काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

  कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पछाडि परेका वर्ग र समुदायको उत्थान नभएसम्म समाज रुपान्तरण नहुने बताउनुभएको छ ।        कैलालीको धनगढीमा आज आयोजित मुक्त हलियाको समस्या र राज्यको दायित्व विषयक कार्यक्रम उद्घाटन गर्दै उहाँले देशको विकास र समाज रुपान्तरणका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले हलिया मुक्ति भएको लामो समय बितिसक्दा पनि अझैसम्म पुनःस्थापना हुन नसकेकोमा मुक्त हलिया परिवारको समस्या समाधान गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।        उहाँले मुक्तिको घोषणा भएर पनि पुनःस्थापना कार्य नभएका मुक्त हलिया परिवारको व्यवस्थापनका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मुक्त घोषणा भएको १४ वर्षसम्म सबै मुक्त हलिया परिवारको पुन:स्थापना नहुँदा उनीहरुलाई जीविकोपार्जनमा असर परिरहेको उहाँको भनाइ थियो ।       संविधानसभा सदस्य तथा हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइली लामो सङ्र्घषपछि हलियालाई सरकारले मुक्त घोषणा गरे पनि पुनःस्थापना कार्यमा ढिलाइ गरेको बताउनुभयो । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनारले सरकारबाट प्रमाणीकरण भएका १६ हजार ९५३ घरपरिवार मध्ये हालसम्म १३ हजार छ सय ४६ मुक्त हलिया परिवारले पुन:स्थापनाको प्याकेज पाएको बताउनुभयो । 

  काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ ।   प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष अलङ्करण समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गर्नुभयो ।    प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आउनुभएको हो ।    नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।   विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो । सोही प्रचलनको निरन्तरता स्वरुप राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको हो ।    अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसक्नुभएको छ ।   दुई मुलुकका सेनाबीचको दशकौंदेखिको उक्त अनुपम अभ्यासले नेपाली सेना र भारतीय सेनाबीच आपसी सम्बन्ध मात्र नभई दुवै मुलुकको मित्रता र सहयोगको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउन टेवा पुग्ने विश्वास गरिएको छ ।    नेपाल र भारत घनिष्ठ एवं शान्तिपूर्ण मुलुक हो । यी मुलुकबीच सदियौंदेखि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सांस्कृतिक सामिप्यता तथा सेनाबीच प्रगाढ सम्बन्ध रही आएको छ ।    द्विपक्षीय सेनाबीच शान्तिपूर्ण सहअस्तित्व, सम्मान र सहयोगभाव पहिलेदेखि नै चलीआएको इतिहास छ । तिनै परम्परा र इतिहासले नेपाली सेना र भारतीय सेनाबीच गहिरो सम्बन्ध कायम छ ।    नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथी हुने परम्परा एसियाको अनुकरणीय उदाहरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   नेपाली सेना र भारतीय सेनाले एक अर्को मुलुकमा आइपर्ने प्राकृतिक प्रकोपमा निरन्तर सहयोग पुर्याउँदै आएको छ । नेपाली सेना र भारतीय सेना बीच सञ्चालन हुने ‘एक्स सूर्य किरण’ सैन्य अभ्यासले दुवै देशको सेनाबीच अझै सम्बन्ध मजवुद पारेको छ ।    मानार्थ महारथी दर्जा प्राप्त गर्नु अघि जलनरल पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा वृक्षारोपण गर्नुका साथै नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा नेपाली सेनाले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो । उहाँले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता पनि गर्नुभएको थियो ।    पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।    यस्तै अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ भने साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।   बुधबार मुक्तिनाथको दर्शन, पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण तथा वसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कनुहुने जनाइएको छ ।   सेनाध्यक्ष पाण्डेको योगदान राष्ट्रपति भण्डारीबाट नेपाली सेनाको मानार्थ महारर्थी दर्जा प्राप्त गर्नुभएका भारतीय सेनाध्यक्ष जनरल पाण्डे भारतको परम विशिष्ट सेवा मेडल, अति विशिष्ट सेवा मेडल, विशिष्ट सेवा मेडलजस्ता उच्च मानपदवी, विभूषण तथा पदकबाट विभूषित हुनुहुन्छ ।    एड–डि क्याम्प तथा प्रतिष्ठित नेशनल डिफेन्स एकाडेमीबाट दीक्षित पाण्डे सन् १९८२ मा  भारतीय सेनाको कोर अफ इन्जिनियर्समा कमिशन हुनुभएको थियो ।    संयुक्त अधिराज्यको क्याम्बर्लीस्थित स्टाफ कलेजबाट दीक्षित पाण्डे हाइ कमाण्ड र नेशनल डिफेन्स कलेज कोर्ससमेत गर्नुभएको छ । भारतीय सेनाप्रतिको निस्वार्थ सेवा, इमान्दारिता, लगनशिलता, सैनिक पेशाप्रतिको समर्पणका कारण जनरल पाण्डे आफूलाई सैनिक कला र व्यावसायिकतामा अब्बल सावित गर्दै सन् २०२२ अप्रिल ३० मा भारतीय सेनाको सेनाध्यक्षमा नियुक्त हुनुभएको थियो ।    करिव चार दशक लामो भारतीय सैनिक सेवामा कार्यरत उहाँले उल्लेखनीय कमाण्ड तथा स्टाफ भूमिकाहरूमा कार्यसम्पादन गर्नुभएको छ । महत्वपूर्ण र चुनौतीपूर्ण कमाण्डमा कार्यरत रहने क्रममा उहाँले इन्जिनियर ब्रिगेड, इन्फेन्ट्री ब्रिगेड, माउन्टेन डिभिजन र कोरको सफलतापूर्वक  कमाण्ड गर्नुभएको छ ।    उहाँले  अन्डामन र निकोबर कमाण्डमा  कमाण्डर इन चिफ र पूर्वी कमाण्डको जनरल अफिसर कमान्डिङ इन चिफको जिम्मेवारीसमेत सफलतापूर्वक  सम्पन्न गर्नुभएको छ ।    उहाँले भारतीय सेनाको पूर्वी–कमाण्डमा रहँदा चुनौतीपूर्ण प्रतिविद्रोह कारवाहीमा समेत प्रशंसनीय भूमिका निर्वाह गर्नुभएको छ ।    भारतीय सेनाको महत्वपूर्ण स्टाफ भूमिकामा रहेर जिम्मेवारी पूरा गर्ने क्रममा जनरल पाण्डेले भाइस चिफ अफ आर्मी स्टाफ, मिलिटरी अपरेशनमा  एडिसनल डाइरेक्टर जनरल, दक्षिण कमाण्ड हेडक्वाटरमा चिफ अफ स्टाफ, डिसिप्लिन, सेरेमोनियल तथा वेलफेयर डाइरेक्टोरेटमा डाइरेक्टर जनरलको नियुक्तिमा विशेष योगदान पुर्याउनुभएको छ ।    उहाँले शान्ति स्थापनार्थ इथियोपिया र इरिट्रियास्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा चिफ इन्जिनियरको रुपमा कार्य गरी विश्व शान्तिमा विशिष्ट योगदान पुर्याउनुभएको छ । 

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढवा दिनुपर्ने बताउनुभएको छ ।   नेपाल इँटा उद्योग महासङ्घको १४औँ वार्षिक साधरणसभाको सोमबार धनगढीमा उद्घाटन गर्दै उहाँले देशलाई आत्मनिर्भर बनाउन सरकारले आयात बढाउने र निर्यात घटाउने नीति लिएको बताउनुभयो ।    उहाँले बन्द रहेका उद्योग सञ्चालन गर्न सरकारले पहल गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।   मन्त्री बडूले इँटा उद्योगी व्यवसायीले देशको विकास र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो । इँटा उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उहाँको भनाइ थियो । इँटा उद्योगी व्यवसायीलाई सहुलियत दरमा बैंकिङ कर्जा प्रवाहको व्यवस्था गर्न सरकार लागि परेको उहाँले बताउनुभयो ।   सरकारले उत्पादनशील तथा रोजगारमुखी व्यवसायको विकासलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति रहेको उल्लेख गर्दै उहाँले उत्पादनशील उद्योग व्यवसायमा जोड दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । 

  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई÷तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताउनुभयो ।        “गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुङ्गो लगाउँछ ।”        “अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुङ्गो लगाउन मात्र बाँकी छ ।” हामीले छिटोभन्दा छिटो सिट बाँडफाँटको टुङ्गो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौँ”, अध्यक्ष प्रचण्डको भनाइ थियो ।       गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाभन्दा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष दाहालले गर्नुभयो । अध्यक्ष दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।        “संविधानले राष्ट्रपतिलाई एकपटक विधेयक फिर्ता गर्ने अधिकार दिएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “दोस्रो पटक विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन, त्यसैले दुवै सदनबट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ, हामी पूर्ण विश्वस्त छौँ ।”        यसैबीच नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामस्थित होटल राजदरबारमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश), नेताहरु मात्रिकाप्रसाद यादव, गिरीराजमणि पोखरेललगायतका नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको माओवादी केन्द्र मधेस प्रदेशका इञ्चार्ज गणेश साहले जानकारी दिनुभयो । 

  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।    आज दुई सय छ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ४४ जना पुगेको छ । यस्तै आज कोरोना भाइरसको  सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र मुगु रहेका छन् ।   होम आइसोलेसनमा दुई हजार तीन सय १२, संस्थागत आइसोलेसनमा एक सय ३२, सघन उपचार कक्ष (आइसियु)मा ३८ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरस विरुद्धको खोप दुई लाख ६९ हजार छ सय ४५ जनाले लगाएका छन् । 

  काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेँङ्गुको सङ्क्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेँङ्गु देखिएको उपमहानगरपालिकाले जनाएको छ ।     स्थानीयवासीमा डेँङ्गु देखिएपछि अन्य व्यक्तिमा सर्न नदिनका लागि डेँङ्गु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।    स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमसहितको सहभागितामा वडा नं ४ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । वडा नं ४ का अध्यक्ष गोपाल पुनले डेँङ्गुबाट नगरवासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि ठमेलको छायाँ सेन्टरमा दुव्र्यवहार गरेको आरोपमा सुरक्षा गार्ड शेरजंग गुरुङ हाल महानगरीय प्रहरी प्रभाग दरबारमार्गको थुनामा रहेका छन् ।     गुरुङ्लाई पुर्पक्षकालागि ५ दिन हिरासतमा राख्ने प्रहरीले जनाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गुरुङलाई प्रहरी कार्यालयमा भेटेका छन् ।    भेटमा गुरुङले लाइनमा बस्न आग्रह गरेपनि दुव्र्यवहार नगरेको लामिछानेलाई बताएका छन् । भेटपछि लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै  ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।’ भनेको उल्लेख गरेका छन् ।      यहि भनाइलाई लिएर लामिछानेले ‘यदि उनको भनाई सत्य हो भने थुनामा राख्ने होइन, सम्मान रिहा गरियोस्’ भनेका छन् ।    त्यस्तै, मन्त्रीलाई कानून नमानेको अभियोगमा अनुसन्धान गर्न लामिछानेले आग्रह गरेका छन् । 

  नुवाकोट । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले चालु आर्थिक वर्षमा नुवाकोटमा एक सय ४० वटा योजना सञ्चालन गर्ने भएको छ ।बागमती प्रदेश र सङ्घीय सरकारमार्फत हालसम्म एक सय ४० योजनाका लागि रु ३२ करोड ७९ लाख बजेट प्राप्त भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाइले जानकारी दिनुभयो ।       उहाँका अनुसार चालु आर्थिक वर्षका लागि हालसम्म प्रदेश सरकारमार्फत एक सय आठ योजनाका लागि रु २६ करोड ३९ लाख र सङ्घीय सरकारमार्फत ३२ योजनाका लागि रु छ करोड ४६ लाख बजेट प्राप्त भएको हो ।       “अघिल्ला आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरतासहित चालु आर्थिक वर्षमा केही कार्यक्रम थप भएर आएका छन्”, डिभिजन प्रमुख गुरागाइले  भन्नुभयो, “अझै करिब एक दर्जन योजना थप गराउने प्रयासअन्तर्गत पाइपलाइनमा रहेकाले एक सय ५० भन्दाबढी योजना नुवाकोटमा कार्यान्वयन गर्नेछौँ।”        प्राप्त योजनाअन्तर्गत प्रदेश सरकारमार्फत नदी तथा खोलाले कटान गरेका स्थानमा नियन्त्रणका लागि २२ योजनालाई रु छ करोड ५० लाख, सिँचाइ प्रणालीको निर्माण तथा मर्मतका लागि ६२ योजनालाई रु १८ करोड ४५ लाख रहेको छ ।       नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत विपन्न वर्गलक्षित समुदायका लागि अनुदानमा सौर्य ऊर्जा वितरण गर्न रु २५ लाख, ग्रामीण विद्युतीकरणका लागि रु ४० लाख, विद्युतीय प्रणालीको सुदृढीकरणअन्तर्गत जीर्ण बनेका काठका खम्बा विस्थापित गरेर कङ्क्रिट वा फलामका खम्बा राख्न रु ३० लाख र परामर्श सेवातर्फ २० वटा सिँचाइ योजना पहिचानका लागि रु १० हजारका दरले रु दुई लाख एवं चार वटा योजनाको विस्तृत सर्वेक्षण गर्न रु तीन लाखका दरले रु १२ लाखसहित रु १४ लाख प्राप्त भएको छ ।         यसैगरी शसर्त अनुदानअन्तर्गत सङ्घीय सरकारमार्फत सिँचाइ मर्मतसम्भारको लागि रु ४० लाख र नदी नियन्त्रणका लागि छ वटा योजनाका लागि रु एक करोड प्राप्त भएको छ ।       सौर्य ऊर्जाबाट पानी तान्नका लागि एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रम यसअघि सङ्घीय कार्यालयअन्तर्गत सञ्चालन हुने गरेकामा यो वर्ष डिभिजनको जिम्मेवारीमा आएको छ । उक्त कार्यक्रम कार्यविधि प्राप्त हुन बाँकी रहेको छ भने रु ७९ लाख बजेट प्राप्त भएको डिभिजन प्रमुख गुरागाईंले जानकारी दिनुभयो ।       उहाँका अनुसार सङ्घीय सरकारमार्फत आएका अन्य योजना तथा कार्यक्रम नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण कार्यक्रमका लागि सात वटाका लागि रु ८७ लाख, नौ वटा मझौला सिँचाइ आयोजनाका लागि रु तीन करोड ३० लाखसमेत गरेर कूल रु छ करोड ४० लाख बजेट प्राप्त भएको छ ।        गत आवमा डिभिजनमार्फत करिब एकसय योजना सम्पादनका लागि रु २२ करोड हाराहारीको खर्च भएकामा यो वर्ष अहिले नै ४० वटा योजना र रु १० करोड बजेट थप आएको हो ।       बागमती प्रदेशअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले नुवाकोटमा सिँचाइ कुलोको सर्वेक्षण, निर्माण तथा मर्मतसम्भार, नदी तथा खोलाको कटान नियन्त्रण, जोखिममा परेका बस्ती तथा सामुदायिक संरचनाको संरक्षण, नवीकरणीय ऊर्जा, ग्रामीण विद्युतीकरण र ऊर्जाका पुनःप्रयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ ।        यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा ओर्लेको छ । कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर रु ९० करोड ९९ लाख चार हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ ।        नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादन एक दशमलव ८७ र लघुवित्त दुई दशमलब पाँच अङ्कले उकालो लागेको छ ।       बैंकिङ एक दशमलव ३९, व्यापार आठ, होटल तथा पर्यटन आठ दशमलव शून्य पाँच, विकास बैंक १० दशमलव ८३, जलविद्युत् छ दशमलव एक, वित्त नौ दशमलव ८८, निर्जीवन बीमा चार दशमलव ३७, अन्य १५ दशमलव २१, जीवन बीमा पाँच दशमलव शून्य छ, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ३२ अङ्कले ओरालो लागेको छ ।       सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३० अर्ब छ करोड ५५ लाख ७८ हजार तीन सय ७७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९६ लाख ९४ हजार सात सय २१ बराबरको कारोबार भयो ।       यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स रु चार करोड ५९ लाख ७८ हजार छ सय ६४, नवील बैंक रु चार करोड ५६ लाख ५५ हजार पाँचसय ८६, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड ८५ लाख सात हजार पाँच सय ५१ र नेपाल दूरसञ्चार कम्पनी रु दुई करोड २३ लाख १७ हजार चार सय ६६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।       मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव ४३, हिमालयन एभरेष्ट इन्स्योरेन्स तीन दशमलव ९३, रिडी हाइड्रोपावर तीन दशमलव २३, अप्पर सोलु खोला हाइड्रो दुई दशमलव ९२ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले दुई दशमलव ८७ प्रतिशतले कमाएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजना छ दशमलव ५५, आशा लघुवित्त तीन दशमलव ६६, जोशी हाइड्रोपावर तीन दशमलव शून्य चार, एनएमबी आइब्रिड फण्ड एक दुई दशमलव ७७ र ओरियन्टल होटलका लगानीकर्ताले दुई दशमलव ७४ प्रतिशतले गुमाएका छन् ।