काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

  काठमाडौँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ ।         औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् ।        उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ ।       काठमाडौँ उपत्यका लगायत देशका अन्य जिल्लामा दैनिक डेङ्गुका बिरामी बढिरहेका छन् । अहिलेसम्म छ हजारभन्दा बढी डेङ्गुका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ  । डेङ्गुका प्रकोप बढ्न थालेपछि सर्वसाधारणले पनि घरमा सिटामोल किनेर राख्ने गरेका छन् । यसले पनि सिटामोलको अभाव भएको बताइएको छ ।  मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार मण्डलले बजारमा सिटामोलको अभाव नभएको बताउनुभयो ।       शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा श्रवणकुमार मण्डलले डेङ्गुका बिरामीलाई उच्च ज्वरो आउने र ज्वरो कम गर्नका लागि सिटामोल खानुपर्छ भन्नुभयो ।  धेरै नै ज्वरोका बिरामी बढेकाले सिटामोलका माग बढेर अभाव भएको हुनसक्ने उहाँको भनाइ छ ।          नेपाल औषधि व्यवस्था विभागका निर्देशक भरत भट्टराईले सिटामोल पाइएन भन्ने गुनासो सुनेको बताउनुभयो । “डेङ्गु बढेसँगै एक÷दुई दिन अघि मात्र जनताले सिटामोल पाइनन् भन्ने सुनेको छु”, उहाँले भन्नुभयो, “सिटामोलको अवस्था के हो भन्नका लागि औषधि उत्पादक सङ्घलाई आइतबार बोलाएर छलफल गर्ने छु ।” उहाँले सङ्कटको बेला औषधिको मूल्य बढाउनका लागि अभाव सिर्जना गर्न थालिएको हुनसक्ने बताउनुभयो ।        उहाँले महामारीको बेला सिटामोलजस्तौ औषधिको अभाव हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले औषधि उत्पादक सङ्घलाई बोलाएर तत्काल सिटामोल उत्पादन गर्न निर्देशन दिने बताउनुभयो ।    ५० लाख सिटामोल उत्पादन गर्दै     नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको बताउनुभयो । उहाँका अनुसार हप्ता दिनभित्रमा कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल औषधि उत्पादन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार  करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन थालिएको छ ।        अहिले पनि औषधि लिमिटेडसँग करिब १५ लाख ट्याबलेट मौज्दात रहेको उहाँको भनाइ छ । सङ्घका उपाध्यक्ष सन्तोष बरालले बजारमा सुनेको जस्तो सिटामोलको  अभाव नभएको बताउनुभयो । “मैले पनि बजारमा अभाव छ भन्ने सुनेको छु तर त्यस्तो सारै अभाव छैन । हामीले उत्पादन गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो ।        उहाँका अनुसार नेपालमा बार्षिक १० करोड ट्याबलेट सिटामोलको  माग रहेको छ । सङ्घले भने वार्षिक पाँचदेखि साढे पाँच करोड ट्याबलेट उत्पादन गरिरहेको छ ।

  मकवानपुर । मकवानपुरको चेपाङ बस्ती रहेको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा रु ४६ लाख १८ हजारको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।        राक्सिराङ–७ स्थित स्थानीय शङ्कर खोलामा एक सय १४ः३० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ । नेपाल सरकारको झोलुङ्गे पुल निर्माण क्षेत्रगत कार्यक्रमअन्तर्गत सो पुल निर्माण भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो ।          बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा तथा गाउँपालिका अध्यक्ष मल्लले संयुक्तरुपमा आज सो पुलको उद्घाटन गर्नुभएको हो । पुल निर्माण भएपछि राक्सिराङ–७ का दुई सय ५० घरधुरीका करिब दुई हजार जनसङ्ख्या लाभान्वित भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । विसं २०७८ वैशाखमा सो पुल निर्माण सुरु भएको थियो ।        सो अवसरमा राज्यमन्त्री प्रजाले चेपाङ समुदायको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोग पु¥याउनुपर्ने आग्रह गर्नुभयो । 

  राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो,“यसका लागि कारागार र  सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाइनुपर्छ । ”    किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा संयुक्त रुपमा  आज यहाँ आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्नुहुँदै उहाँले अध्ययन कागजमा छापिएका अक्षरबाट मात्र नहुने बताउनुभयो । जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने राष्ट्रपति भण्डारीको भनाई थियो ।   “समाज परिवर्तन, राष्ट्रको उत्थानका लागि नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति हुनुपर्छ, त्यसका लागि सुपठित हुनु पहिलो शर्त हो,  समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञान र सभ्यताको समृद्धि पनि हो”, उहाँले भन्नुभयो ।   अनेक भाषा वा भएको देशमा अन्य देशमा लगेर साहित्यलाई समृद्ध बनाउने फाउण्डेशनका प्रयत्न स्वागतयोग्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले साहित्यकार  ध्रुवचन्द्र गौतमको अथक साधना र संस्कृतिविद् सत्यमोहन जोशीको बहुआयामिकताको पनि प्रशंसा गर्नुभयो ।    कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो ।   शनिबारसम्म चल्ने जात्रामा करिब ६०  प्रकाशनगृहका पुस्तक प्रदर्शनीमा राखिएको छ । फाउण्डेशनका अध्यक्ष ऋषिराम अधिकारीले विगत पाँच वर्षअघिदेखि किताब जात्राको आयोजना गर्दै आएको जानकारी दिनुभयो । जात्राका अवसरमा पठन संस्कृति, नेपाली साहित्यलगायत विषयमा बहस पनि आयोजना गरिने जनाइएको छ ।

  कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन ।       तीन वर्षको उमेरमै पक्षघात भएर चौधरीको कम्मरमुनिको भाग चल्न छाडेको हो । शारीरिक अपाङ्गताकै कारण उच्च शिक्षा पढ्ने धोको उहाँको पूरा हुन सकेन । गाउँ नजिकैको विद्यालयबाट उहाँले ५ कक्षासम्मको पढाइ गर्नुभएको छ । पाँच कक्षामाथि पढ्नका लागि गाउँ नजिकैको सनवोरा नदी तर्नु पर्दथ्यो । ह्विलचियर गुडाएर नदी तरेर टाढाको विद्यालय पुग्न सम्भव थिएन । त्यै भएर उहाँको उच्च शिक्षा पढ्ने धोको पूरा हुन सकेन ।    “विद्यालय जाँदासमेत साथीसङ्गीले गाई गोरुजस्तै हिँड्छौँ, जीवनमा के नै गर्न सक्छौँ भनेर नराम्रो तरिकाले जिस्क्याउँथे”, विगत सम्झँदै उहाँले भन्नुभयो, “त्यसको प्रवाह गरिन, उच्च शिक्षा पूरा गर्ने सपना पूरा नभए पनि निरास भइन, समाजकै अगाडि केही गरेर देखाउने दृढ सङ्कल्पमा अडिग थिए, अवसरको खोजीमा थिए, परिवारका लागि बोझ नभएर सहारा बन्ने धोको थियो ।”       विसं २०६४ मा गैरसरकारी संस्थाको सहयोगमा दुर्गाले छ महिने सिलाइकटाइ गर्ने तालिम लिनुभयो । तालिम पाएपछि उहाँको दिनचर्या नै फेरिएको छ । तालिम लिएपश्चात् संस्थाले उपलब्ध गराएको हाते सिलाइ गर्ने मेसिनले उहाँले गाउँघरमै सिलाइको कार्य गरी कमाइ गर्दै आउनुभएको थियो । त्यसै क्रममा सङ्घ संस्थाले सञ्चालन गर्ने सिलाइकटाइ तालिममा सुरुमा सहायक प्रशिक्षकका रुपमा काम दिन्थे ।       “त्यसबाट आउने पारिश्रमिकले घरको खर्च चलाउन सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “सिलाइकटाइमा एक लेवलको परीक्षा पास गरेपछि प्रमुख प्रशिक्षका रुपमा नगरपालिकाबाट सञ्चालन हुने तालिममा अब काम पाइन थालेको छ ।” सिलाइकटाइको दोस्रो लेवलको परीक्षा पास गर्ने उहाँको धोको छ । तालिम सञ्चालन गरेबापत उहाँले रु ३० हजारदेखि रु ४५ हजारसम्म पारिश्रमिक बुझ्ने गर्नुभएको छ । तालिम दिने कार्यसँगै उहाँले शुक्लाफाँटा–५ वन समिति बजारमा रु दुई लाख लगानी गरी सिलाइकटाइ गर्ने पसल सञ्चालन गर्नुभएको छ । पसलमा पैसा तिरेर सिलाइकटाइ सिक्ने आउने गर्दछन् ।       दैनिक दुई घण्टा सिलाइकटाइ सिक्नेबाट उहाँले मासिकरुपमा रु एक हजार शुल्क लिने गर्नुहुन्छ । दुर्गाको पसलमा अहिले सिलाइकटाइको चार जनाले प्रशिक्षण लिइरहेका छन् । दुर्गाले कपडा कटिङ गर्ने कार्यसँगै जेन्सले लगाउने कमिज, पाइन्ट, कोट र लेडिजले लगाउने ब्लाउज, पेटिकोट, सलवार, कुर्तालगायत सिलाइ गर्नुहुन्छ । भनेकै समयमा कपडा सिलाइ गरी दिने र चाहेकै डिजाइनमा कपडा सिउने भएकाले दुर्गाको पसलप्रति ग्राहकको विश्वास बढ्दोरुपमा रहेको छ ।        “तालिम सञ्चालन भएका बेला प्रशिक्षकका रुपमा कार्य गर्छु”, उहाँले भन्नुभयो, “बाँकी समय पसलमै कपडा सिउने कार्यमा खर्चिने गर्दछु, कपडा सिलाइ गरेवापत दैनिक रु दुई हजारदेखि रु चार हजारसम्म कमाइ हुन्छ, सिजनमा त्योभन्दा दोब्बर तेब्बर बढी कमाइ हुन्छ ।” परिवारमा एक्लो कमाउने दुर्गा नै हुनुहुन्छ । परिवारको पूरै खर्च उहाँले नै बहन गर्दै आउनुभएको छ ।    “बुबा, आमा र भाइको खर्च मैलेनै बेहोर्छु”, उहाँले भन्नुभयो, “शारीरिक अपाङ्गता भएपछि परिवार निकै तनावमा हुन्थे, तालिम लिएर सिलाइकटाइको कार्य गर्न थालेपछि परिवार पूरै खुसी छ, दिनभरि सिलाइ गरेर आएको पैसा आमाको हातमा राखिदिन्छु, उहाँले आँसु झार्नुहुन्छ, भन्नुहुन्छ, हामीले छोरा नै पाएका छौँ, तिमी छोरी हैन छोरा नै हो ।” घरका लागि आवश्यक सामान खरिद गरेर दुर्गाले नै लग्ने गर्नुहुन्छ ।       पसलको भाडा तिरेर बाँकी रकम आमालाई बुझाउने गरेको उहाँ बताउनुहुन्छ । गाउँकै समूहमा भविष्यका लागि दुर्गाले रकम बचतसमेत गर्दै आउनुभएको छ । समूहमा उहाँको रु एक लाख बढी रकम बचत रहेको छ । विगतको जस्तो अहिले सनवोरा नदीसमेत तर्नुपर्दैन । नदीमा पक्की पुल निर्माण भएपछि दुर्गा दैनिक घरबाटै सडकमा ट्राइसाइकल गुडाएर सात किलोमिटरको यात्रा तय गर्दै पसलसम्म पुग्नुहुन्छ ।       “घाम पानी जे भए पनि दैनिक ट्राइसाइकल गुडाएर पसलमा पुग्छु”, उहाँले भन्नुभयो, “अब बानीनै परिसक्यो, जीवनसँग सङ्र्ष गर्न सिकेको छु, त्यसैले पसल सञ्चालन गर्न सक्षम भए ।” दुर्गाका बुबा जग्गुराम चौधरी छोरीको सङ्घर्ष देखेर दङ्ग हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शारीरिक अपाङ्गता भएको छोरीले जीवनमा सङ्घर्ष गरी व्यवसायी होला भनेर सोचेका थिएनौँ, गरेर देखाएकी छ, यसमै हामी सन्तुष्ट छौँ, अपाङ्गता भएपछि यसको भविष्य के होला भनेर सोच्थ्यौँ, कमाइ गर्न थालेपछि ढुक्क छौँ, अब चिन्ता छैन ।”       दुर्गाले एक लेवलको कक्षा पास गरे पनि दुई लेवलको कार्य गर्न समक्ष भएको नगरपालिकाको उद्योग शाखाका प्रमुख धनबहादुर चौधरीले बताउनुभयो । “दोस्रो लेवलको परीक्षामा सहभागी गराउनका लागि प्रयास गर्छौैं”, उहाँले भन्नुभयो, “नगरपालिकाबाट सञ्चालन हुने तालिममा प्रशिक्षकका रुपमा दुर्गालाई नै लिँदै आएका छौँ ।” 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । ललितपुर महानगर–२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।”    आफूले बुङ्मतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल गरेको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताउनुभयो । नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उहाँले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   कला, संस्कृतिको संरक्षण गर्ने र बुङ्मतीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आफ्नो ध्येय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बुङ्मतीका हरेक घरमा एक कोठा घरबास (होमस्टे)का लागि छुट्याउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेजेर अर्थोपार्जन गर्नुपर्छ ।”      बुङ्मतीका कला, संस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले  नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यहाँको जनताको आर्थिक अवस्था माथि उठाउनका लागि सिङ्गो बुङ्मतीलाई एकताबद्ध गरौँ, सहिष्णुण बनाऔँ ।”   कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री जीवनराम खड्काले महर्जन समाजले आगामी दिनमा यहाँको समाज रुपमान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी समाजका पदाधिकारीले समाजको विकास र रुपमान्तरणमा सहयोग गर्न राजनीतिक दल एवं समाजका अगुवालाई आग्रह गर्नुभएको थियो ।

  काठमाडौं । पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ ।    समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो । यसबाहेक पालिकाभित्र रहेका आमायाङ्ग्री डाँडा, ऐतिहासिकस्थल मेन्जुम, ड्रागन गुफा, हवेली, पाँचपोखरीभन्दा माथि रहेको ऐतिहासिक मानव, जुगल हिमश्रृखला, नागी थामडाँडा, च्योचो डाँडा, नौलिङेश्वर महादेव जस्ता प्राकृतिक मनोरम धार्मिकस्थल रहेकाले पर्यटन ‘हब’ बनाउन सहज हुने पालिका अध्यक्ष टासी लामाले बताउनुभयो । पालिका अध्यक्ष लामाका अनुसार प्राकृतिक मात्रै नभएर सांस्कृतिक एवं धार्मिक मान्यताका रूपमा पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिनेछ ।    गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी पर्यटन प्रवद्र्धनका लागी सबैभन्दा महत्वपूर्ण कुरा यातायात भएकाले यसलाई प्राथकितामा राखेको बताउनुहुन्छ । उहाँले मेलम्ची र इन्द्रावतीमा आएको बाढीले केही समस्या भएको बताउनुभयो । हिमाली गाउँपालिका भए पनि फरक विशेषता भएको यस क्षेत्रको माथिल्लो भू–भागमा स्याउ फल्ने र तल्लो भागमा भने धान उत्पादन हुने गर्दछ ।    पालिकाले महत्वाकांक्षी योजनको रूपमा पाँचपोखरीसम्म केवलकार निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ । भोताङको छिम्ती देउरालीबाट लौरीबिनायकसम्म राखिने केबलकारको लम्बाइ छ दशमलब पाँच किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । केबलकार निर्माण गर्न झण्डै रु दुई अर्ब लाग्ने अनुमान छ ।   केवलकार सञ्चालनमा आएपछि स्थानीय युवाले रोजगारी पाउने बताउनुहुन्छ वडा नम्बर –३ भोताङका वडाअध्यक्ष निमाछिरिङ तामाङ । वडाअध्यक्ष तामाङका अनुसार यसका लागि यहाँ दुईवटा वैकल्पिक बाटो समेत निर्माण भइरहेको छ । मेलम्ची– भोताङ मोटरबाटोलाई कालोपत्र गर्ने र हेलम्बुसँग जोडिएको आमा याङ्ग्री तथा लाङटाङ घुम्न आउने पर्यटकलाई पाँचपोखरी तान्न जान्जालापास क्षेत्रमा बाटो जोड्ने काम भइरहेको उहाँले बताउनुभयो । 

  सुनसरी । सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस डढाइन्थो । मसानघाटमा जान पनि सबै डराउँथे ।    मसानघाट पश्चिम नजिकै वडा नं ४ मा धार्मिक कार्य गर्नका निम्ति श्रीकृष्ण प्रणामी मन्दिर थियो । बुढी खोला नदी छेउमा जताततै फोहोर थियो । खोलामा अनाधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेर वस्ती कटानको उच्च खतरा थियो । त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिवेला फेरिएको छ । अनि त्यही बुढी खोला किनार अहिले भने जमुना मुक्ति घाटको नामले चिनिएको छ ।   बुढी खोलामा रु १० करोड बढी खर्चेर दाहसंस्कार गर्ने व्यवस्थित घाट र मन्दिर पुनःनिर्माणको काम गरिएको छ । यसको निमार्णसँगै धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित भएको हो । जसले गर्दा सबै उमेर समूहका व्यक्तिहरू बुढीगङ्गा जमुना मुक्ति घाटमा आउने गरेको स्थानीयले बताएका छन् । उनीहरू भन्छन् “पहिला खोलाको छेउमा मनिसहरूलाई जलाउने गरिन्थियो, खेलाको किनारमा जलाउँदा बर्खाको समयमा कहिले बाढीले लास बगाउँथ्यो । तर अहिले यो स्थान पार्कजस्तै भएको छ । यहाँ विभिन्न स्थानबाट घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ ।”   व्यवस्थित आर्यघाट भएकैले गर्दा प्रदेश १ का अन्य स्थानभन्दा बुढी गङ्गाजमुना मुक्तिघाटमै दाहसंस्कारका लागि ल्याउने क्रम बढ्दो छ । विशेषगरी, सुनसरी र मोरङका थुप्रै स्थानका मानिसको मृत्युपछि दाहसंस्कार गर्न बुढी गङ्गाजमुना मुक्ति घाटमा ल्याउने गरेको मुक्ति धाम विकास समितिले जनाएको छ ।   बुढीगङ्गा जमुना मुक्तिघाटमा किरियापुत्री भवनको पनि व्यवस्था गरिएको छ भने यहाँ गरिब तथा विपन्न परिवारलाई किरियापुत्री भवनमा बस्ने व्यवस्था मिलाउने गरिएको छ । 

  झापा । झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष बितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ ।    नेपालको पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको हो । भारत, भूटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकडभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । प्याराभिट्टाबाट लामो तथा छोटो दूरीका दैनिक पाँच सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन् ।    बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । पचासौँ वर्षपछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियोे । झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको उक्त बसपार्क निर्माण भए पनि सञ्चालनमा भने आउन सकेको छैन ।     मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख र नगर विकास कोषको रु सात करोड ७७ लाख जुटाएर संयुक्त लगानीमा  बसपार्क निर्माण अघि बढाइएको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटीलगायत १२ जनाले करोडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए ।   विसं २०६८ असार १९ गते शिलान्यास गरेर दमकको लामा मैनाचुली शिवशक्तिले निर्माण थालेको थियो । दुई वर्षमा निर्माण भएको बसपार्क २०७४ भदौ १५ गते मेचीनगर नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । तत्कालीन बसपार्क सहयोग समितिका अध्यक्ष डिल्लीराम घिमिरे निर्माण भएर पनि बसपार्क सञ्चालनमा नआउनु दुःखलाग्दो विषय भएको बताउनुहुन्छ ।    मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क निर्माणपछि दुई कार्यकाल जनप्रतिनिधिले नगरको नेतृत्व गरिसकेका छन् । बसपार्क प्रयोजनविहीन भए पनि नगर विकास कोषबाट लिएको ऋणको ब्याज नगरपालिकाले बर्सेनी तिर्दैआएको छ । मेची उद्योग वाणिज्य सङ्घका महिला उपाध्यक्ष बिना तामाङले विकास निर्माणमा ठूलो लगानी गरेर त्यसलाई प्रयोगविहीन राख्ने प्रवृत्तिको अन्त्य गर्न राजनीतिक दल र नागरिक समाज जागरुक हुनुपर्ने बताउनुभयो ।    नगरपालिकाले जनतामाथि ऋण बोकाएर निर्माण गरेको विकास परियोजना प्रयोगमा ल्याउन नसक्नु जनप्रतिनिधिकै कमजोरी भएको नेकपा (माओवादी केन्द्र)का झापा क्षेत्र नं १ का अध्यक्ष माधव अर्याल बताउनुहुन्छ । “बनेका संरचना के कारण प्रयोगमा आएनन् भनेर जनप्रतिनिधिले गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो, “यो त सरासर ऋणको दुरुपयोगजस्तो भयो ।”   करोडौँ मूल्य पर्ने निजी जग्गा बसपार्क निर्माणका लागि दानमा दिएका जग्गादाता बसपार्क निस्क्रिय रहेकामा आक्रोशित छन् । “उपयोग नगर्ने हो भने किन हामीसँग जग्गा लिएको ?”, मेचीनगर–७ का जग्गादाता शिव थापा भन्नुहुन्छ, “बसपार्क बन्दा कत्रो खुसीयाली थियो, अहिले प्रयोगमा नआउँदा बेकारमा जग्गा दिइएछ जस्तो लाग्न थालेको छ ।”    बसपार्कलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकाले धेरै संरचना निर्माण गरिसकेको छ । वरिपरि पर्खाल निर्माण गरिएको छ । उत्तरतिर पसल निर्माण गरिएका छन् । पूर्वी किनारमा ग्यारेजका लागि पूर्वाधार निर्माण गरिएको छ । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट  बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्यबत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ । राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्ग कालोपत्र गरिएको छ । तर बसपार्क नै सञ्चालनमा नआएपछि ती संरचना सबै बेकार सावित भएका छन् ।

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।       राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।