काठमाडौं: अखिल नेपाल फुटबल (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफपी) को सदस्य पदमा निर्वाचित हुनुभएको छ । बहराइनमा बुधबार अबेर सम्पन्न एएफसीको ३३औं कंग्रेसबाट नेम्वाङ सदस्य पदमा निर्वाचित हुनुभएको हो । नेम्वाङ दक्षिण एसियाली क्षेत्रबाट चार वर्षका लागि एएफसीको कार्यसमितिमा निर्वाचित हुनुभएको एन्फाले जनाएको छ । दक्षिण एसियाली क्षेत्रबाट भुटानका युगेन सेचत एएफसीको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यस क्षेत्रबाट अर्को सदस्यमा माल्दिभ्सका बसम अदेल जालिल निर्वाचित हुनुभएको छ । एएफसीको अध्यक्षमा बहराइनका शेख सलमान विन अब्राहिम अल खालिफा पुन: निर्वाचित हुनुभएको छ । खालिफाको यो तेस्रो कार्यकाल हो । नेपालबाट एफसीमा यसअघि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले सदस्य हुँदै उपाध्यक्षसम्म बनेर एएफसीमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
गण्डकीः गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ । बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको कारण सोही लिग बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै विवादमा तानियो । सो विषयले क्यानभित्र पनि फाटो ल्यायो । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापले नेपाली क्रिकेट बदनाम भएको भन्दै क्यान पदाधिकारीको राजीनामासमेतको माग उठ्यो । सात केन्द्रीय सदस्यले मङ्गलबार पोखरामा बसेको क्यानको बोर्ड बैठक नै बहिष्कार गरे । क्यानको आफ्नै प्रतियोगितामा खेल मिलेमतो भएकाले यसको सम्पूर्ण जिम्मेवारी कार्यसम्पादन समितिले लिनुपर्ने असन्तुष्ट पक्षको माग छ । क्यानले लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी ‘सेभेन थ्री स्पोटर््स’लाई दिएको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने नेपाली क्रिकेटकै हित सोचेर भारतीय कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो । सोको निर्णय गर्दा बोर्डका सबै सदस्यको सहमति रहेको उहाँको भनाइ छ । “लिग सञ्चालन गर्दा भएका सामान्य प्रक्रियागत त्रुटिलाई लिएर राजीनामा नै माग गर्नु अनुचित छ”, उहाँले भन्नुभयो, “क्यानमा अनावश्यक विवाद सिर्जना गरी नेपाली क्रिकेटको भविष्यलाई अन्धकारतिर धकेल्ने नियतले एउटा पक्ष लागेको छ ।” अध्यक्ष चन्दले क्यानको विधानले तोकेबमोजिम सदस्यको दस्तखस्त लिएर आए आफू विशेष साधारणसभा डाक्न तयार रहेको उल्लेख गर्नुभयो । “बाहिर राजीनामा माग्दै हिँडेर केही हुँदैन, क्यान आफ्नो विधानले चल्छ”, उहाँले भन्नुभयो । आउँदो फागुनमा साधारणसभा र जेठभित्र विशेष साधारणसभा गरी निर्वाचन गर्ने निर्णय बोर्ड बैठकबाट भइसकेकाले यो विषय उछाल्न आवश्यक नरहेको अध्यक्ष चन्दले बताउनुभयो । “लिगलाई किन यति नकारात्मक पाटोबाट मात्र हेरिँदैछ, नेपाली खेलाडीले १५ दिन खेलेर १५ लाख कमाउने वातावरण बनाएको क्यानले होइन रु”, उहाँले भन्नुभयो, “स्पट फिक्सिङमा संलग्न जोसुकै पदाधिकारी, खेलाडी वा कोही सदस्य भए पनि कारवाही हुन्छ ।” क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टी–२० लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो । सोबापत सेभेन थ्री स्पोर्टस्ले रु ३३ करोड दिने सम्झौता थियो । लिगमा स्पट फिक्सिङ भएको, खेलाडीले समयमै पैसा नपाएको, अपारदर्शितालगायत विषयमा विवाद उत्पन्न भएको थियो । स्पट फिक्सिङको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले क्यान र सेभेन थ्री स्पोर्टस् कम्पनीमाथि छानबिन गरिरहेको छ । खेल मिलेमतोको आरोपमा केही खेलाडीलाई पक्राउसमेत गरिएको छ । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापमा केन्द्रीय कार्यसम्पादन समिति जिम्मेवार रहेकाले राजीनामा माग गरिएको असन्तुष्ट पक्षका केन्द्रीय सदस्य ऋषिराम गौतमले बताउनुभयो । लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरिएको र बोर्डलाई कुनै जानकारी नगराइएको उहाँको आरोप छ । नेतृत्व गैरजिम्मेवार बन्दा क्यान निलम्बनमा पर्ने देखिएकाले आफूहरू विरोधमा उत्रेको असन्तुष्ट पक्षको तर्क छ । केन्द्रीय सदस्य गौतमले भन्नुभयो, “राखेपले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा क्यानले गम्भीर गल्ती गरेको निष्कर्ष निकालिएको छ । राखेपलाई क्रिकेट सङ्घ विघटन गर्न सिफारिस गरिएको छ । क्यान निलम्बनको खतरामा छ ।” क्यानको साख र मर्यादा बचाउनका लागि सम्पूर्ण निर्णय र काम कारबाही अगाडि बढाउने कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यको राजीनामा नै नेपाली क्रिकेट बचाउने एक मात्र उपाय भएको उहाँको भनाइ छ । “अहिले हामीले टी–२० लिग, क्यान र सेभेन थ्री स्पोर्टस्बीच भएको सम्झौताका बारेमा मात्र आवाज उठाएका छौँ । आगामी दिनमा क्यानका अन्य विषयसमेत विस्तारै बाहिर ल्याउँदै छौँ”, केन्द्रीय सदस्य गौतमले भन्नुभयो । क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्यानको विवादले नेपाली क्रिकेटको विकासमा असर पुग्ने बताउनुभयो । नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । “क्यानको विवादले नेपाली खेलकुद जगत्मा राम्रो सन्देश गएको छैन, यसको बेलैमा निरुपण हुनुपर्छ”, उहाँले भन्नुभयो । क्यानको आसन्न चुनावलाई लिएर नेतृत्वको टकराव सिर्जना भएको कतिपयको बुझाइ छ । क्यानलाई कसले हातमा लिने भन्ने दाउले सिङ्गै नेपाली क्रिकेटको भविष्य नै धरापमा पर्ने हो की भन्ने चिन्ता खेलप्रेमीमा छ । विसं २०७६ असोजमा सम्पन्न भएको अधिवेशनबाट चार वर्षका लागि चन्द क्यानको नेतृत्वमा आउनुभएको थियो । उहाँले कार्यकाल सकिनुअगावै आउँदो जेठ मसान्तभित्र विशेष साधारणसभाको आयोजना गरी निर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पोखरा २३ च्याम्पियन भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जित्दै च्याम्पियन भएका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर २० तृतीय भए । महिलातर्फ वडा नम्बर १८ द्वितीय र वडा नम्बर १५ तृतीय भए । पुरुषतर्फ फाइनलमा वडा नम्बर १६ लाई ३–२ को सेट र महिलातर्फ वडा नम्बर १८ को टिमलाई ३–० को सोझो सेटमा हराउँदै वडा नम्बर २३ दुवैतर्फ प्रथम भएको हो । प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले उत्कृष्ट विधागत पुरस्कार पाएका छन् । पुरुषतर्फ वडा नम्बर २० का सुजन नेपाली उत्कृष्ट डिफेन्डर, वडा नम्बर २३ का बबिन सुनार उत्कृष्ट स्पाइकर, विवेक सुनार उत्कृष्ट सेटर, रमित क्षेत्री उत्कृष्ट ब्लकर घोषित भए । वडा नम्बर १६ का विजय सुनारले प्रतियतोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार पाए । महिलातर्फ वडा नम्बर २३ की कृष्णकुमारी भण्डारी उत्कृष्ट स्पाइकर, सोही वडाकी निशा भुजेल उत्कृष्ट सेटर, सबिना पौडेल उत्कृष्ट डिफेन्डर र वडा नम्बर १८ की जेनिफर चौधरी उत्कृष्ट सर्भर घोषित भए । वडा नम्बर २३ की निशाले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । विधागततर्फ उत्कृष्ट हुनेले पुरस्कारबापत ५–५ हजार रुपैयाँ पाएका छन् । पोखरा महानगर भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिम सहभागी थिए । प्रतियोगितामा सहभागी टिमका खेलाडी छनोट गरेर महानगरपालिकाले आफ्नो टिम बनाएको छ । फरकफरक वडाका खेलाडी छनोट गरेर पुरुषतर्फ दुई र महिलातर्फ एक टिम बनाइएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । यसरी बनाइएको टिमले आगामी दिनमा हुने भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्ने उनले बताए । प्रतियोगिताको समापन समारोहमा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनमा आफूहरुले सक्दो प्रयास गर्ने बताए । भलिबल खेलाडी उत्पादनमा प्रदेश सरकारसँग पनि सहकार्य गर्ने उनको भनाइ थियो ।
पोखराः नेपाल क्रिकेट संघ (क्यान)का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नैतिकता भए सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याउने १८ जना कार्यसमितिका सबैले राजीनामा दिनुपर्ने बताएका छन्। ‘नेपाल टी २० लिग असफल भयो, गभर्निङ काउन्सिलमा भएको मैले राजीनामा दिएँ, अरुले किनदिने, सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याएको १८ जनाको कार्यसमितिले हो, नैतिकता छ भने सबैले राजीनामा दिनुपर्यो नि त,’ मंगलबार बसेको क्यानको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मल्लले भने। संघलाई नै राजीनामा गराएर नेपाली क्रिकेटलाई समाप्त पारिन खोजेको आरोप मल्लले लगाएका छन्। केन्द्रीय कार्यसमितिमा भएका सात जनाले हिजो बैठक सुरु भएपछि राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए। ‘क्यानको राम्रो काम देखेर आईसीसीले बजेट बढाइरहेको र इभेन्ट पनि दिइरहेको छ,’ आक्रामक शैलीमा प्रस्तुत हुँदै मल्ले भने, ‘यो टिमले यसअघि आर्थिक पक्षमा उठ्ने गरेका प्रश्नलाई पनि दुरुस्त पारेको छ। ’ एउटा मानिस बद्नियतसहित नेपाल क्रिकेटमा प्रवेश गरेको चिन्न नसक्दा एउटा घटनामा क्यान असफल भएको उनले बताएका छन्।
पोखरा: नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गर्ने निर्णय गरकोे छ । आज (मंगलबार) पोखरामा बसेको क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक सदस्यले बताए । ‘सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको छ,’ ती सदस्यले भने । बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । सन्दीपलाई पुष २९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न दिएको थियो ।
काठमाडौं: नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गरेको छ । डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–९, ११–६, ११–९ को सोझो सेटमा पराजित गरेको छ । सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सीधा सेटमा ११–४, ११–५, ११–८ ले हराउनुभयो । अर्को सिंगल्समा एलिनाले रविनालाई ११–४, ३–११, ५–११, ११–४, ११–७ ले पाखा लगाउनुभयो । ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो हुनुभयो । इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११–६, ११–५, ११–४ को सोझो सेटमा पन्छाउनुभयो । लगनखलकी हीरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेस्रो हुनुभयो । प्रतियोगितामा विभिन्न ७ स्पर्धामा दुई सय पुरुष र ५६ महिलासहित दुई सय ५६ खेलाडी सहभागी छन् । पुरुषमा भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट समान १–१ खेलाडी सहभागी छन् । महिलामा विदेशी खेलाडी सहभागी छैनन् । सिंगल्स र टिममा शीर्षतीन स्थान हात पार्नेले क्रमश: ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
काठमाडौं: बङ्गलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मंगलबार सातदोवाटोमा आयोजित कार्यक्रमबीच खेलाडीको बिदाइ गरेको हो । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्य राखेको नेपालले पहिलो खेल ३ तारिख आयोजक बङ्गलादेशसँग खेल्नेछ । नेपालले दोस्रो खेल ५ तारिख भुटान र अन्तिम खेल ७ तारिख भारतसँग खेल्नेछ । लिग चरणको शीर्ष दुई टोलीबीच ९ तारिख फाइनल खेल हुनेछ । नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ हुनुहुन्छ । प्रीति राईको कप्तानमा रहेको नेपाली टोलीको गोलरक्षकमा कविता विक, सावित्री किसन र लीला जोशी हुनुहुन्छ । रक्षकमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ हुनुहुन्छ । यसैगरी मिडफिल्डरमा कप्तान राईसहित तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, अञ्जलि मचामसी, सरस्वती हमाल र दिपा शाही हुनुहुन्छ । स्ट्राइकरमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अञ्जलि चन्द हुनुहुन्छ । टोलीलाई एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, महासचिव किरण राईलगायतले बिदाइ गर्नुभयो । नेपाली महिला टोली बुधबार बङ्गलादेश प्रस्थान गर्नेछ ।
तनहुँ: शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौँ व्यास नगर अल्टा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षीय विशाल गुरुङले जित्नु भएको छ । गुरुङले व्यास नगरपालिकाको वडा नम्बर ५ को मानहुँदेखि वडा नम्बर ८ को सहिदग्राम पुलिमराङ सम्मको ४४ किमी दुरी तीन घण्टा २८ मिनेट २६ सेकेण्डमा पार गर्दै विजेता बन्नु भएको हो । प्रतियोगितामा व्यास नगरपालिका वडा नम्बर ६ का साहास पन्थ द्धितिय हुनु भएको छ । उहाँले तीन घण्टा ३६ मिनेट ३८ सेकेण्डमा पार गरेर द्वितीय हुनु भयो । आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङले तीन घण्टा ३८ मिनेट ३१ सेकेण्डमा पार गरी तृतीय हुनुभयो । प्रतियोगितामा व्यास नगरपालिका– ६ का प्रमिश गुरुङ, भानु नगरपालिका–३ का रामबहादुर नेपाली, व्यास नगरपालिका–१ का प्रविन थापा मगर सान्त्वना हुनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ६१ हजार, ५१ हजार र ३८ हजार रुपियाँ साथै मेडल र प्रमाणपत्र प्रदान गरियो । यसैगरी सान्त्वना हुने तीन जनालाई जनही १२ हजार पाँच सय रुपियाँका प्राप्त गर्नुभयो । प्रतियोगितामा विजयी खेलाडीहरूलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा नेता पौडेलले खेलाडीलाई यस्ता प्रतियोगिताले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्ने क्षमताको विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै पर्यटनको विकास र शहीदको महत्त्व बढाउन तथा नयाँ खेलाडीलाई खेलप्रति आकर्षित गर्न मद्दत पुग्ने विश्वास वरिष्ठ नेता पौडेलले गर्नुभयो । प्रतियोगिता ५७ जना धावक सहभागी भएका थिए । नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि सुरुवात गरेको म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको थियो । व्यास नगरपालिकाले यस वर्ष स्थानीय धावकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभित्रका व्यक्तिहरूले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षण गर्न जिल्लाभित्रका व्यक्तिहरूलाई मात्र म्याराथनमा भाग लिने व्यवस्था मिलाइएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ । मानुङकोटबाट सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, पृथ्वी राजमार्ग हुँदै दुर्गा मन्दिर, अनसन चौतारी, सफा सडक, भोर्लेचार चोक, व्यास मार्ग हुँदै बैरेनी, कुमालटारी, दुम्सी, खहरे, कलेस्ती, बोटेटार, पाथ्रा, सत्रसय, कालिका मार्ग हुँदै बानियाडिही, बर्लाची, सोतीबेसी, बगुवा रिस्ती, बाहुनपोखरा, गाडापानी हुँदै पुलिम¥याङमा पुगेर दौड पुरा भएको थियो ।
पोखरा: पोखरा रंगशाला भलिबल कोर्टमा आगामी फागुन १६ देखि १९ गतेसम्म पाँचौ सामुदायिक बिद्यालय स्तरीय सृजना कप भलिवल प्रतियोगिता हुने भएको छ । पोखरामा आज (मंगलबार) सृजना बिकास केन्द्र पोखरा र कास्की जिल्ला भलिवल संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै फागुन १६ देखि १९ गतेसम्म कास्कीका सामुदायिक बिद्यालयका छात्र,छात्राले मात्र भाग लिन पाउनेछन् । पाचौं सृजनाकप भलिबल प्रतियोगितामा कास्की जिल्लाका ५० सामुदायिक विद्यालयले सहभागिता जनाउने प्रतियोगिता संयोजक मिनप्रसाद भट्टराईले बताए । ‘पाचौं सुजनाकप भलिबल प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयमा १२ कक्षासम्म अध्ययनरत छात्रा÷छात्रले सहभागिता जनाउन पाउनेछन्, भट्टराईले भने, ‘कास्कीका ५० विद्यालयले सहभागिता जनाउने अनुमान गरेको छौं, प्रतियोगितामा महिला भलिबललाई बढी प्राथमिकता दिएका छौं ।’ प्रतियोगितामा छात्रा÷छात्र दुवै तर्फका विजेताले समान १÷१ लाख, उपविजेताले समान ६०÷६० हजार र तृतिय हुने समूहले समान ३५÷३५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको विधागतर्फ सर्बोत्कृष्ट छात्र तथा छात्रा ५÷५ हजार, अन्य विधागतर्फ वेष्ट स्पाइकर,बेष्ट ब्लकर,बेष्ट डिफेन्डर,बेष्ट सर्भरले १÷१ थान भलिबल प्राप्त गर्नेछन् । भने बेष्ट प्रशिक्षकले रु पाँच हजार प्राप्त गर्ने सहसंयोजक लेखनाथ लम्सालले बताए । प्रतियोगिता सञ्चालन गर्न करिव ११ लाख खर्च हुनेछ भने १२ लाख ५० हजार आम्दानीसहित १ लाख ५० हजार बचत हुने आयोजकले जनाएको छ । २०३७ सालमा स्थापित सृजना बिकास केन्द्रले महिला,बालबलिका,शिक्षा ,स्वाथ्य र खेलकुदको क्षेत्रमा काम गदै आएको छ । प्रतियोगिताबाट बचत रकम खेलकै विकास र विस्तारका लागि कोष निर्माण गर्ने र सृजना विकास केन्द्रद्धारा सञ्चालित बालगृहलाई सहयोग गर्ने जनाइएको छ ।

