पोखरा: नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने पक्कापक्की छ । एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने शपथको समयमै मन्त्रीबारे थाहा हुने बताए । सम्भावित मन्त्रीलाई शपथका लागि तयार रहन भनेर खबर गरिसकिएको छ । एक जना मन्त्रीका स्वकीयले पुष्टि गरे, ‘आजै शपथ गर्ने कुरा छ । १ बजे भन्ने आएको छ ।’ प्रदेश प्रमुखको निवासमा आज एक बजे नवनियुक्त मन्त्रीलाई शपथ गराउने तयारी छ ।
बाँके: नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिनुभयो । भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।” झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
म्याग्दी: विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भन्नुभयो, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् । तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताउनुभयो । “उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्”, उहाँले भन्नुुभयो, “स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुुलनामा केही समयअघि पाक्ने देखिएको छ ।” उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ । जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समयतालिका बनाएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समयतालिका बनाइएको छ । तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ । व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुुगमन गर्नुुपर्ने बताइएको छ । अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । मुस्ताङको एक हजार चार सय ७५ हेक्टरमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारी बगैँचामा नपाकदै अग्रिम भुक्तानजी दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ ।
बागलुङ(गलकोट): पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ । बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो । जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन । चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पुहँचमार्ग नहुँदा सञ्चालन हुन सकेको थिएन । ढिलै भए पनि बसपार्क सञ्चालनमा आएपछि जग्गादाता खुसी भएका छन् । बागलुङ नगरपालिकाले केही महिनाअघि बसपार्कको पहुँचमार्ग विस्तार गरेको थियो । पहुँचमार्ग साँघुरो हुँदा बस आउजाउमा समस्या भएको थियो । हाल बसपार्क सञ्चालनमा आइसकेको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । बसपार्कको औपचारिक उद्घाटन हुन भने बाँकी छ । २०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने सम्झौता छ । “नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याइसकेपछि बाँकी दाताको जग्गा फिर्ता गर्ने योजनामा छ, चार बर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई ऋणको साँवा र ब्याज भुक्तानी गरिरहेको छ, बसपार्क सञ्चालनमा ल्याएपछि नगरपालिकालाई आर्थिक भार घट्नेछ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “यातायात व्यवसायीसँग समन्वय भइरहेको छ, बसपार्क सञ्चालनमा आउनासाथ बागलुङ बजारको ट्राफिक समस्या आधा घटेर जान्छ, अहिले सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई अन्य कामका लागि प्रयोग गरिनेछ ।” बागलुङ नगरपालिका–४ मा बनाइएको बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक नजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन । हाल बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएका छन् । नगरपालिकाले बसपार्क बनाएर बाँकी रहेको जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको छ । नगरपालिकाले बसपार्कमा व्यावसायिक सटर बनाएकाले बसपार्कबाट नगरपालिकाले आम्दानी गर्न सक्नेछ । अहिले नगरपालिकाले वार्षिक एक करोडका दरले ऋणको साँवा तथा ब्याज नगर विकास कोषलाई तिरिरहेको छ । बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको विकल्पमा दाबगरामा आधुनिक बसपार्क बनाइएको हो । बसपार्क सञ्चालनमा आएपछि जग्गाधनीले छिटो जग्गा फिर्ता पाउने आशामा रहेको जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउनुभयो । राजभण्डारीले ५१ परिवारले दिएको जग्गामा बसपार्क बनाएर बाँकी जग्गा फिर्ता गर्न नक्सा तयार भइसकेको जानकारी दिनुभयो । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । यहाँ एकै पटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्किङको सुविधा छ । बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोरमा चल्ने लामा दुरीका बस यही बसपार्कमा रोकिने भएकाले पर्यटन क्षेत्रमा समेत बागलुङले फड्को मार्ने बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले विश्वास व्यक्त गर्नुभयो ।
चितवन: डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।
काठमाडौं: भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । पितृसम्मान दिवस यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ । ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतसमेतबाट हजारौँ भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारको सँयुक्ता टोलीले पोखरा १० इन्द्रमार्गबाट एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १० इन्द्रमार्ग बस्ने २९ वर्षीय अनिश गुरुङ रहेका छन् । उनलाई आफ्नै कोठाबाट लुकाई राखेको ड्रग्सहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । डिएसपी शर्माका अनुसार अनिशको कोठाबाट लागूऔषध डाइजापाम २३ एम्पुल, फेनेरागन ४१ एम्पुल, नुर्फिन ३३ एम्पुल र ब्रुफिन २२ एम्पुल गरी जम्मा ११९ एम्पुल र नाईट्रोभ्याट ३० चक्की, गाँजा ९ सय ७० ग्राम र डिजिटल तराजु १ थान बरामद गरिएको छ । पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: सिटिवान टेलिभिजनले आयोजना गरेको तेस्रो संस्करणको खुला तीजगीत प्रतियोगिताको उपाधि मेट्रोपोलिटान एकेडेमीले जितेको छ । ४८ टीमलाई पछि पार्दै मेट्रोपोलिटानले उपाधि जितेको हो । प्रतियोगितामा दित्तिय पुरस्कार देविस्थान भजन महिला समूह पोखरा २५ हेम्जाले प्राप्त गर्यो , त्यस्तै तृतीय पुरस्कार राष्ट्रिय मावि पोखरा १ बगरले हात पारे भने सान्त्वना पुरस्कार सक्षम अभियान नेपाल समुहले हात पार्यो । विजेताहरुले क्रमशः रु पचास हजार, तीस हजार २० हजार र १० हजार प्राप्त गरे । प्रतियोगीतामा उत्कृष्ट शब्द कमल जोशी आमा समुह, उत्कृष्ट भेषभुषा भिजन एकेडेमी नवलपरासीको टिम तथा उत्कृष्ट नृत्य सफल उद्द्यमशील महिला समूहले हात पारे । उनीहरुले जनहि ५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे । “तीजको वेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीज गीत प्रतियोगितामा कास्की र नवलपरासीका कुल ४२ समुहले प्रतिष्पर्धा गरेका थिए । सहभागी समुहहरुले महिला शसक्तिकरण, महिला हिसां, पर्यटन प्रवर्धन, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुव्र्यसनी, शिक्षा जस्ता सामाजिक विषयमा गीत गाएका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा शनिवार सम्पन्न कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार सांस्कृतिक गतिविधिको संरक्षणमा लाग्ने भन्दै सद्भाव पुर्ण रुपमा हरितालाीका तिज मनाउन सवैलाई आग्रहृ गरेका थिए । उनले संस्कृतिलाई समाजमा व्याप्त असमानता, बेथिति र विविध समस्याहरुबारे आवाज उठाउने उद्देश्यले आयोजना गरिएको तीज गीत प्रतियोगिता उदाहरणीय रहेको बताए । प्रतियोगीतामा निर्णायकहरुमा विवि अनुरागी, सिता केसी र शंकर विरही गुरुङ रहेका थिए ।
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा आयोजक कालोले मणिमुकुन्द टिम बिलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइलनमा पुगेको हो । आयोजकको जीतमा म्यान अफ द म्याच भएका निश्चल थापाले २ गोलको योगदान दिए । भने, निर बहादुर सोमै र मनिक गाहाले समान १ गोल गरे । यता हार व्यहोरेको मणिमुकुन्दको तर्फबाट नर बहादुर रावलले सान्त्वना १ गोल फर्काए । अब आयोजकले १८ गते दमकडा एफसीको सामना गर्नेछ । भने, भोलि (सोमबार) पहिलो सेमफाइनल खेल अन्तर्गत सराई एफसी र मणिमुकुन्द टिम ए बीच प्रतिस्पर्धा गर्नेछ । यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।