पोखरा: नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको छ । संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो । दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५/५ टिमले भाग लिने जनाइएको छ । महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् । पुरुषतर्फ विभागीय सशस्त्र प्रहरी बल एफिएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख १११, तेस्रोलाई ५० हजार १११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । टिमको यातायात, आवास र खाना खर्च आयोजकले व्यवस्थापन गर्नेछ । भलिबल भने महोत्सव उद्घाटनको अघिल्ल्लो दिन भदौ १८ देखि नै सुरु हुनेछ । यस्तै, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायत विशेष प्रस्तुति रहनेछ । महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने छन् । तीज गीतमा प्रथमलाई ५० हजार १११, दोस्रोलाई ३० हजार १११, तेस्रोलाई २० हजार १११ र सान्त्वनालाई १० हजार १११ साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ । आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ । महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शववाहन संचालन गर्दै आएको छ । संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले लामाचौर महोत्सवमा भलिबलको क्रेज बढ्दै गएको भन्दै संस्थाले छुट्टै भलिबल कोर्ट निर्माण तयारी गरेको सुनाए । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताए । महोत्सवमा प्रवेश निशुल्क हुनेछ तर भलिबल हेर्न टिकट काट्नु पर्छ । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको सचिव हरिबहादुर थापाले बताए । महोत्सवको मुख्य सहयोगी इन्द्रराज्यलक्ष्मी मावि र बानियाँ किराना स्टोर्स लामाचौर छन् । संरक्षकमा पोखरा वडा १९ र वडा १६ का वडा कार्यालय छन् ।
पोखरा: राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ । प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन समूह फूलबारी पोखरा तृतीय र पञ्चासे भजन समूह सान्त्वना बनेका छन् । प्रतियोगितामा उत्कृष्ट बाद्यबादनमा शिशुुवा भजन समूह, उत्कृष्ट भेषभुुषामा मातृकेश्वर भजन समूह, हेमजा र उत्कृष्ट स्वरतर्फ शुक्ला हिलेटार शिवालय भजन समूूह विजयी भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृृतीय र सान्त्वनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बाद्यबादन र उत्कृष्ट भेषभुुषा बापत पाँच÷पाँच हजार रुपैयाँ र उत्कृष्ट स्वर बापत तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १३ वटा समूहले भाग लिएका थिए भने अप्रतियोगी रुपमा विभिन्न जातजातिका पाँच्वटा प्रस्तुति गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् पूर्व गृह मन्त्री खगराज अधिकारीले हाम्रा मौलिक संस्कृतिहरूको जगेर्ना गर्नुुपर्नेमा जोड दिनुुभयो । राधाकृष्ण मन्दिर परिसर नजिकै भैरहेको महानगरको फोहोर विसर्जन प्रति लक्षित गर्दै उहाँले पावन भूमिको नजिक फोहोर व्यवस्थापन गर्न नहुने बताउनुुभयो । राधाकृष्ण मन्दिर र यस क्षेत्रलाई आश्रमस्थल, विद्याश्रम मात्र नभै अनुसन्धानको केन्द्र बनाउनुुपर्नेमा उहाँले जोड दिनुुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुुर खड्का विखर्चीले गर्ग ऋषिको तपोभूमिका रुपमा रहेको यस क्षेत्रको संरक्षणसँगै विकास गर्नुुपर्नेमा जोड दिनुुभयो । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ का सभापति एवम् गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले राधाकृष्ण मन्दिर परिसर नजिकै फाल्ने गरिएको फोहोरका कारण मन्दिर, आश्रम, गुुरुकुलसँगै यस क्षेत्र प्रदुषित भईरहेको बताउँदै यसतर्फ राज्यको ध्यान तत्काल पुुग्नुु जरुरी रहेको बताउनुुभयो । यस क्षेत्रका सबै प्रभावितलाई तत्कालै निशुल्क स्वास्थ्य बिमामा समेट्न उहाँले आग्रह गर्नुुभयो । समूहका अध्यक्ष सञ्जयराज ढकालको अध्यक्षता एवम् सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका पराजुली, गगन नेवा खलका सचिव शरणकुमार प्रधान लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा समूहमा विशिष्ट योगदान पुु¥याएको भन्दै छविलाल दहाल, पार्वती लामिछाने र प्रकाशचन्द्र वाग्लेलाई सम्मान गरिएको थियो ।
सोलुखुम्बु: सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् । उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । “बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो”, उहाँले भन्नुभयो । पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृतमध्येका प्रहरी निरीक्षक गिरीले बताउनुभयो । गत साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरोले गेग्रान र ढुङ्गासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढा छ ।
पोखरा: मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् । मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक पहिचान, व्यक्तिगत दन्त सल्लाह, आवश्यक उपचार र जीवनभर स्वस्थ रहनका लागि आवश्यक राम्रा बानीहरूको प्रोत्साहन गर्न कार्यक्रम समावेश गरेको बताईन् । प्रतिस्पर्धीहरुलाई डा. नितिका रन्जित र डा. जेनि आचार्यले दन्त जाँच तथा उपचार गरेकी थिईन् साथै निट डेन्टल केयर प्रा.लिका प्रबन्ध निर्देशक विरेन रानाले स्वस्थ रहने उपाय र सल्लाह सहित ग्रान्ड फिनालेको लागि अग्रिम शुभकामना व्यक्त गरे । हरेक वर्ष आयोजना हुँदै आएको यस वर्षको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गरेको छ । एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदै आएको सातौ संस्करणको मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ । सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका हुन् । अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् । प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरुसँगै व्यक्तित्व तथा नेतृत्व विकास लगायतको तालिम तथा प्रशिक्षण भइरहेको छ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो। पार्टीको हितविरुद्ध गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उहाँलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उहाँले जवाफमा सभापति रवि लामिछानेलाई दोषि करार गरिछाड्ने र आफू यस कदमबाट पछि नहट्ने बताउनु भएको थियो । यसअघि पार्टी अनुशासन आयोगले ढकालले पार्टीलाई हानी पुर्याएको निष्कर्ष निकालेको थियो ।
नेपालगञ्ज: नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँकानुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ । ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउन्भयो।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको रु एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । भुरुङ–तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९÷८० मा रु ८० लाख र २०८०÷८१ मा प्राप्त भएको रु ५० लाख बजेट कार्यान्वयन नभएको हो । “यसअघिका दुई आवमा बजेट आए पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले कताबाट सडक बनाउने भन्ने टुङ्गो नलगाएपछि तातोपानी कुण्डमा पूर्वाधार बनाउन सकिएन”, उहाँले भन्नुभयो, “सडक आयोजनाले अहिले तातोपानी कुण्ड मुनी कालीगण्डकी नदीको किनारै किनार सडक बनाउने नक्शाङ्कन टुङ्गो लगाएको छ ।” तर सङ्घीय सरकारले यसपाली भुरुङ तातोपानीको पूर्वाधार योजनाका लागि बजेट र योजना कटौटी गरेको छ । जमिनभित्रको मुहानबाट करिब ५० डिग्री तापक्रममा निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धारामा स्नान गर्न सकिने भुरुङ–तातोपानी पूर्वाधार अभावमा व्यवस्थित बन्न सकेको छैन । खुला आकाशमुनि रहेको कुण्डमा घाम र पानी छेक्ने छानो छैन । खुला रुपमा धारामा स्नान गर्नुपर्छ । कपडा, सामग्री राख्ने र कपडा फेर्न व्यवस्थित ठाउँ आवश्यक छ । सवारीसाधन पार्किङ गर्ने ठाउँ छैन । तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने आउने पर्यटकका लागि भुरुङ–तातोपानीलाई थकान मेटाउने विश्रामस्थल हो । मुस्ताङको चिसो हावापानीबाट आएका तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । यसअघि कुण्डको कुनातर्फबाट खोलीएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्शाङ्कन परिवर्तन गर्न स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालाले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरि कुण्डमुनिबाट सडकको नयाँ नकङ्कन गरिएको छ । अन्नपूर्ण अध्यक्ष भारतकुमार पुनले नयाँ नक्शाङ्कन अनुसार भुरुङ–तातोपानी कुण्ड क्षेत्रमा सडक स्तरोन्नतिका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई ताकेता गरिएको बताउनुभयो । सङ्घीय सरकारले पठाएको बजेट कार्यान्वयन हुन नसके पनि गाउँपालिकाको स्रोतबाट तातोपानी कुण्डमा पूर्वाधार निर्माण गरेर व्यस्थित गरिने उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भुरुङ–तातोपानी क्षेत्रमा बाँकी रहेको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वानको तयारी गरेको जनाएको छ ।
काठमाडौं: पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ । आकर्षक र गुणस्तरीय तस्बिर, भिडियो खिच्नेको सौख बन्दै गएको ड्रोनको प्रयोग र बिक्री वितरणमा देखिएको लहरले मानिसका चाहनालाई थप प्रतिम्बित गरिदिएको छ । यस्तै ठूलादेखि साना आयोजनाको सर्वेक्षण तथा अन्य प्राविधिक कामका लागि पनि ड्रोन अपरिहार्य जस्तै बनेको छ । जलविद्युत् आयोजनाको सामान्यभन्दा सामान्य कामलाई सहज तुल्याउन प्रवर्द्धकले यसमा विशेष ध्यान दिएका छन् । पदयात्रामा जाने पर्यटक, खोज तथा अध्ययनकर्ता एवं जिज्ञासुले पनि अनुमति लिएर यसको प्रयोग गरिरहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहर सङ्कलनका लागि उच्च क्षमताको ड्रोन प्रयोग गर्ने गरी सफल परीक्षण भइसकेको छ । प्रविधिमा आएको परिवर्तनले मानव जीवनमा सहज प्रभाव पार्दछ भन्ने खास उदाहरण बनेको छ ड्रोन । भीडभाड हुने मेला पर्व, जात्रा तथा राजनीतिक पार्टीका आमसभा एवं जटिल स्थानका तस्बिर तथा भिडियो खिच्नका लागि प्रयोग हुने ड्रोनको सुरक्षित उडान र अवतरण गराउनु पनि उत्तिकै आवश्यक छ । त्यसमा विशेष सीप र क्षमताको आवश्यकता पर्दछ । प्रविधिको प्रयोग गरेर आम पाठक तथा स्रोतालाई गुणस्तरीय तस्बिर र भिडियो उपलब्ध गराउनका लागि महत्वपूर्ण साधनको रुपमा विकास भएको ड्रोन मर्मत सम्भार गर्ने जनशक्ति भने नेपालमा असाध्यै कम छन् । आममानिसको आवश्यकता जस्तै बनिसकेको ड्रोन प्रयोग गर्दा कहिलेकाही दुर्घटनामा पनि पर्न सक्छ । अनावश्यक खराबी आउन सक्छ । त्यस्तो अवस्थामा मर्मत सम्भार गरेर पूर्ववत् अवस्थामा फर्काउने जनशक्तिको अभाव हुँदा यसका प्रयोगकर्ता खिन्न हुने अवस्था थियो केही वर्ष पहिले । त्यसका लागि आवश्यक जनशक्ति तयार पार्न सरकार र निजी क्षेत्रले पनि खास ध्यान नदिएको अवस्थामा स्वपहलमा नै ड्रोन मर्मत केन्द्र खोलेर देशभित्रै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको भक्तपुरका राजकुमार तिमिल्सिना । सिंहदरबारको पूर्वी गेट । आम मानिसले नाम नभएको नगरका रुपमा अनामनगरलाई चिन्छन् । “देशभित्रै अनगिन्ती रोजगारीको अवसर छ । सामान्य पैसा कमाउनका लागि विदेशिनु पर्दैन” भन्ने सन्देश दिँदै राजकुमारलाई यतिबेला ड्रोन मर्मत गर्न भ्याइ नभ्याइ छ भन्दा अत्युक्ति हुँदैन । स्वदेशी तथा विदेशी उहाँलाई खोज्दै अनामनगर आइपुग्छन् । आफ्नो कामको प्रचार प्रसार सामाजिक सञ्जालमार्फत गर्न सिपालु राजकुमार ड्रोन मर्मतको भिडियो खिचेर फेसबुक, टिकटक र युट्यबमा राख्नुहुन्छ । त्यसबाट धेरै फाइदा भएको राजकुमार बताउनुहुन्छ । सामाजिक सञ्जालबाट प्राप्त हुने सकारात्मक सन्देश नै प्ररेणाको स्रोत बनेको छ रे उहाँलाई । देशभित्र अवसर नभएको, रोजगारी नपाएको तथा काम छैन भन्दै गलत भाष्य निर्माण गरेर विदेशिने जमात बढिरहेको बेला राजकुमार भने स्वअध्ययनका आधारमा नेपाली युवालाई सकारात्मक सन्देश दिइरहनुभएको छ । “सामान्य काम भनेर हेला नगरौँ । यस्तो प्राविधिक काममा धैर्यता, मेहिनत र लगनशिलता जरुरी पर्छ । परिवारको साथमा बसेर राम्रै कमाइ गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पैसा हावामा उडेको छ भन्दा धेरैले पत्याउँदैनन् । काम खोज्न खाडी मलेसिया र कोरिया जानै पर्दैन ।” ड्रोन मर्मतको काम आफूले मात्रै नगरेको अरुलाई पनि सिकाएको स्पष्ट पार्दै बताउँदै राजकुमारले भन्नुभयो, “सीप सिकौँ, दक्ष बनौँ, अवसर तपाईलाई खोज्दै आइपुग्छ । कही कतै जानै पर्दैन ।” हालसम्म १० जनालाई मर्मतको सीप सिकाएको जानकारी दिँदै राजकुमारले भन्नुभयो, “मासिक रु एक लाखदेखि रु तीन लाखसम्म सहजै कमाइ गर्न सकिन्छ ।” अनामनगरमा उहाँले कार्यस्थलको नाम राख्नुभएको छ चण्डेश्वरी क्यामरा मर्मत केन्द्र । विगत १४ वर्षदेखि भिडियो क्यामेरा मर्मत गर्दै आउनुभएका तिमिल्सिना पछिल्ला दिनमा भने ड्रोन मर्मतलाई आफ्नो विशेष पेशा बनाएको बताउनुहुन्छ । फोटोग्राफी, भिडियोग्राफीमा ड्रोनको प्रयोग बढ्दै गएपछि मर्मत सम्भार गर्ने स्थानको अभाव हुन थाल्यो । त्यो अभावलाई सामान्य रुपमा भए पनि पूर्णता दिन पाउँदा आफूलाई धन्य ठानेको उहाँको भनाइ छ । भिडियो क्यामेरा मर्मतका क्रममा विभिन्न टेलिभिजन स्टेशनमा गए पनि काम गरेको पारिश्रमिक नपाएपछि ड्रोनलाई नै खास समय दिएको उहाँले सुनाउनुभयो । नाम चलेका टेलिभिजनले नै पारिश्रमिक दिन कन्जुस्याई गरेकोे अमिलो स्मरण छ उहाँमा । “आफूले जानेको काम छाडेको त छैन, तर मुख्य काम भने यतिबेला ड्रोन मर्मत नै बनाएको छु । यसबाट सबैभन्दा बढी सन्तुष्टि मात्रै मिलेको छैन । कमाई पनि राम्रो भएको छ” उहाँले भन्नुभयो । महँगोमा खरिद गरेको ड्रोनमा सामान्य समस्या आउँदा पनि मर्मत गर्ने स्थानको अभाव हुँदा त्यत्तिकै थन्क्याउनुपर्ने बाध्यता थियो । ड्रोन बनाउन जान्ने दक्ष जनशक्ति कम हुदाँ महँगो मूल्यको ड्रोन कहाँ बनाउने भन्ने तनाव प्रयोगकर्तामा पनि उत्तिकै थियो । उहाँलाई यतिबेला ड्रोन मर्मतको कामले भ्याइ नभ्याई छ । देशभरका ड्रोन प्रयोगकर्ताको एकमात्र भरोसाका रुपमा आफूलाई पाएको उहाँ दावीका साथ भन्नुहुन्छ । आजकल चण्डेश्वरी क्यामरा मर्मत केन्द्र राजकुमार ड्रोन हाउसबाट चिनिन थालेको छ । नेपालमा विसं २०७२ को भूकम्पपछि ड्रोन किन्ने र प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो । यो १० वर्षको अवधिमा विवाह, व्रतबन्ध, वृत्तचित्र निर्माण, निजी तथा सरकारी कार्यक्रमदेखि ‘भ्लग’ बनाउन ड्रोनको अत्यधिक प्रयोग भएको छ । प्रयोग बढ्दै जाँदा मर्मतको काम उत्तिकै बढेको छ । तिमिल्सिना भन्नुहुन्छ, “सक्कली समानको ग्योरेन्टीसहित ग्राहकको अगाडि नै मर्मत गर्ने गरेको छु । क्यामरा र भिडियो क्यामरामा लामो समयदेखि मर्मतको काम गरेकोले ड्रोन बनाउन मलाई धेरै समय नै लाग्दैन ।” देशैभरबाट मर्मतको लागि ड्रोन प्राप्त हुने गरेको उहाँको भनाइ छ । दैनिक तीनदेखि चार वटा ड्रोन मर्मतका लागि आइपुग्छ । अन्य स्थानमा नजानेका मानिसले मर्मतको नाममा बिगारी दिए भन्नेदेखि अब बन्दैन भनेका धेरै ड्रोन मर्मत गरेको उहाँको दाबी छ । क्यामरा मर्मतबाट व्यवसाय सुरु गर्नुभएका तिमिल्सिना ड्रोन मर्मतको विज्ञका रुपमा चिनिनु भएको छ । नयाँ क्षेत्र भएकोले आम्दानी राम्रै हुने गरेको छ । प्रयोग बढ्दा स–सानो प्राविधिक समस्या आउनु स्वभाविक नै छ । छिटो मर्मत गर्नुपर्ने हुन्छ । खासमा मर्मत गर्न जान्ने दक्ष जनशक्तिको अभाव नै छ । कतिपयले चलाउन नजान्दा वा दुर्घटनामा पर्दा बिग्रिने गरेको छ । खासमा दुर्घटना भयो भने ड्रोनमा धेरै समस्या आउँछ । पछिल्लो युवा पुस्ता प्राविधिक क्षेत्रमा खासै रुची देखाउँदैनन् । नेपालमै केही गर्नेभन्दा पनि अध्ययनको नाममा वैदेशिक रोजगारीमा जाने लहडका कारण अथाह सम्भावना र राम्रो कमाई हुने यस क्षेत्रमा जनशक्तिको अभाव छ । राजकुमार सुरुमा त्रि–चन्द्र कजेलमा साइन्स पढ्न भर्ना हुनुभएको थियो । तर उहाँलाई विषय लाग्यो । उहाँलाई त्यसमा पढ्नै मन लागेन । विषय लागेपछि टेलिभिजन ममर्तको काम सिक्न अनामनगर आएको थिए । त्यो दिन मेरा लागि रुचीकर थिएन । तर, आज नाम र दाम दुवै प्राप्त हुँदा सही निर्णय गरिएछ भन्ने लागेको छ रे उहाँलाई । विज्ञान पढन गएको छोरो अनुत्तीर्ण भएर फर्केपछि उहाँलाई घरमा बुवाले चित्त दुखाएर भन्नुभयो, “यसले गरिखाँदैन, अब तँ विदेश जाँ ।” पढाइ पनि छैन, काम पनि छैन, विदेश जानुबाहेक अरु कुनै विकल्प नभएको बेला आफू संयोगले क्यामेरा र टेलिभिजन मर्मतका लागि अनामनगर आइपुगेको स्मरण गर्नुहुन्छ तिमिल्सिना । “जब मलाई प्रविधि क्षेत्र र मर्मतको काममा रुची बढ्यो, तब मैले विज्ञानलाई अर्कै तरिकाले अध्ययन गर्ने सोच बनाए । खास अध्ययन भने मानविकी तर्फ सारे । काम भने यही मर्मतलाई नै बनाए । यसैलाई खास पेसाका रुपमा रुपान्तरण गरे”, विगत सम्झदै तिमिल्सिनाले भन्नुभयो । “सुरुमा टेलिभिजन मर्मतको धेरै नै माग थियो । त्यही सिके र जाने पनि” त्यसपछि क्यामरा, भिडियो क्यामरामा तर्फ लागेको उहाँको भनाइ छ । क्यामरा र भिडियो क्यामरा मर्मतबाट राम्रो आम्दानी हुन थाल्यो । अनामनगरको त्यही सटर जहाँ १४ वर्षदेखि तिमिल्सिनाको काम लगातार चलिरहेको छ । जहाँबाट काम सुरु गर्नुभएको थियो । त्यही स्थानलाई ड्रोन हाउसको नाम दिएको उहाँको भनाइ छ । भिडियो क्यामेरा मर्मतका लागि लोकप्रिय बनेको अनामनगरको उहाँको सटरले आजकल नयाँ नाम पाएको छ ड्रोन हाउस । व्यावसायिक फोटो भिडियो ग्राफर, फोटो÷भिडियो पत्रकार, फोटो स्टुडियोका सञ्चालकले आफनो सामान मर्मत गर्ने सेन्टर बनेको छ उहाँको सटर । अझ पछिल्लो समय ड्रोनको मर्मतको कामले उनलाई फुर्सद नै छैन । मानविकी सङ्कायबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेपछि राजकुमारलाई अन्य पेसामा जान मन लागेन । पढेपछि सरकारी र अन्य स्थानमा जागिर खाने सोच धेरैको भए पनि उहाँले प्राविधिक क्षेत्रमा नै आफ्नो भविष्य देखेको सगौरव बताउनुभयो । अहिले नाम दाम दुवै कमाएको भन्दै उत्साहित देखिनुभएका उहाँले विदेश दौडन खोज्ने युवालाई सुझाव दिनुहुन्छ, “किन जाने विदेश यहाँ अवसरै अवसर छ । पैसा नै पैसा छ ।” यही मर्मतको काम गरेर उहाँले घर–घडेरी जोड्नु भएको छ । पढेर काम पाइएन भनेर विदेश जाने युवा पुस्तालाई उहाँको सन्देश छ “विदेशमा गर्ने मेहिनत र जान लाग्ने पैसा नेपालमै प्राविधिक क्षेत्रमा लगानी गर्ने हो भने विदेशमा भन्दा बढी पैसा नेपालमै कमाइन्छ ।” यसरी गर्नुस् ड्रोनको सुरक्षित प्रयोग फोटोग्राफी वा भिडियोग्राफीका लागि ड्रोनको प्रयोग गर्नेहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा त्यसको सुरक्षित प्रयोग गर्नु उत्तिकै जरुरी छ । तिमिल्सिनाका अनुसार आकर्षक भिडियो तथा फोटोका लागि ड्रोन उडाउने गरिन्छ । सरकारसँग अनुमति लिएर नियम पालना गर्दै ड्रोन उडाउनुपर्ने उहाँको सुझाव छ । “जथाभावी अनुमति नै नलिई हतारमा लुकेर ड्रोन उडाउँदै नउडाउनुस् । यससँगै ड्रोन सुरक्षित राख्न पनि केही कुरा ख्याल गर्न जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले ड्रोनको सुरक्षित प्रयोग कसरी गर्ने भन्ने बारेमा आफ्ना केही सुझाव दिनुभएको छ । बजारमा विभिन्न ब्रान्डका ड्रोन पाइन्छन् । निर्माता कम्पनीले उपलब्ध गराएको म्यानुअल पढेर मात्रै ड्रोन चलाउन थाल्नु पर्छ । यसमा ड्रोनको मोडल र यसलाई चलाउने तरिकाबारे धेरै कुरा उल्लेख गरिएको हुन्छ । यस्तै प्रि–फ्लाइट हरेक फ्लाइटअघि परीक्षण गर्नुस् । कुनै क्षति, नटबोल्ट लुज भएको, कुनै पार्टस् नचलेकोलगायत समस्या पहिल्यै थाहा हुन्छ । कहिल्यै पनि ब्याट्री ओभर चार्ज गर्नुहुन्न । यस्तै चार्ज अफ हुने गरी पनि राख्नुहुन्न । कम्पनीले दिएको निर्देशनअनुसार भोल्टेज लेभल मिलाएर राख्नुपर्छ । ड्रोनलाई फोहोर र धुलोबाट जोगाउनुपर्छ । मोटर्स, प्रोपेलर्स वा अन्य ठाउँमा भएका धुलो र फोहोरलाई हटाउन नरम ब्रसको प्रयोग गर्न सकिन्छ । तर, इलेक्ट्रोनिक्स पार्टस् नबिग्रियोस् भन्नेमा सतर्क रहनुपर्छ । तपाईंको ड्रोनमा गिम्बल छ भने यसलाई होसियारीपूर्वक चलाउनुपर्छ । गिम्बल र क्यामेरा लेन्सलाई माइक्रोफाइबर कपडाले नियमित सफा गर्नुपर्छ । ता कि फुटेज क्लियर आओस् । डोनलाई सीधा घामको प्रकाश पर्ने ठाउँमा राख्नु हुन्न । यसलाई फोहोर धुलोबाट जोगाउन सुरक्षित केस वा ब्यागमा राख्नुपर्छ । ता कि एक ठाउँबाट अर्को ठाउँमा लग्दा पनि कुनै फरक नपरोस् । ड्रोनको सेन्सर, कम्पास, आइएमयू (इनर्सियल मेजरमेन्ट युनिट) लाई कम्पनीले दिएको सिफारिसअनुसार मिलाउने गर्नुपर्छ । यसो हुँदा उडान राम्रो हुन्छ । कस्तो वातावरणमा ड्रोन उठाउने भन्ने पनि ख्याल गर्न जरुरी छ । तीव्र हावा चलेको, हिउँ परिरहेको, पानी परिरहेको, झरना आसपास ड्रोन उठाउँदा बिग्रने जोखिम रहन्छ । निषेधित क्षेत्रमा ड्रोन उडाउँदा सिज पनि हुन सक्छ । हरेक उडानपछि ड्रोनको अवस्था जाँच गर्नुपर्छ । कुनै समस्या देखिए वेलैमा मर्मत गर्नुपर्ने हुन्छ । यदि कुनै प्राविधिक समस्या देखिएमा, त्यस समस्याका विषयमा थाहा नभएमा प्राविधिक वा विज्ञसँग परामर्श, मर्मत केन्द्रमा मर्मत गर्नुपर्ने हुन्छ । तिमिल्सिनालाई इजरायल, अमेरिका र भारतबाट ड्रोन मर्मतका लागि बोलावट आएको र उतै बस्ने प्रस्ताव पनि आएको थियो । तर देशभित्रै दक्ष जनशक्ति तयार गर्ने र थप अवसर सिर्जना गरी देशभित्रै बस्ने मनसायका साथ जस्तोसुकै प्रस्ताव आएपनि स्वीकार नगर्ने उहाँले बताउनुभयो । पाँच सय बढी ड्रोन उडानका लागि दर्ता नेपालमा हालसम्म पाँच सय बढी ड्रोन उडानका लागि दर्ता भएका छन् । सरकारी, निजी तथा व्यक्तिगत रूपमा नेपालमा ल्याइएका मध्ये ती सङ्ख्यामा ड्रोन दर्ता भएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । पाँच सय ड्रोन दर्ता भएकामा एक सय वटा त सरकारी कार्यालयले ड्रोन दर्ता गराएका छन् । दर्ता भएपछि प्राधिकरणले एउटा युनिक आइडेन्टिफिकिशेन नम्बर’ उपलब्ध गराउने गरेको छ । देशभित्रै खरिद गरेको भए मूल्य अभिवृद्धि कर (भ्याट) बिल र विदेशबाट ल्याएको भए भन्सारसहितको बिल पेस गर्नुपर्ने व्यवस्था छ । दर्ता भइसकेपछि प्राधिकरणले उपलब्ध गराएको ‘ युनिक आइडेन्टिफिकिशेन नम्बर’ ड्रोनमा सुरक्षितसाथ टाँस्नुपर्छ । कूल २५० ग्राम वा सोभन्दा कम तौल भएका ड्रोन दुई सय फिटसम्म उडान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ । दुई सय ५० भन्दा बढी तौल भएमा गृह मन्त्रालयसँग अनुमति लिनुपर्छ । सुरक्षा निकायले ड्रोन उडान गर्दा सम्बन्धित मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ । २५ केजीभन्दा बढी तौलको ड्रोन उडान गर्दा तेस्रो पक्ष बीमा अनिवार्य छ । विमानस्थलभित्रको पाँच किलोमिटर वरिपरि ड्रोन उडान गर्न पाइँदैन । अन्तर्राष्ट्रिय सीमा क्षेत्रको पाँच किलोमिटर भित्रमा पनि उडान गर्न पाइँदैन । पर्यावरणीय र जैविक महत्वको दृष्टिले संरक्षित क्षेत्र, आरक्ष तथा खनिज क्षेत्रका स्थानमा ड्रोन उडान गर्न पाइँदैन । सुरक्षा कारबाही भइरहेको दङ्गाग्रस्त क्षेत्र, सङ्घीय, प्रदेश र स्थानीय सरकारले समय–समयमा सूचनामार्फत जानकारी गराइएको क्षेत्रमा उडान गर्न मिल्दैन । सैनिक वा सुरक्षा निकायको मुख्यालय, तालिम केन्द्र अवस्थित क्षेत्रको एक हजार मिटर र अन्य सुरक्षा एकाइ रहेको पाँच सय मिटरको आसपासमा उडान गर्न पाइँदैन । काठमाडौँ उपत्यकाभित्र माइतीघर मण्डला, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरबार स्क्वायर क्षेत्र (काठमाडौँ, भक्तपुर र ललितपुर) लगायतका धार्मिक तथा सम्पदा क्षेत्रमा उडान गर्न पाइँदैन । सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालय वा विशिष्ट पदाधिकारीको कार्यालय वा निवास वरपरको एक हजार मिटर वरपर उडान गर्न पाइँदैन । उपत्यका बाहिर स्थानीय प्रशासन वा अधिकार प्राप्त निकायले निर्धारण गरे अनुसारका धार्मिक, पुरातात्विक ऐतिहासिक वा नियन्त्रित घोषणा गरिएका क्षेत्रमा उडान गर्न पाइँदैन । खासगरी, पछिल्ला दिनमा कृषि क्षेत्रमा ड्रोनको प्रयोग हुन थालेको छ । सगरमाथा खुम्बु क्षेत्रमा फोहोर संकलनका लागि चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण गरिसकेको जनाएको छ । सो कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोनको परीक्षण उडान गरेको जानकारी दिएको छ । योसँगै उच्च उचाइमा पर्वतारोहण, आपतकालीन उद्धार र पर्यावरण संरक्षणमा सहजीकरण गर्ने बाटो खुलेको छ । यसबाट पनि ड्रोनको प्रयोगमा बढोत्तरी हुँदै गएको सहजै अनुमान गर्न सकिन्छ । सुरक्षित उडानका अलावा यसको संवेदनशिलतालाई ख्याल गरेर अगाडि बढ्नु नै आजको उत्तम विकल्प हो ।
पोखरा: श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले पहिलो रक्तदाता मिलन केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले विभिन्न संघ संस्थाहरुले आयोजना गरेको रक्तदान कार्यक्रमबाट रक्तसञ्चार केन्द्र पोखरामा कहिलेपनि रगतको अभाव नभएको बताए । विभिन्न विपत्तिका समयमा समेत रक्तसञ्चार केन्द्रमा रगतको अभाव नरहेको वताउदै उनले हरेक स्वस्थ ब्याक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सकिने र पछिल्लो समय गण्डकी प्रदेश सरकारको सहयोगमा रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत प्रदान गरिरहेको उनको भनाइ रहेको थियो । त्यस्तै श्रीकृष्ण प्रणामी सेवा समितिमा गत साउन १० देखी आयोजना भएको श्रीकृष्णवीतक एवं श्रीकृष्ण कथा प्रवचनका प्रमुख बाचक तुलसीस्वरुप महाराजले स्वास्थ्यनै धन भएकाले मानिसले स्वस्थ रहनका लागी समेत रक्तदान गर्न आवश्यक रहेको वताए । स्वस्थ मानिसले रक्तदान गरी रगत अभावमा परेका विरामीको उद्धार हुने भएकाले रक्तदान सेवा समेत रहेको उनको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक कार्यक्रममात्र नभइ विभिन्न सामाजिक कार्यक्रमहरु समेत हुदै आएको बताउदै आफुहरुले स्वास्थ्य शिविर, आँखा शिविर रक्तदान कार्यक्रमहरुलाई समेत निरन्तरता दिदै आइरहेको र सोही अनुरुप श्रीकृष्ण जन्माष्टमीको अवसर पारी श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको अध्यक्ष तोयानाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, समितिका निवर्तमान सदस्य देवी प्रसाद खतिवडा, श्रीकृष्ण प्रणामी सेवा समिति कास्की जिल्ला अध्यक्ष लिलाम्बर सापकोटा, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली लगाएतले शुभकामना मन्तब्य राखेका थिएभने कार्यक्रमम पोखरा महानगरपालिका वडा नं ७ का निवर्तमान सदस्य दिनवन्धु पौडेल लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।