पोखरा: अघिल्लाे शनिबार नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन, १७ औं संस्करण’मा रंगशालामा थिए प्रेमबहादुर पछाइ । सहभागी धावकहरु आयोजकको सिट्ठीपछि दौडन शुरु गरे । तर प्रेम आशा र उत्साह बोकेर त्यही उभिइरहे । छट्पटाहट र झिनो आश बोकेर उभिइरहेका प्रेमको पर्खाई १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पुरा भयो । उक्त समयमा नेपाल प्रहरीको ब्यानरबाट महिला हाफ म्याराथनमा राजपुरा पछाइले स्वर्र्ण जितिन् । प्रेम उनै राजपुराका बाबु हुन्, जो जुम्लाबाट छोरीलाई हौस्याउन पोखरा आएका थिए । म्याराथन सुरु भएपछि राजपुरा जति दौडिइरहेकी थिइन् त्यति नै रफ्तारमा कुदिरहेको थियो बाबु प्रेमको मुटुको चाल । र, जब राजपुराको दौडको गति थामियो प्रेमले बल्ल आफुलाई नर्मल पाए । राजपुरा पछाईले ५ महिनाको फरकमा पोखरामा स्वर्ण र रजतपदक जित्न सफल भइन् । नेपाल पुलिस क्लबकी म्याराथन धावक पछाइले गएको असोजमा पोखरामै आयोजित नवौं राष्ट्रिय खेलकुदमा ५/१० हजार मिटरमा रजत पदक जितेकी थिइन् । धावक पछाइले नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको महिला हाफ म्याराथनमा लगातार तीन पटक उपाधि चुम्दै ह्याट्रिक गर्न सफल भएकी हुन् । हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल पछाइले एक हप्ता अघि त्रिभुवन आर्मी क्लबले आयोजना गरेको २६० औं आर्मी म्याराथनको उपाधिसमेत जितेकी थिइन् । एक प्रतियोगितामा सहभागितापछि करिव २ देखि ३ महिना आराम गर्नुपर्ने भएपनि उनले ह्याट्रिक गर्ने लक्ष्य अनुसार नै पोखरा आएको सुुनगाभा न्यूजसँग बताइन् । ‘मेरो लक्ष्य ह्याट्रिक गर्ने नै थियो सफल भए, पोखराको रुट अहिले अठ्यारो पनि लाग्यो, सुरुमा अलमल परे पनि ह्याट्रिक गर्न सफल भए खुशी छु’ राजपुराले सुनाइन् । यसरी भइन् जुम्लेली राजपुरा पुलिसकी धावक २०५४ बैशाख १ गते जुम्लाको कनकासुन्दरीमा जन्मिएकी राजपुराको लक्ष्य नेपाल प्रहरीमा जागिर खाने नै थियो । परिवारले गाउँमै होटल सञ्चालन गर्ने भएकाले घरकी एक्ली छोरी भएपनि उनको उद्धेश्य पुरा गर्न कुनै कञ्जुस्याँइ भएन । परिवारको धोको थियो पछाइलाई पुलिसको बर्दीमा देख्ने । अहिले पुलिसको धावककारुपमा पदक हासिल गरेकी पछाईको खेलकुदको यात्रा भने भलिबलबाट भएको हो । विद्यालय स्तरीय हुने राष्ट्रपति खेलकुदमा विद्यालयको प्रतिनिधित्व गर्दै २ वर्ष भलिबल खेलेपनि सोचेजस्तो प्रगति हुन नसकेपछि पछाइले आफुलाई धावकमा परिवर्तन गरेकी हुन् । कक्षा ८ मा पढ्ने समयमा नै नेपाल प्रहरीमा भर्ती भएकी पछाइ अहिले स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् । संयोग नै भन्नुपर्छ, पोखरामा महिला म्याराथनमा ह्याट्रिक गरेकी पछाईले ०७२ मा पोखरामा नै सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा ५ किलोमिटर म्याराथनमा पहिलो पटक स्वर्ण पदक जित्दै राष्ट्रिय प्रतियोगितामा पहिलो पदक हासिल गरेकी थिइन् । ७२ सालमा नेपाल प्रहरीमा भर्ती भएकी पछाईले ९ महिनाको तालिमपछि पुलिस क्लबमा आवद्ध भएकी हुन् । ‘प्रहरीमा भर्ती हुने सपना पूरा गर्न बिहान बेलुका तालिम गरिरहे, विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड गाउँमै आयोजना भयो त्यसमा सहभागिता जनाए’ पछाइ भन्छिन् ‘भर्ती हुने लक्ष्यले रनिङ गरेपनि अहिले प्यासन नै रनिङ भएको छ ।’ एसियन र ओलम्पिक गेमसम्मको यात्रा तय गर्ने लक्ष्य लिएकी पछाइले अबको केही समय तालिमलाई निरन्तरता दिने बताइन् । छोरा छोरी, बराबरीः प्रेमबहादुर प्रेमबहादुर पछाई पेशाले होटल व्यवसायी भएपनि गएको स्थानीय निर्वाचनमा उनी कनकासुन्दरी गाउँपालिका ६ जुम्लाको वडाध्यक्षमा निर्वाचित भए । उनी जनप्रतिनिधि नहुँदै पेशाले होटल व्यवसायी हुन् । बेलुका बिहान घरको जेठी छोरी भएपनि राष्ट्रको महत्वपूर्ण क्षेत्रमा देख्ने सपना पूरा गर्न नै घरायसी काममा अल्झाउन नसकेको बुवा प्रेमले बताए । ‘घरको जेठी छोरी हुन्, गाउँमा नै होटल सञ्चालन गरेको छु, छोरीलाई राष्ट्रको चिनारीको रुपमा देख्ने सपना थियो, त्यही सपनामा थिइन् छोरी’, पछाईले भने, ‘अहिले विद्यालयस्तरदेखि देशको नै प्रतिनिधित्व गर्ने भएकी छिन्, खुशी छौं ।’ दुई छोरा र एक छोरीका बुवा प्रेम भन्छन्, ‘छोरा र छोरीमा भेदभाव गरिन, एक छोरो काठमाडौं अध्ययनरत छ अर्को गाउँमा व्यवसाय हेर्छ, छोरी खेलकुदमा छिन्, छोराछोरी सबै बराबर ।’ नेपाल प्रहरीका धावक राजपुरालाई बुबाआमासँगै श्रीमानले समेत निरन्तर साथ दिदै आएका छन् । धावक राजपुराले ६ वर्ष अगाडी बिहे गरेकी हुन् ।
पोखरा: पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय दोस्रो संस्करणको खुल्ला आर्चरी प्रतियोगितामा बागलुङका दुर्गा घर्तीमगर र कास्कीका केशरीमाया आलेमगर ‘च्याम्पियन’ हुनुभएको छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा यही फागुन ५ देखि सुरु भएको प्रतिस्पर्धामा पुरुषतर्फको रिकर्ब विधामा घर्तीमगरले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई ६–० अङ्कले पराजित गरी उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो । विजेता दुर्गाले उपाधिसहित रू ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेता खड्गले रू २० हजार पुरस्कार पाउनुभयो । यसैगरी कास्कीका सुमन गुरुङले ६–४ को अङ्कमा कास्कीकै अशिम शेरचनलाई पछि पार्दै तृतीय हुनुभयो । यसैगरी रिकर्ब खुला महिलातर्फको प्रतिस्प्रर्धामा कास्कीले जित हासिल गरेको छ । कास्कीका केशरी आलेमगरले कास्कीकै अनुस्का शेरचनलाई ७–३ को अङ्कमा पराजित गर्दै उपाधि पोल्टामा पार्नुभयो । पुरुषतर्फको विधामा बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६–२ को अङ्कमा पराजित गरी उपाधि आफ्नो पक्षमा पार्नुभयो । बागलुङका मुकेश रोकामगरले रोशन पुर्जा पुनलाई ७–५ अङ्कमा पराजित गरी तृतीय हुनुभयो । प्रतियोगितामा रिकर्ब ओपन पुरुषतर्फ विजेतालाई रू ३० हजार, उपविजेतालाई रू २० हजार र तृतीय हुनेलाई रू १५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । रिकर्ब ओपन महिलातर्फ विजेताले रू १५ हजार, उपविजेताले रू १० हजार र तृतीय हुनेले रू पाँच हजार पाउनुभयो । पुरुषतर्फ विजेतालाई रू २० हजार, उपविजेतालाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार प्रदान गरिएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको भेट्रान्सतर्फको विधामा म्याग्दीका जयप्रकाश छन्त्यालले प्रथम स्थान हासिल गर्नुभएको थियो । प्रतियोगितामा विजयी खेलाडीलाई नेपाल आर्चरी सङ्घका कन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, पूर्वअध्यक्ष वसन्त थकालीलगायतले पुरस्कार वितरण गर्नुभयो । आर्चरी खेलका सुविधासम्पन्न पूर्वाधार रहेको पोखरालाई आर्चरी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, पर्वत र कास्कीबाट गरी ८९ जना खेलाडी सहभागी भएको कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिनुभयो । गण्डकी प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आर्चरी सङ्घसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले नामिबियालाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई ३ विकेटले हराएको हो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर तीन बलमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन बनाए । यस्तै, कुलश मल्लले ४ छक्का र ६ वटा चौकासहित ६२ रन बनाए । रोहित पौडेलले ३९ रन बनाए । यसैबीच, आजको खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रनको साझेदारीको कीर्तिमान बनाएका छन् । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १ सय ३९ रनको साझेदारी गरेका हुन । यो नेपालबाट एकदिवसीयमा अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि नामिबियासँगको खेलमै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको साझेदारी गरेका थिए । यस्तै, नेपालले यो शृङ्खलामा दुई सय ७५ रन लक्ष्य भएका दुई वटा र दुई सय ८६ रनको लक्ष्य भएको एउटा खेल जितेको छ । नेपालले सबैभन्दा धेरै लक्ष्य भेटाउने कीर्तिमान पनि यसै शृङ्खलामा बनाएको छ । यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनायो । उसका जान ग्रिनले सर्वाधिक ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए । हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नामिबिया ३३ खेलमा ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागि लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
पोखराः १७ औं संस्करणको सफल पोखरा म्याराथन गण्डकी प्रदेशतर्फको उपाधि लमजुङका रामजी बस्नेतले जितेका छन् । उनले ४२.१९५ दुरी २ घण्टा ४१ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै उपाधि जितेक हुन् । निर्धारित दुरी २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पूरा गर्दैै गोर्खाका निरज भट्ट दोस्रो भए भने गोर्खाका नै श्याम मगराति तेस्रो भए । उनले २ घण्टा ५० मिनेट ३ सेकेण्डमा दुरी पूरा गरे । गण्डकी प्रदेशस्तरीय म्याराथनका विजेता बस्नेतले ५० हजार, दोस्रो भएका भट्टले ३० हजार र तेस्रो भएका मगरातिले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै पोखरा म्याराथन १० किलोमिटर पोखरा म्याराथन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले ३६मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भएका छन् । यस्तै आर्मीका नै सुवास कार्कीले ३६मिनेट ५४ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भएका छन् भने ३७ मिनेटमा दुरी पूरा गर्दै दिपक सुहान तेस्रो भएका छन् । यस्तै १० किमी महिलातर्फ नेपाल एपिएफ क्लबका आशा रावतले ५० मिनेट १२ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भइन् । नेपाल पुलिस क्लबकी बिर्समा कुमालले ५० मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भइन भने त्रिभुवन आर्मी क्लबकी कल्पना खड्काले ५१ मिनेट ६सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भइन् । १० किमीतर्फ महिला÷पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय भएका उनीहरुले क्रमशः ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे । यस्तै १७ औं संस्करणको अन्र्तराष्ट्रिय म्याराथन अन्र्तगत ह्विल चियर प्रतियोगितामा दान थिन प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए यस्तै महिलातर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोस्रो र ववित्रा बिक तेस्रो भइन् । दृष्टिविहिन महिला तर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोस्रो र देवि बराल तेस्रो भइन् भने पुरुषतर्फ विरेन्द्र लामिछाने प्रथम, आसिक खड्गी दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । ह्विल चियर र दृष्वििहिन प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो महिला/पुरुष धावकहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
पोखरा: सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्या धावक स्टेफेन कोसगेईले लगातार दोस्रो पटक जितेका छन् । आज (शनिबार) पोखरा रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो पटक उपाधि जितेका हुन् । केन्याका धावक स्टेफनले अघिल्लो संस्करणमा सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । यस्तै केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गर्दा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्धितीय भएका सिमोनले ३ लाख र तृतीय मोहनले २ लाख रुपैयाँ पाएका छन् । हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुराको ह्याट्रिक यस्तै शनिबार नै सम्पन्न भएको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईले ह्याट्रिक गरेकी छिन् । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् । उनले २१ किमी दुरी १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पूरा गरिन् । एपिएफकी वृन्दा देसार श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन । त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन । यस्तै नेपाल पुलिसकी रेखा विष्ट सान्त्वना भईन । उनले १ घण्टा ३० मिनेट १४ सेकेण्ड मा पूरा गरिन् । महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतीय पूर्णलक्ष्मीले ७५ हजार र सान्त्वना भएकी विष्टले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
काठमाडौं : जेन ग्रीनको अविजित अर्धशतकप्रेरित नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाललाई दुई सय ७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले पाँच विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गर्यो। पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका नामिबियन ओपनर लो हान्द्रे लौरेन्स ४१ तथा कार्ल बिर्केन्स्टोक २० रन जोडेरर आउट भए। लौरेन्सले ५४ बलको सामना गर्दा आठ चौका प्रहार गरेका थिए। वान् डाउनमा क्रिजमा उत्रिएका माइकल भान लिङ्गेन ३५ बलमा दुई चौकासहित २२ रन जोडेर पेभेलियन फर्केका थिए। कप्तान जेरार्ड एरास्मस र यान निकोल १५–१५ रनमा आउट हुँदा ग्रीनसँग ९४ रनको साझेदारी गरेका पिकी या फ्रान्स ३९ बलमा चार चौका र तीन छक्कासहित ४९ रनमा आउट हुँदा एक रनले अर्धशतक बनाउ चुके। रुबेन थ्रुम्पेल्मानले सात बलमा तीन चौका र दुई छक्कासहित अविजित २४ रन जोडे। सुरुआती साझेदारी तोड्न संघर्षरत नेपालका लागि १५औं ओभरमा सन्दीप लामिछानेले बिर्केन्स्टोकको विकेट लिएका थिए। त्यसपछि १७औं ओभरमा सन्दीपले भ्रमणकारी टिमका अर्का ओपनर लौरेन्सलाई पनि पेभेलियन फर्काएका थिए। तेस्रो विकेट नेपालले रन आउटमा निकालेको थियो। दीपेन्द्रसिंह ऐरीले फालेको २६औं ओभरको अन्तिम बलमा भान लिङ्गनेलाई सन्दीप जोरा र दीपेन्द्रले आउट गरेका थिए। सन्दीप लामिछानेले २९औं ओभरको दोस्रो बलमा एरास्मसलाई बोल्ड गरेका थिए। करण केसीले ३८औं ओभरमा यान निकोललाई विकेटकिपर आसिफको हातबाट क्याच गराएका थिए। ४९औं ओभरमा सोमपाल कामीले फ्रान्सलाई रन आउट गरेका थिए।
पोखरा: श्रीलंकाको कोलम्बोमा हुने जुनियर डेविस कप तथा बिली जीन किंग कप यु–१६ छात्र तथा छात्रा टेनिस प्रतियोगितामा भाग लिन नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । प्रतियोगितामा भाग लिन नेपालबाट ५ जनाको टोली श्रीलंका प्रस्थान गरेको हो । टोलीमा ३ जना छात्र र २ जना छात्रा रहेका छन् । टोलीमा पोखराका सृजन भट्टराई, आयुष्मान हुजुर घले, श्रीयोग अधिकारी, सुनिरा थापा र प्रशंसा मोक्तान रहेका छन् । उनीहरुलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणाले विदाई गरिन् । श्रीलंकाको कोलम्बोमा फेब्रअरी २० देखी २५ सम्म संचालन हुनेछ ।
पोखरा: फागुन ७ देखी पोखरामा शुरु हुने प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । फागुन ७ गते देखी १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका छन् । सार्वजनीक भएको खेल तालिका अनुसार माउन्ट अन्नपुर्ण र कास्की मोडनाइजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने छन् । त्यसै गरी दोस्रो खेल सृजना स्कुल र जेसिए बिच हुनेछ । पहिलो दिन पाँच खेल हुने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । पहिलो दिनको तेस्रो खेल बालविकास र चिल्डेन लाइफ बिच हुने छ भने चौथो खेल सगरमाथा वि र गैडाकोट नमुना स्कुल बिच हुनेछ । पहिलो दिनको अन्तिम खेल लिटिल स्टेप मावि पोखरा र फियुचर ब्राइट स्कुल बाग्लुङका बिच हुने पराजुलीले बताए । सगरमाथा ए, करुणनीधि फाउन्डेसन र द वल्ड क्यापिटलले बाइ पाएका छन् । दोस्रो दिन क्वाटर फाइनलका ४ खेल हुने छन् भने तेस्रो दिन सेमिफाइनलका २ खेल हुनेछ । फागुन १० गते फाइनल हुनेछ । कास्कीबाट ८, बागलुङबाट २, नवलपुरबाट २ र गोरखाबाट १ गरि १३ टिमले प्रतियोगितामा सहभागीता जनाएको प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगलले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
काठमाडौं: दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो । नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।

