दमौली: तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । व्यास नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय गर्न भनिएको गैरेले बताउनुभयो । व्यास नगरपालिका–११ का पूर्ववडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरै कार्यकालमा यहाँ परीक्षणका रुपमा प्याराग्लाइडिङ गरिएको थियो । अब दर्तागरी सञ्चालनको तयारीमा पुगेका छौँ ।” उहाँले स्थानीयवासीको भेलागरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । वडाध्यक्ष दलबहादुर दुराले यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । छ वर्ष अगाडि पोखरास्थित ‘टिम फाइभ’ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गर्नुभएको थियो । तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवाबाट पाँच किलोमिटर र त्यहाँबाट तीन/चार किमिको दूरीमा यस ठाउँ पर्छ । यस ठाउँमा केही घरमा घरबास सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यस ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठको भनाइ छ ।
म्याग्दी: निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलमा आज बिहान देखिएको हो । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाईमा रहेको पुनहिलबाट मौसममा सुधार हुन थालेसँगै मनमोहक र रमणीय दृष्य देखिन थालेको छ । बेनीका ओक्कार श्रेष्ठले पुनहिलको हरियाली सहितको दृष्यले मोहित बनाएको अनुभव सुनाउनुभयो । “बेनीदेखि पोखरेबगर–घार–शिख–फलाते–चित्रे हुँदै घोडेपानी जोड्ने सडकमा मोटरसाइकल र घोडेपानीदेखि पुनहिल हाइकिङ गर्न २४ जना एक्सपल्स ब्राण्डको मोटरसाइकल प्रयोगकर्ता आएका थियौँ,” उहाँले भन्नुभयो “कच्ची सडकमा मोटरसाइकल र उकालोमा हिड्दाको सबै थकान पुनहिलको दृष्यले मेटाइदियो ।” चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथि, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न पाउँदा उमङ्ग र उत्साह थपिएको धवलागिरि गाउँपालिका–७ का दिपेन्द्र न्यौपानेले बताउनुभयो । एकान्त वातावरणमा योग, ध्यान गरेर तनाव व्यवस्थापन गर्नका लागि पनि यो ठाउँ उपयुक्त भएको बेनीका व्यवसायी मुकुन्द शर्माले बताउनुभयो । “शीतल हावापानी र शान्त वातावरणले तनाव भुलायो,” उहाँले भन्नुभयो “छुट्टी मनाउन र छोटो अवधिको पारिवारिक भ्रमणका लागि पुनहिल उपयुक्त गन्तब्य रहेछ् ।” अन्य समयमा सुख्खा हुने पुनहिल बर्खा ऋतुमा हरियाली हुन्छ । घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले शान्त र एकान्त वातावरण रुचाउने पर्यटकका पुनहिल घुम्न उपयुक्त समय भदौ, असोज र कात्तिक भएको बताउनुभयो । “पुनहिलमा ऋतु अनुसार फरक÷फरक दृष्य अवलोकन गर्न सकिन्छ,” उहाँले भन्नुभयो “एकै ठाउँबाट धेरै हिमाल, वनजङ्गल, पहाडी भूगोल, सूर्योदय तथा सूर्यास्तको दृष्य अवलोकन गर्न पाउनु पुनहिलको विषेशता हो ।” पर्यटकीय राजधानी पोखरा नजिकै सहज र आकर्षक गन्तव्य खोज्नेहरुको लागि चक्रीय अन्नपूर्ण पदयात्रामा समेटिएको पुनहिल/घोडेपानी आकर्षक र रोमाञ्चक गन्तव्य हो । पोखरादेखि कास्कीको नयाँपुलसम्म गाडी र त्यहाँदेखि पदयात्रा गरेर एकै दिनमा पुगिने घोडेपानीदेखि आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ । म्याग्दीको बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै साँढे दुई घण्टामा सवारी साधनमार्फत घोडेपानी पुगिन्छ । पुनहिल र घोडेपानी पदयात्रामा निस्कनेहरू धम्पुस वा घान्द्रुकसम्म घुमेर आउन सक्छन् । घोडेपानीमा बास बसेका पर्यटक सूर्योदय र हिमाल हेर्नका लागि मिर्मिरेमै पुनहिल पुग्छन् । सूर्योदयको बेलामा घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले मन लोभ्याउँछ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल रहेको बताउनुभयो । “गुराँसको जङ्गलको बिचमा अवस्थित घोडेपानीका होटलको कोठाबाटै हिमाल देखिन्छ,” उहाँले भन्नुभयो “मगर सङ्ग्रहालय र संस्कृति तथा जीवनशैली पनि घोडेपानीको आकर्षण हो ।” वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानी–पुनहिल क्षेत्र घुम्न सो भन्दाबढी सङ्ख्यामा नेपाली पर्यटक आउने पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । पुनहिलमा प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न गत वर्ष गाउँपालिकाले रु ६६ लाखमा ठेक्का लगाएको थियो । यस वर्ष रु ५५ लाख न्यूनतम मूल्य राखेर दुई पटक ठेक्का आह्वान गरेपनि प्रस्ताव नपरेकाले तेस्रो पटक सूचना खुलाउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो । पुनहिलको आम्दानी स्थानीयवासीको माग र आवश्यकताका योजनाका साथै गाउँपालिकाको विकास निर्माण तथा पर्यटन प्रवद्र्धनमा परिचालन गरिएको उहाँले बताउनुभयो ।
मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो । प्रदेश सरकारको रु १७ लाख ५० हजार बजेटमा भलिबल खेलमैदान र प्यारापिट निर्माण गर्नुका साथै फराकिलो बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो । “आरसिसी ढलान गरेर भलिबलको कोर्ट र एक सय मिटर लामो प्यारापिट बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि ५० मिटर लम्बाइ भएको खेलमैदानलाई विस्तार गरेर एक सय मिटर लामो बनाइएको छ ।” खेलमैदान निर्माणपछि धुलो र हिलोमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था हटेको धवलागिरि युवा क्लबका अध्यक्ष मनप्रसाद गौचनले बताउनुभयो । फुर्सदको समयमा युवायुवतीलाई खेल अभ्यास गर्न सजिलो भएको छ । प्रतियोगिता आयोजना गर्न पनि सहज हुने गौचनले बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले व्यवस्थित खेलमैदान अभावमा खेल प्रतिभाले अभ्यास र प्रतिभा प्रस्फुटन गर्न नपाएकाले प्रदेश सरकारमा पहल गरेर गत आर्थिक वर्ष २०८०/८१ मा बजेट व्यवस्थापन गरी कोवाङमा खेलमैदान निर्माण गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रममार्फत गत वर्ष जोमसोमको खेलमैदानको २५ वर्षपछि स्तरोन्नति गरिएको पनि सांसद गौचनले बताउनुभयो ।
पोखरा: दीप युनाइटेड क्लब पोखरा १६ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ९० युनिट संकलन भएको छ । ‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले हरितालिका तीजको अवसरमा आयोजना गरेको १२ औं रक्तदान कार्यक्रमबाट ९० युनिट संकलन भएको कार्यक्रम संयोजक आशिष क्षेत्रीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पहिलो रत्तदाता (५५ पटक रक्तदान) रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै वडाध्यक्ष तिमिल्सिनाले हरेक युनिटबाट हरेक व्यक्तिको प्राण बच्ने सक्ने बताउदै आगामी दिनमासमेत सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा हार्ड रोग विषेशज्ञ डा निरज रन्जित, वडा १६ का वडासदस्य राजकुमारी बानिया, मन्जु बस्याल, वडा नं १९ का वडासदस्य विकास आचार्य र बगरका प्रहरी सहायक निरीक्षक तारा बिक लगायतको सहभागिता थियो । क्लबका अध्यक्ष खेमराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भीमप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।
पर्वत: हाइड्रोपावरमा स्टोर गरिराखेको तामाको तार चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१४ मझेरीपाटनमा बस्ने २९ वर्षीय सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने ३७ वर्षीय विकास खवास र वडा नं. १५ खाल्टेमसिना बस्ने वर्ष २६ वर्षीय निशान दर्जी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत साउन १२ गते राति पोखरा महानगरपालिका–१४ मझेरीपाटन गोर्खा भिलेज स्थित सिभिल हाइड्रोपावर स्टोर्सबाट तार चोरी भएको थियो। कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के।भी। ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्डर पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी छ लाख बराबरको सामान चोरी भएको थियो। पोखरा महानगरपालिका-१४ चाउथेमा तारको बाहिरी पत्र फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
भरतपुर: लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो । रङ्गशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रङ्गशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताउनुभयो । “कामले गति लिइसकेको छ । कामदारको सङ्ख्या पनि उल्लेख्य छ”, उहाँले भन्नुभयो, “तोकिएकै समयमा रङ्गशाला निर्माण हुनेमा भन्नेमा हामी विश्वस्त छौँ ।” उहाँले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने बताउनुभयो । महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई ३० महिनाभित्र रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो । निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले कामको सहजीकरणका लागि महानगरपालिकाले चार जनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको बताउनुभयो । उहाँका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रङ्गशाला निर्माण फेरि सुरु गरिएको छ । सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताउनुभयो । उहाँका अनुसार अहिले दुई सय ५० जना कामदार खटिएका छन् । उहाँले पहिलो चरणमा रङ्गशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ । धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रङ्गशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो । पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रङ्गशाला बन्नेछ । फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो । अहिले भने नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ । नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको उहाँले बताउनुभयो । महानगरपालिकाले रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा ठेक्का सम्झौता गरेको हो । फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको जनाएको छ । सहयोग जुटाएर निर्माण सुरु गरेको रङ्गशाला धुर्मुस सुन्तली फाउण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो । अहिले पनि रङ्गशालाको ऋण रु १२ करोड रहेको फाउण्डेशनले जनाएको छ ।
खोटाङ: गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ । तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय एेंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिनुभयो । “चट्याङले बेहोस बनेका तीनैजना अहिले उपचाररत छन् । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्”, उहाँले भन्नुभयो, “उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ । रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी छ ।” चट्याङले विद्युतीय सामग्रीमा ठूलो क्षति गरेको ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐंसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो । “चट्याङबाट घाइते बनेकाहरुको अवस्था सामान्य बन्दै गएको छ । हामी अहिले घाइतेहरुको अवस्था बुझ्न प्राथमिक स्वास्थ्य केन्द्र पुगेका छौँ”, उहाँले भन्नुभयो, “चट्याङले विद्युत्को मिटरबक्स, टेलिभिजन, विद्युतीय बल्ब, कुर्सी, टेबललगायतका सामग्री जलेको भन्ने जानकारी फोनमार्फत आइरहेको छ । अब प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्छौं ।” चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो । अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
काठमाडौँ: पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित भएकी थिइन् । दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् । यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।
पोखरा महानगरपालिका ६ लेकसाइडस्थित आफ्नै पसलमा आगो लगाएका २ जना कारागार चलान भएका छन् । कास्की प्रहरीका अनुसार बीमा रकम दाबीका गर्न आफ्नै पसलमा आगजनी गरेको आरोप लागेका पोखरा महानगरपालिका–१७ का ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई पूर्पक्षका लागि जेल चलान भएका हुन् । उनीहरुलाई जिल्ला अदालत कास्कीको आदेशानुसार शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । उनका अनुसार ति दुई जनाले साउन १६ गते बिहान नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लगाएका थिए । पछि अनुसन्धानको क्रममा उनीहरूले नै बीमावापतको रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएको थियो । अनुसन्धानका क्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स न्यूरोड शाखामा पसल सञ्चालकले २ करोड १० लाख बराबरको बीमा गरेको खुलेको थियो ।