काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सले २ गोल फर्काउदै कमब्याक गरेको छ । पहिलो हाफमा २ गोलले पछि रहेपनि फ्रान्सले दोस्रो हाफमा दुई गोल फर्काउन सफल रह्यो । फ्रान्सका लागि किलियन एम्बाप्पेले दुई गोल फर्काए । यसअघि पहिलो हाफमा खेलको २३ औ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले र ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । अब थप ३० मिनेट खेल हुनेछ ।
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्स र अर्जेन्टिनाबीच जारी फाइनल खेलमा अर्जेन्टिना २ गोलले अग्रता बनाएको छ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच भइरहेको खेलमा अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोल गरे । डि एरियाभित्र फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो । त्यसैगरि खेलको खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । यता फ्रान्सले गोलको खोजीमा रहेपनि अर्जेन्टिनाका डिफेण्डरहरुले विफल बनाइरहेका छन् । जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा दबदबा सिर्जना गरेको थियो । अर्जेन्टिनाले विश्वकप २ पटक जितिसकेको छ भने फ्रान्स उपाधि रक्षा गर्ने दाउमा रहेको छ ।
फुटबल विश्वकपको फाइनल आज कतारको लुसेलस्थित स्टेडियममा हुँदैछ । नेपाली समयानुसार खेल पौने ९ बजेदेखि सुरु हुनेछ । यस स्टेडियमको क्षमता करिब ९० हजार रहेको बताइएको छ । यही रंगशालामा २२ औं विश्वकपको उपाधि जित्न पूर्वविजेता फ्रान्स र अर्जेन्टिनाबीच खेल हुँदैछ । यसपटकको खेलमा दुबै देश इतिहास रच्न चाहन्छन् । फ्रान्स उपाधि दोहोर्याउन चाहन्छ भने अर्जेन्टिना र मेस्सी दुबै ‘नाम’ राख्न चाहन्छन् । त्यसो त फ्रान्सको तुलनामा अर्जेन्टिनाको विश्वव्यापी फ्यान धेरै छन् । विश्वमै लायोनेल मेस्सीका फ्यान छन् भने देशभित्र पुरै जनसंख्या छ । यही जनसंख्याबाट करिब ४० हजार अर्जेन्टिनी आजको फाइनल हेर्न र टीमलाई समर्थन गर्न लुसेलमा हुनेछन् । ३५ वर्षे मेस्सीसँगै ३६ वर्षपछि उपाधि जित्न अर्जेन्टिनीहरु कतारमा उर्लिदा त्यहाँको सडक उनीहरुको अधिनमा रहेको देखिएको छ । र, आज तिनै ४० हजार देशवासीसँगै मेस्सीले पनि गाउँनेछन् ‘मुचाचो, अहोरा नो भोल्भिमो आ इलुजिना ...’ जसको सार छ, हामी आशावादी छौं, तेस्रो पटक जित्छौं, हामी च्याम्पियन हुनेछौं । कतारको लुसेलमा जम्मा भएका अर्जेन्टिनीमध्ये ठूलो संख्या राजधानी ब्यूनस आयर्सबाट कतार पुगेका हुन् । टिम फाइनलमा पुगेपछि टिकटमा कालोबजारी भएको भन्दै उनीहरुले कतारस्थित दूतावासमा गुनासोसमेत गरेका छन् । अधिकाँश समर्थकहरु यस फाइनललाई अविस्मरणीय क्षण भन्दै सडकमा नाच्न, गाउँन व्यस्त छन् । जसमध्ये मट्टियाज भन्छन्, ‘मेरो देश अब कहिले फाइनलमा पुग्छ र म हेर्न पाउँछु वा पाउँदिन थाहा छैन, म खेलको अन्त्यसम्म खुशी मनाइरहनेछु ।’ ‘डोन्ट कल मी फेक फ्यान’ भन्ने उनको गीत पनि सामाजिक सञ्जालमा हेर्नेको संख्या ह्वात्तै बढेको छ । करिब १३ हजार किलोमिटर टाढाबाट उपाधि चुम्न आएका ४० हजार अर्जेन्टिनीको सपना आजको रात पुरा होला त ? – एजेन्सीको सहयोगमा ।
म्याग्दीः खेल क्षेत्रको प्रवद्र्धन गर्न यहाँका स्थानीय तहहरुले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् । जिल्लाको बेनी नगरपालिका सहित धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाले वडावडामा खेल मैदान निर्माण गरिरहेका छन् । कतिपय वडामा स्थानीय युवा क्लब र विदेशमा रहेका गाउँका युवाको सहयोगमा खेल मैदान निर्माण भएका छन् । प्रदेश सरकार र स्थानीय तहको लगानीमा पनि म्याग्दीमा खेल मैदान निर्माण भएका छन् । फराकिला मैदानमा गाउँमा महिनैपिच्छे खेल प्रतियोगिता आयोजना हुन थालेपछि खेलाडीको प्रतिभा प्रष्फुटित हुनुका साथै उनीहरुको खेलप्रतिको रुचि बढेको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जाले बताउनुभयो । त्यसैगरी बेनी बजारमा निर्माणाधीन म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्यारापिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिनुभयो । “बेनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको रु आठ लाख बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ”, उहाँले भन्नुभयो, “अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको रु १४ लाख बजेटबाट पनि थप काम गर्न पहल गरेका छौँ ।” त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट, भकुण्डे, सानालेख, फापरखेत र गौश्वारामा पनि खेल मैदान निर्माण भएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “हाम्रो वडामा खेल मैदानको कमी छैन, स्थानीय युवाको पहल, विद्यालयमा आउने बजेट, वडाको बजेट र वैदेशिक रोजगारीमा गएका युवाको आर्थिक सहयोगमा वडामा पाँच वटा खेल मैदान निर्माण भएका छन्”, वडाध्यक्ष कार्कीले भन्नुभयो । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिकास्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताउनुभयो । प्यारापिट, घेराबार निर्माण र बीचमा रहेको विद्युत्को पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताउनुभयो । उहाँका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो । मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताउनुभयो । यसैगरी जिल्लाका छवटै स्थानीय तहका वडामा खेल मैदान निर्माणले गति लिन थालेपछि खेलाडीमा उत्साहा थपिएको छ । म्याग्दीका फुटबल खेलाडी टेकबहादुर हुमेनले खेल मैदान निर्माण हुन थालेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो । गाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने नीतिले शारीरिक तन्दरुस्ती राख्न युवालाई फाइदा पुग्ने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । “किशोर, किशोरी तथा युवालाई गाउँमै बिहान बेलुका फुटबल, भलिबल, क्रिकेटजस्ता खेल गाउँमै खेल्न सकून् भनेर यो मैदान बनाएका हौँ”, श्रेष्ठले भन्नुभयो, “यसले गाउँमै खेलाडीलाई खेल अभ्यास गराउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”
काठमाडौंः फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा छ । सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । अर्जेन्टिनाका कप्तान ३५ वर्षका लिओनल मेस्सीका लागि यो अन्तिम विश्व कप हो । उनकै नेतृत्वमा अर्जेन्टिनाले गएको वर्ष कोपा अमेरिकाको उपाधि समेत जितेको थियो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा तथा फ्रान्सले सन् २०१८ र १९९८ मा विश्व कपको उपाधि जितेका थिए । यसपालि जितेमा फ्रान्सले लगातार दोस्रो पटक जितेर उपाधि रक्षा गर्नेछ । साथै लगातार उपाधि जित्ने दोस्रो देश पनि बन्नेछ । विश्व कप इतिहासमा ब्राजिलले सन् १९५८ र सन् १९६२ मा उपाधि जितेको रेकर्ड छ । ब्राजिल पाँच पटकको विश्व कप उपाधि विजेता टोली हो । तर यसपालि ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो । यो विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।
काठमाडौंः फिफा विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २-१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो । पराजित मोरक्को चौथो भएको छ । क्रोएसियाको जितमा जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक/एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौंँ मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको नवौँ मिनेटमा नै दारीले गोल गरी मोरक्कोलाई बराबरीमा ल्याए । क्रोएसियाका सोरिसिचले खेलको ४२ औँ मिनेटमा गोल थपे । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल हुन सकेन । सेमिफाइनलमा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३-० गोल र मोरक्को साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो । उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् ।
काठमाडौं: सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजन गर्ने बताएको हो । फिफा क्लब विश्वकप २०२२ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले उचालेको थियो ।
काठमाडौं: महिला राष्ट्रिय टिमका ३ जना फुटबलर आई लिग खेल्न भारत प्रस्थान गरेका छन् । राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी साम्बा र डिफेन्डर गिता राना भारतीय लिग (आई लिग) खेल्न बिहीबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । सावित्रो गोकुलम केरेला एफसीमा अनुबन्ध छिन् भने एन्जिला र गिताले सेथु एफसीबाट खेल्नेछन् । आइ लिग माघ १ गतेदेखि फागुन ३ गतेसम्म भारतको केरेलामा हुनेछ । गोकुलमबाट सावित्राले दोस्रो पटक पनि मौका पाएकी हुन् । गत वर्ष भने उनी घुँडाको चोटका कारण फुटबलबाट टाढा रहेकी थिइन् । दुई वर्षअघि गोलकुलम आई लिग च्याम्पियन बन्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्यसअघि उनी आबद्ध सेथु पनि आई लिग च्याम्पियन बनेको थियो । एन्जिला र गिताले भने पहिलो पटक भारतीय लिगमा खेल्न लागेका हुन् ।
काठमाडौं: पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गर्ने निर्णय लिएको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो । पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए । स्विट्जरल्यान्ड विरुद्ध जित हासिल गरेपनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो । यद्दपी सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने जानकारी दिएका थिए । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए । ‘मेरो सम्झौताको बारेमा अहिले केहि भन्ने अवस्था छैन । अब स्वदेश फर्केर फुटबल संघको अध्यक्षसँग छलफल गरेर उचित निर्णय लिनेछौं । हामीले सन् २०१४ यता पटक पटक छलफल गरेका छौं र राजीनामा दिने भन्ने शब्द कहिले पनि निस्केको छैन,’ उनले भनेका थिए ।