काठमाडौं:    कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा आज निरिह लाओसलाई ९–० को फराकिलो अन्तरले हराएको छ । अनिता बस्नेत, सरु लिम्...

पर्वत:   जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् ।   जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् ।   कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिनुभयो ।   गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ गते मोदी गाउँपालिका–५ बाजुङमा दुईवटा चितुवा मृत फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो ।   गत वैशाख १८ मा कुश्मा–९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा–२ खुर्कोटमा एउटा पोथी चितुवा मृतावस्थामा फेला परेका कार्यालयले जनाएको छ ।   वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त बासस्थान र आहारको व्यवस्था मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको सङ्ख्यामा वृद्धि हुँदै गएको सापकोटाले बताउनुभयो ।   “गाउँघरमा रातिको समयमा पशचौपायामाथि चितुवाले आक्रमण गर्ने क्रममा मृत्यु भएको हुनसक्छ । मृत भेटिएकामा बच्चा चितुवा पनि छन्, यसको कारण आहारको खोजी हुनसक्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । मृतावस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो ।   “अहिले खाद्य चक्रमा समस्या आइरहेकाले तिनीहरूको मृत्यु भएको हुन सक्छ । कोही पानी खान जाँदा पोखरीमा डुबेर मरेको पनि भेटियो । बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकाले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन”, उहाँले भन्नुभयो ।   चितुवाका बच्चासमेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय बासस्थानमा नफर्कंदा बच्चाहरू भोकले मरेको हुनसक्ने सापकोटाको भनाइ छ ।   आहाराका लागि घाँसेमैदान आवश्यक पर्ने भन्दै उहाँले पहाडी वनमा त्यति धेरै घाँसे मैदान नहुने, हरिण, मृगलगायत जनावरको सङ्ख्या कमी हुँदै जाँदा खाद्य सङ्कट परेको हुन सक्ने उहाँले बताउनुभयो ।   पर्वतमा आव २०७९/८० मा नौवटा चितुवा मृतावस्थामा उद्धार गरिएको थियो । उक्त वर्ष दुई चितुवाको जिउँदै अवस्थामा उद्धार गरिएको थियो ।

काठमाडौँ:    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।   कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने बढेको छ ।   ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७५ अङ्कले उकालो लागेर पाँच सय ३३ दशमलव ८६ मा पुगेको छ ।   कूल चार करोड नौ लाख ५१ हजार सात सय २० कित्ता शेयर रु १९ अर्ब १६ करोड छ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् ।   नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।   त्यस्तै, एसबिएल डिवेञ्चर १०, एनबिबिएल डिवेञ्चर तीन दशमलव ९५, बोटलर्स नेपाल बालाजु तीन दशमलव ९२, राष्ट्रिय बीमा कम्पनी तीन दशमलव ७३ र सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।

काठमाडौँ:   नेपाली सेनाले तनहुँको घाँसीकुवामा खसेको पहिरो हटाउने कार्य तीव्र पारेको छ ।   यही भदौ ४ गतेदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।   “यही भदौ ५ गते साँझ उक्त राजमार्गको मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा पहिरो गई सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ नेपाली सेना परिचालित भएको र पहिरो हटाउने कार्य जारी रहेको छ”, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय निकायको सहयोगमा पहिरो हटाउने कार्य भइरहेको हो ।   राजमार्गको करिब एक सय ३० मिटर क्षेत्रफलमा फैलिएको उक्त पहिरोमा रहेका रुख नेपाली सेनालगायत अन्य सुरक्षा निकायले हटाएको छ ।   एक्स्काभेटरको प्रयोग गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।

ढोरपाटन:   धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ ।   यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे ।   तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् । केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् ।   हिजोआज कलाकारहरुलेसमेत यानीमाया र सुनिमाया भाका रेकर्ड गर्न छोडेका छन् । मेला, महोत्सव, चाडपर्व र मेलापातमा गाइने यी भाका लोप हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् ।   हिजोआज चाडपर्व र मेला महोत्सवमा रेकर्डेड गीत बज्छन् ।   दोहोरीगीत आयोजना हुने कार्यक्रममा पनि यानीमाया, सुनिमाया भाका समावेश हुँदैन । सामूहिक रुपमा महिला र पुरुष भएर गाइने यी गीत नयाँ पुस्ताले गाउन जान्दैनन् ।   पाका पुस्ताबाट सिक्नसमेत रुचि राख्दैनन् । धौलागिरि क्षेत्रको बागलुङ, म्याग्दीलगायतका जिल्लामा यो भाका निकै लोकप्रिय मानिए पनि संरक्षण हुनसकेको छैन । यानीमाया र सुनिमाया गीत आदिवासी जनजाति समुदायमा बढी प्रचलित मानिन्छ ।   पछिल्लो समय बजारमा आएका आधुनिक, पप, -याप लगायतका गीतले यानीमाया, सुनिमाया ओझेलमा परेको धेरैको बुझाई छ ।   यानीमाया गीत एक जनाले उठान गर्ने र समूहका अन्य कलाकारले गाउने गरिन्छ । दुईदशक अगाडि मेला महोत्सवमा सबैभन्दा बढी गाइने यानीमाया अहिले गुञ्जिन छोडेको ढोरपाटन नगरपालिका–९ का ७७ वर्षीय गुमानसिंह पुनले बताउनुभयो ।   पहिले ठाडोभाका, झ्याउरे र सालैजो भाका बढी प्रचलित रहेको सुनाउँदै अहिले ती भाका कहीँकतै सुन्न नपाइने उहाँको भनाई छ ।   अहिलेका युवायुवतीले मौलिक गीत छोडेर हिन्दी र अङ्ग्रेजी सुन्न थालेपछि जनजाति समुदायको पहिचान बोकेको यानीमाया, सुनिमाया भाका लोप भएको उहाँको गुनासो छ ।   “अब म चार बीस (८०) पुग्न लागे, अहिले पनि अलिअलि यानीमाया, सुनिमाया गीत गाउन मन लाग्छ, मेरो दाँैतरी धेरैले छाडेर गए, यानीमाया, सुनिमाया गीतले जीवन बोल्थे, माटो बोल्थे, प्राण भर्थे, माया प्रेमका भाव बोल्थे, तीन रात, तीन दिन गाएर पनि थाकिँदैनथ्यो, सकिँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले त त्यस्ता गीत कसैले गाउँदैनन्, गाउने मान्छे पनि छैनन्, कहिलेकाहीँ मेरा छोरा नातिलाई सुनाउँदा यस्तो पनि गीत हुन्छ भनेर गिज्याउँछन् ।”   गाउँदा गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरीगीत भन्दा फरक हुन्छ । गीतको बीच–बीचमा ‘यानीमाया÷सुनिमाया’ जोडेर गाइने हुँदा यसलाई ‘यानीमाया’ र ‘सुनिमाया’ गीत भनिएको निसीखोला गाउँपालिका–६ की ६६ वर्षीया बिमला बुढा मगरले बताउनुभयो ।   आफ्नो पालामा तरुनी तन्नेरी भेट हुँदा र रोधी बस्दा यानीमाया गीत गाउने गरेको स्मरण गर्दै अहिले रोधी बस्न छोडिएको र त्यस्ता गीत लोप हुँदै गएको उहाँको भनाइ छ । केही वर्षयता गाउँ–गाउँमा मोबाइल, रेडियो र टेलिभिजनको पहुँच पुगेपछि मौलिक गीत लोप भएको बुढा मगरको अनुभव छ ।   बुढा मगरले भन्नुभयो, “हाम्रो बाउ, बाजेले निकै गाउनुहुन्थ्यो, यानीमाया हामीले उहाँहरुबाटै सिकेका हौँ, तर हामीपछिका पुस्ताले चासो दिएनन्, यो गीत अरुभन्दा गाउन अलि गाह्रो हुन्छ, तर सिक्ने र गाउने हो भने निकै रसिलो र मार्मिक हुन्छ, पहिले–पहिले रोधी बस्दा यानीमाया गाउने चलन थियो, गाउँदा गाउँदै कतिको त विवाहसमेत हुन्थ्यो ।”

सुदूरपश्चिम:    दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् ।   जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।   डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ ।   डुबानको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालये सूचना जारी गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ ।   कटैनी, शिवगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायत नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासको बस्तीमा डुबानको समस्या भएको हो ।   डुबानबाट बढी प्रभावित कैलारी गाउँपालिका—५ को मनिकापुरका कतिपय घरपरिवारको खाद्यान्न लत्ताकपडालगायत समान भुइँतलाबाट माथिल्लो तल्लामा राखेर भिज्नबाट जोगाइएको छ । डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात विताएका छन् ।   डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ ।   घोडाघोडी नगरपालिका—९ मा शिवगङ्गा नदीको बहाव बस्तीमा पसेपछि भएको डुबानले महादेवा, कम्दा, भगवानपुर, शङ्करपुरलगायत क्षेत्र डुबानमा परेका छन् ।   पूर्वपश्चिम हुलाकी राजमार्गको कैलारी सडक खण्ड बस्तीको भूभागभन्दा अग्लो निर्माण गरिएको कारण पानी थुनिएर आसपासको बस्ती डुबानमा परेको स्थानीयवासीले बताएका छन् ।   “पानीको निकास हुन पाउनेगरी हुलाकी सडक निर्माण गर्नुपर्नेमा त्यसो नगरिएकाले आफूहरुले बर्सेनि डुबानको समस्या झेल्नु परेको छ,” स्थानीयवासी ठाकुर चौधरीले भन्नुभयो, “पानीको निकास गरेर मात्र विकास गर्नुप¥यो ।”   गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले डुबानबाट प्रभावित हुनेहरुको वडाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, प्रहरी लगाएको टोली उद्धार राहतमा जुटिरहेको बताउनुभयो ।   उहाँले गाउँपालिकामा उपलब्ध साधन स्रोतका आधारमा डुबान, कटानको समस्या समाधान गर्न नसकिने भएकाले सङ्घ र प्रदेश सरकारले नदी तटबन्धनजस्ता ठूला योजना ल्याउन जरुरी भइसकेको बताउनुभयो ।   अविरल वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रदेश सरकारका कतिपय मन्त्रालयलगायत सरकारी कार्यालय र सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ ।   दुई दिनदेखिको वर्षासँगै कैलालीको मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडालगायत नदी र खोलामा पानीको बहाव बढेको छ ।   डुबानका कारण विस्थापित स्थानीयवासीका लागि कैलाली जिल्लाको पूर्व—पश्चिम हुलाकी राजमार्गअन्तर्गतको केही ठाउँको सडक सुरक्षित ‘सेल्टर’ (बासस्थान) बन्दा कतिपय ठाउँको सडक भने डुबान हुने कारक पनि बनेको देखिएको स्थानीयको भनाइ छ ।   जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा विस्थापित हुने स्थानीयवासी यसै राजमार्गमा त्रिपाल टहरा बनाएर बस्ने गरेका छन् ।

काँक्रेविहार (सुर्खेत):   बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।   मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिनुभयो ।   बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो ।   उक्त जीप धनी मल्ल आफैँ हुनुहुन्थ्यो । मल्लका दाई नाता पर्ने रोशन शाहीले भन्नुभयो, “रमेशले जीप किनेको चार/पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।”   दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो ।   जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ ।   प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ । 

देउखुरी:   घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।   प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताउनुभयो ।   उहाँले भन्नुभयो, “सुतली बम चर्को आवाजमा पड्केको थियो ।”   प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् ।   प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।   यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।

काठमाडौँ:  नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।   स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना घटनास्थल पुगेको थियो ।    नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कैलाली:   कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।   भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।   जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।   भजनीमा ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए। हसुलिया गौरीगंगा सुखडमा डुबान भएको छ।   कैलारीका केही परिवार वडा कार्यालयमा बसेका छन्। कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीया लोकमाया चौधरीलाई बाढीले बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।   अहिले पनि कैलालीमा वर्षा भइरहेको छ भने साना ठुला नदीमा पानीको वहाब बढिरहेको छ। स्थानीय प्रशासनले सूचना जारी गरेर बाढीको जोखिम क्षेत्रमा रहेका स्थानीयहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।