काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

म्याग्दी:   नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।   नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।   मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले लोक्ता बिक्री हुने बताउनुभयो ।   “दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजनाअनुसार १५ वर्षपछि खुला गरिएको छ”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा जङ्गलको लोक्ता जम्मा गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।”   यसअघि मालिका–३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनःसञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो ।   उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हातेकागज उद्योग मात्र सञ्चालनमा छ ।   पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ । माघदेखि वैशाखसम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताउनुभयो । कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उहाँले बताउनुभयो ।   जङ्गलमा गाईवस्तु चराउने क्रममा गोठालाहरूले लोक्ता सङ्कलन गर्छन् ।   बराहताल, बासरातेलगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमले बताउनुभयो ।   “एकजनाबाट अधिकतम रु ३० हजारसम्मको लोक्ता खरिद भएको छ”, उहाँले भन्नुभयो, “एक जनाले सरदर रु १० देखि १५ हजारका दरले आम्दानी गरेका छन् ।”   समुद्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइको जङ्गलमा पाइने अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज तयार पारिन्छ ।   सुकेको लोक्तालाई एक हप्तासम्म पानीमा भिजाउने, पकाएर बनेको लेदोलाई आवश्यकतानुसार विभिन्न आकारको जाली भएको फ्रेममा राखेर घाममा सुकाएपछि नेपाली कागज तयार हुन्छ ।   नेपाली कागजमा लेखेको अक्षर नउड्ने भएकाले लामो अवधिसम्म रहने अभिलेख प्रिन्ट गर्न प्रयोग हुन्छ । अदालत, प्रहरी, प्रशासन, स्थानीय तह, सहकारी, बैंक, वित्तीय संस्थाहरूले महत्त्वपूर्ण प्रतिवेदन, अभिलेख र निर्णय तथा पत्रका लागि नेपाली हातेकागज प्रयोग गर्छन् ।   समुदायस्तरमा चिना, तमसुक लेख्न पनि नेपाली कागज प्रयोग गर्ने चलन छ ।   म्याग्दीमा उत्पादन हुने नेपाली कागज जिल्लाभित्रका साथै, बागलुङ, कास्की र काठमाडौँमा खपत हुने गरेको छ । आकार र तौलअनुसार फरक–फरक मूल्यमा कागज बिक्री हुन्छ ।   सबैभन्दा कम चार दशमलव पाँच ग्रामको एउटा कागजको साढे चार रुपैयाँ पर्छ ।

न्युयोर्क:   संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ ।   भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।

क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।   क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो ।   त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । आज एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।   क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे । ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि एक सय २२ रनको उत्कृष्ट साझेदारी गरे ।   धालिवालले टोलीका लागि सर्वाधिक ८७ रनको योगदान दिए ।   उनले एक सय १३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिए । त्यसैगरी प्रगतले ८३ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाएका थिए । हर्ष ठाकरले १३ रन जोड्दा निकोलस किर्तनले अवितिज ११ रन बनाएका थिए ।   नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए ।   त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए ।   उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीपको एकदिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए । यसैगरी, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए ।   करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।   बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए ।   त्यसैगरी प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मगलबार ओमानसँग खेल्नेछ ।

काठमाडौं:     नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया सङ्गठन समितिको बैठक श्रव्यदृश्यका माध्यमबाट शुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया सङ्गठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट श्रव्यदृश्यका माध्यमबाट जोडिनुभएको छ । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम शृङ्खला हो । योस ँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरु गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य शृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा बृहत् भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।  माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेस प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा युरोप सङ्गठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ । 

रामेछाप:    मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।            सुदूरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आज दिउँसो १ बजे आसपासमा सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।       दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।            अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन् । सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो । 

काठमाडौं:   नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।       प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो ।  जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास गरिएको छ ।  घान्द्रुकको घ्युरीक्युला खोलानजिक अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरिया, अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले डम्पिङ साइडको एक कार्यक्रमका बिच शिलन्यास गरे ।  शिलन्यास कार्यक्रममा बोल्दै अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई प्लाष्टिक र फोहोर मुक्त बनाउने योजना रहेको बताए ।  ‘अन्नपूर्ण संरक्षण क्षेत्रभित्र गण्डकीका १५ वटा स्थानीय तह रहेका छन्, एक्यापको क्षेत्रभित्र रहेका पदमार्गमा पर्यटकहरुले लैजाने प्लाष्टिक र पानी तथा अन्य बोतलहरु जथाभावी फाल्दा प्रदुषण बढेको गुनासो आएको छ’, प्रमुख कडरियाले भने, ‘एक्यापसँग जोडिएका गाउँ तथा पर्यटकीय स्थलहरुलाई चाँडै नै प्लाष्टिक मुक्त बनाउने योजना अनुसार घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास गरिएको हो, अभियान अन्य स्थानमा पनि सुचारु गछौं ।’ एक्याप प्रमुख कडरियाले पर्यटकीय गाउँ घान्द्रुकमा कुहिने फोहोरको व्यवस्थापन भएपनि नकुहिने प्लाष्टिक तथा बोतलहरुको व्यवस्थापन गर्न डम्पिङ साइडको आवश्यक रहेको बताए ।  ‘फोहोरलाई मोहरमा परिवर्तन गर्न नसक्दा फोहोर व्यवस्थापन हाम्रो मुख्य चुनौती बन्दै गएको छ, उनले भने, ‘घान्द्रुकको डम्पिङ साइडमा नकुहिने फोहोरलाई संकलन गरेर पोखरा लैजाछौं जसको ढुवानी खर्च एक्यापले नै व्यहोर्छ , एक्यापले पोखराको ग्रिन भेन्चर संस्थासँग विभिन्न स्थानमा संकलन भएको फोहोरलाई पुनः प्रयोग गर्न सम्झौता गरिसकेको छ ।’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ गुरुङले घान्द्रुक पर्यटकहरुको आर्कषक केन्द्रमा रुपमा रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी रहेको बताए ।  ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य हो, घान्द्रुकलाई सफा सुग्घरसँग थप विकास गर्न सके पर्यटकहरुको आगमन अझै बढ्न सक्छ’ अध्यक्ष गुरुङले भने, ‘घान्द्रुकलाई सफा तथा फोहोर व्यवस्थापनका लागि एक्यापसँगको सहकार्यमा डम्पिङ साइड निर्माण गर्दै छौं, डम्पिङ साइड निर्माण भएसँगै नकुहिने फोहोर व्यवस्थापन गर्न सहज हुनेछ ।’ उनले अन्नपूर्ण क्षेत्रमा भित्र रहेको पदमार्गहरुमा पर्यटकहरुको आगमनसँग फोहोर व्यवस्थापनमा चुनौती थपिएकाले नकुहिने फोहोर व्यवस्थापनका लागि नै डम्पिङ साइडमो निर्माण थालेको बताए ।  ‘डम्पिङ साइड निर्माण गर्न एक्यापले सहयोग गर्ने आश्वासन दिएको छ, हामीले नै डम्पिङ साइड बनाउने योजना अगाडि बढाएर आज शिलन्यास गर्न सफल भएका छौं’, उनले भने, ‘घान्द्रुक हाम्रो पहिचान हो, यसलाई संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी पनि हाम्रो नै त्यसैले घान्द्रुकलाई सफा राख्न डम्पिङ साइड निर्माण गर्न लागेका हौं ।’ उनले यस अगाडि निर्माण गरेको डम्पिङ साइडमा समस्या रहेकाले नयाँ स्थानमा डम्पिङ साइड निर्माण गर्न लागेको बताए ।  अध्यक्ष गुरुङले पोखराको एक संस्थासँग समन्वय गरेर घान्द्रुकमा फोहोरको वर्गिकरण तथा व्यवस्थापनका लागि असोज ९ र १० गते २ दिने तालिमको समेत आयोजना गरिएको बताए ।  घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग (एबिसी), मुल्डे,हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा जाने आन्तरिकक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । घान्द्रुकमा पर्यटकहरुको संख्या तथा बसाई लम्बाउन चक्रिय पदमार्ग, पार्कहरु समेत निर्माण गरिएको छ ।   

काठमाडौं:     बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।      यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।  नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।  नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो । 

गण्डकी:    पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ । क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी पर्ने ठाउँका रुपमा चिनिन्छ । प्राकृतिक सोन्दर्यले भरिपूर्ण पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’को सहर पनि भनिन्छ ।      माछापुच्छ्रे हिमाल फेवातालमा पौडी खेल्ने यहाँको प्राकृतिक विशिष्टतालाई विभिन्न कलाकार तथा साहित्यकारले आफ्ना कला र साहित्यमा चित्रित गर्दै आएका छन् ।  कलाप्रेमीले यहाँको सौन्दर्यतालाई कलाका माध्यमबाट प्रस्तुत गर्दै विभिन्न समयमा प्रदर्शनीसमेत गर्दै आएका सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरुङले बताउनुुभयो । समूहको सक्रियतामा कला लक्षित विभिन्न कार्यक्रमका साथै वर्षको एकपटक मनुसन कला प्रदर्शनी गर्दै आइएको उहाँले जानकारी दिनुुभयो ।      “समूहको सक्रियतामा बर्सेनी गर्दै आएको प्रदर्शनीअन्तर्गत यस वर्ष असोज ३ गतेदेखि ‘चौँथो सामूहिक कला प्रदर्शनी २०८१’ पोखरा आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ”, गुरुङले उहाँले भन्नुुभयो, “यस प्रदर्शनीमा अग्रज तथा अनुज पुस्ताका ४७ कलाकारबाट सिर्जित ५५ कलाकृति प्रदर्शनमा राखिएका छन् ।” प्रदर्शनीमा पुगेका जो कोहीले भित्तामा टाँसिएका हरेक कलाकृतिलाई अभिरुचिपूर्वक अवलोकन गरिरहेका उहाँले बताउनुभयो ।      देशका विभिन्न स्थान र परिवेशलाई आफ्ना कलामा प्रस्तुत गरिएका कलाकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कलाका क्षेत्रमा लामो समयदेखि अनवरत लाग्नुभएका बुद्धि गुरुङ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थलगायत अनुज पुस्ताका युवा कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका उहाँले उल्लेख गर्नुभयो ।       प्रदर्शनीमा कलाकार गोपाल दराईले तयार पार्नुभएको ओखलढुङ्गाको कलाकृतिदेखि प्राज्ञ नगेन सिंहले तयार गर्नुभएको बैतडीस्थित पात्ताल भुवनेश्वर गुफालगायत कलाकृतिले विभिन्न स्थान र परिवेशलाई जीवन्त प्रस्तुत गरेको देखिन्छ । नेपालको गहिरो गुफाका रुपमा पात्ताल भुवनेश्वर परिचित छ । त्यस्तै वरिष्ठ कलाकार बुद्धि गुरुङको पशुपतिनाथ, सौगात गुरुङको फेवाताललगायत कला प्रदर्शनीका आकर्षण बनेका छन् ।      ग्यालरी छिरिसकेपछि कलाकार जित गुरुङले तयार गर्नुभएको गुरुङ पैडी ९ज्योतिषि० को मूर्तिले जो कोहीको मन छुने गरेको छ । गुरुङ समुदायका मानिसले आफ्नो जन्म, मृत्यु, विवाहलगायत संस्कार, शुभ–अशुभ कार्यमा पैडीबाट सेवा लिने विषयलाई उक्त मूर्तिकलामार्फत जानकारी दिन खोजिएको छ ।       हालै उक्त मूर्ति तयार गरेको जानकारी दिँदै कलाकार गुरुङले आफूले यस्ता विभिन्न कलाकृति तयार गरिरहेको बताउनुभयो । प्रदर्शनीमा डिबी गुरुङले पानी रङ्गमा तयार गर्नुभएको कास्कीका पर्यटकीय गुरुङ गाउँहरू घान्द्रुक, ताङ्तिङका कला राखिएका छन् । हिमाली तथा लेकाली जीवनलाई ती कलाकृतिले जीवन्त चित्रण गरिरहेका छन् ।       त्यस्तै दुर्गा केसीको पदयात्रा, सङ्गीता घिमिरेको बुद्धलगायत कला प्रदर्शनीमा सजाइएका छन् । अमृत परियारले तयार गर्नुभएको माछापुच्छ्रे हिमालसँगै रहेको चौरी, लोकप्रसाद गुरुङको रोपाइँ, वामन चालिसको क्यारिकेचरले समाजका विविधतालाई प्रस्तुत गर्न खोजेको देखिन्छ ।       प्रदर्शनी सुरु भएयता अवलोकन गर्न आउने दर्शकको सङ्ख्या दिनप्रतिुदिन बढ्दै गएको युवा कलाकार स्मृति गुरुङले बताउनुुभयो । पछिल्ला समयमा कलाकारप्रति धेरै युवाको आकर्षण बढ्दो रहेको पाइएको भन्दै उहाँले कक्षा १२ को परीक्षा दिएर कला सिकिरहेको जानकारी दिनुुभयो ।       पछिल्ला समयमा पठन संस्कृति हराउँदै गएजस्तै कलाप्रतिको आकर्षण पनि घट्दै गएको समूहका अध्यक्ष गुरुङले कलाप्रति युवाको आकर्षण बढाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउनुुभयो ।  “कला सिर्जनाप्रति पछिल्लो समयमा आकर्षण घट्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “यसतर्फको आकर्षण बढाउँदै सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले प्रर्दशनी आयोजना गरेका छौँ । यसबाट युवामा सकारात्मक प्रभाव रहेको अपेक्षा गरेका छौँ ।”      कला क्षेत्रको विकासका लागि करिब दुई दशकदेखि सिर्जनशील कलाकार समूहमा आवद्ध भई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हाल समूहमा ५० जना कलाकर्मी आवद्ध छन् । यही असोज ३ गतेदेखि सुरु भएको प्रदर्शनी असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।