ताप्लेजुङ: पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।८ हजार ५ सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो ।आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ । वर्षभरि कञ्चनजङ्घा क्षेत्रमा दुई मुख्य पर्यटकीय मौसम छन् । पहिलो याम चैत, वैशाख र जेठमा हुन्छ भने दोस्रो भदौदेखि मङ्सिरसम्म चल्छ । यस वर्षको भदौदेखि सुरु भएको याममा हालसम्म करिब सात सय ५० विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा पुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँचचौकी ९चेकपोष्ट० कार्यालयको तथ्याङ्क छ । आन्तरिक पर्यटकको सङ्ख्या भने विदेशी पर्यटकको दोब्बर रहेको स्थानीय व्यवसायी बताउँछन् । परिषद्का पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार यसपटकको भ्रमणमा मुख्यतया फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाजस्ता देशबाट पर्यटक आएका छन् । गत वर्षका तुलनामा यस वर्ष अझ बढी पर्यटक आएका छन्, यसले स्थानीय व्यवसायीलाई पनि उत्साहित बनाएको पर्यटन व्यवसायी पेमा शेर्पाले बताउनुभयो । कञ्चनजङ्घा भ्रमणमा आन्तरिक पर्यटकको सङ्ख्या पनि बढिरहेको छ । दसैँतिहारका समयमा आन्तरिक पर्यटकको ठूलो उपस्थिति देखिएको छ । दसैँतिहारका बेला विशेषगरी स्थानीय र नेपाली पर्यटकले परिवारसहित कञ्चनजङ्घा आधार शिविरको यात्रा गर्दछन् । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज पूर्ण रूपमा भरिएका थिए । सदरमुकाम फुङ्लिङका होटल सञ्चालक विमल भण्डारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा २० प्रतिशत वृद्धि भएको छ । उहाँले भन्नुभयो, “कञ्चनजङ्घा भ्रमणका लागि आएका पर्यटकले हाम्रो होटल व्यवसायलाई चलायमान बनाएको छ ।कञ्चनजङ्घा क्षेत्रमा बढेको पर्यटक आगमनले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ । होटल, रेस्टुराँ, ट्रेकिङ गाइड, पोर्टर र हस्तकला व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । फुङ्लिङसहित आधार शिविर क्षेत्रमा सञ्चालित होेटलमा पर्यटकको बाक्लो उपस्थिति देखिन्छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यसपटकको सिजनमा होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।पर्यटन व्यवसायी फुपुछोहाङ शेर्पाका अनुसार कञ्चनजङ्घा पर्यटक आगमनले ट्रेकिङ गाइड र पोर्टर पनि लाभान्वित भएका छन् । त्यस्तै यातायात व्यवसायीसमेत लाभान्वित भएका छन् । मौसम प्रतिकूल नभएसम्म गाइड र पोर्टरले राम्रो आम्दानी गर्ने अवसर पाउँछन् । पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार विदेशी पर्यटक प्रायः लामो अवधि बस्ने हुँदा गाइड, पोर्टर र टेन्सनको माग पनि बढेको छ । कञ्चनजङ्घा क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरक्षण तथा प्रवर्द्धन गतिविधि चलाइएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ । स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय छन् ।पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्, जसमा हिमाली पर्वतारोहण मेला, सांस्कृतिक महोत्सव र स्थानीय उत्पादनको प्रदर्शनीजस्ता कार्यक्रम समावेश छन् । यस्ता गतिविधिले पर्यटकलाई आकर्षित गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आवतजावत गर्ने मुख्य दुई सिजन भए पनि असार र साउनमा वर्षाका कारण ट्रेकिङ मार्ग अवरुद्ध हुने समस्या रहन्छ । यसबाहेक पुस, माघ र फागुनमा हिमपातले गर्दा ट्रेकिङ मार्ग कठिन बन्छ, जसले गर्दा पर्यटकको आगमनमा कमी आउने गरेको घुन्सा क्षेत्रमा होटल सञ्चालक कान्छा शेर्पाले बताउनुभयो । कञ्चनजङ्घा क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ विभिन्न योजना निर्माण भइरहेका छन् । स्थानीय प्रशासन र पर्यटन व्यवसायीको सहकार्यमा पर्यटकीय पूर्वाधार विकास गर्न पहल हँुदै आएको छ । पर्यटन सहायक शेर्पाका अनुसार नयाँ पदमार्गको विकास, सुरक्षित आवास सुविधा र मार्गनिर्देशिका तयार पार्न विशेष योजना बनाइएको छ । यसका साथै पर्यटकको सुविधाका लागि आधार शिविर क्षेत्रमा वाइफाइ, प्राथमिक उपचार केन्द्र र पर्यावरणमैत्री शौचालयको व्यवस्थापनमा ध्यान दिइएको छ । कञ्चनजङ्घा क्षेत्र नेपालको एक महत्त्वपूर्ण पर्यटकीय सम्पदा हो, जसले आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गरिरहेको छ । पछिल्लो समय पर्यटकको सङ्ख्यामा भएको वृद्धिले स्थानीय व्यवसायलाई चलायमान बनाएको छभने रोजगारका अवसर पनि बढेका छन् । पछिल्लो समयमा जलवायु परिवर्तन र मौसमको अनिश्चितताले दीर्घकालीन चुनौती सामना गर्नुपर्ने देखिन्छ ।
पोखरा: गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले काठमाडौंबाट आज पक्राउ गरेकाे हाे । उनीविरुद्ध उच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको फैसलालाई सर्वाेच्चले पनि सदर गरेको थियो । यो पनि पढ्नुहोस ज्यान मार्ने उद्योगमा प्रदेश सांसद 'दीपक मनाङे' दोषी ठहर, ५ वर्ष कैदको फैसला
विराटनगर: प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको बताउनुभयो । संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उहाँले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।” धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्कनुभएको थियो ।
जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा ३, एमडी एनेस्थेसियामा १ र एमडी पेडियाट्रिक्समा १ गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।” प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्नुहुने कार्यक्रम रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ ।
जनकपुरधाम: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०र८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ३ महिना अर्थात् साउन, भदौ र असोजमा रु ५ करोड २३ लाख मूल्यबराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ । गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सोसहुलियतदरको पसलबाट हालसम्ममा ५ हजार ६ सय प्याकेट नुन बिक्री गरेर रु २ लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताउनुभयो । सहुलियत दरका सो पसलबाट रु २४ प्रतिप्याकेट तथा सोभै डिलरमार्फत रु २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिनुभयो ।
पोखरा: विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ । सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लामिछानेलाई कास्कीबाट बुटवल लैजान लागिएको हो । प्रहरी स्रोतका अनुसार उनलाई बुद्ध एयरको फ्लाइट नम्बर ६ सय ८१ मार्फत भैरहवा लगिदैं छ । तर अहिले प्रतिकुल मौसमका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थलमै अड्किएका छन् । उनलाई कास्की प्रहरीले बिहान ५ बजेर ५५ मिनेटमा विमानस्थलमा प्रवेश गराएको थियो । उनलाई बिहान सबेरै बुटवल पुर्याउने भनिएपनि मौसमका कारण फ्लाइट डिले भएको विमानस्थलले जनाएको छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई सोही रातीनै पोखरा ल्याइएको थियो । उललाई गत आइतबार कास्की जिल्ला अदालतले चौथों पटक १३ दिनको म्याद थप गरेको छ । बयानका लागि रुपन्देही लगेपनि बयान सकिएपछि पोखरा नै फर्काइने बताइएको छ । उनलाई रुपन्देही लगिने भएपछि रास्वपाका कार्यकर्ताहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । यद्यपी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ नौ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गुजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताउनुभयो । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहनुभएको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य–सचिव मनोनयन गर्नुभएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कञ्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) रहनुभएको छ । अध्यक्ष लिङ्देनले सहायक महामन्त्री विजय खड्का प्रमुख रहनुभएको पर्यटन विभागमा सदस्य–सचिव र सदस्य मनोनयन गर्नुभएको छ । विभागको सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) रहनुभएको छ भने सदस्यमा सांसद आशा लामा (काठमाडौँ), अर्जुन खनाल (कास्की), आराधना पुडासैनी (मोरङ), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रेपलाञ्चोक) र सुशील पन्त (गोरखा), मनोनयन गर्नुभएको छ । यसैगरी सदस्य तीर्थराज सुवेदी (कास्की), निर्मला इजम (ताप्लेजुङ), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाडौँ), किशोर खड्का (बझाङ), दावाकिपा शेर्पा (स्विट्जरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) रहनुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा दुवै विभागका सदस्य–सचिव तथा सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको सो पार्टीले जनाएको छ ।

