पोखरा: पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन गरिएको छ । स्थानीय क्लब बुद्धटोल युवा क्लबको पहलमा निर्मित उक्त बास्केटबल कोर्टको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका हुन् । उक्त बास्केटबल कोर्ट निर्माणका लागि युवा तथा खेकदुद मन्त्रालयबाट ९ लाख सहयोग गरिएको बास्केटबल कोर्ट निर्माण समितिका अध्यक्ष तथा युवा व्यवसायी हिटलर घलेले जानकारी दिए । उनका अनुसार बुद्धटोल क्लबले ५ लाख र राष्ट्रिय उच्च माविले १ लाख सहयोग गरेको थियो । यसैगरि व्यक्तिगत रुपमा पनि कोर्ट निर्माणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष घलेले बताए । ‘युवा तथा खेलकुद मन्त्रालयको लागतमा निर्माण गरेका हौं, उनले भने, ‘यसमा क्लबको पनि केही परेको छ केही व्यक्तिहरुको पनि सहयोग छ । अहिले पहिलो चरणको काम सकिएको छ । अब अर्काे चरणमा प्यरापिट तथा चेन्जिङ रुमको योजना छ ।’ उक्त उद्घाटनको क्रममा विभिन्न ४ टिमलाई मैत्रीपूर्ण खेल आयोजना गरिएको क्लबका उपाध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार सो खेलमा पर्वत क्लब र मास्क टिम विजयी भएको थियो । बुद्धटोल क्लबका अध्यक्ष विजया गुरुङको सभातत्विमा सम्पन्न कार्यक्रममा युवा समाजसेवी अमृत लामा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अर्जुन परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।
हेमजा: आगामी असारको ४ देखि ११ गतेसम्म हेम्जाको गौरीशंकर खेल मैदानमा हुने छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई हेमजामा रहेका आमा समुहले साथ दिने भएको छ । हेम्जा युनाइटेडको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई सभ्य र भब्य रुपमा सफल बनाउन हेम्जामा रहेका आमा समुहले सहयोग गर्ने भएका हुन्। शुक्रवार बसेको आमा समुह र हेम्जा युनाइटेडको बैठकमा आमा समुहले सहयोग गर्ने बताएका हुन् । बैठकमा बोल्ने वक्ताहरुले पहिला पनि यो संस्थालाई सहयोग गरेको र अहिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । खेलकुदको माध्यमबाट युवाबीच एकता र भाइचारा सम्बन्ध बढाउँदै सृजनात्मक तथा रचनात्मक काममा अघि बढाउन साथै संचालनमा रहेको हेम्जा युनाईटेड एकेडेमीलाई निरन्तरता दिई नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ए डिभिजनका ६ टीम, १ अन्तराष्ट्रिय टीम र आयोजक सहित आठ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा : केआईइसी एम १२ ले जनएकता क्लबद्वारा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । रामेश्वरी माविको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा एम–१२ ले रत्नचोकलाई ४–१ गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । उपाधिसँगै एम–१२ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे । भने उपविजेता बनेको रत्नचोकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६१ हजार १ सय ११ रुपैयाँ हात पार्याे । खेलमा एम १२ का लागि अविनास तामाङले ह्याट्रिक गरे । सरोज तितुङले १ गोलको योगदान दिए । यता हार व्यहोरेको रत्नचोकका लागि सोनु गुरुङले सान्त्वना एक गोल फर्काए । कुल ४६ टोलीको सहभागिता रहेको प्रतियोगितामा फाईनल खेलको म्यान अफ दि म्याच अनिवास तामाङ घोषित भए । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार मनोज गुरुङ घोषित भए । उत्कृष्ट गोलरक्षकका रुपमा सोही क्लबकै रोमन थापामगर पुरस्कृत भए । यसैगरि उत्कृष्ट डिफेण्डरका रुपमा योगेश गुरुङ घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार सरोज तितुङ पुरस्कृत भए । उत्कृष्ठ खेलाडीले नगद ५ हजार प्राप्त गर्दा अन्य विधाका खेलाडीले ३÷३हजार रुपैयाँ प्राप्त गरेका थिए । विजेता तथा उपविजेता टोलीलाई पोखरा–१४ का नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्की, समाजसेवी अमृतबहादुर कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल सम्पन्न भएका छन् । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको मंगलबारको खेलमा भिमाद युथ क्लबले रन्जन स्मृति युथ क्लब भिमादलाई ३–२ गोल अन्तरले पराजित गर्याे । भिमादका लागि लोकेश थापाले दुई र अभिषेक राईले एक गोल गर्दै जित दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काए । शहिद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्याे । शहिद स्मृतिको तर्फबाट आशिष थापा, सुजन तामाङ र सन्दीप गुरुङले गोल गरे । मेरो नेपाल लागि सौरभ कार्की र सरोज सुनारले गोल गरेपनि जित पर्याप्त हुन सकेन् । त्यसैगरी अर्को खेलमा विजयपुर एफसीमाथि भण्डारढीकको आर्दश क्लबले २–० गोलको नजिता निकाल्यो । जितका लागि विकास परियारले दुवै गोल गरेका थिए । काउरे बयरघारी स्याङजालाई मसिना एफसीले ४–० फराकिलो गोल अन्तरले पराजित गर्यो । विजय श्रेष्ठले दुई, क्षितिज जिटीले एक र विश्व थापाले एक गोल गरेका थिए । केआईईसी एम १२ ले खाल्टे गैरीगाँउलाई १०–० गोलले पराजित गरेको छ । सरोज तितुङले डबल ह्याट्रिक गरे । त्यस्तै विकास गुरुङले २, मनोज गुरुङ र मीन गुरुङले एक एक गोल गरेका थिए । हाम्रो एफसीलाई जनएकता युवा क्लब हरियोले ४–० को नजिता निकाल्दै अर्को चरणमा प्रवेश गर्याे । जनएकताका लागि आशिष कार्कीले २, सन्देश देवकोटाले १ र समुन्द्र सुवेदीले एक थपेका थिए । विजयपुर एफसीले मसिना मेनचेष्टर फुडजोनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजेताले १ लाख ११ हजार, उपविजेताले ६१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ठ खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने जनएकता युवा क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकारी दिए । फाईनल जेठ १४ गते हुने छ ।
पोखरा: जनएकता क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा रविन्स गार्डेनलाई पुलिस ट्रेनिङ सेन्टरले ४–० गोलले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ । पुलिसका लागि कृष्ण गुरुङले दुई तथा सुर्य मगर र शक्ति मिजारले समान एक एक गोल गरे । खेलमा शक्ति मिजार म्यान अफ दि म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा बि–१३ लाई भिमकाली एफसीले २–० गोलले पन्छाएको छ । सुमित श्रेष्ठले दुवै गोल गर्दै म्यान अफ दि म्याचको हकदार भए । तेस्रो खेलमा मर्दी एफसीले रिलीमिली एफसीलाई ६–० ले पराजित गरेको छ । विशाल सुनारले दुई, रोशन थापाले २ र मनिष थापाले दुई गोल गरे । खेलमा विशाल सुनार म्यान अफ दि म्याचबाट पुरस्कृत भए । चौथो खेलमा २५ केले कमलपोखरी एफसीलाई १–० को कठिन जित निकाल्यो । अनिष परियारले निर्णायक गोल गर्दै म्यान अफ दि म्याच हकदार बने । मन्त्र चर्च ब्वाईजले मेरो नेपाली युथ क्लब बीलाई ६–० ले पराजित गरेको छ । मन्त्रको लागि भिडी छन्त्यालले ह्याट्रिक गरे । निशान गुरुङले एक, बीर तामाङ र साईमन तामाङले एक एक गोलको योगदान दिए । छन्त्याल म्यान अफ दि म्याच भए । भदौरे एफसी जनएकता युथा क्लब सेतोसँग २–१ गोलले पराजित हुन पुग्यो । भदौरेका लागि राजन थापाले गोल गरे । जनएकताका लागि रविन गुरुङ र राहुल थापाले गोल गर्दै जित दिलाए । राहुल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै मनोहर एफसीलाई कमलपोखरी एफसीले ६–० ले पन्छायो । अजय गुरुङले चार तथा उपेन गुरुङ र सुदेश गुरुङले एक एक गोल गरेका थिए । रामेश्वरी माविको खेलमैदानमा आयोजित प्रतियोगितामा ४६ टोलीको सहभािगता रहेको छ । विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
एजेन्सी: युरोपा लिग फुटबलको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ । बुधबार राति भएको खेलमा स्कटिस क्लब रेन्जर्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो । निर्धारित र अतिरिक्त सयमा १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । फ्रान्कफर्टले ४२ बर्षपछि युरोपा लिग उपाधि जित्यो । निर्धारित समयमा रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो । ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सको उत्साह जगाउनुभयो । ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि निर्धाीरत ९० मिनेट र अतिरिक्त समयमा समेत गोल नभएपछि टाइब्रेकर फ्रान्कफर्टले बाजी मार्न सफल भयो । टाइब्रेकरमा फ्रान्कफर्टका क्रिस्टोफर लेन्ज, एज्डिन रुस्टिक, दाइची कामदा, फिलिप कोस्टिक र राफेल सान्तोसले गोल गर्नुभयो । रेन्जर्सका जेम्स टाभेनिएर, स्टेभन डाभिस, स्कट अरफिल्ल र केमार रोफीले गोल गर्नुभयो । आरोन राम्सेको प्रहार विफल बनेको थियो ।
काठमाडौँ- चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिनुभएको छ । १३औँ दक्षिण एसियाली खेलकद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभु स्थित भारोत्तोलन प्रशिक्षक सन्जय मर्हजनको घरमा मंगलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो । प्रशिक्षक सन्जयको घरमा बस्दै आउनुभएकी सञ्जु आफ्नै कोठामा झुन्डीएको अवस्थामा फेला परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताका अनुसार सोमबार प्रशिक्षक महर्जनको घरमा भोज भएको र भोजमा भारोत्तोलन खेलसँग सम्बद्ध ब्यक्तिहरुको जमघट हुँदा सञ्जुलाई सामान्य रुपमा भेट भएको थियो । सञ्जुलाई आफूले सोमबार सामान्य अवस्थामा पाएको पनि पूर्व प्रशिक्षक गुप्ताले बताउनुभयो । घटना स्थलमा प्रहरी पुगिसकेको र परिवारको रोहबरमा सञ्जुको मुजुल्का उठाउने काम भईरहेको नेपाल भारोत्तोलन संघले जनाएको छ । बाँके स्थायी घर भएकी सञ्जु केही दिन अघिमात्र एसियाड छनोट प्रतियोगिता खेल्न काठमाडौँ आउनुभएको थियो । उहाँ एसियाडका लागि प्रारम्भिक छनोटमा समेत पर्नुभएको थियो ।
काठमाडौँँ: गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरेको हो । लोगोमा गण्डकी प्रदेशको र सिंगो नेपालकै प्रतिनिधित्व हुनेगरी माछापुच्छ्रे् हिमालसँगै नेपालको राष्ट्रिय झण्डा र विभिन्न रंगलाई समावेश गरिएको छ । मस्कटमा गण्डकी प्रदेशको चिनारीको रुपमा रहेको लोपोन्मुख जनावर कस्तुरी मृग रहेको छ । राखेपले नवौँ राष्ट्रिय खेलकुदको नारा समेत सार्वजनिक गरेको छ । नवौँको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । लोगो, मस्कट र नारा खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गर्नुभएको हो । नाराको रचना सुयोग्य राज काफ्लेले गर्नुभएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र उपाध्यक्ष शिव कोइरालाले लोगो र मस्कट सार्वजनिक गर्नुभयो । लोगो डिजाइन गर्नुभएका भोलानाथले ५० हजार रुपियाँ पुरस्कार पाउनुभएको छ । मस्कट डिजाइन गरेवापत उहाँले २५ हजार रुपियाँ पनि पाउनुभयो । नारा बनाउने काफ्लेले १० हजार रुपियाँ प्राप्त गर्नुभयो । राखेपले लोगो, मस्कट र नारा छनोटका लागि राखेप बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा समिति बनाएको थियो । गण्डकी प्रदेशको ११ वटै जिल्लामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनी सहित कूल ३८ खेल समावेश गरिएको छ । जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिमन्यास्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल , फुल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाईडिङ रहेको छ । ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ ।
चीनको हानझाउ शहरमा आयोजना हुने भनिएको १९ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ । आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो । चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी र ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड खेल रोक्ने निर्णय भएको हो । तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ । नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो । उक्त प्रतियोगिताको लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ ।