भरतपुर: भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ । ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउनेगरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । “जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । तीसवटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ रहेका छन् । महानगरले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले दुई सय ७४ जनालाई छात्रवृत्ति दिएको थियो ।
कञ्चनपुर: महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्कनुभएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गर्नुभएको छ । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गर्नुभएकी तिवारीले पाँचौँ दिन आज पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गर्नुभएको हो । परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उहाँले बताउनुभयो । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उहाँले भन्नुभयो । झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
काठमाडौं: पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ । ऑबुखैरेनी(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो । राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उहॉको भनाइ छ । उहॉले भन्नुभयो, “सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ ।“ पोखराबाट काठमाडौतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्Þयु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको श्रीकृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मङ्गलबार निकाल्ने गरिन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यसबाट बालबालिकामा यस पर्वको महत्व बुझ्न सहयोग पुग्ने गरेको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे बुलेटिनमा उल्लेख छ । सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा दमकडाले सँघर्षपूर्ण जीत निकालेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा खल्लुकधारा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । उनका अनुसार दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका विशाल मल्ले २ गोल गरे । भने, सुदिप थापाले १ गोलको योगदान दिए । यता हार व्यहोरेको खल्लुकधाराको तर्फबाट शुशिल थापाले २ गोल फर्काए । खेलको पहिलो हाफमै दमकडाका खेलाडी जोन मस्राङ्गीले खल्लुकधाराका खेलाडीलाई फल गरेपछि रेड कार्डको शिकार बनेका थिए । त्यसपछि दमकडा १० जना खेलाडीमा मात्रै सिमित बन्न पुगेको थियो । यद्यपी दमकडा खेलमा फर्किदै जीत निकाल्न सफल बन्यो । अब दमकडाले ११ गते हुने न्यू हिमाली युवा क्लब र युनाइटेड युथ एफसीबीचको विजेता टिमसँग आगामी १५ गते प्रतिस्पर्धा गर्नेछ । भोलि (सोमबार) दिउँसो ३ बजे आयोजक नव जागृति युवा क्लब निलो र लुम्बिनी मेडिकल कलेजबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए । उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सुत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताउनुभयो । “सेयर बजारका समस्यालाई नीतिगत र व्यावहारिक रूपमा समाधान गर्दै परिपक्व ढङ्गले अगाडि बढाउनका निम्ति सरकारले सार्थक प्रयास गरिरहेको छ । सेयर बजारविज्ञ लेखक भट्टराईको पुस्तकले सेयरबारे अझै चेतना अभिवृद्धि गर्नेछ”, उहाँले भन्नुभयो । सट्टेबाजी नगरी सेयरबाट पैसा कमाउने वेञ्जामिन ग्राहमका एक सय वर्ष अघिका सुत्रलाई आधार बनाउँदै सेयरबाट धनसम्पत्ति बढाउने सुत्र र रणनीति यस पुस्तकमा प्रस्तुत भएका बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले बजारमा लगानी गर्न चाहने तथा गरिरहेका सबैका लागि यी सुत्र उपयोगी हुन सक्ने बताउनुभयो । “आफ्नो जोखिम लिने क्षमता मूल्याङ्कन गरी सेयर बजारमा तनाबमुक्त तरिकाबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने विभिन्न आधार सुत्रात्मक तबरले समेटिएको पुस्तक हो, सेयर सुत्र”, उहाँले भन्नुयो । सेयर बजारबारे आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका लेखक भट्टराईको यस पुस्तकको बजार मूल्य रु चार सय ९९ तोकिएको छ ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताउनुभएको छ । राष्ट्रिय शिक्षा दिवस–२०८१ मूल समारोह समितिको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सो व्यवस्था कार्यान्वयनका लागि शिक्षासम्बन्धी ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन र समयानुकूल परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले दिवसलाई आआफ्नो तहबाट सप्ताहव्यापी कार्यक्रम तय गरी मनाउन अनुरोध गर्नुभयो । यसैगरी उहाँले प्रदेशस्तरमा शिक्षा दिवसका कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्न प्रदेश सरकार, मुख्यमन्त्रीको कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अनुरोध गरी पठाउने र प्रदेशका शिक्षा हेर्ने मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्राचार गर्ने बताउनुभयो । दिवसलाई भव्य र सभ्य बनाउने उद्देश्यले सरोकार भएका मन्त्रालय, सङ्घ÷संस्था र अन्य सम्बन्धित निकायसँग आज छलफल गरिएको हो । बैठकमा राष्ट्रिय शिक्षा दिवस मनाउने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भएका कामकारबाही, दिवसका आदर्श वाक्य तय, विभिन्न उपसमिति गठन गर्ने सम्बन्धमा छलफल भएको थियो । आजको बैठकले राष्ट्रिय शिक्षा दिवस मनाउने सन्दर्भमा सम्बन्धित विभिन्न निकाय र तहलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । दिवसको मूल आयोजक समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरू, विभिन्न पालिकाका प्रमुख, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसहित एक सय ३० जना विभिन्न सरोकारवाला सङ्घरसंस्थाका प्रतिनिधिहरु सदस्य रहनुभएको छ । नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम दिवशका अवसरमा प्रदान गरिने पुरस्कारका लागि यसअघि नै निवेदन माग तथा सम्बन्धित निकायबाट नाम सिफारिस गरी पठाउन सार्वजनिक सूचना जारी गरिनुका साथै सम्बन्धित निकायमा पत्राचार गरिसकेको त्यस अवसरमा जानकारी दिइयो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको हो ।
काठमाडौं: कर्णाली प्रदेशमा प्रज्ञा–प्रतिष्ठान स्थापनाका लागि सुझाव सङ्कलन गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आज यहाँ छलफल कार्यक्रम आयोजना गरी कर्णाली प्रदेश सांस्कृतिक नीति र प्रज्ञा–प्रतिष्ठान गठनका सम्बन्धमा विज्ञसँग सुझाव माग गरेको हो । प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रज्ञा–प्रतिष्ठानको महत्व दर्शाउँदै प्रतिष्ठान गठन प्रक्रिया र सांस्कृतिक नीतिबारे विज्ञहरूसँग सुझाव माग गर्नुुभयो । उहाँले संवैधानिक अधिकार प्राप्त भए पनि प्रदेशमा प्रतिष्ठान गठनले अझै पूर्णता पाउन नसकेको भन्नुहुँदै यही कार्यकालमा प्रतिष्ठान स्थापना गर्ने र कर्णालीका संस्कृति संरक्षणमा जनसहभागिता बढाउने उद्देश्य रहेको बताउनुभयो । “खस भाषाको उद्गमस्थल कर्णाली प्रदेशको मौलिकता हराउँदै गएको छ । पुरातात्विक महत्वका सम्पदा, कला संस्कृति र यहाँको जनजीवन जीवन्त राख्न प्रतिष्ठान महत्वपूर्ण छ”, मन्त्री भण्डारीले भन्नुभयो, “यस स्थापना गरिने प्रतिष्ठानको संरचना कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विज्ञहरूका सुझाव लिएर अघि बढ्नेछु ।” उहाँले विज्ञहरूमाझ ‘कर्णाली प्रज्ञा–प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिका लागि तयार पारिएको अवधारणा पत्र’ प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले कर्णाली प्रज्ञा–प्रतिष्ठानको आवश्यकता औँल्याउनुहुँदै संरचनागत स्वरूप र सञ्चालन गर्ने शैली (मोडल) समयानुकूल हुनुपर्नेमा जोड दिनुभयो । भाषा आयोगका सदस्य उषा हमालले कर्णालीको भाषा, कला, संस्कृतिको अनुसन्धान गर्न त्यहाँकै जनशक्ति परिचालन गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवालले प्रतिष्ठानको उद्देश्य पूरा गर्न सञ्चारमाध्यमसँग सहकार्यका लागि सुझाव दिनुभयो । प्रा डा प्रेम खत्रीले संस्थागत संरचनामा बढी राजनीतिरण हुँदा कार्यसम्पादनमा बाधा आउने गरेको अनुभव सुनाउनुहुँदै कर्णाली प्रज्ञा–प्रतिष्ठानको संरचनालाई प्राज्ञिक केन्द्रित बनाउन आग्रह गर्नुभयो । छलफलमा सहभागी विषयगत विज्ञहरूले प्रतिष्ठानको गठन प्रक्रियाबारे विभिन्न सुझाव दिनुभएको थियो ।