पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरामा आयोजित  ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आज पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदे घरेलु टोली गण्डकी प्रदेश सेमिफाइनलमा पुगेको छ ।    भर्खरै सम्पन्न खेलमा पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, चौथो र पाँचौ सेट जितेर सेमीमा प्रवेश गरेको हो । आजको खेलमा भारतीय खेलाडी नितिनको प्रदर्शन शानदार रह्यो ।    हिजो अर्काे विभागीय टोली सशस्त्र प्रहरीसँग बिर्सन लायक प्रदर्शन गरेका नितिनले आज ब्लक र स्पाइक दुबैमा उच्च प्रदर्शन गरे ।      फाइनलसरह भएको प्रतिष्पर्धामा २५–२३, २३–२५, २५–२३, २२–२५, १५–१३ को सेटमा गण्डकी विजयी भएको हो ।   सशस्त्रसँग हारेपनि गण्डकीले यसअघि नेपाल प्रहरीलाई सोझो सेटमा हराइसकेको छ । 

काठमाडौं:  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कतारमा हुने लेजेन्ड्स लिग क्रिकेट खेल्नु हुनेभएको छ । तेस्रो संस्करणको लेजेन्ड्स लिग २७ फेब्रुअरी देखी ८ मार्चसम्म कतारमा आयोजना हुनेछ ।  पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्न लाग्नुभएको हो । एसियन लायन्सले पारसलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यस टोलीमा पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र सोयव अख्तरलाई पनि अनुबन्ध गरिएको छ । लायन्सले यसअघि उपुल थरंगा तथा अस्गर अफगानलाई पनि टोलीमा अनुबन्ध गरिसकेको थियो । लिगमा वर्ल्ड जायन्टस, इण्डियन महाराज र एसियन लायन्सको सहभागिता रहने बताईएको छ । 

पोखरा:   पोखरामा जारी तेस्रो टाइगर कपमा एपिएफ क्लबको महिला/पुरुष टोलीले जित निकालेको छ ।  ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन विभागिय टोलीको बर्चश्व जारी रहेको छ ।  महिलातर्फको आजको पहिलो खेलमा भने एपिएफ क्लबले न्यू डायमण्ड स्पोर्टस क्लबलाई सोझो ३–० को सेटमा पराजित गरेको छ ।  एपिएफले  २५–१५, २५–२० र २५–७ ले विजयी भएको थियो । उक्त खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन ।  दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५–१०, २५–१६ र २५–१६ ले पाखा लगायो । उक्त खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा वेष्ट स्पाइकरमा सुनिता खड्का भइन ।  महिलातर्फ नेपाल आर्मीको त्रिभुवन क्लब र एपिएफ क्लबले २–२ खेलबाट समान ६–६ अंङक बटुलेको छ भने न्यू डायमण्ड र गण्डकीले कुनै खेल जित्न सकेका छैनन् ।  यस्तै पुरुष तर्फको खेलमा नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको छ । पुलिसले १९–२५, २३–२५,२५–२३, २५–१९ र २५–१३ ले खेल जितेका थियो ।  त्यस्तै अर्को एक खेलमा आयोजक गण्डकी शसस्त्र प्रहरीको क्लब एपिएफसंग पराजित भएको छ ।   एपिएफले २५–१९, २५–२३, २०–२५ र २५–१९ ले विजय भएको थियो । खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित भए ।  आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए ।  त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक–एक खेलाडीले जनही समान नगद रु २५÷२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०÷१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

पोखराः    इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयल आयोजनामा गरेको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।  पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै राज्यलक्ष्मी सेमिफाइनलमा प्रवेश गरेको हो । राज्यलक्ष्मीको जितमा दिनेश घर्तिमगरले २ र कमल घर्तिमगरले १ गोल गरे । दिनेशले खेलको १२औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै दिनेशले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन ।  खेलको दोस्रो हाफ ३९औं मिनेटमा राज्यलक्ष्मीका कमल घर्तिमगरले गोल गर्दै टिमलाई तेब्बर अग्रता दिलाए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र राज्यलक्ष्मी ३–० ले विजयी हुँदै सेमिफाइलनमा प्रवेश गर्न सफल भयो ।  सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सहिद स्मृति आवसिय माध्यमिक विद्यालयले विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई १–० क्वाटरफाइनलमा प्रवेश गरेको हो । सहिद स्मृतिका राजेश विकले खेलको ४९ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।  पोखरा आदर्श माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै भद्रकाली माध्यमिक विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेको हो । भद्रकालीका दीपेश गुरुङ र जीवन गुरुङले गोल गरे । दीपेशले खेलको दोस्रो मिनेटमा र जीवनले ५२औं मिनेटमा गोल गरे ।  कालिका माध्यमिक विद्यालयले प्रतिभा माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । कालिकाका समुन्द्र सुवेदी ५औं मिनेट समुन्द्र सुवेदीले गोल गर्दा कुशन राई १७औं मिनेटमा थप एक गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि भने दुवै टिमबाट गोल हुन सकेन र कालिका क्वाटरफाइलनमा प्रवेश गरेको हो ।  सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।  यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।

काठमाडौं:   सुक्रबहादुर राईसहित १० गल्फर सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन सुक्रले टंकबहादुर कार्कीलाई ५र४ ले हराउनुभयो ।  यसैगरी भुवन कुमार रोकाले रामे मगरलाई २र१, रवि खड्काले प्रदिम कुमार लामालाई २र१, रमेश अधिकारीले सञ्जय लामालाई ३र१, दिनेश प्रजापतीले सूर्य प्रसाद शर्मालाई १र०, जयराम श्रेष्ठले कृष्णमान राजबाहकलाई १र०, धनबहादुर थापाले बलभद्र राईलाई ३र२ र भुवन नगरकोटीले सन्जोग मोक्तानलाई ३र२ ले हराउँदै अन्तिम आठमा स्थान बनाउनुभएको हो । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरेको प्रतियोगितामा शीर्षवरीयताका १६ प्रोले भाग लिएका थिए । तीन दिने प्रतियोगितामा बुधबार क्वार्टरफाइनल खेल हुने आयोजकले जनाएको छ । बिहीबार ३८ होलको फाइनल खेल हुनेछ । गल्फ टुर अन्तर्गत सिजनको तेस्रो स्पर्धाको रुपमा आयोजित प्रतियोगिताको विजेताले ६० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेतालाई ४२ हजार, तेस्रो हुनेलाई ३२ हजार र चौथो हुनेलाई २४ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । क्वार्टरफाइनलबाट बाहिरिने खेलाडीलाई ११ हजार र पहिलो चरणबाट बाहिरिने खेलाडीलाई जनही ६ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

पोखराः   गण्डकी विश्वविद्यालयको आयोजनामा सोमबारदेखि कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन् ।  सोमबार भएको उद्घाटन खेलमा इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय विजयी भएको छ । पोखरा रंगशालामा भएको पहिलो खेलमा इन्द्र राज्यलक्ष्मीले ग्लोबल कलेजियट माध्यमिक विद्यालयलाई ३–१ ले पराजित गरेको हो ।   राज्यलक्ष्मीको जितमा दीपक गोलेले २ र सुजल नेपालीले १ गोल गरे । ग्लोबलका लागि मन्दीप गुरुङले १ गोल फर्काए । खेलको सुरुआत चौथो मिनेटमै राज्यलक्ष्मीका गोलेले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि १२ औं मिनेटमा ग्लोबलका मन्दीपले बराबरी गोल फर्काएका थिए । त्यसपछि पहिलो हाफमा गोल हुन सकेन । दोस्रो हाफमा ४२ औं मिनेटमा राज्यलक्ष्मीका सुजलले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा राज्यलक्ष्मीका दीपक गोलेले गोल गर्दै ३–१ को जित दिलाए ।  विजयी इन्द्र राज्यलक्ष्मीले क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा राज्यलक्ष्मीले छोरेपाटन माध्यमिक विद्यालयसँग मंगलबार खेल्नेछ । पराजित ग्लोबल कलेजियट प्रतियोगिताबाट बाहिरिएको छ । खेल ३०–३० मिनेटको खेलाइएको थियो ।  यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी र प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । ‘खेलकुदका माध्यममार्फत शारीरिक सुगठन, निरोगी, स्वास्थ्य रहने यस प्रतियोगिताले र यस विश्वविद्यालयले सहयोग गर्नेछ भन्ने विश्वास मैले लिएको छ,’ उनले भने ।  विश्वविद्यालयका कुलपति प्राडा. गणेशमान गुरुङले पहिलोपटक आयोजना गरेको प्रतियोगिता सहभागी भएको खेलाडी धन्यवाद प्रकट गरे । उनले विश्वविद्यालयले आजको आवश्यकता र परिस्थितिलाई हेरेर विषयहरु अध्यापन गराउँदै आएको बताए । योे प्रतियोगिताले खेलकुदको विकासमा थप टेवा पुग्ने गुरुङले दाबी गरे ।  खेलकुदको विकास सम्वद्धन र संरक्षणका खातिर योजनावद्ध र प्रतिवद्धयुक्त दक्ष जनशक्ति उत्पादन गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगिताका संयोजक डा. मधुुसूदन सुवेदीले बताए ।  ‘स्पोर्टस् हबका रुपमा परिचित गण्डकी प्रदेशभित्रका उदयीमान खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्न एकाग्रता, स्वच्छ प्रतिस्प्र्धाको भावना विकास गरी खेलकुदप्रति आकर्षण पैदा गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौं,’ उनले भने ।  प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।  यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।  यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक मधुसूदन सुवेदीले बताए ।   

पोखराः टाइगर गुु्रप अफ पोखराले सञ्चालन गरेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।  पोखरा रंगशालामा भएको आजको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले श्रीलंकाको जोसेफ वाज स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो । आर्मीले २५-२०, २५-१६र २५-१० को सेटमा जित दर्ता गर्न सफल भएको हो । त्रिभुवन आर्मी क्लब पहिलो खेलमा भने अर्को विभागिय क्लब नेपाल एपिएफसँग पराजित भएको थियो ।  आर्मीले पहिलो जितसँगै ३ अंक प्राप्त गरेको छ । उक्त खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र वेष्ट स्पाइकर धन बहादुर भट्ट घोषित हुँदै नगद तथा गिफ्ट भौचर प्राप्त गरे ।  यस्तै अर्को खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो जित निकालेको छ । यो जितसगै एपिएफले दुई खेलमा ६ अंक बटुलेको छ ।  एपिएफले  पुलिस विरुद्ध २५-२१, २१-२५, २५-२१ र २५-१८ ले सेट जितेको थियो । उक्त खेलमा वेष्ट स्पाइकर एपिएफका टेकराज अवस्थी र म्यान अफ दि म्याच एपिएफकै विजय थापा घोषित भए ।  महिलातर्फको खेलमा भने नेपाल एपिएफ क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । एपिएफले २५-२१, २५-१९ र २५-१६को सेटमा सहज जित निकाल्दै ३ अंक जोडेको छ । खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी भएकी छन् । प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्बल, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लब, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार महिलातर्फ दुई र पुरुषतर्फ २ गरी चार खेल हुने आयोजकले जानकारी दिएको छ । भोली मंगलबार बिहान ९ बजेबाट सुरु हुने पहिलो खेल महिलातर्फ एपिएफ र होङवान्जी न्यू डायमण्ड र दोश्रो खेल ११ बजे त्रिभुवन आर्मी क्लब र घरेलु टोली गण्डकी प्रदेशका विच हुनेछ । त्यसै गरी पुरुषतर्फको पहिलो खेल दिउसो १ बजे श्रीलंकाको सेन्ट जोशेफ वाज स्पोर्टस क्लबले नेपाल पुलिसको सामना गर्नेछ भने दोस्रो खेल आयोजक गण्डकी प्रदेश र एपिएफको बिचमा हुनेछ ।  प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लब, गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।  

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्लेमा सुनगाभा कप तथा प्रविण गुरुङ सांस्कृतिक साँझ हुने भएको छ ।  सुनगाभा युवा क्लबको आयोजनामा माघ २६ गतेदेखि फागुन ३ गतेसम्म सुनगाभा कप तथा स्व. प्रविण गुरुङ स्मृति श्रस्टा सम्मान कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।  लुम्ले गाउँलाई पर्यटकीय गाउँ सगसगै खेलकुदबाट पर्यटन भित्राउन युवाहरुले विभिन्न कार्यक्रम गर्ने र सुनगाभा क्लब लुम्लेको चौथो संस्करण आयोजना गर्न लागेको वडाध्यक्ष एकदेव देवकोटाले बताए । लुम्ले गाउँमा जन्मिएका राष्ट्रिय गायक प्रबिन गुरुङको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने पुर्व वडाध्यक्ष चित्रवहादुर गुरुङले जानकारी दिए ।  क्लबको वार्षिकोत्सवको अवसरमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा समेत आयोजना गरेको छ । १ टिममा राष्ट्रिय टिमका दुईजना जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिताका संयोजक अन्तिम गुरुङले जानकारी दिए । प्रतियोगितामा ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको गुरुङले बताए । भलिबलको प्रथमलाई ६५ हजार, दोस्रोलाई ४० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर र सेटरलाई  पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । ।  

पोखरा:  पोखरामा सञ्चालन भएको १२औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तरराष्ट्रिय भेट्रान्स फुटबलको उपाधि काठमाडौँको ठमेल–११ ले जितेको छ । पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही माघ ३ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पोखराको दीप युनाइटेडलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै ठमेल च्याम्पियन बन्यो । उपाधि विजेता ठमेलले रु दुई लाख नगद र ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको घरेलु टोली दीपले रु एक लाखमा चित्त बुझायो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको हो । ठमेलका लागि नितिन गुरुङ र टासी छिरिङले गोल गर्नुभयो भने दीपका  अन्तिम गुरुङले मात्र गोल गर्नुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि दीप युनाइटेडका प्रविन कुमार घोषित हुँदै ट्रफीका साथमा नगद रु १५ हजार पुरस्कार पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट गोल किपरमा ठमेलका सञ्जिव खड्गी, उत्कृष्ट डिफेन्डरमा ठमेलका टासी छिरिङ, उत्कृष्ट मिडफिल्डरमा दीपका अन्तिम गुरुङ, उत्कृष्ट स्ट्राइकरमा ठमेलका सागर थापा र उत्कृष्ट प्रशिक्षकमा ठमेलकै प्रदीप श्रेष्ठ घोषित हुँदै जनही रु पाँच हजारका दरले नगद पुरस्कार र ट्रफी प्राप्त गर्नुभयो । विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेल, तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले ट्रफी, मेडल प्रमाण पत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताका लागि तमु धिं युकेका अध्यक्ष हरि गुरुङले संस्थाको तर्फबाट नगद रु ६० हजार सहयोग गर्नुभयो । संस्थाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, बगर भाई खलकका सचिव मानकाजी गुरुङलगायतले आफ्ना भनाइ राखेका थिए । प्रतियोगितामा भारत देहरादुनको एक टिमसहित कूल २४ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ को नारासहित बगर भाइ खलकले विभिन्न खेलकुद कार्यक्रम गर्दै आएको छ ।