काठमाडौं: विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, र...

काठमाडौं:    राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरूले यसका लागि कानुन कार्यान्वयनमा जोड दिनुभएको छ ।  बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य पूजा चौधरीले मिटरब्याजीको कानुन बने पनि न्याय नपाएको भन्दै कानुन कार्यन्वयन हुनुपर्नेमा जोड दिनुभयो । पीडितले छिटो न्याय पाउनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रियसभा सदस्य रुक्मणि कोइरालाले तनहुँमा भारतीय बस खसेर भएको दुर्घटना तथा खोटाङबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनामा परेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि सरकारले पहल थाल्नुपर्ने सुझाव दिनुभयो ।  सांसद रेणु चन्दले सुदूरपश्चिम क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । “सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य बडिमालिका र त्रिवेणी क्षेत्रमा राम्रो सञ्चार सुविधा, खानेपानीको पहुँच, अन्य पूर्वाधारको विकास हुनुपनर्छ”, उहाँले भन्नुभयो ।  सांसद विष्णुकुमारी सापकोटाले अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडापन रोक्नुपर्नेमा जोड दिनुभयो ।  सांसद विष्णुदेवी पुडासैनीले सडक दुर्घटना न्यूनीकरण गर्न उपाय अवलम्बन गर्न सरकारसँग माग गर्नुभयो ।   सांसद विष्णुबहादुर विश्वकर्माले बूढानीलकण्ठस्थित करुणा अस्पतालमा गत असार ३१ गते दुई शिशुको मृत्यु भएको घट्नाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गर्नुभयो ।   सांसद कृष्णप्रसाद अधिकारीले देशभर विपद्मा एक सय ९७ जनाको  ज्यान गएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

काठमाडौं:     अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको बताउनुभएको छ ।      प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्नुहुँदै अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा बैङ्किङ कसुर र चेक अनादरसम्बन्धी घटना उल्लेख्य रुपमा बढेको बताउनुभयो ।  उक्त घटनाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप व्यवस्थित गर्न यो विधेयक कानुनका रुपमा कार्यान्वयनमा आउनुपर्ने उहाँको धारणा छ । विधेयकले चेक अनादरजस्ता बैङ्किङ कसुरजन्य कार्यमा आर्थिक जरिवानालाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।      अर्थ समितिको आजको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बैङ्किङ कसुरमा जेल सजायभन्दा पनि आर्थिक जरिवाना गर्नेगरी कानुन आउनुपर्ने बताउनुभयो । विश्वव्यापी रुपमा पनि चेक अनादरजस्ता अपराधमा आर्थिक जरिवानाको व्यवस्था रहेको उहाँको भनाइ छ ।       त्यस्तै, संसद् र संसदीय समितिका कार्यहरु प्रभावकारी रुपमा अघि बढ्न नसकेको डा वाग्लेले बताउनुभयो । संसद्मा दर्ता भएका र समितिमा छलफलमा आएका विधेयकहरु चाँडो टुङ्ग्याइनुपर्नेमा उहाँले जोड दिनुभयो । अर्का सांसद पदम गिरीले संसद्को विधायिकी भूमिका कमजोर भएको धारणा राख्नुभयो । समितिको बैठक प्रभावकारी हुन नसक्दा धेरैवटा विधेयक अड्किएर बसेको उहाँको भनाइ छ ।      गत वर्ष साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो । तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले विसं २०८० असोज १६ गते यो विधेयक संसद्मा दर्ता गर्नुभएको थियो ।  चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने व्यहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाट समेत बैङ्किङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्नुपर्ने सुझावका आधारमा सरकारले यो विधेयक तयार पारेको हो ।      कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ । “कसैले पनि आफ्नो बैङ्क खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानाजान कसैलाई चेक जारी गरी दिन वा बैङ्कसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन”, विधेयकमा भनिएको छ ।      चेकको भुक्तानी गर्न आवश्यक पर्ने रकम खातामा मौज्दात नदेखिएमा त्यस्तो चेक बैङ्क तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्नेछ । यही चेक साट्न चाहने व्यक्तिले त्यस्तो चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैङ्कले बढीमा ३० दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सो को अभिलेख राख्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ ।      त्यसरी सूचना दिएको जानकारी खुलाई बैङ्कले चेक फिर्ता गर्नुपर्नेछ । तीस दिनसम्ममा पनि खातामा पैसा उपलब्ध नभएमा चेक अनादर भएको प्रमाणित गर्नेसम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।  “तीस दिनको म्याद समाप्त भएपछि चेक बोक्ने व्यक्तिले रकम भुक्तानी माग्दा खातामा आवश्यक रकम नदेखिएमा बैङ्कले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको प्रमाणित गरी चेक फिर्ता दिनुपर्नेछ”, विधेयकमा उल्लेख छ ।      विधेयकमार्फत चेक अनादरसम्बन्धी बैङ्किङ कसुरको जरिवानामा संशोधन गर्न लागिएको छ । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ मा चेक अनादर भएमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैदको व्यवस्था रहेको छ तर विधेयकले चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई बिगोबमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना गर्ने र चेक काटिएको रकमका आधारमा कैद सजाय तोक्नेगरी मस्यौदा तयार पारिएको छ ।      विधेयकमा रु पाँच लाखसम्म बिगो भए एक महिनासम्म कैद, रु पाँच देखि १० लाखसम्म बिगो भए तीन महिनासम्म कैद, रु १० लाख देखि ५० लाखसम्म बिगो भए छ महिनासम्म कैद र रु ५० लाखभन्दा बढी जतिसुकै बिगो भएमा दुई वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।       त्यस्तै, चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था ल्याउन लागिएको छ ।

पोखरा:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आजदेखि पोखरामा सुरु भएको छ ।   यही भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेका पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।  बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, दीननाथ शर्मालगायत पार्टीका पदाधिकारीको उपस्थिति रहेको छ ।  गत साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बीचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार गण्डकीको बैठक बसेको अध्यक्ष गुरुङले बताउनुभयो ।  उहाँका अनुसार बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ ।

सङ्खुवासभा:       ‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस हुनुभएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।  मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस हुनुभएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो ।       जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस हुनुभएको थियो ।  मृतकको शवपरीक्षण आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ । शवपरीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डिएसपी श्रेष्ठले बताउनुभयो ।

गण्डकी:      अहिलेसम्म ६४ स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी र महिला स्वयंसेविका सहभागी रहेको भ्रमण टोलीले हेमजा स्वास्थ्यचौकीको भ्रमण गरिसकेका छन् ।  पोखरा महानगरपालिका–२५ हेमजास्थित स्वास्थ्यचौकीको स्थलगत अवलोकन गर्न बिहीबार यहाँ पुग्दा रमणीय र शान्त वातावरणमा कार्यसम्पादन भएको पाइयो ।  बिहान ९ः०० बजेतिर यहाँ पुग्दा स्वास्थ्यचौकीको मूल प्रवेशद्वार खुलिसकेको थियो । चिटिक्क सिँगारिएको स्वास्थ्यचौकी भवन नियाल्दै हामी भित्री परिसरमा गयौँ । भवनबाहिरको हरित उद्यानले स्वास्थ्यचौकीको व्यवस्थापन पक्ष सरसफाइ र पर्यावरणीय स्वच्छतामा कतिसम्म संवेदनशील छ भन्ने देखाउँछ । स्वास्थ्यचौकी भवनको भित्री कक्षमा नछिर्दै हाम्रा आँखा छेवैका भित्तामा अडिए । नागरिक बडापत्र, स्वास्थ्यचौकीको वार्षिक कार्ययोजना, सूचीकृत औषधिको विवरण, मासिक प्रगति विवरण, सेवाग्राहीका अधिकार र सेवा प्रदायकको दायित्व, स्वास्थ्य सचेतना जगाउने उपाय र तरिकाबारेका सचित्र विवरण सेवाग्राहीले सहजै देख्ने स्थानमा राखिएको पायौँ । स्वास्थ्यचौकी भवनको दोस्रोतलाको बाहिरपट्टि ‘डिजिटल डिस्पले’मार्फत पनि स्वास्थ्यचौकीसँग सम्बन्धित सूचना र विवरणहरू सार्वजनिक गरिएको थियो ।  सधैँ ९ः०० बजे कार्यकक्षमा हाजिर हुने स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले स्वास्थ्यचौकीका सबै कक्ष घुमाउँदै भौतिक संरचना, सेवा प्रवाह र व्यवस्थापकीय पक्षबारे विस्तृतमा सुनाउनुभयो ।  विसं २०७८ मा बनेको स्वास्थ्यचौकीको भवन अपाङ्गमैत्री रहेको उहाँले बताउनुभयो । सेवाग्राहीको सुविधालाई हेरेर स्वास्थ्यचौकीमा युरो गार्डमार्फत स्वच्छ पिउने पानी, इन्टरनेट, मोबाइल चार्जिङ स्टेशनलगायत सुविधको प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो ।  सुविधायुक्त सभाकक्षसहित ज्येष्ठ नागरिकका लागि भजन सङ्र्कीतन, बाती काड्ने र योग कक्ष निर्माण अगाडि बढेको प्रमुख शर्माले सुनाउनुभयो । जनस्वास्थ्य कार्यक्रममार्फत स्वस्थ समाज निर्माणलाई मूल उद्देश्य बनाएको स्वास्थ्यचौकीले सुरक्षित मातृत्व तथा परिवार नियोजनका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।  मनोसामाजिक परामर्शका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । पाठेघरको मुखको क्यान्सर जाँचको सुविधा पनि स्वास्थ्यचौकीमा हुन्छ । “स्वास्थ्य प्रोटोकलअनुसार महिलाको नियमित गर्भजाँच, परामर्श, सुरक्षित गर्भपतनलगायत सेवा यहाँ उपलब्ध छन्”, प्रमुख सुवेदीले भन्नुभयो, “विभिन्न अस्पतालसँगको सहकार्यमा हरेक महिना निःशुल्क आँखा परीक्षण शिविर पनि सञ्चालन गर्ने गरिएको छ ।” प्रमुख सुवेदीसँगको कुराकानीपछि ८१ वर्षीय भक्तप्रसाद तिमिल्सिनासँग स्वास्थ्यचौकीमा भेट भयो । उहाँ आफ्नो नियमित स्वास्थ्य जाँच र औषधि लिन यहाँ आउनुभएको थियो । “यहाँबाट स्वास्थ्य सेवा पाउँदा हामीलाई साह्रै खुसी लाग्छ, बिरामीलाई गर्ने व्यवहार पनि राम्रो छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीले दिने सेवाबाट हामी सन्तुष्ट छौँ ।”  स्वास्थ्यचौकीले ७० वर्ष कटेका र जुनसुकै उमेरका दीर्घरोगीलाई घरमै गएर स्वास्थ्य जाँच, उपचार र परामर्श सेवा सुरु गरेपछि आफूजस्ता कैयन नागरिकले लाभ लिइरहेको उहाँले सुनाउनुभयो ।  दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्यचौकीले गत वैशाखदेखि ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु गरेको थियो ।  “महानगरको नमूना कार्यक्रमका रूपमा वडा नं २५ बाट उक्त कार्यक्रम सुरु गरिएको हो”, प्रमुख सुवेदीले भन्नुभयो, “ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ ।” सरकारले सूचीकृत गरेका औषधि घरमै लगेर निःशुल्क वितरण गरिने उहाँको भनाइ छ । स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यसचिवसमेत रहनुभएका सुवेदीले समुदायमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम सँगसँगै गर्ने गरिएको बताउनुभयो ।  “विशेषगरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित खाए÷नखाएको अनुगमन गर्ने, जटिल अवस्था भए अस्पताल जान सुझाव दिने काम हामीले गर्छौँ”, उहाँले भन्नुभयो, “दुई महिनाको एकपटक घरमै पुगेर सेवा दिनेगरी कार्यविधि बनेको छ, अत्यावश्यक परेको खण्डमा जुनसुकै बेला सेवा दिन्छौँ ।” कार्यक्रमबाट उच्च रक्तचाप, मधमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई बढी लाभ पुगेको सुवेदीको भनाइ छ । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य अनुगमन गर्ने र अस्पताल जानुपर्ने अवस्था भए सोहीअनुसारको सल्लाह तथा परामर्श दिने उहाँले बताउनुभयो । वडावासीलाई स्वस्थ्य आहारबिहार र जीवनशैलीबारे पनि शिक्षा तथा जानकारी दिने गरिएको उहाँले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य जाँचअन्तर्गत उच्च रक्तचाप, शरीरको तापक्रम, अक्सिजनको मात्रा, मधुमेह, कमलपित्त, नाडीको चाललगायत सेवा रहेका छन् । मुटुरोग, श्वासप्रश्वास, दम, क्यान्सरलगायत नसर्ने रोगबारे जानकारी एवं सचेतना प्रदान गर्ने गरिएको प्रमुख सुवेदीले बताउनुभयो । हरेक नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत र जिम्मेवार रहन यो कार्यक्रमले मद्दत पु¥याइरहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।  स्वास्थ्यचौकीले परिवार नियोजन सेवा पनि प्रवाह गर्दै आएको स्वास्थ्यचौकीका सिनियर अहेब देवी अर्मजा थापाले जानकारी दिनुभयो । “परिवार नियोजनमा कण्डम, पिल्स, डिपो, इम्पलान्ट र आयुसिडी गरी पाँच प्रकारका सेवा यहाँ उपलब्ध छन्”, उहाँले भन्नुभयो, “समुदायस्तरमा प्रजनन स्वास्थ्य सचेतनाका कार्यक्रम पनि नियमित सञ्चालन गर्ने गरिएको छ ।” स्वास्थ्यचौकीले हरेक महिना वडाका पाँच स्थानमा खोप तथा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको छ । वडालाई पूर्ण खोपसहित दिगोपनाको सुनिश्चितता भएको वडाका रूपमा घोषणा गरिएको छ ।  गुणस्तर सुधार तथा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा स्वास्थ्यचौकीलाई गत वर्ष ८३ अङ्क प्राप्त भएकामा चालु आवमा ९० अङ्क पुर्याउने लक्ष्य लिइएको जनाइएको छ । नियमित तथ्याङ्क गुणस्तर मूल्याङ्कन र स्वास्थ्य सूचना व्यवस्थापन चुस्त बनाइएको छ । बिरामी दर्तालगायत स्वास्थ्यचौकीबाट हुने प्रशासनिक काम अनलाइन प्रणालीमार्फत गर्ने गरिएको छ ।  पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले हेमजा स्वास्थ्यचौकीले सुरु गरेको ‘नागरिक आरोग्य कार्यक्रम’ महानगरभित्रको पहिलो कार्यक्रम रहेको बताउनुभयो ।  “चुस्त व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका दृष्टिले हेमजा स्वास्थ्यचौकी अन्य स्वास्थ्यचौकीका लागि अनुकरणीय बन्न सक्छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि र स्थानीय समुदायसँगको समन्वयात्मक भूमिका कारण पनि हेमजा स्वास्थ्यचौकीले फड्को मार्न सफल भएको हो ।” महाशाखा प्रमुख आचार्यले उक्त स्वास्थ्यचौकीलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्न तयारी अगाडि बढेको बताउनुभयो । “सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि आवश्यक पूर्वाधार तयारीको काम भइरहेको छ, छिट्टै जनशक्ति गरेर यसलाई सञ्चालनमा ल्याउँछौँ”, उहाँले भन्नुभयो, “मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको टोली यसमा हुन्छ, अहिलेको भन्दा थप स्तरीय सेवा केन्द्रमार्फत प्रवाह हुन्छ ।” सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनेपछि स्वास्थ्य बीमाको सिफारिस पनि सोही केन्द्रबाट हुने उहाँले बताउनुभयो । उक्त केन्द्रमा प्रयोगशाला, फार्मेसीलगायत सेवा थप हुने उहाँको भनाइ छ । महाशाखा प्रमुख आचार्यका अनुसार पाखरा महानगरअन्तर्गत ४९ वटा स्वास्थ्य संस्था सञ्चालित छन् । ती स्वास्थ्य संस्थामा रहेका तीन सय ५० भन्दा बढी स्वास्थ्यकर्मी नागरिकको सेवामा खटिएको उहाँको भनाइ छ । महानगरका प्रशासन महाशाखा प्रमुख एवं सूचना अधिकारी कृष्णप्रसाद तिवारीले हेमजा स्वास्थ्यचौकीले प्रवाह गर्ने सेवामा स्तरीयता र सिर्जनशीलता झल्केको आफूले पाएको बताउनुभयो ।  “महानगरभित्रका सबै स्वास्थ्य संस्था आफ्नो ठाउँमा अब्बल नै छन्, तर हेमजा स्वास्थ्यचौकी कार्यक्रम कार्यान्वयनका दृष्टिमा अन्यभन्दा केही भिन्न छ”, उहाँले भन्नुभयो, “ऊ आफैँले गर्ने स्वःमूल्याङ्कन, नियमित समीक्षा, सामाजिक परीक्षण, सेवाग्राहीको सन्तुष्टि परीक्षण, जवाफदेहिता तथा पारदर्शिता, सूचना व्यवस्थापनलगायत असल अभ्यास देशका अन्य स्वास्थ्यचौकीका लागि पनि प्रेरणादायी छन् ।”

नवलपरासी:     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले अधिकार स्थापित गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । “विद्यालयमा खुवाउने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने छ”, उहाँले भन्नुभयो, “परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउनुका साथै स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्नेछ ।” “प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न  सरकारले काम गर्ने छ”, मन्त्री भट्टराईले भन्नुभयो ।   अन्तक्र्रिया कार्यक्रममा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधि, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य एवं अन्य सरोकारवालाको उपस्थिति थियो ।

पोखरा:    पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ ।      प्रदूषण बढेकाले ल्यान्डफिल साइट नजिकै रहेको विद्यालय भवनका कोठामा पठनपाठन गर्न असहज बनेपछि उक्त परिसरभन्दा केही माथि रहेको राधाकृष्ण मन्दिरमा विद्यार्थीलाई राखेर पठनपाठन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म २८ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । प्रदूषण बढेपछि करिब एक महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले राससलाई जानकारी दिनुुभयो । प्रदूषणका कारण विद्यार्थीहरुमा स्वास्थ्य समस्या पनि बढ्दै जान थालेको उहाँको भनाइ छ ।      ल्यान्डफिल साइट नजिकै भएकाले दिनानुदिन प्रदूषण बढ्दै जाँदा गुरुकुलका विद्यार्थीसँगै राधाकृष्ण ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ४५ जना ज्येष्ठ नागरिक पनि समस्यामा परिरहेका राधाकृष्ण मन्दिर सञ्चालक समितिका सचिव घनश्याम खनालले बताउनुभयो । मन्दिरअघिको साँघुरो बाटोबाट फोहर ल्याएका सवारीसाधन जाने आउने गर्दा ज्येष्ठ नागरिक एवम् विद्यार्थीलाई हिँड्डुुल गर्न समस्या परिरहेको उहाँले उल्लेख गर्नुभयो ।       बढ्दो प्रदूषणका सम्बन्धमा गुनासो आएसँगै महानगरपालिकाबाट फोहरलाई व्यवस्थित रुपमा माटोले पुर्ने काम थालिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुुभयो । फोहर व्यवस्थापनको काम भइरहे पनि गर्मी र बर्सातको समय भएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।    

सिन्धुली:     शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो ।       सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।  आज बिहान घटनास्थलमा पुग्नुभएका प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिके पनि गाडीमा सवार चालकसहित तीनजना अझै बेपत्ता छन् ।       बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरु खटिएका छन् । गाडीमा चारजना सवार थिए । हाम्फालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

काठमाडौँ:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।   हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।