राजपुरालाई हौस्याउन जुम्लाबाट आए प्रेम, नतीजा ‘ह्याट्रिक’

पाेखरा | फागुन ८, २०७९

राजपुरालाई हौस्याउन जुम्लाबाट आए प्रेम, नतीजा ‘ह्याट्रिक’

पोखरा:   अघिल्लाे शनिबार नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन, १७ औं संस्करण’मा रंगशालामा थिए प्रेमबहादुर पछाइ । सहभागी धावकहरु आयोजकको सिट्ठीपछि दौडन शुरु गरे । तर प्रेम आशा र उत्साह बोकेर त्यही उभिइरहे । 


छट्पटाहट र झिनो आश बोकेर उभिइरहेका प्रेमको पर्खाई १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पुरा भयो । उक्त समयमा नेपाल प्रहरीको ब्यानरबाट महिला हाफ म्याराथनमा राजपुरा पछाइले स्वर्र्ण जितिन् । 


प्रेम उनै राजपुराका बाबु हुन्, जो जुम्लाबाट छोरीलाई हौस्याउन पोखरा आएका थिए । म्याराथन सुरु भएपछि राजपुरा जति दौडिइरहेकी थिइन् त्यति नै रफ्तारमा कुदिरहेको थियो बाबु प्रेमको मुटुको चाल । र, जब राजपुराको दौडको गति थामियो प्रेमले बल्ल आफुलाई नर्मल पाए । 


राजपुरा पछाईले ५ महिनाको फरकमा पोखरामा स्वर्ण र रजतपदक जित्न सफल भइन् । नेपाल पुलिस क्लबकी म्याराथन धावक पछाइले गएको असोजमा पोखरामै आयोजित नवौं राष्ट्रिय खेलकुदमा ५/१० हजार मिटरमा रजत पदक  जितेकी थिइन् । 


धावक पछाइले नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको महिला हाफ म्याराथनमा लगातार तीन पटक उपाधि चुम्दै ह्याट्रिक गर्न सफल भएकी हुन् । 


हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल पछाइले एक हप्ता अघि त्रिभुवन आर्मी क्लबले आयोजना गरेको २६० औं आर्मी म्याराथनको उपाधिसमेत जितेकी थिइन् । 


एक प्रतियोगितामा सहभागितापछि करिव २ देखि ३ महिना आराम गर्नुपर्ने भएपनि उनले ह्याट्रिक गर्ने लक्ष्य अनुसार नै पोखरा आएको सुुनगाभा न्यूजसँग बताइन् । 


‘मेरो लक्ष्य ह्याट्रिक गर्ने नै थियो सफल भए, पोखराको रुट अहिले अठ्यारो पनि लाग्यो, सुरुमा अलमल परे पनि ह्याट्रिक गर्न सफल भए खुशी छु’ राजपुराले सुनाइन् । 


यसरी भइन् जुम्लेली राजपुरा पुलिसकी धावक


२०५४ बैशाख १ गते जुम्लाको कनकासुन्दरीमा जन्मिएकी राजपुराको लक्ष्य नेपाल प्रहरीमा जागिर खाने नै थियो ।


परिवारले गाउँमै होटल सञ्चालन गर्ने भएकाले घरकी एक्ली छोरी भएपनि उनको उद्धेश्य पुरा गर्न कुनै कञ्जुस्याँइ भएन । परिवारको धोको थियो पछाइलाई पुलिसको बर्दीमा देख्ने । 


अहिले पुलिसको धावककारुपमा पदक हासिल गरेकी पछाईको खेलकुदको यात्रा भने भलिबलबाट भएको हो । 


विद्यालय स्तरीय हुने राष्ट्रपति खेलकुदमा विद्यालयको प्रतिनिधित्व गर्दै २ वर्ष भलिबल खेलेपनि सोचेजस्तो प्रगति हुन नसकेपछि पछाइले आफुलाई धावकमा परिवर्तन गरेकी हुन् । 


कक्षा ८ मा पढ्ने समयमा नै नेपाल प्रहरीमा भर्ती भएकी पछाइ अहिले स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् । 


संयोग नै भन्नुपर्छ, पोखरामा महिला म्याराथनमा ह्याट्रिक गरेकी पछाईले ०७२ मा पोखरामा नै सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा ५ किलोमिटर म्याराथनमा पहिलो पटक स्वर्ण पदक जित्दै राष्ट्रिय प्रतियोगितामा पहिलो पदक हासिल गरेकी थिइन् । 


७२ सालमा नेपाल प्रहरीमा भर्ती भएकी पछाईले ९ महिनाको तालिमपछि पुलिस क्लबमा आवद्ध भएकी हुन् । 


‘प्रहरीमा भर्ती हुने सपना पूरा गर्न बिहान बेलुका तालिम गरिरहे, विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड गाउँमै आयोजना भयो त्यसमा सहभागिता जनाए’ पछाइ भन्छिन् ‘भर्ती हुने लक्ष्यले रनिङ गरेपनि अहिले प्यासन नै रनिङ भएको छ ।’ 


एसियन र ओलम्पिक गेमसम्मको यात्रा तय गर्ने लक्ष्य लिएकी पछाइले अबको केही समय तालिमलाई निरन्तरता दिने बताइन् । 


छोरा छोरी, बराबरीः  प्रेमबहादुर  


प्रेमबहादुर पछाई पेशाले होटल व्यवसायी भएपनि गएको स्थानीय निर्वाचनमा उनी कनकासुन्दरी गाउँपालिका ६ जुम्लाको वडाध्यक्षमा निर्वाचित भए ।  


उनी जनप्रतिनिधि नहुँदै पेशाले होटल व्यवसायी हुन् । बेलुका बिहान घरको जेठी छोरी भएपनि राष्ट्रको महत्वपूर्ण क्षेत्रमा देख्ने सपना पूरा गर्न नै घरायसी काममा अल्झाउन नसकेको बुवा प्रेमले बताए । 


‘घरको जेठी छोरी हुन्, गाउँमा नै होटल सञ्चालन गरेको छु, छोरीलाई राष्ट्रको चिनारीको रुपमा देख्ने सपना थियो, त्यही सपनामा थिइन् छोरी’, पछाईले भने, ‘अहिले विद्यालयस्तरदेखि देशको नै प्रतिनिधित्व गर्ने भएकी छिन्, खुशी छौं ।’


दुई छोरा र एक छोरीका बुवा प्रेम भन्छन्, ‘छोरा र छोरीमा भेदभाव गरिन, एक छोरो काठमाडौं अध्ययनरत छ अर्को गाउँमा व्यवसाय हेर्छ, छोरी खेलकुदमा छिन्, छोराछोरी सबै बराबर ।’


नेपाल प्रहरीका धावक राजपुरालाई बुबाआमासँगै श्रीमानले समेत निरन्तर साथ दिदै आएका छन् । धावक राजपुराले ६ वर्ष अगाडी बिहे गरेकी हुन् । 


 

काठमाडौं:     निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।  उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटन...

थप पढ्नुहोस्

रसुवा:  जिल्ला प्रहरी  कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ ।   कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले गत १ ...

थप पढ्नुहोस्