काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

  नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा रु १३ लाख बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गए राति करिब १० बजेको समयमा जिल्लाको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा रहेको किराना पसलमा आगलागी भएको थियो । स्थानीय ३७ वर्षीय राजकुमार महतोको चारकोठे कच्ची घरको किराना पसलमा विद्युत् सर्ट भई आगाली भएको सूचना अधिकारी पाठकले बताउनुभयो । आगलागीको सूचना पाएलगत्तै प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहायतामा आगलागी नियन्त्रणमा लिएको थियो ।    उक्त आगलागीबाट किराना पसलको सामान, फ्रिजलगायतको सामग्री जली करिब रु छ लाख बराबरको क्षति भएको जनाइएको छ ।    त्यस्तै गए राति ९ः४५ बजेको समयमा देवचुली–१३ को भाजियापुरी टोलस्थित आशाको किरण शिशु स्याहार केन्द्रको भवनमा समेत विद्युत्को तार सर्ट भएर आगलागी भएको सूचना अधिकारी पाठकले बताउनुभयो । आगलागी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय कावासोती, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र कावासोती नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  सो आगलागीबाट भाँडावर्तन र भवन गरी करिब रु सात लाख बराबरको क्षति भएको र थप अनुसन्धान जारी रहेको जनाइएको छ । 

तनहुँ  ः  नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विनिता थापामगर चयन भएका छन् ।    नेपाल मगर विद्यार्थी संघ तनहुँको १४ औं जिल्ला अधिवेशनले थापामगरको अध्यक्षतामा १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  समितिको उपाध्यक्षमा विजय थापा मगर, सचिवमा नवीन थापामगर, सहसचिवमा शिल्पा थापामगर र कोषाध्यक्षमा ससिता थापा मगर चयन भएका छन् ।    सदस्यहरुमा रुद्र थापा मगर, रजनी थापा मगर, नरेश थापा मगर, अमर थापा मगर, साजन गर्जा मगर, दिपा वानटङे मगर,अर्पण सोति मगर, कृष्ण आले मगर, सोनम थापा मगर, विनिता थापा मगर,भिम सारु मगर, सुमन थापा मगर , बिस्नु थापा मगर ,ममता थापा मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक गिता रखाली मगरले जानकारी दिए । 

पोखरा  : विश्व आत्महत्या दिवस (सेप्टेम्बर १०)को अवसर पारेर सडक नाटक ‘नमाझिएको’ कसौडी प्रदर्शन गरिएको छ ।   आत्महत्या रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको कोशिशको आयोजना,जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सहकार्य ।तथा  सिबिएमको सहयोगमा नाटक प्रदर्शन गरिएको संयोजक सुदिप घिमिरेले जानकारी दिए ।    नाटक शनिबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरिएको हो ।कार्यक्रममा पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले नाटक सन्देश मुलक भएको बताउँदै यसले केहि हद सम्म भए पनि आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने बताए।    कोशिशका मनोबिद् बिनय पाण्डेले आत्महत्याको कारण र रोकथामका उपायका बारेमा प्रकाश पारेका थिए ।   यस्तै सोहि नाटक शनिवार नै पोखरा २५ हेम्जामा समेत प्रदर्शन गरिएको छ  । नाटक कोशिश र मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुतिमा तयार पारिएको हो ।

  काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उहाँले बताउनुभयो ।   उहाँले भन्नुभयो, “सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।” यसैगरी उहाँले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँग सँगै विनास निम्त्याएको उल्लेख गर्नुभयो ।   “म विकासको विरोधी होइन तर विकास गर्ने नाममा विनास नमित्यिोस”, उहाँले भन्नुभयो, “हामीले गरेका विकासले दीर्घकालिन रुपमा सेवा देओस तर हाम्रा विकासले विनासको जोखिम नल्याओस ।” जलवायू परिर्वतनका कारण विश्वभरीमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायू परिर्वतनका क्षेत्रमा सचेत भएर काम गर्नु पर्ने उहाँको भनाइ थियो ।    विशेष गरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नु पर्ने मन्त्री यादवको जोड थियो । सडकलगायतका विकास गर्दा विज्ञसँगको राय सुझाव तथा सल्लाह अनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो ।   यसैगरी उहाँले विकास र वातावरण एक आपसका प्रतिद्धन्द्धी नभइ परिपूरक भएकाले दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार सबैले विकास निर्माणका काम गर्नुपर्ने उहाँको भनाइ थियो । वायू प्रदूषण न्यूनीकरणका लागि सरकारले विभिन्न काम गर्न निती नियम बनाएको भए पनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या भएको समेत मन्त्री यादवले बताउनुभयो । 

  काठमाडौं । देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।   आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८.६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३०  पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् ।    सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष (आइसियु)मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।   आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् । 

  काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक को बनेपा नगरपालिका–१३ र १४ का बासिन्दालाई स्वच्छ खानेपानी वितरण गरिएको छ । खानेपानीको समस्या रहेको यहाँका बासिन्दालाई विभिन्न दातृ निकायको सहयोग तथा स्थानीय उपभोक्ताको संयुक्त आयोजनामा साँगाकोट खानेपानी जल उपभोक्ता समितिले डिपबोरिङ खानेपानी परियोजना सम्पन्न गरी दुई वडाका तीन सय ४६ घरपरिवारलाई खानेपानी वितरण गरिएको हो ।   अटोनोमस प्रोभिन्स अफ बोल्जानो इटाली, प्रो नेपाल इटाली र आपसको निम्ति समाज नेपालको सहयोगमा सो परियोजना सम्पन्न भएर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका संयोजक जीवन श्रेष्ठले बताउनुभयो । खानेपानी आयोजनाको आज भएको उद्घाटन कार्यक्रममा संयोजक श्रेष्ठले तीन वर्ष अगाडि सुरु गरिएको आयोजना कोभिड–१९ को प्रभावका कारण ढिलो सम्पन्न भएको जानकारी दिनुभयो ।   ‘शुद्ध पिउने पानी आजको आवश्यकता, सहज उपलब्धता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ ‘एक घर, एक धारा’ अभियानअन्तर्गत अहिले तीन सय ४६ घरपरिवारलाई स्वच्छ पिउने पानी वितरण गर्न सफल भएको छ । संयोजक श्रेष्ठले भन्नुभयो, “पानीको मुहान र ट्याङ्की निर्माणको क्षमताअनसुार करिब छ सय घरपरिवारलाई वितरण गर्न सकिने भएकाले बाँकी घरहरूलाई बजेट र आवश्यक व्यवस्थापनको काम सम्पन्न गर्दै वितरण गर्दै जानेछौँ ।”   साँगा आसपासका इटाचा, दिपडोल र गोसिन्चा गाउँमा थप बजेटको व्यवस्थापन गर्दै पाइप र धारा जडान गरी पानी वितरण गर्ने जनाएको छ । रु एक करोड ५१ लाख १९ हजार आठ सय ६८ लागतमा सो आयोजना सम्पन्न भएको हो । सम्पन्न भएको आयोजनाले टाढा–टाढाबाट पानी बोकेर दैनिक घर चलाउने महिलाका लागि अझ थप सहज भएको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले शुभकामना सन्देशमार्फत आयोजना पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।   साँगाका स्थानीय समाजसेवी प्रचण्डराज प्रधानले दातृ निकायको सहयोगमा साँगावासीलाई पिउनेपानी उपलब्ध गराउन धेरै कष्ट गरेर सफल भएको बताउनुभयो । पानीको मुहान तल र बस्तीमाथि भएकाले बोरिङ गरी वितरण गरेको पानीलाई थप शुद्धीकरणका लागि प्रशोधन केन्द्र निर्माण गरी वितरण गर्न आवश्यक रहेकाले त्यसका लागि नगरपालिकाबाट सहयोग गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

  अन्नपूर्ण । पोखराका गणेशबहादुर भट्टराई शुक्रबार पुस्तक पढ्नमा व्यस्त हुनुहुन्थ्यो । वीपी विचारबाट आकर्षित भट्टराईको हातमा ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ नामक पुस्तक थियो । उहाँँसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पुस्तक पढ्दै हुनुहुन्थ्यो । त्यहाँ उपस्थित सबैको अनुहारमा क्रान्ति  थियो । आफ्ना रोजाइका नेपाली कांग्रेस र यससँग सम्बन्धत पुस्तक पढ्न पाइने गरी पोखरामा पुस्तकालय खुलेकोमा सबैले प्रशंसा गरिरहनुभएको थियो ।   ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ पुस्तक पढिरहनुभएको भट्टराई पनि पुस्तकालय खुलेकोमा खुसी हुनुहुन्थ्यो । पोखरामा खुलेको वीपी स्मृति पुस्तकलयमा सबै वीपी कोइरालाले लेख्नुभएको र उहाँका बारेमा अरु लेखकले लेख्नुभएका पुस्तक पढ्न पाइने भएपछि हर्ष लागेको उहाँले बताउनुभयो । जसले गर्दा युवा पुस्तामा पढ्ने बानीको विकास हुने उहाँको तर्क थियो । विशेष गरी वीपी र नेपाली कांग्रेसका बारेमा त्यहाँ भएका पुस्तक पढेपछि अझ बढी ज्ञान लिन सकिने भट्टराईले बताउनुभयो । शुक्रबार उहाँजस्तै धेरैले पुस्तकालय पुगेर पुस्तक पढिरहनुभएको थियो ।   यसरी पुस्तकालय स्थापना गरेर वीपी र उहाँसँग सम्बन्धित विषयमा ज्ञान छर्ने कामको चाँजोपाँजो मिलाएको हो, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले । सबै व्यवस्था मिलाएर प्रदेश समितिले शुक्रबार एक सय नवौँ वीपी जयन्तीका अवसरमा पुस्तकालयको उद्घाटन गरेको हो । जहाँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादसँग सम्बन्धित एक हजारभन्दा बढी पुस्तक तथा पत्रिका छन् ।    पुस्तकालयका लागि प्राज्ञिक व्यक्तिले निःशुल्क पुस्तक उपलब्ध गराएको पुस्तकालय व्यवस्थापन समितिका संयोजक प्रा डा कुशुमाकर न्यौपाले जानकारी दिनुभयो । पछिल्लो समय कांग्रेससँग सम्बन्धित कृतिको न्यूनता भएका कारण नै पुस्तकालको परिकल्पना गरिएको उहाँ सुनाउनुहुन्छ । “पछिल्लो समय नेपालभर नै कांग्रेससँग सम्बन्धी किताब पठन संस्कृतिको न्यूनता भयो”, उहाँले भन्नुभयो, “पढ्ने परिपाटीभन्दा पद, कुर्सीर्तिर मोह बढी भयो त्यसैले केही बुझाउनुपर्छ भन्ने महसुस भएपछि प्रदेश समितिले निर्णय गरेर व्यवस्थापनको जिम्मा मलाई दिएको हो ।” जुन लक्ष्यका साथ पुस्तकालयको स्थापना गरिएको हो सोहीअनुसार उद्घाटन कै दिनमा उल्लेख्य सहभागीता रहेको उहाँले बताउनुभयो । जसले गर्दा आगामी दिनमा अझ बढी पुस्तक राख्नुपर्छ भन्ने हौसला बढेको प्रा डा न्यौपानेले जानकारी दिनुभयो ।   प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भन्ने बुझाउन पुस्तकालयको स्थापनामा जोड दिएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो । “वीपी कोइरालाले आफ्नो सारा जीवन व्यक्तिको सर्वोच्चताका लागि वितेको छ”, उहाँले भन्नुभयो, “आज म को हुँ भन्ने व्यक्तिले थाहा पाएन त्यसैले प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भनेर बुझाउन पुस्तकालयको स्थापना गरिएको हो ।” व्यक्तिको उपयोगिताको महत्व बढाउँदै प्रजातन्त्रिक हकको रक्षा गर्नका लागि सम्पन्न बनाउने लक्ष्य पनि पुस्तकालयको रहेको सभापति शर्माले जानकारी दिनुभयो । जसका लागि वीपी र उहाँसँग सम्बन्धीत पुस्तकले सहयोग गर्ने उहाँको भनाइ थियो ।    शुक्रबारदेखि सञ्चालमा आएको वीपी स्मृति पुस्तकालयमा देशैभरका मानिसले अध्ययन गर्न सक्नेछन् । आगामी दिनमा लोकतन्त्रसम्बन्धी १० हजार पुस्तक थप गरेर लोकतन्त्र बुझाउने देशकै नमूना पुस्तकालय बनाउने योजना उहाँले सुनाउनुभयो । उद्घाटनको दिनमा पाठकको सहभागिताले झनै ऊर्जा थपिएको सभापति शर्माले बताउनुभयो । “आज जुनरुपमा पाठक आउनुभएको छ यसले हामीलाई यसलाई अझ परिस्कृत बनाउनुपर्छ भन्ने ऊर्जा थपिएको छ”, उहाँले भन्नुभयो, “यो सबैका लागि सधैँका लागि अनि आफ्नो क्षमताको अपनत्व बोध गर्ने अभियान यहाँबाट सुरु होस्  भन्ने हाम्रो चाहना हो ।”   पुस्तकालयको पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि प्रा डा माथेमाले स्थापना गर्नुभन्दा पनि पछिसम्म सञ्चालन गर्नु चुनौतीको विषय भएको बताउनुभयो । सञ्चालनका क्रममा आइपर्ने चुनौतीलाई समाधान गर्दै देशकै उत्कृष्ट पुस्तकालय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । .

  तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो । यहाँ सहरी तथा ग्रामीण क्षेत्रबाट पनि पठनपाठनका लागि विद्यार्थी आउने गरेका छन् । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने विद्यार्थी आउने गरेका छन् ।        विसं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । जुन बेला यही ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो ।    क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११/१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो ।    कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ । त्यस्तै शहीद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।    क्याम्पसले नर्सिङ, इन्जिनियरिङको पठनपाठन सुरु गर्ने लक्ष्य लिएको छ । त्यसका लागि भवन र थप जनशक्ति आवश्यक पर्ने क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । क्याम्पसको शैक्षिक विकासका लागि बीस वर्षे गुरुयोजना बनाइएको छ । क्याम्पसलाई मानक विश्वविद्यालयमा रुपान्तरण गर्ने लक्ष्य राखिएको छ ।    क्याम्पसमा हाल ६४ प्राध्यापक र १६ कर्मचारी कार्यरत छन् । विद्यार्थीको शुल्क क्याम्पसको मुख्य आम्दानी रहेको र क्याम्पस आर्थिक रुपमा आत्मनिर्भर बन्न सफल भएको क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । “सरकारी निकायको सहयोग शून्य रहे पनि विश्वविद्यालय अनुदान आयोगबाट भने केही रकम प्राप्त हुने गर्छ”, उहाँले भन्नुभयो ।    क्याम्पसको कूल आम्दानीको ९० प्रतिशत तलबभत्तामा खर्च हुने गरेको छ । क्याम्पसले आर्थिक वर्ष २०७८/७९ मा रु सात करोड ९१ लाख १७ हजार आम्दानी गरेको थियो । सरकारी तवरबाट कुनै सहयोग नरहेको क्याम्पसमा प्राध्यापकको तलबमा मात्रै रु ३५ लाख खर्च हुने गरेको छ । चन्दा, दान र विद्यार्थीको शुल्कबाट प्राध्यापकलाई तलब खुवाउँदै आइएको छ । “गरिब तथा ग्रामीण भेगका विद्यार्थी अध्ययन गर्ने भएकाले निकै कम शुल्क मात्रै लिने गरेका छौँ”, हड्खलेले भन्नुभयो ।   क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । हड्खलेले भन्नुभयो, “सरकारी क्षेत्रबाट क्याम्पसको लागि ठूलो सहयोग छैन । समुदायकै व्यक्तिको प्रयासले क्याम्पस आज यो अवस्थासम्म आइपुगेको छ ।”   क्याम्पसको छात्रावासमा बस्नका लागि गत वर्ष पाँच सय विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये ३० विद्यार्थी मात्रै छनोट भएका थिए । विसं २०५८ मा सुरु भएर विसं २०७५ मङ्सिरमा छात्रावास निर्माण सम्पन्न भएको थियो ।    क्याम्पसमा विद्यार्थीको आकर्षण बढेसँगै यहाँ प्राविधिक शिक्षा सञ्चालनको तयारीका लागि व्यास नगरपालिकाले पनि चासो देखाएको छ । प्राविधिक विषय सञ्चालनका लागि अध्ययन गर्न व्यास नगरपालिकाले नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको छ । उक्त समितिमा व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष वा प्रतिनिधि, विज्ञान तथा प्रविधि क्षेत्रबाट एक जना सदस्य छन् ।

  बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् ।     यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए ।        जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको छ ।  पहिलेको तुलनामा  केही दिनयता यहाँका स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।     उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताउनुभयो । केही दिनयता भाइरल ज्वरो निकै बढी देखिन थालेको छ ।  भाइरल ज्वरोबाट  बालबालिका बढी सताइएका छन् ।        अहिले प्रत्येक गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका पाटन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।          मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपिनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिनुभयो ।   ज्वरोका बिरामीहरुमा अन्य सङ्क्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिँदै उहाँले     ज्वरोका बिरामीहरुले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने हुँदा स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने सुझाव दिनुभयो ।         वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो  । वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा।श्रेष्ठको आग्रह थियो ।     पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरुसमेत फेला पर्न थालेका छन् ।