ । यसले गर्दा पनि समस्या आएको हुनसक्छ ।”   रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशङ्का गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ । पशुपक्षी रोग अन्वेषण पोखराले रोग निदानका लागि नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको र नमूना परीक्षणको नतिजा बाँकी रहेको जनाइएको छ ।    सो रोगको आउटब्रेक अध्ययन गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले यहीभदौ ४ गतेदेखि प्राविधिक टोली पठाएको थियो । पशु प्राविधिक टोलीले दिएको विवरणअनुसार विस्तृतरूपमा भेटेरेनरी एपिडीमियोलोजिकल अध्ययन सर्वेक्षण गर्न आवश्यक देखिएको केन्द्रले जनाएको छ ।   ती बिरामी चौरीमा एक्कासी एक सय छ डिग्री ज्वरो आउने, अत्यधिक र्‍याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुनिने, मुख खोलेर श्वास फेर्न गाह्रो भएर आवाज निकाली कराउने र पशु लक्षण देखाएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेको पशु विज्ञको भनाइ छ ।   उहाँका अनुसार दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा रोग देखापरेको छ । ती कलिला चौरीका मूल्य रु ४० हजार प्रतिगोटा र वयस्क  एउटैको रु ९० हजारदेखि रु एक लाख २० हजारसम्म पर्ने गर्दछ । यसरी अज्ञात रोगबाट चौरी मरेपछि किसान चिन्तित भएका छन् ।   

काठमाडौँ  : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए ।   आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ । कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायत पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा पुनरावलोकन गरिएको हो ।   सोही आधारमा जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ मतदानस्थलको त्रुटि सच्याइएको, साविकका तीन सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ मतदानस्थल निर्धारण गरिएको छ । एक सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ मतदानस्थल निर्धारण गरिएको साथै २८ मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका मतदानस्थलको सङ्ख्या १० हजार आठ सय ८८ पुगेको छ । यसअघि देशभरका जम्मा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक मतदानस्थललाई हटाइ नयाँ मतदान स्थल निर्धारण गरिएको छ ।   मतदानस्थल पुनरावलोकन भएपश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो सम्बोधन भई मतदातालाई मतदानस्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगले गरेको छ ।

काठमाडौँ  :  जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ ।    जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार  सरोजराज रेग्मीले जानकारी दिनुभयो ।   एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल ९शाही०ले जुम्ला प्रहरीमा यही भदौ १३ गते  जाहेरी दरखास्त दर्ता गर्नुभएको थियो ।    “बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी प¥यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति माग्यो”,  श्रेस्तेदार  रेग्मीले भन्नुभयो, “प्रहरीले त्यसअनुसार अदालतले अनुसन्धान प्रयोजनका लागि फुक्का अनुमति दिएको हो ।” अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।   यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’मा रहेका बेला डा साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो ।  यसपछि प्रहरीले उहाँमाथि अनुसन्धान सुरु गरेको छ । डा. साह जलेश्वर नगरपालिका-५ महोत्तरी जिल्ला निवासी हुनुहुन्छ ।

  काठमाडौं । मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बूढानीलकण्ठ नगरवासीले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेका छन् । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेको हो ।       नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको कीर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइँसराइ र मतदाता परिचयपत्रलगायतका कागजात बोकेर निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोलले बताउनुभयो ।       निर्वाचन कार्यालय धर्नाका क्रममा निर्वाचन कार्यालय पुगेका बूढानीलकण्ठ–१० एमाले नगर कमिटी अध्यक्ष जगत निरौलाले नामावलीबाट नगर कार्यपालिका सदस्यसमेतको नाम हटाइएको भन्दै आक्रोस पोख्नुभयो । निर्वाचन कार्यालयमा सम्पूर्ण कागजात पुर्याएर आएको नामावलीबाट नाम हटाउनु जनताको अन्याए भएको उहाँको भनाइ छ ।