इन्द्रदहमा स्नान गर्नेको भीड
काठमाडाैं | भदौ २५, २०७९
काठमाडौं । राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजन बिहानै स्नान एवं मन्दिर पूजा आराधना गरी फर्कने गर्छन् ।
शुक्रबार बेलुकी दीप प्रज्ज्वलन गरी बसेका भक्तजन र अन्य भक्तजनको पनि बिहानैदेखि इन्द्रदहमा स्नान गर्न भीड लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । इन्द्रदहको धार्मिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले सक्दो प्रयास गरेको उहाँले बताउनुभयो । थानकोटदेखि नै भक्तजनको भीड लाग्ने भएकाले शुक्रबारदेखि नै स्वयंसेवक खटाएर काम गरिएको नगरपालिकाले जनाएको छ ।
भाद्र शुक्ल चतुर्दशीका दिन वसन्तपुरमा इन्द्रजात्रा हेर्नेले बेलुकी बत्ती बाली जाग्राम बसेर आज बिहान पूर्णिमाका दिन स्नान गर्नुपर्ने धार्मिक विधि छ । भक्तजनका लागि सुविधा होस् भन्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्ने गरेको छ । देवराज इन्द्रसँग जोडिएको पौराणिक कथाका आधारमा यहाँ प्रत्येक वर्ष मेला लाग्ने गरेको छ । कथाअनुसार स्वर्गबाट फूल चोर्न आएका इन्द्रलाई राजधानीका वसन्तपुर क्षेत्रमा समातिएको थियो । इन्द्रलाई छुटाउन उनकी आमा पनि स्वर्गबाट यहाँ आएको किम्वदन्ती छ । जसलाई यहाँका मानिसले आफूसँगै स्वर्ग लगे छोडिदिने वचन दिएका थिए ।
वसन्तपुरबाट स्वर्ग जान इच्छुकलाई लिएर हिँडेका इन्द्रले भाद्र शुक्ल पूर्णिमाका दिन बिहान इन्द्रदहमा स्नान गर्नुभएको थियो । इन्द्रसँगै आएका मानिस पनि स्नान गरिरहेका बेलाको मौका छोपी इन्द्र र आमा स्वर्ग गएको भनाइ विशेष गरी बूढापाकाले सुनाउने गरेका छन् ।
त्यसबेला वसन्तपुरका स्थानीयवासी भने त्यहीँ स्नान गरी घर फर्किएका थिए । यसै सम्झनामा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बत्ती बाल्ने र स्नान गर्ने भक्तजन फर्केका थिए । यहाँको मेलामा काठमाडौँ उपत्यकाका साथै वरपर जिल्लाका स्थानीयवासी पनि सहभागी हुने गरेका छन् ।
कोरोना महामारीका कारण विगतका दुई वर्ष कम भक्तजन आएकामा यस वर्ष भने धेरै भक्तजन इन्द्रदह आएको नगरपालिकाले जनाएको छ । यहाँ कालु पाँडेको समाधिस्थलसमेत रहेकाले यस क्षेत्रलाई पर्यटकीय ठाउँका रुपमा विकास गरिएको नगर प्रमुख गिरीले बताउनुभयो ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

