काठमाडौं: प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले उक्त आयोगले प्रवेश परीक्षामा मानवीय त्रुटि भएको भनिए पनि सत्य बुझन जरुरी भएको बताउनुभयो । “चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा त्रुटिपूर्ण भयो भनिएको छ”, सांसद कार्कीले भन्नुभयो, “परीक्षामा मानवीय त्रुटि होइन, दानवीय त्रुटि भएको छ, यस्ता त्रुटि गर्नेलाई कडा कानुनी सजाय दिनुपर्छ ।” उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिकित्सा शिक्षा आयोगले अङ्कभारको आधारमा विद्यार्थीको नजिता सार्वजनिक गर्नुपर्नेमा रोल नम्बरको आधारमा गरिएकोप्रति सम्बन्धित निकायको ध्यानार्षण गराउनुभयो । “कसरी रोल नम्बरका आधारमा आयो, मानवीय गल्ती भनेर आइरहेको छ, विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो”, उहाँले भन्नुभयो, “झण्डै तीन हजार विद्यार्थीलाई मेडिकल साईन्सको विषयमा यस्तो गञ्जागोल बनाउन हुँदैन, मेरिटका आधारमा पढ्न पाउने व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु ।” राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको नजिता प्रकाशन गरेको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । “परीक्षामा भएको प्राविधिक त्रुटि भनेको के हो ? त्यो भविष्यमा दोहोरिन नदिने के गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सबैले परीक्षा दिन काठमाडौँ आउने व्यवस्थाको पनि अन्त्य गर्नुपर्छ, परीक्षामा प्राविधिक त्रुटि भएको भनिएको छ, त्यो के भएको हो रु भावी दिनमा नदोहोरिन के गर्नुपर्छ ?” आयोगले यही भदौ १ गते परीक्षा लिएर १४ गते निकालेको नतिजाप्रति सांसदहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा योग्यता क्रमको आधारमा गर्नुपर्नेमा त्यसो नगरिनु गम्भीर त्रुटि भएको सांसदहरुको भनाइ छ ।
काठमाडौं: सेप्टेम्बर ४ तारिखलाई गणतन्तन्त्र कोरियाले एक विशेष दिनका रुपमा लिने गरेको छ । यस दिन तेक्वान्दो खेलले ओलम्पिक खेलका रूपमा आधिकारिकता पाएको दिनको सम्झनामा तेक्वान्दो दिवसका रुपमा मनाइन्छ । एक साताअघि अगस्त ३० तारिखलाई नेपालको एक विशेष ऐतिहासिक दिनका रुपमा लिन सकिन्छ । नेपालले ओलम्पिक खेल तथा पाराओलम्पिक खेलकुदमा सहभागिता जनाउँदै आएकामा पहिलोपटक पदक जितेको दिनलाई इतिहासको पानामा लेखिनेछ भन्ने लाग्छ । नेपाली चेली पलेशा गोवद्र्धनले तेक्वान्दो खेलमा हासिल गरेको यो ऐतिहासिक र बहुमूल्य उपलब्धिले विश्व समुदायमा नेपालको छवि उच्च बनाएको छ । यही जुलाई महिनाको २३ तारिखको दिन नेपालस्थित गणतन्त्र कोरियाली दूतावासमा नेपाल तेक्वान्दो सङ्घका अध्यक्षलगायतका पदाधीकारीसहित पलेशासँग भेट्ने अवसर मिलेको थियो । दश वर्षको उमेरमा तेक्वान्दो खेल्न थालेकी यी खेलाडी विश्वस्तरीय खेलाडीका रूपमा धेरै प्रतियोगितामा सक्रिय सहभागिता जनाएको जानकारी मलाई रहेको छ । वार्तालापका क्रममा मैले पलेशालाई एक शान्त, निर्भिक तथा आत्मविश्वासी महिला तेक्वान्दो खेलाडीका रुपमा लिएको थिएँ । पेरिस पाराओलम्पिक खेलकुदमा पलेशालगायत दुई तेक्वान्दो खेलाडीलाई पेरिसबाट नेपाली जनतालाई सुखद समाचार दिलाउनका लागि तथा आफ्नो कुशल क्षमता प्रदर्शन गर्न हौसला प्रदान गरेको थिए । आज नेपालका तर्फबाट फरक क्षमता भएकी महिला खेलाडीका तर्फबाट नेपालको शिर उच्च राख्न सफल भएको क्षणलाई ओलम्पिक इतिहासले अवश्य न्याय गर्नेछ भन्ने लागेको छ । मलाई यत्ति धेरै खुसी मिलेको छभने सम्पूर्ण नेपाली जनतालाई झनै खुशी दिलाएको छ भन्ने लाग्छ । बधाई छ खेलाडी पलेशा गोवद्र्धनलाई, अनि प्रशिक्षक कविराज नेगी लामा, तेक्वान्दो सङ्घ तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई । नेपाल तेक्वान्दो सङ्घका अनुसार नेपालमा तेक्वान्दो खेल खेल्नका लागि आधिकारिक रुपमा दर्ता भएका खेलाडीको सङ्ख्या झन्डै एक लाख ५० हजार रहेको छ । तीमध्ये महिला खेलाडीको सङ्ख्या २० प्रतिशत हाराहारी रहेको अनुमान गरिएको छ । नेपालमा तेक्वान्दो खेल्नेको सङ्ख्या बढ्दै गएर यस खेलको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउने विश्वासका साथ खेल धेरै व्यक्तिले मन पराएका छन् । सन् १९८८ मा दक्षिण कोरियाको सउलमा भएको ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक जितेका थिए, जुन विषय आजका दिनमा पनि सुखद क्षणका रुपमा लिइन्छ । नेपालमा तेक्वान्दो खेलको सुरुआत प्रहरी–सेना तथा अन्य सुरक्षा निकायमा शारीरिक प्रशिक्षणको माध्यमबाट भएको जानकारी रहेको छ । तर आज यस खेलको महत्व आम जनतामाझ प्रचार भएको छ । सन् १९८३ मा औपचारिक रुपमा नेपाल तेक्वान्दो सङ्घको स्थापनापश्चात् खेलको विकासमा उल्लेख्य भूमिका खेलेको देखिन्छ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले तेक्वान्दो खेलको प्रवद्र्धनका लागि हरेक दुई वर्षमा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएको छ । गत सेप्टेम्बरमा करिब एक हजार आठ सय तेक्वान्दो खेलाडीको सहभागितामा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो । मलाई त्यस क्षणमा साना नानी–बाबुहरु तथा युवाहरुको तेक्वान्दोप्रतिको उत्साह तथा प्रेम देखेर हर्षित भएको क्षण सबै सामु साट्ने अवसर मिल्दा खुसी छु । नेपालमा तेक्वान्दो खेल प्रशिक्षकको भूमिकामा एक कोरियाली प्रशिक्षक ख्वन यङदाल सन् १९९८ देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा तेक्वान्दो प्रशिक्षकको भूमिकामा रहनुभएको छ । तेक्वान्दो खेलको लामो पृष्ठभूमि रहेको छ । कोरियाली युद्धपश्चात् परम्परागत कोरियाली मार्सल आर्टलाई जोडेर तेक्वान्दोलाई व्यवस्थित रूपमा अभ्यास गर्न थालियो । तेक्वान्दो खेलको प्रकृति युद्धकलासँग पनि जोडिएको हुँदा, प्रशिक्षणको आधारभूत उद्देश्य आफैँलाई सुरक्षित राख्नु रहेको छ । अन्तिम लक्ष्य थप गहन प्रशिक्षणमार्फत आफ्नो पूर्ण क्षमतालाई कलात्मक रुपमा प्रदर्शन गर्नु हो । तेक्वान्दो प्रशिक्षण प्रक्रिया बारम्बार अभ्यासमार्फत शरीर र दिमाग परिवर्तन गर्ने प्रक्रिया पनि हो र कालान्तरमा र यस खेलको माध्यमबाट विश्वसामु खेलाडी तथा देशको परिचय गराउनु नै हो भन्ने लाग्छ । तेक्वान्दोको भावनामा ‘आफू माथि विजय गरी विश्वलाई सकारात्मक सन्देश फैलाउँ’ भन्ने मान्यता समावेश छन् । तेक्वान्दोका यी मूल्य–मान्यता तथा गुणहरू तेक्वान्दो प्रशिक्षण प्रक्रियामा प्रतिबिम्बित हुन्छन्, जस्तै कि प्रशिक्षण प्रक्रियाको समापनपश्चात् खेलाडीले एक अर्कालाई अभिवादन गर्ने, प्रशिक्षकलाई खेल सुरु हुनु अगाडि र समापनपश्चात् गर्ने शिष्टाचार आदि कोरियाली परिवारमा विगतदेखि रहँदै आएको आपसी सम्मान र सद्भावको प्रतीकका रुपमा रहेको छ । कोरियाली आमाबाबुले पनि आफ्ना छोराछोरीलाई तेक्वान्दो खेल्नका लागि प्रोत्साहन दिनाका कारणका रुपमा शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनु, निडरपनको विकास गर्नु, शिष्टता, सद्भाव, स्वयंसेवाको भावनालगायतको विकास गर्नु पनि रहेको छ । भनेको नमान्ने बच्चाहरु पनि तेक्वान्दो प्रशिक्षणपश्चात् अनुशासित भएको बारेमा धेरै सुनिन्छ । तेक्वान्दो खेललाई दुई तरिकामा तालिम दिइन्छ । पहिलो पुम्सेः जसमा आधारभूत चालहरू समावेश हुन्छन् र अर्को ख्यरुगी रहेको छः जुन तेक्वान्दो अभ्यासकर्ताहरूबीचको प्रतिस्पर्धात्मक रुपमा खेल्नका लागि खेलाडीलाई तयार गरिन्छ । यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोरियाली तेक्वान्दो प्रतिनिधि मण्डलले नेपाली तेक्वान्दो खेलाडीसँग सीप तथा भावना आदान–प्रदान गर्न तथा प्रदर्शनात्मक कार्यक्रममा सहभागी हुनका लागि यही अक्टोबरको मध्यमा नेपाल आउने योजना बनाएको छ । कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्षमा तेक्वान्दो खेलबाट ओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक प्राप्त भएकामा म अत्यन्त खुसी हुँदै यस सुखद क्षण सम्पूर्ण नेपालीहरुसँग बाँड्न चाहन्छु । कोरियाली संस्कृतिको महत्वपूर्ण हिस्सा बनेको तेक्वान्दोलाई नेपालमा थप फैलाउन तथा यस खेलको माध्यमबाट विश्वसामु नेपालको उपस्थिति थप मजबुत गराउनका लागि गणतन्त्र कोरिया सरकारले सहकार्य जारी राख्ने योजना बनाएको छ । पेरिसबाट पलेशाको ऐतिहासिक पदक प्राप्तिको खबरले नेपाली जनतामा आशा जगाएको छ । त्यसैगरी गर्न सकिन्छ भन्ने भावनाले स्थान पाएको छ । म पलेशालाई प्रशिक्षणका क्रममा उनको मेहनेत–परिश्रम, उनले बगाएको पसिना र पेरिसमा पदक प्राप्त गर्ने दृढ विश्वास, धैर्यता, साहस, आफूलाई जित्नु परेको मानसिक शक्तिप्रति मेरो आत्मादेखि सम्मान व्यक्त गर्दछु । नेपाल सरकार खेलकुद मन्त्रालय तथा सम्बन्धित विभागको समन्वयमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हासिल गर्दै जानेछन् भन्ने विश्वास लिएको छु । नेपालका हरेक क्षेत्रमा पलेशाजस्ता व्यक्तिहरु हुनुहुन्छ, उहाँहरु सबैको प्रयासले विश्वसामु नेपालको छवि उच्च गर्नका लागि भूमिका खेल्नेछ भन्ने लागेको छ । कोरिया सरकारले पनि नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रको विकासमा हातेमालो गर्दै जानेछ । (नेपालका लागि गणतन्त्र कोरियाली राजदूतसँग गरिएको कुराकानीमा आधारित)
सिरहा: यहाँको गोलबजार नगरपालिका—१ मुक्सारमा सोमबार राति लुटेराको एक समूहले धनमाल लुटपाट गरेको छ । स्थानीय जागेश्वर रामको घरमा राति १२ बजेको आसपासमा १२/१५ जनाको समूहमा आएका लुटेराहरुले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगेका हुन् । लुटेरा समूहले जागेश्वरलाई कुटपिट गरी उहाँको मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिनुभयो । घटनालगत्तै स्थानीयले मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि चार घण्टा पछिमात्र प्रहरी आइपुगेको बताएका छन् । इलाका प्रहरी कार्यालय गोलबजारले भने सामान्य चोरीको घटना भएको जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले भन्नुभयो, “सामान्य चोरी भएको भन्ने सूचना आएको थियो । हामीले प्रहरी टोली खटाइसकेका छौँ । थप अनुसन्धान गर्दै छौँ ।” सिरहाको लहान, धनगढीमाई, गोलबजार लगायतका स्थानमा पछिल्लो समय चोरी तथा डकैतीका घट्ना बढेका छन् । खासगरी घरमै धनमाल राख्ने वित्तीय साक्षरता कम भएका दलित समुदायमा यस्ता घट्ना बढ्दो छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा सचिवालय बैठकबाट तयार पारेको पार्टी कामको योजना र समसामयिक राजनीतिक अवस्थाका विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई अझ व्यवस्थित गर्ने, बाँकी जिल्ला अधिवेशन तथा पालिका अधिवेशन समयमै व्यवस्थित रूपमा सम्पन्न गर्ने उल्लेख छ । यसैगरी, बैठकमा कार्ययोजनामा पार्टी प्रवेश गर्नुभएकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने उल्लेख छ । पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्नेसमेत कार्ययोजनामा समेटिएको छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कूलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको जनाइएको छ । साथै कार्ययोजनामा प्रचार कार्यलाई थप व्यवस्थित बनाउने र कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने कुरा उल्लेख गरिएका छन् । यस्तै, पार्टीको हरेक वर्षका लागि तय भएका र बाँकी रहेका काम पार्टीको इतिहास लेखन, ‘सेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेलगायत महत्वपूर्ण कार्य कार्ययोजनामा समेटिएको प्रमुख गौतमले जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ । शून्य समयमा बोल्दै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । सांसद भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गनुपर्नेमा जोड दिनुभयो । यस्तै, सांसद उर्मिला अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीले केही दिनपहिले प्रहरी प्रमुखका सम्बन्धमा दिनुभएको भनिएको अभिव्यक्तिका बारेमा सत्यतथ्यसहित यथार्थ कुरा सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद नारायणदत्त मिश्रले ब्राजिलको विमानस्थलमा नेपाली अलपत्र परिरहेको तथा रसियामा पनि नेपालीको अवस्था उस्तै रहेको बताउनुभयो । सांसद मदनकुमारी शाह गरिमाले रसियाले गैरकानुनी रुपमा नेपाली नागरिकलाई सेनामा भर्ना गरेको र हालसम्म ४० नेपालीको निधन भइरहेको पाइएकाले तत्काल नेपाली नागरिकको जीवन सुरक्षाका लागि पहल गर्न माग गर्नुभयो । सांसद युवराज शर्माले सङ्घीय प्रणालीलाई सुदृढ बनाउनका लागि प्रहरी समायोजनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियनल लिग खेल्ने भएकी छिन् । गोलकिपर एञ्जिलाले ग्रिसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्ने भएकी हुन् । २९ सेप्टेम्बरबाट लिग सुरु हुँदै छ । एञ्जिलाले १ वर्षका लागि सम्झौता गरेकी छन् । यससँगै उनी युरोपमा व्यावसायिक फुटबल खेल्ने दोस्रो खेलाडी बनेकी छन् । यसअघि साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन क्लब ग्वेङगाम्फबाट दोस्रो सिजन खेल्दै छिन् । एञ्जिलाले यसअघि भारत र पाकिस्तानबाट पनि व्यावसायिक खेल खेलिसकेकी छन् । एञ्जिला एपीएफमा आबद्ध भएर फुटबल खेल्दै आएकी छन् ।
रामबहादुर थापा/नवीन लामिछाने, गण्डकी: पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । ६ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०७८/७९ मा छजनाको लेक लागेर मृत्यु भएकामा आव २०७९/८० मा १२ जनाको लेक लागेर मृत्यु भएको थियो । कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आवमा १४ जनाले लेक लागेर मुस्ताङमा ज्यान गुमाए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् । १४ मध्ये दश भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक रहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । “मुस्ताङमा लेक लागेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मुक्तिनाथमा लेक लागेका पर्यटकको प्रारम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा आएको छ ।” पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताउनुभयो । “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”, उहाँले भन्नुभयो, “यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ ।” काठमाडौँ उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रदर्शक गुरुङले बताउनुभयो । “पदयात्रा गर्नेहरु ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैपटकमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ”, उहाँले भन्नुभयो । मुक्तिनाथ समुद्र सतहदेखि तीन हजार सात सय १० मिटर र तिलिचो ताल चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक गुरुङको भनाइ छ । उहाँले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाउनुभयो । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताउनुभयो । नयाँ र टाढाको गन्तव्यस्थल छभने एक्लै पदयात्रा गर्न नहुने उहाँको भनाइ छ । “पदयात्रा गर्दा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ”, उहाँले भन्नुभयो, “पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने सरकारको नीति कार्यान्वयन हुन सकेमा पदयात्रामा आउने जोखिम घटाउन सकिन्छ ।” उहाँका अनुसार नेपालको हिमालय क्षेत्रमा झन्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् । पदयात्रामा जाँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्ने गुरुङले बताउनुभयो । कतिपयलाई तीन हजार मिटरदेखि नै ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिने हुँदा एकै दिन धेरै नहिँडी विश्राम लिँदै पदयात्रा गर्नुपर्ने उहाँको भनाइ छ । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यान जाने गरेको बताउनुभयो । “लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ”, उहाँले भन्नुभयो, “लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ ।” लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिने गरेको प्रमुख चिकित्सक प्रधानको भनाइ छ । “लेक लाग्न नदिन केही औषधि पनि खान सकिन्छ, तर सामान्य लक्षण देखिए पनि तल फर्किनुपर्छ, सावधानी अपनाइएन भने स्वास्थ्य अवस्था जटिल बन्न सक्छ, समयमा उद्धार र उपचार हुन सकेन भने मत्यु नै हुन्छ”, उहाँले भन्नुभयो । उहाँले स्थानीय वातावरणमा अनुकूलन नभई एकै पटकमा मुक्तिनाथलगायत उच्च हिमाली भेगमा जाँदा भारतीयलगायत विदेशी पर्यटकको लेक लागेर मृत्यु हुने गरेको बताउनुभयो । “मुक्तिनाथ जाँदा एक दिन जोमसोममा विश्राम लिएर जानु उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो, “हिमाली भेगको यात्रामा जाँदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरियाले लेक लागेका पर्यटकलाई हेलिकप्टरबाट उद्धार गरेर बचाइएको बताउनुभयो । आयोजना कार्यालयले गत वर्षदेखि लेक लागेका घटनाको तथ्याङ्क राख्न सुरु गरेको उहाँको भनाइ छ । “लामो दूरीको पदयात्रामा निक्लँदा एक्लै जानु हुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँड्नुपर्छ”, डा कडरियाले भन्नुभयो, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।” अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राका क्रममा गत आवमा लडेर तीन विदेशी पर्यटकको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । कास्कीमा स्विडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको उहाँको भनाइ छ । उहाँका अनुसार मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता हुनुभएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको थियो । लेक लागेर मात्र नभई अन्य घटनाबाट पनि विदेशी पर्यटकले ज्यान गुमाउने गरेका छन् । गत असोजमा डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसको मृत्यु भएको थियो । गत वर्ष नै नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एन्ड रेष्टुराँमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृतावस्थामा फेला परेको ‘एक्याप’ले जनाएको छ । मनाङ–खाङ्सार–तिलिचो पदमार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर ३५ वर्षीय भारतीय पर्यटक मोहमद रिजीमको ज्यान गएको थियो । मनाङ ङिस्याङ–६ मा लेक लागेर धादिङ गङ्गाजमुना गाउँपालिका–५ फूलखर्कका ३५ वर्षीय हरि अधिकारीको मृत्यु भएको थियो । तिलिचो आधार शिविर जाने क्रममा दाङको घोराही उपमहानगरपालिका–९ का राम डाँगीको मृत्यु भएको ‘एक्याप’को तथ्याङ्कमा उल्लेख छ । मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका ‘एक्याप’को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मनाङको भू–बनोट जटिल रहेकाले पथप्रदर्शकविना पदयात्रा गर्नु जोखिमपूर्ण हुन्छ, मौसमको अनुकूलता हेरेर मात्र मनाङको यात्रा तय गर्नुपर्छ ।” मनाङ भित्रने अधिकांश पदयात्री पर्यटक तिलिचो ताल हुँदै थोरङ भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा निस्कने गरेको उहाँले बताउनुभयो । झन्डै पाँच हजार मिटर उचाइमा रहेको तिलिचो ताल र पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोरङ भञ्ज्याङ पार गर्नु जो कोहीका लागि सहज नभएको उहाँको भनाइ छ । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले हिमाली क्षेत्रको मौसमको अनुकूलतालाई ध्यान नदिँदा पनि कतिपय पर्यटकहरु समस्यामा पर्ने गरेको बताउनुभयो । न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने स्वास्थ्य समस्याबारे पर्यटक र यससम्बद्ध सङ्घसंस्था सजग रहनुपर्छ । “मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा लेक लाग्ने समस्याबाट बच्न सकिन्छ”, अध्यक्ष गुरुङले भन्नुभयो । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । त्यसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् । आयोजना कार्यालयका अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । आयोजना प्रमुख डा कडरियाले अघिल्लो आव २०७९/८० को तुलनामा झन्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएको बताउनुभयो । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय १० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार परिपत्र गरिएका अस्पतालहरुमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत छन् । गृह मन्त्रालयले जारी गरेको सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्थाअनुसार सार्वजनिक दिनमा पनि अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । सरकारले अधिकांश निकायबाट सार्वजनिक बिदामा स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासोका आधारमा सार्वजनिक बिदाका दिन पनि बहिरङ्ग सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मैत्रीपूर्ण खेलमा सहयोग गर्ने मुख्य प्रयोजक, संघसंस्था तथा व्यक्तिहरुलाई आभार प्रकट गरेको छ । फोनिज गण्डकीले रजत जयन्ती मनाउने क्रममा गत साउन २४ गते पत्रकारहरुबीच मैत्रीपूर्ण भलिबल र छेलो प्रतियोगिता राखेको थियो । सो प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्नेहरुलाई खेल उपसमितिको बैठकले आभार प्रकट गरेको हो । प्रायोजक, विशेष सहयोगीलगायत अन्य व्याक्तिहरुबाट नैतिक, भौतिक र आर्थिक सहयोगले कार्यक्रम सफल भएको उपसमितिका संयोजक अर्जुन गाहा ‘सुशान्त’ मगरले बताए । सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा सहयोगी संस्थाहरुसँग दोहोरो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । कार्यक्रममा एमपिजी सोलुसनले मुख्य प्रायोजकका रुपमा सहयोग गरेको थियो । पोखरा–१५ नयाँ गाउँमा रहेको सोलुसनले दृष्टिकोण, रणनीति, रचनात्मकतामा आधारित रहेर डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेको छ । डिजिटल क्षेत्रमा कुशल अनि विशेषज्ञताका साथ आधुनिक प्रचार वृद्धिमा काम गरिरहेको संस्थाको मुख्य प्रायोजनले कार्यक्रम सफल भएको फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले जानकारी दिए । ‘हामीलाई कार्यक्रम गर्नका लागि ठूलो आर्थिक सहयोगको आवश्यकता थियो । त्यही बेला एमपिजी सोलुसनले हृदय खोलेर सहयोग गर्नुभयो । यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनप्रसाद गुरुङलाई विशेष धन्यवाद्,’ उनले भने, ‘डिजिटल क्षेत्रमा काम गरिरहेको संस्थासँग एकोहोरो मात्र नभएर दोहोरो सहयोग रहन्छ । संस्थाले गरेका कामको प्रचार गर्नु हाम्रो पनि दायित्व हुन आउँछ ।’ प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकीले मुख्य सहयोगीका रुपमा साथ दिएको थियो । परिषद्ले ट्रफि, मेडल, प्रमाणपत्र, साउण्ड सिस्टम र प्राविधिक सहयोग गरेको थियो । यस्तै कार्यक्रम सफल बनाउन पोखरा उद्योग वाणिज्य संघ, क्लब सिक्स्टिन, युनाइटेड क्लब पोखरा, कञ्चन डिपार्टमेन्टल स्टोर्स, प्रोमिनेन्ट एजुकेशन कन्सल्टेन्सी, प्याडल नेपाल, पोखरा फुडल्याण्ड, लामा अमृत फाउण्डेशन घान्द्रुक, मोनालिसा पुजा पसल, गुरुङ ग्राफिक्सले आर्थिक सहयोग गरेको थियो । भने, मञ्चका लागि पटवा टेन्ट हाउसले सहयोग गरेको थियो ।