काठमाडौं: आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले हराएको छ । एसिया छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । आज भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको थियो । तर कुवेत ३० ओभर ५ बलमा एक सय रनमा अलआउट भयो । कुवेतका क्रिस्टोफर सालधानाले २६ रन तथा रसिन मोहमदले १९ रन बनाए । किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २र२ विकेट लिए । त्यसअघि युएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो । नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र अर्जुनको करिअरको पहिलो शतक पनि हो । कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २र२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एकरएक विकेट लिए । कुबेत पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।
काठमाडौं: आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ । यूएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो । नेपालका देव खनाल र अर्जुन कुमालले कीर्तिमानी शतकीय पारी खेलेका छन् । कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र खनालको करिअरको पहिलो शतक पनि हो । कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २र२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एकरएक विकेट लिए । कुवेतले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ । नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।
पोखरा: कास्कीको रुपा गाउँपालिकाको आयोजनामा अध्यक्ष कप खुल्ला (वडास्तरीय) पुरुष भलिबल प्रतियोगिता फागुन २३ गतेदेखि सुरु हुने भएको छ । रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा फागनु २३ देखि २७ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, माला बुन्ने प्रतियोगिता आयोजना गरेको आज पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरको एक जना खेलाडी राख्न पाउने बताए । ‘गाउँपालिकाको स्थापना दिवसमा ०७५ देखि खेलकुदको कार्यक्रमलाई अगाडि बढाउँदै आएका छौं, ओझाले भने, ‘स्थापना दिवसमा पुरुष भलिबल, रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शनी, माला प्रतियोगिता र रुपा रत्न पुरस्कार २०७९ आयोजना गरेका छौं ।’ उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख २५ हजार, दोस्रो हुने समूहले ८० हजार र तेस्रो हुने समूहले ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ बेस्ट प्लेयरले ३ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र अनुशासित टिमले जनही २/२ हजार पुरस्कार प्राप्त गर्नेछन् । गाउँपालिका अन्तर्गत ७ वटै वडाहरुमा लोप हुन लागेका विभिन्न जाजातिहरुको संस्कृति संरक्षण गर्ने उद्देश्यले झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरिएको ओझाले बताए । उनका अनुसार झाँकी प्रदर्शन बढीमा ३५ जना सहभागी हुनुपर्ने र ५ जना ३० वर्ष कम उमेर समूहका हुनुपर्ने नियम बनाइएको छ । कला, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न ३० वर्ष भन्दा कम उमेरकालाई झाँकी प्रदर्शनमा सहभागी गराउने नियम बनाइएको छ । झाँकी प्रदर्शनीको विजेताले ३० हजार, दोस्रो हुने समूहले २० हजार र तेस्रो हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । झाँकी प्रदर्शनीमा आउने समूहलाई ५ हजार यातायात र २ हजार खाना खाजा उपलब्ध गराउने भएको छ । यस्तै माला बुन्ने प्रतियोगिताको विजेताले ६ हजार ६ सय ६७, दोस्रो हुने समूहले ४ हजार र तेस्रो हुने समूहले २ हजार ६ सय ६७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माला बुन्ने प्रतियोगितामा स्थानीय साम्रागीको प्रयोग गर्नुपर्ने र बाह्य वस्तुहरु जरि फुल लगायतका कुनै पनि सामान प्रयोग गर्न नपाइने नियम बनाएको छ । रुपा गाउँपालिकाले अध्यक्ष स्थापना दिवसका अवसरमा गाउँपालिकालाई सहयोग गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गरिने जानकारी दिए । विगतका वर्षहरुमा पनि स्थापना दिवसमा रुपा रत्नबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
बागलुङ: नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर युवा संघ बागलुङले फागुन १२ देखि १५ गतेसम्म दोस्रो लखन कप महिला /पुरुष भलिबलको आयोजना गरेको छ । मगर संघको स्थापना दिवसको अवसरमा पालिका स्तरीय महिला भलिबल र खुुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघका उपाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए । ‘मगर संघको स्थापना दिवस फागुन १५ गते हो वर्षेनी कार्यक्रम आयोजना हुँदै आएको छ, थापामगरले भने, ‘शहीद लखन थापामगरलाई राष्ट्रले उचित सम्मान दिन सकेको छैन, शहीद थापामगरको सम्मान स्वरुप नै अन्य कार्यक्रम गर्दै आएपनि गतवर्ष देखि लखन कप आयोजना गरेका छौं ।’ दोस्रो लखन कप पालिका स्तरीय महिला भलिब प्रतियोगितामा विजेता हुने समूहले २५ हजार, द्धितीय हुने समूहले १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ विजेताले ८१ हजार १ सय ८१, द्रोस्रो हुने समूहले ४१ हजार १ सय ४१ र सान्त्वना हुने दुई समूहले क्रमश १०/१० हजार पुरस्कार प्राप्त गर्ने नेपाल मगर युवा संघ बागलुङका उपाध्यक्ष थापामगरले जानकारी दिए । उनका अनुसार लखनकप तथा मगर स्थापना दिवसको अवसरमा सामुहिक खुल्ला लोक नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । लोक नृत्यतर्फको विजेताले १० हजार, दोस्रो हुने समूहले ७ हजार र तेस्रो हुने समूहले ४ हजार पुरस्कार प्राप्त गर्नेछन् । नेपाल मगर युवा संघ बागलुङले आयोजना गरेको प्रथम लखन कप महिला भलिबलतर्फ बागलुङको बडिगाड गाउँपालिका विजेता र ताराखोला गाउँपालिका उपविजेता भएका थिए । यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ बागलुङको गलकोट नगरपालिका ७ मल्म विजेता र गलकोट नगरपालिका १० पाण्डवखानी उपविजेता भएका थिए । भलिबल प्रतियोगिता बागलुङको कालिका भगवती बालउद्यानमा हुने संघले जनाएको छ ।
पोखरा: सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन आजदेखि हिमालयन गल्फ कोर्समा शुरु हुदैछ। सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औं संस्करण हो । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर खेलाडीहरूले भाग लिने छन् । दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन्। शनिबार हुने प्रो.एमसँगै प्रतियोगिता सकिनेछ। जहाँ देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्न आतुर रहनेछन्। विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहेने खेलाडीले पनि नगद हात पार्नेछन्। नेपाल नम्बर एक व्यवसायिक खेलाडी शुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र रामे मगर तथा १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताको प्रमुख दावेदार हुन् । सूर्य नेपाल इस्टर्न ओपनको एमेच्योर उपाधि विजेता राजेन राईले यो प्रतियोगिताबाट प्रोफेसनल करियरको यात्रा सुरू गर्दैछन्। यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ वरीयता अन्तर्गत रहेको छ र एमेच्योर खेलाडीले आफ्नो वरियता सुधार गर्न महत्वपूर्ण अङ्क प्राप्त गर्न सक्नेछन्। देशका शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनका लागि हिमालयन गल्फ कोर्सलाई परिमार्जित गर्दै कठिन बनाइएको छ। ६९ पारको १६ होल रहेको कोर्समा पहिलो र दोस्रो होल दोर्याएर खेल्नु पनि चुनौतीपुर्ण रहनेछ। जसले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। विश्व प्रसिद्ध म्यागेजिन, गल्फ डाइजेस्टले यो कोर्सलाई विश्वको सबैभन्दा साहसिक मध्येको एक गल्फ कोर्सको रूपमा मूल्याङ्कन गरेको छ।
काठमाडौं: आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयो । नेपालले घरेलु मैदानमा भएको शृङ्खलामा खेलेका ४ वटै खेल जितेको छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो ।
काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय त्रिदेशीय शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्ध दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १९ ओभरमा पाँच विकेट गुमाएको छ। नेपालका ओपनरद्वय कुशल भुर्तेल एक तथा आसिफ शेख १२ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल २१ रन जोडेर पेभेलियन फर्केका छन्। यस्तै, कुशल मल्ल १७ तथा सन्दीप जोरा एक रन जोडेर आउट हुँदा अहिले क्रिजमा कप्तान रोहित पौडेल १७ तथा दीपेन्द्रसिंह ऐरी दुई रन बनाएर खेलिरहेका छन्। नेपालले १९.२ ओभर सकिँदा पाँच विकेट गुमाएर ७१ रन बनाएको छ। नेपाललाई जितका लागि ३०.३ ओभरमा एक सय ४२ रन आवश्यक छ । पहिलो इनिङमा जर्ज मन्जीको अर्धशतकप्रेरित स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रनको योगफल तयार गरेको थियो। नेपालको कसिलो बलिङसामू संघर्षरत स्कटल्यान्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी पाएको थियो। तर त्यसपछि लामो साझेदारी गर्न नसकेको स्कटल्यान्डले ठूलो योगफल बनाउन सकेन। स्कटल्यान्डका लागि ५० बलको सामना गरेका मन्जीले ९ चौका र दुई छक्कासहित ६० रनको इनिङ खेले। यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका विकेटकिपर–ब्याटर म्याथ्यु क्रसले ६३ बलमा चार चौका र एक छक्कासहित ४२ रन जोडे। त्यसबाहेक, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए। यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो। जारी शृंखलामा अपराजित नेपाल आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ। नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न योसहित नौ वटै खेल जित्नुपर्ने दबाब छ। नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग अर्को शृंखला खेल्ने छ।
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपालाई दुई सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो । आज जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो । सन्दीपले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिनुभएको हो । करण केसीले तीन तथा कुशल मल्ल र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो । यस खेलसँगै करणले एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । नेपालका लागि यसअघि सन्दीप र सोमपाल कामीले पनि एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा आज पनि जित निकाल्ने लक्ष्यमा छ । अघिल्लो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । लिग–२ च्याम्पियन बनिसकेको स्कटल्यान्ड पनि आज जित किनाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । ३५ खेलमा ५० अंक बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ । २७ खेलमा २४ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । नेपाललाई विश्वकपमा स्थान बनाउन अबका सबै खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले एकदिवसीय विश्वकपमा स्थान बनाउनेछ ।
काठमाडौं: आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । स्कटल्यान्डले पहिला ब्याटिङ गर्नेछ । नेपालले आजको खेलमा तीव्र गतिका बलर गुलशन झाको ठाउँमा ललित नारायण राजवंशीलाई मौका दिएको छ । नेपालले स्कटल्यान्डसँग यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले तथा पहिलो खेलमा दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपालले पहिलो पटक लगातार तीन खेल जितेको छ । श्रृङ्खला अन्तर्गत हिजो भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको थियो । स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्षस्थानमा छ । लिग २ को च्याम्पियन बनेको स्कटल्यान्डले आज नेपालको खेलपछि नै ट्रफी पाउनेछ । लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । दुवै टोली विश्व कपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्व कपका लागि छनोट हुनेछन् । लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अङ्क छ । अब नामिबियाका दुई खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अङ्क छ । छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अङ्क छ । नेपालले नौ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा पाँच अङ्क मात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अङ्क हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अङ्क हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग चार–चार खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय श्रृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ ।

