विद्यार्थीबारे म्यासेजको व्यवस्था, अभिभावकलाई पनि ढुक्क
काठमाडाैं | भदौ २७, २०७९
काठमाडौं । चितवनको एक सामुदायिक विद्यालयले मोबाइल म्यासेजमार्फत विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानाकारी दिने प्रविधि प्रयोगमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माविले विद्यार्थीलाई समयमै विद्यालय आउने र घर जाने वातावरण बनाउन अभिभावकको मोबाइलमा म्यासेज पठाउन थालेको हो ।
यो प्रविधि जडान भएपछि विद्यार्थी विद्यालय पुग्नासाथ र विद्यालयबाट घरका लागि हिँड्नासाथ म्यासेज अभिभावकको मोबाइलमा पुग्छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले स्कुलमा विद्यार्थीको सङ्ख्या धेरै भएका कारण व्यवस्थापनमा सहजता ल्याउन मोबाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी घरबाट हिँडेर कहिलेकाहीँ स्कुल नपुग्ने र स्कुलबाट छुटेपछि पनि समयमा घर नजाने गुनासो आउने गरेपछि यो प्रविधिको सुरुआत गरेका हौँ ।” उहाँले विद्यालयले विद्यार्थीबारे म्यासेजको व्यवस्था गरेपछि अभिभावकलाई पनि ढुक्क हुने बताउनुभयो ।
“कहिलेकाहीँ ५ बजेसम्म पनि अध्ययन हुनसक्छ, म्यासेज नआएसम्म आफ्ना छोराछोरी स्कुलमा सुरक्षित छन् भनेर अभिभावक ढुक्क हुनुहुन्छ”, प्रचार्य दवाडीले भन्नुभयो । यो प्रविधिमार्फत विद्यार्थीको वैज्ञानिक व्यवस्थापनको अभ्यास थालिएको उहाँको भनाइ छ । यो प्रविधि जडानका लागि विद्यालयले भरतपुरको प्राचीन मेटल आर्टस् एण्ड फ्लेक्ससँग सम्झौता गरेको छ । प्राचीन मेटलका सञ्चालक गोपालभक्त अधिकारीले विद्यार्थीको आइडी कार्डमा चिप जडान गरिएको र विद्यार्थी विद्यालय प्रवेश गर्ने र बाहिरिने बित्तिकै अटोमेटिक रिड गरेर अभिभावकलाई म्यासेज पठाउने बताउनुभयो । अभिभावकलाई म्यासेज पठाउने प्रविधि केही निजी स्कूल कलेजमा यसअघिनै जडान गरे पनि सामुदायिक विद्यालयमा नारायणी नमूना मावि जिल्लामा नै पहिलो भएको उहाँले बताउनुभयो ।
विद्यालयसँग एक वर्षको सम्झौता गरेर काम गरिएको अधिकारीले जानकारी दिनुभयो । विद्यालयको बसमा समेत जिपिएस जडान गरिएको छ । जसको माध्यमबाट अभिभावक तथा शिक्षकले मोबाइल एपको माध्यमबाट स्कुल बसलाई ट्रयाक गर्न सक्नेछन् ।
विद्यालयमा तीन हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । अभिभावकले विद्यालय पुर्याउने र लैजानेबाहेकका अन्य विद्यार्थीलाई म्यासेज पठाउने व्यवस्था गरिएको छ । करिब तीन हजार विद्यार्थीलाई एकैपटक म्यासेज जाने प्राचार्य दवाडीले बताउनुभयो ।
विद्यालयले सूचना र प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउने कुरालाई प्राथमिकतामा राखेको जनाएको छ । सबै कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था गरिएको छ भने सिसीटिभी जडान समेत गरिएको दवाडीेले जानकारी दिनुभयो । विद्यालयले पढाउने विधिलाई पनि प्रविधिमैत्री बनाएको उहाँले जानकारी दिनुभयो ।
पोखरा: एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । ...
म्याग्दी: भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ प...
पोखरा: फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले ...

