पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलक्षित बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–५ मा अवस्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई रु एक लाख जरिवाना गराएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै सामान बिक्री गरेको पाइएपछि बुधबार कारबाही गरिइएको हो । साथै सो उद्योगबाट म्याद गुज्रिएका र लेवल नभएका रु ५५ हजार आठ सय ९२ मूल्य बराबरका सामान जफत गरी नष्ट गरेको बजार अनुगमन समितिका संयोजक एवं कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यसरी म्याद गुज्रिएर जफत गरिएका सामग्रीमा अलैँची १६ केजी, चक्रचिप्स १९ केजी, पिप्ला आठ केजी, मेथीपत्ता चार बट्टा, पास्ता एक केजी, ओखर १६ केजी र अन्य तिललगायत मसला पाँच केजी रहेको छ । यसैगरी स्टोरमा मूल्यसूची नराखी जथाभावी सामान बिक्री वितरण गरेको पाइएपछि सम्पूर्ण कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन समितिले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताले गुनासो गर्नुभएपछि जिल्ला अनुगमन समितिबाट अनुगमन गरेका हौँ । सो क्रममा उपभोक्ता संरक्षण ऐनका विपरीतका कुसर गर्नुभएकाले पसल सञ्चालकलाई जरिवाना र अखाद्य सामग्री जफत गरेका छौँ ।” यसैगरी अन्यत्रबाट खुला ल्याई उक्त उद्योगमा प्याकेजिङ गरिएको सोयाविन मस्यौरा प्रयोगशाला परीक्षणका लागि खाद्य नियन्त्रण तथा गुणस्तर कार्यालयमा पठाइएको क्षेत्रीले जानकारी दिनुभयो । सो स्टोरका सञ्चालक भारतको मोतिहारी जिल्ला ढाका गाउँ पञ्चायत–२ स्थायी घर भएका अशोक जैसवाललाई अब आइन्दा उपभोक्तामाथि खेलवाड नगर्न सचेत गराइएको छ । बजार अनुगमन टोलीमा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रतिनिधि जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि तथा उपभोक्ता मञ्च र सञ्चारकर्मीको सहभागिता रहेको थियो । यसैगरी चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि, सामानको कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता हकहितविरुद्धका कार्य हुनसक्ने भन्दै पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । महानगरले विभिन्न मासु पसल, दूध डेरीहरूमा अनुगमन बढाएको छ ।
लमजुङ: लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । क्व्होलासोथर गाउँपालिकाअन्तर्गत वडा नं ३ का घलेगाउँ, बङ्गुम, खगुम, फुल्म्रौ, वडा नं ५ स्थित सानो सिङ्दी र ठूलो सिङ्दी क्षेत्रका स्थानीयलाई यस्तो समस्या भएको हो । वडा नं ५ का अध्यक्ष तथा तल्लो सिङ्दीका स्थानीय गीतबहादुर गुरुङले यहाँ टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । आफूले पनि कार्यालयको काम परेमा घरबाट पाँच/दश मिनेट हिँडेर चौतारी डाँडामा पुगेर फोन गर्नु परिरहेको उहाँले दुःखेसो पोख्नुभयो । “दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक कामपर्दा आफन्तलाई फोन गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “वडामा मोबाइलको टावर छैन, वडा नं ६ पसगाउँमा राखिएको नेपाल टेलिकमको टावरले यहाँ राम्रोसँग काम गर्दैन । वडा कार्यालयभित्र मोबाइल फोन राम्रोसँग नटिप्नेदेखि वाइफाइसमेत नचल्ने समस्या छ ।” नेपाल टेलिकम लमजुङ शाखा कार्यालयमा पसगाउँमा टावर क्षमता थपेर वा सिङ्दीमा टावर राखेर समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो । “स्थानीय टेलिकम कार्यालयलाई मात्रै होइन यहाँको समस्याबारे जानकारी गराइ टावर राख्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत जानकारी गराएका थियौँ तर पनि समस्या समाधान भएको छैन”, उहाँले भन्नुभयो । ठूलो सिङ्दीका स्थानीय तथा वडा महिला सदस्य वर्तामाया गुरुङले फोन गर्नु पर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । “यहाँ कुनै आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नुपरेमा निकै समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो । वडा दलित महिला सदस्य पार्वती सुनार विकले पनि वडाको बङ्गुम गाउँमा सबैभन्दा बढी समस्या रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घलेगाउँमा मोबाइलमा टावर देखाउँछ तर राम्रोसँग आवाज नै सुनिदैन, तलतलका गाउँमा त झ्न बढी समस्या हुने नै भयो”, उहाँले भन्नुभयो,“नेपाल टेलिकमको टावर राख्ने कुरा भइरहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको गृह पालिका पनि रहेकाले अब समस्या समाधान हुने आशा छ ।” नेपाल टेलिकम (दूर सञ्चार) कार्यालय लमजुङका प्रमुख किरण पौडेलले सबै ठाउँमा टावर राख्न नसकिएको र भौगौलिक कारणले पनि फोन नलाग्ने गरेको बताउनुभयो । उहाँले समस्या रहेका ठाउँ पहिचान गरी टावर थप्न सम्बन्धित निकायमा जानकारी गराइएको बताउनुभयो ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५९ पैसा रहेको थियो । हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ भने घटेको छ । बुधबार युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ३३ पैसा कायम भएकामा आज खरिददर एक सय ४९ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७८ पैसा रहेको छ । आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २८ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम भएको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९९ पैसा र बिक्रीदर २० रुपैयाँ आठ पैसा रहेको छ । आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २० पैसा रहेको छ । राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।
पोखरा: पोखरामा डायमण्ड (हिरा) का गहना सोरुम थपिएको छ । कञ्चन क्यापिटल प्रालि अन्तर्गतको कृस कञ्चन ज्वेलरी मोहोरिया टोलमा डायमण्ड सोरुम सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बुधबार सोरुमको उद्घाटन गरेका हुन् । पोखरामा हिराका ग्राहकलाई मध्यनजर गर्दै सोरुम सञ्चालन गरिएको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । योभन्दा अघि कम्पनीकै अर्को शाखा पञ्चरत्न आभूषण प्रालि डायमण्डको सोरुम सञ्चालन आईसकेको उनले सुनाए । सोरुम उद्घाटनका अवसरमा भदौ १२ देखि १९ गतेसम्म हिराका गहनामा विशेष छुट प्रदान गरिने उनले जानकारी दिए । बिहान १० बजेदेखिसाँझ ६ बजेसम्म सोरुम खुला रहने अध्यक्ष गुमाजूले बताए । सोरुममा हिराबाट बनेका विभिन्न गहनाहरु उपलब्ध छन् । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका थियौं,’ उनले भने, ‘यो पटक पोखरामै अर्को सोरुमको शुभारम्भ गरेका हौं ।’ यसले हिराका गहनाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने उनको विश्वास छ । तीज तथा डायमण्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरुमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिए । कम्पनी अन्तर्गत पिएम कञ्चन आभूषण, कञ्चन आभूषण, कञ्चन ज्वेलर्स, कृस कञ्चन ज्वेलरी, पञ्चरत्न आभूषण र कञ्चन सिल्भर रहेका छन् ।
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ । खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०र०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।” मन्त्री यादवले जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी उहाँले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आउनथालेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन । पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न आवश्यक छ ।” खानेपानी मन्त्रालयको बजेट बर्सेनी घट्दै जानथालेको प्रति मन्त्री यादवले दुःखसमेत व्यक्त गर्नुभयो । “अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन, गर्न नसकिने कामका फाइल यो कारणले नसकिने भनेर लेखेर फिर्ता पठाइ दिए पनि हुन्थ्यो नी १ यो विषयमा अब प्रधानमन्त्रीसँग कुरा राख्छु ।” कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलगायत कर्मचारीको सहभागिता रहेको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलि बिहीबार सचिवालय बैठकको ‘एजेन्डा’ तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ । केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी हुनुहुन्थ्यो । एमालेले भोलि दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा सचिवालय बैठकको आह्वान गरेको छ ।
बागलुङ (गलकोट): गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् । एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन् । नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ । उनीहरूले ‘वीर चढेको भनिन्छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले वीर उठेका हनुमानलाई नियन्त्रणमा लिन्छन् । हनुमान नाचमा संलग्न पुजारीले सेता गन्जी र कछाड बाँध्ने गर्छन् । दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाचको रूपमा लिइन्छ । हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो । भूपतिन्द्र मल्लको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेका हुन् । खर्चिलो नाचको रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच बिस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको स्थानीय मुकेशचन्द्र राजभण्डारी बताउनुहुन्छ । पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार जोगाउन मुस्किल भएको श्रेष्ठको भनाइ छ । यस नाच रामायण कथामा आधारित रहेको हनुमान नाच र देखाउने तालका कारण बुझ्न र देख्न सकिन्छ । रामको सेवकका रूपमा रहेको हुनमान रहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजार परिक्रमासँगै बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित राम मन्दिर परिक्रमा गरेर फर्कने राजभण्डारीको भनाइ छ । अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास रहेको छ । भक्तपुरका नेवार समुदाय १७६८ सालमा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ । बीचमा केही वर्ष हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो । बागलुङ बजारको नारायण चोकबाट सुरु हुने उक्त नाचमा बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कने गरिन्छ । मङ्गलबारदेखि सुरु गरिएको हनुमान नाच चैतसम्म नाचिने हनुमान नाच संरक्षण परिषद् बागलुङले जनाएको छ । कोरोना कहरलगायतका कारण बीचमा केही वर्ष नाच रोकिएको मूल व्यवस्थापक ईश्वर मलेपतीले जानकारी दिनुभयो । २०७२ सालमा विधिवत नाचिएको नाच अहिले आएर नाचिन थालिएको छ । हनुमान नाच संरक्षण परिषद् बागलुङको पहलमा यहाँका नेवार समुदायका युवाहरू साउन महिनादेखि नै यसको तयारीमा जुटेका थिए । यस नाचमा कम्तीमा १३ र बढीमा १५ जोडी युवा हनुमानको भेषधारण गरी नाच्ने गर्दछन् । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रूपमा अगाडि सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । हनुमान नाचमा कलाकार बनेर सहभागी हुन कडा अनुशासन र आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने गरिन्छ । बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने मूल व्यवस्थापक मलेपतीले बताउनुभयो । “यो नाच नेपालबाटै लोप हुने अवस्थामा छ, संरक्षणका लागि ढिलै भएपनि नाच देखाउन थालिएको छ” उहाँले भन्नुभयो । उहाँका अनुसार हुनमानको मूर्ति लिएर बजार परिक्रममा गरी नारायणचोक चौतारीमा स्थापना गर्ने र नाच विर्सजन गरेपछि पुनः मूर्तिलाई हनुमान मन्दिरमा लगेर राख्ने परम्परा रहेको छ । बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । हनुमान नाचमा १० ताल हुने गरेको मलेपतीको भनाइ छ । कुनै पनि ताल बजाउँदा कलाकारहरूले बरिब दुई इन्चको मोटाइ भएको १.५ फिट लामो गोलो आकारको डण्डीको एक छेउको टुप्पा भूईंमा टेकाई अर्को छेउमा आफ्नो दुवै हातले टेकी घोप्टो अवस्थामा अनुशासित र मर्यादित ढङ्गबाट अखेडामा रहनु पर्दछ । यसमा पहिलो ताल, सलामी ताल, छ ताल, १२ ताल, १६ ताल, घेरा हाल्ने ताल, आठ ताल, भजन ताल र २४ ताल र प्रस्थान ताल रहेका छन् । आर्थिक रूपमा र कलाकार जोहो गर्न पनि कठिन हुन थालेपछि जोगाउनै मुस्किल परेको मंकाः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । हुनमान नाचमा यस पटक रु १५ लाखसम्म खर्च हुने अनुमान गरिएको छ । जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रूपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच जोगाउन कठिन भएको उहाँको भनाइ छ । रामायण कथामा रहेको राम वनवास भएको समयमा सीतालाई हरण गरेपछि रावणले रामसँग गरेको टकरावलाई लिएर नाचको उदय भएको मानिन्छ । पौराणिक ग्रन्थ रामायणअनुसार मर्यादा पुरुष भगवान रामचन्द्रकी पत्नी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगबाट सीतालाई फर्काउन सफल भएको खुसीयालीमा हनुमान नाचिएको इतिहास रहेको छ । हनुमानले रामका भाइ लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बुटीका लागि पर्वतै उचाली उनको प्राण बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वीर हनुमानमा निहित पराक्रम, विरता, अनुशासन, भक्तिभावलाई नृत्यको माध्यमबाट आराधना र प्राथना गर्नाले शक्ति मिल्छ भन्ने हिन्दू धर्मावलम्बीहरूको विश्वासले मल्लकालदेखि नै यो नाच नाचिने गरेको छ । बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई बागलुङ नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।
काठमाडौं: बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि दुईपटक फाइनलमा पुगेको बङ्गलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनपसिपमा बङ्गलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बङ्गलादेश उपविजेतामा सीमित बनेको थियो । बङ्गलादेशको जितमा आजको खेलमा मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५५औँ मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७१औँ मिनेटमा बङ्गलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए । त्यस्तै, खेलको ८१औँ मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बङ्गलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरे । यसैगरी, बङ्गलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपे । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बङ्गलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जित हासिल ग¥यो । हारसँगै साफ च्याम्पियनपसिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ । नेपालबाटै सन् २०१५ मा साफ यू–१९ च्याम्पियनपसिपका नामबाट सुरुआत भएको उक्त च्याम्पियनशिपको उपाधि सुरुआतमा नेपालले जितेको थियो । उक्त च्याम्पियनपसिपको फाइनल खेलमा नेपालले भारतलाई ‘टाइब्रेकर’मा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकोे थियो । उक्त च्याम्पियनपसिप यसअघि कहिले साफ यू–१८ र कहिले साफ यू–२० को नामबाट सञ्चालन हुँदै आएको छ । त्यसैगरी, सन् २०१७ मा भूटानमा आयोजना भएको साफ यू–१८ च्याम्पियनपसिपमा पनि नेपालले उपाधि जितेको थियो । त्यतिबेला राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले शीर्ष स्थानमा रहँदै प्रतियोगिताको उपाधि जितेको थियो । छैटौँ संस्करणको उक्त प्रतियोगिताको लिग चरणका खेलमा भने नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी, सेमिफाइनलमा नेपालले भूटानलाई तथा बङ्गलादेशले भारतलाई पराजित गर्दै साफ यू–२० च्याम्पियनपसिपको फाइनलमा स्थान बनाएका हुन् । यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तालिका थियो तर वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाइएको हो । विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।