काठमाडौं: काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो । सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो । पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।
काठमाडौं: पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ को विन्दुमा कायम भएको हो । आज तीन सय २० कम्पनीको दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर एक लाख ३७ हजार एक सय ६३ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १५ र होटल तथा पर्यटन समूह चार दशमलव ७४ प्रतिशतले घटेको छ । बैंकिङ तीन दशमलव १७, विकास बैंक दुई दशमलव २९, जलविद्युत् तीन दशमलव ५९, लगानी तीन दशमलव ५६, जीवन बीमा तीन दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५५ अङ्कले घटेको छ । त्यस्तै लघुवित्त एक दशमलव ३८, म्युचुअल फन्ड एक दशमलव ३७, निर्जीवन बीमा दुई दशमलव ७३, व्यापार दुई दशमलव ६८ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले घटेको छ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ३० करोड ५२ लाख ६१ हजार तीन सय ११ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख १९ हजार तीन सय ३९ कित्ता शेयर किनबेच भएको छ ।
तनहुँ: तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो । उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उहाँले बताउनुभयो । दुई दिनअघि पनि व्यास नगरपालिका–२ अमरापुरीस्थित एउटा रूखमा अजिङ्गर भेटिएको थियो । उक्त अजिङ्गरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो ।
कास्की: पोखरामा वरिष्ठ संस्कृतिकर्मी चलचित्रक निर्देशक निर्माता, गीतकार, संगितकार तथा तमु संसार त्रैमासिक पत्रिकाका प्रधान सम्पादक स्व. लोकबहादुर गुरुङको दशौं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले उनको सम्झनामा आज (बुधबार) लोक सर स्मृतिग्रन्थको विमोचन र शिक्षण पेशामा क्रियाशिल एक शिक्षकलाई सम्मान गर्दै स्व. लोकबहादुर गुरुङको स्मृति दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अथितिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले उक्त स्मृतिग्रन्थको विमोचन र लमजुङको सिङ्दीस्थित हिमालय माविका शिक्षक युवराज गुरुङलाई नगद रु ५१ हजार, दोसल्ला, फेटा तथा सम्मानपत्र अर्पण गरिन् । सो अवसरमा बोल्दै प्रदेश सांसद गुरुङले स्वर्गीय लोकबहादुर गुरुङ बहुआयामिक व्यक्तित्व भएको स्मरण गरिन् । गुरुङको असामयीक निधनले परिवारलाई मात्रै नभई सिंगो तमु समुदाय र देशलाई नै अपुरणीय क्षति भएको धारणा राखिन् । लोकबहादुर उनको आफ्नो पनि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै सांसद गुरुङले उनको मार्गनिर्देशनलाई सधै शिरोपर गर्ने बताइन् । यस्तै सम्मानित व्यक्तित्व युवराज गुरुङले विगत २ दशकदेखि शिक्षण पेशालाई कर्मक्षेत्र बनाउदै आएको स्मरण गर्दै यसको पछाडि स्व. लोकबहादुरको देन रहेको बताए । ‘लोक सरकै प्रेरणाकै कारण आज म यो स्थानमा छु । उहाँ हेडसर भएकै कारण मैले उहाँको आचरणलाई अनुसरण गरेको थिए, उनले भने, ‘म आज जुन ठाउँमा छु त्यो उहाँकै कारणले छु ।’ उनले आफुले पाएको सम्मानले शिक्षण क्षेत्रमा थप काम गर्न हौसला मिलेको बताए । यस्तै प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) ले स्वर्गीय लोकबहादुरको गुणलाई शब्दले बयान गर्न नसकिने बताए । उनले गुरुङ समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्न स्व. लोकबहादुर गुरुङको योगदान महत्वपूर्ण रहेको बताउदै बिर्सन नहुने बताए । ‘हाम्रो समुदायको लोक संस्कृतिलाई जगेर्ना र उजागर गर्न उहाँको ठुलो योगदान छ । त्यसैले उहाँ एउटा समयले जन्माएको पात्र हुनुहुन्थयो । उहाँको देनलाई हामीले कहिल्यै बिर्सनु हुदैन,’ गुरुङले भने । उनले प्रतिष्ठानको कोषमा हाल ४७ लाखभन्दा बढी रकम रहेकोसमेत जानकारी दिएका थिए । वरिष्ठ संस्कृतिकर्मी स्व. लोकबहादुरको विगत १० वर्ष अघि निधन भएको थियो । प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) को सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी सदस्य गौरी तमुले गरेकी थिइन् भने, कार्यक्रम सञ्चालन सचिव रोशनी गुरुङले गरेकी थिइन् ।
बागलुङ (ढोरपाटन): बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् । दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् । यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताउनुभयो । “भेडाबाख्राको सङ्ख्या बढी भएकाले ऊन प्रशस्त उत्पादन हुन्छ । मासु र ऊनका कपडाबाट भेडापालक किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन्”, उहाँले भन्नुभयो । मासु स्थानीयस्तरमा बिक्री हुने गरेको भन्दै त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गरेको पुनले जानकारी दिनुभयो । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उहाँको भनाइ छ । पहिले–पहिले गोठालाले लगाउने ऊनका कपडा अहिले विदेश निर्यात हुँदा अचम्म लाग्ने पुनले बताउनुभयो । एक दशक अगाडि काम्लो, बख्खु, घुम लगाउने मान्छेलाई लेकाली र गोठालाको सङ्ज्ञा दिने गरिएकामा अहिले विदेशमा बस्नेको रोजाइमा यी कपडा पर्न थालेको उहाँले जानकारी दिनुभयो । पुनले एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्ने भन्दै ती सामान विदेश पठाउँदा आम्दानी पनि प्रशस्त हुने बताउनुभयो । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्ने उहाँले जानकारी दिनुभयो । आफूहरुले लेकमा उत्पादन गर्ने काम्लो, बख्खु, घुम जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुने गरेको पुनले बताउनुभयो । “हामीहरुले घुम, काम्लो ओड्दा भेडाको ऊनको कपडा लगाउने मान्छे भनेर हेपेर गोठाले भन्थे । अहिले धेरैले ऊनको कपडा चाहियो भन्नुहुन्छ, खुसी लाग्छ । गाउँघरसँगै विदेशबाट बढी माग गर्नुहुन्छ” उहाँले भन्नुभयो, “भेडा पालेर पहिले मासु बेच्थ्यौँ । अहिले त्यसको रौँबाट बनेका कपडा बेच्न थालेका छौँ । नयाँ प्रविधिको प्रयोग गरी कपडा बुन्दा सहज हुन्थ्यो होला, हामीसँग प्रविधि नहुँदा पुरानै सीपको प्रयोगबाट कपडा बनाउने गरेका छौँ ।” निसीखोला गाउँपालिका–६ का वीरमानबुढा मगरले आफूहरु सानो हुँदा चप्पल, सिरक, डसना र अन्य कपडा पाउन मुस्किल हुने गरेको स्मरण गर्दै उतिबेला ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको बताउनुभयो । पछिल्लो समय भेडा पाल्ने किसान घट्दै गएको भन्दै ऊनको कपडाको माग भने बढ्दै गएको उहाँको भनाइ छ । मगरले चार पुस्तादेखि भेडा पाल्दै आएको सुनाउँदै आफूपछिको पुस्ताले चासो नदिएको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “पुस्ताले परम्परागत सीप सिक्न मान्दैनन्, हाम्रो पालामा कपडाको अभाव थियो, अभावले ऊनको कपडा बनाएर लगाउन सिकायो । अहिले बजारमा आधुनिक कपडा पाउँछ, त्यही भएर युवापुस्ता सीप सिक्न चाहदैनन् । अहिले यहाँबाट विदेश गएकाले फोन गरेर मलाई काम्लो, हापदुला चाहियो पठाइदिनुस् भन्छन् ।” तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलालबुढा मगरले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइएको बताउनुभयो । तमानखोलाका अधिकांश किसानले भेडापालन गर्दै आएको भन्दै किसानलाई आधुनिक उपकरणसहित आधसनिक सीप सिकाउने योजनामा पालिका रहेको उहाँले जानकारी दिनुभयो । किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष बुढा मगर बताउनुभयो ।
काठमाडौं: युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनरगठन गर्ने घोषणा गर्नुभएपछि उहाँको राजीनामा आएको हो । कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा सांसद्हरूले छलफल गर्ने संसद्का सभामुख रुस्लान स्टेफनचुकले आफ्नो फेसबुक पेजमा बताउनुभएको छ । ल्भिभमा रातभर भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र ३५ जना घाइते भएका बेला विदेशमन्त्रीको राजीनामा आएको सहरका मेयर एन्ड्री सदोवीले बुधबार बिहान बताउनुभयो । उहाँले मृत्यु हुनेमा एक बालक र एक चिकित्साकर्मी रहेको र घाइतेहरूको अवस्था चिन्ताजनक रहेको जानकारी दिनुभयो । उक्त आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा युक्रेनको पोल्टावामा एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा आक्रमण भएको एक दिनपछि भएको हो । पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका थिए । युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएपछिको यो सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक भएको बताएका छन् । पोल्टावा मिलिट्री इन्स्टिच्युट अफ कम्युनिकेसनको मुख्य भवनमा क्षेप्यास्त्रहरू प्रहार हुँदा भवनका धेरै तला क्षतिग्रस्त भएका थिए । धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ । पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ । यो आक्रमण अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । युक्रेनी सेना रुसको कुर्स्क सीमा क्षेत्रमा आफ्नो पकड बनाउन कोसिस गरिरहेको छ र रुसी सेनाले पुर्वी युक्रेनमा गहिराइसम्म आफ्नो मार्ग बनाएको छ ।
गण्डकी: तपाईलाई सबैभन्दा बढी मनपर्ने आफ्नो गीत कुन हो ? गीतकार प्रल्हाद सुवेदीले भन्नुभयो, “म त्यही गीतको खोजीमा छु ।” घुमाउरो जवाफ फर्काउँदै उहाँले गीत लेखनप्रतिको आफ्नो असिम प्रेम र तृष्णालाई उजागर गर्नुभयो । हरेकलाई आफ्नो सिर्जना प्रिय र समान लाग्ने उहाँको बुझाइ छ । गीत लेखनमा दुई दशक बिताउनुभएका सुवेदी आफूलाई सिर्जनकर्मको शैशवकालमा रहेको भन्न रुचाउँछन् । लोक र दोहोरी गीतका सिद्धहस्त सर्जक सुवेदीले आफूले बाँचेको समय र आफ्ना निजात्मक अभिव्यक्तिलाई गीतमा उधिन्ने गरेको सुनाउनुभयो । उहाँका गीतका मुख्य भावभूमि भनेको मानवीय प्रेम, समवेदना र करुणा हुन् । “मेरा अधिकांश गीत प्रेमगीत हुन्, केही सांस्कृतिक विषयवस्तुका पनि छन्”, उहाँले भन्नुभयो, “माया भन्ने विषय प्रेमको सर्वोत्तम विन्दु हो । यसलाई जीवन्त बनाउनु आफ्नो दायित्व हो जस्तो लाग्छ ।” पर्वतको कुश्मा नगरपालिका–१ पाङका सुवेदीले प्रेम, ध्यान र सङ्गीत गरी मानव जीवनका तीन धारलाई आफूले सिरोपर गरेको बताउनुभयो । बुद्ध पुरुष ओशोका अनुयायीसमेत रहनुभएका सुवेदीले सङ्गीत जीवनको सबैभन्दा मिठो अभिव्यक्ति भएको बताउनुभयो । “गीत पनि सङ्गीतकै एउटा पक्ष हो, मैले यसलाई मन्त्र बनाएको छु”, उहाँले भन्नुभयो, “प्रेमगीत मेरा चिनारी हुन्, म गीतको जिज्ञासु पाठक र स्रोता पनि हुँ ।” पौराणिककालका पात्र विष्णुभक्त प्रल्हाद झै उहाँ प्रेमगीतका भक्त हुनुहुन्छ, भन्दा अतियुक्ति हुँदैन । सुवेदीले गीतलेखनमा आफूलाई समर्पित गरेको बताउनुभयो । “सिर्जनलाई जीवनमा अपनाएँ, मैले आफ्नो बाटो पहिलाएँ, अहिले यसैमा यात्रारत छु, आफूप्रति कुनै गुनासो छैन”, उहाँले भन्नुभयो । सुवेदीले हमलसम्म तीन सय बढी गीत नेपाली लोकसङ्गीतलाई दिइसक्नुभएको छ । केही गीतमा उहाँको स्वर र सङ्गीतसमेत छ । स्नातक पढाइका लागि विसं २०६० मा पाङबाट बागलुङ सदरमुकाम झर्नुभएका उहाँले सिर्जना यात्रा पनि त्यहीबाट सुरु भएको थियो । उहाँका केही गीत बागलुङ छँदै सार्वजनिक भएका थिए । विसं २०६१ मा स्वराङ्कन भएको ‘लाइयो माया पढ्ने बेलैमा...’ उहाँको पहिलो गीत हो । उक्त गीतमा गायक याम क्षेत्री र गायिका बिमाकुमारी दुराको स्वर छ । “गीतप्रतिको रुचि सानैदेखिको थियो, क्याम्पस पढ्न बागलुङ झरेपछि त्यो अझै झाङ्गियो”, उहाँले विगत कोट्याउनुभयो, “सिर्जनाप्रेमी साथीभाइसँगको सङ्गत र उठ्बसले पनि प्रेरित गरेको थियो ।” उहाँले बागलुङ बजारका हरेक चोक र गल्लीसँग आफ्ना स्मृति गाँसिएको सुनाउनुभयो । सुवेदीले बागलुङमा हुने चैत्राष्टमी मेलालगायत विभिन्न पर्व र उत्सवमा हुने लोकदोहोरी प्रतियोगितामा पनि भाग लिनुहुन्थ्यो । विसं २०६३ मा स्नातक पूरा गरी थप अध्ययनका लागि उहाँ काठमाडौँ पुग्नुभयो । त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्ययन सुरु गरेको सुवेदीले सुनाउनुभयो । काठमाडौँमा गीत लेखनको यात्राले थप मलजल पाएको उहाँको भनाइ छ । नेपाली सङ्गीतले व्यावसायिक चरणमा प्रवेश गरिरहेका बेला सुवेदीले ‘नजाउ है सानु पँधेरीमा...’ जस्तो चर्चित गीत लेख्नुभयो । बसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको उक्त गीतले उहाँलाई थप उचाइमा पु¥यायो । सुवेदी त्योबेला कीर्तिपूरमा बसेर पढ्नुहुन्थ्यो । एकदिन सखारै ३ बजेतिर कीर्तिपुरको सडकमा निस्कँदा उक्त गीतले जन्म लिएको उहाँले बताउनुभयो । “टहल्दै बाहिर हिँडिरहेका बेला सडकमा आफ्नै छाया देखेपछि ‘नजाउ है सानु पँधेरीमा, आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा...’ फु¥यो”, गीतको रचनाबारे उहाँले भन्नुभयो, “हिँड्दाहिँड्दै गीतको थेगो तयार भयो, मैले उतिखेरै सङ्गीतकार बसन्त थापालाई पठाएँ, भोलिपल्ट राति उहाँले धुन तयार गरेर मलाई पठाउनुभयो ।” सङ्गीतकार थापाले उक्त गीतका लागि एकैपटकमा धुन तयार पार्नुभएको सुवेदीले बताउनुभयो । त्योबेलाका उदाउँदा गायक कुलेन्द्र विश्वकर्मा, सङ्गीतकार थापा र गीतकार सुवेदीले उक्त गीतमा सहकार्य गर्नुभएको थियो । “कुलेन्द्रजी पनि पर्वतकै, थापा बागलुङको, हामी धवलागिरि क्षेत्रबाट सङ्घर्ष गरेर काठमाडौँ छिरेका कलाकार भएकाले सहकार्यको वातावरण बन्यो, गीत पनि सफल भयो”, उहाँले भन्नुभयो । उक्त गीतमा गायक विश्वकर्मालाई गायिका विष्णु माझीले साथ दिनुभएको छ । भृकृटीमण्डपमा रातभर जाग्राम बसेर उक्त गीतको चलदृश्य छायाङ्कलन गरिएको सुवदीले सम्झनुभयो । त्यसअघि सुवेदीले लेख्नुभएको ‘जोगीको भेषैमा...’ गीतमा पनि कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । ७० को दशकयता सुवेदीको गीत लेखनले झन्झन् तीव्रता पाउँदै गयो । ‘माया हाँसेको...’, ‘शीतल दिने पिपल स्वामी छ...’, ‘अझै कन्य हो...’, ‘बर्बर आँशु झर्दा खेरीमा...’ जस्ता गीतले उहाँलाई अझ प्रखर गीतकारका रुपमा चिनायो । पञ्चेबाजाका गीतमा पनि सुवेदीले कलम चलाउनुभएको छ । प्रेम र करुणाले ओतप्रोत गीत रचनामा पोख्त उहाँका गीतमा संयोगान्त र वियोगान्त कथा पाइन्छन् । उहाँ गीतलाई वाङ्मयको सबैभन्दा सुन्दरतम् उपजका रुपमा लिनुहुन्छ । “थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्ने खुबी गीतले राख्छ, यो काव्यमा सबैभन्दा बढी सम्प्रेष्य विधा हो, गीतका हरेक हरफ र अनुच्छेदले कथा बोकेको हुन्छ”, सुवेदीले भन्नुभयो । गीत लेखेरै आफू बाँचेको उहाँले बताउनुभयो । साहित्यका अरु विधामा लेख्ने रुचि भए पनि गीतलेखनलाई आफूले मूलः रुपमा अपनाएको उहाँको भनाइ छ । सङ्गीतमय पवर्त–बागलुङको प्रकृति, पर्यावरण र सांस्कृतिक परिवेशले सिर्जनातर्फ डो¥याएको सुवेदीले बताउनुभयो । “न्वारानदेखि शङ्ख र भजन सुन्दै हामी हुर्कियौँ, जीवन र प्रकृतिका हरेक कुनाकन्दरामा सङ्गीतको मुर्छन्ना भेटिन्छ”, उहाँले भन्नुभयो, “सृष्टिमा सबै कुरा उपलब्ध छ, हामीले त्यसलाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने मात्र हो ।” आफूमा गीतसङ्गीतप्रतिको रुचि जाग्नुमा चलचित्रका गीतको प्रेरणा रहेको सुवेदीको भनाइ छ । “गाउँमा रोपाइँ सकियो भने हामी चलचित्र हेर्न बागलुङ बजार जान्थ्यौँ, त्यो बेला रेडियो नेपालमा बज्ने ‘चित्रमाला’ कार्यक्रम पनि खुब सुनिन्थ्यो”, सुवेदीले भन्नुभयो, “रामकृष्ण ढकाल, यम बराललगायत गायकका गीत त्यो बेला चर्चामा थिए ।” पुराना क्यासेटमा चलचित्र र आधुनिक गीत भरेर सुन्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । चलचित्रका गीत सुन्दासुन्दै आफ्नो कला र सङ्गीतसँग परिचय भएको सुवेदीको भनाइ छ । लोकगायक विष्णु खत्रीलगायतलाई उहाँले आफ्नो प्रेरणाको स्रोत मान्नुहुन्छ । सुरुआती चरणमा पर्वतका गायक याम क्षेत्री र गायक तथा सङ्गीतकार बसन्त थापासँगको साङ्गीतिक सहयात्रालाई उहाँले कहिल्यै नबिर्सने बताउनुभयो । गायक क्षेत्री अमेरिकामा हुनुहुन्छ भने सङ्गीतकार थापासँग उहाँको अहिले पनि सहकार्य जारी छ । सुवेदीले लेखेका र सङ्गीत भरेका गीत ‘ऐना सिसाको...’ गायक थापालगायतको स्वरमा छिट्टै सार्वजनिक हुँदैछन् । उक्त गीतको चलदृश्य छायाङ्कन भइरहेको सुवेदीले जानकारी दिनुभयो । नआफ्नै स्वरमा आउन लागेको गीत ‘पारि वन।।।’ पनि अहिले छायाङ्कनका क्रममा रहेको उहाँले सुनाउनुभयो । सिर्जनाकर्मलाई व्यावसायिक मार्गमा डो¥याउन सुवेदीले ‘भावगङ्गा’ नामको डिजिटल कम्पनी पनि सञ्चालनमा ल्याउनुभएको छ । उहाँको आफ्नै नामको ‘युट्युब च्यानल’ पनि छ । सुवेदीले गीत लेखनबाट प्रतिष्ठित ‘बिन्ध्यवासिनी’, ‘कालिका’लगायतका अवार्ड तथा सम्मान पाइसक्नुभएको छ । शिष्ट र शालिन बान्कीमा घाँटीमा ओशोको माला पहिरेर मन्द मुस्कानसहित गफिनुभएका सुवेदीले आफू नामको भने भोगी नरहेको बताउनुभयो । “बाँचुञ्जेल जीवन यात्राको आनन्द लिनुपर्छ, नाम पनि आखिर पानीको फोका जस्तै हो, मृत्यु शय्यामा जाँदा केबल रित्तो भएर जानुपर्छ”, रासससँगको कुराकानीलाई बिट मार्दै उहाँले कवि तीर्थ श्रेष्ठको कविता सम्झिनुभयो– हामीले लेखेर आएका छौँ हिउँमा आ–आफ्ना नामहरु एकछिनमा हिउँ थपियो भने रहने छैनन् हाम्रा नामहरु हामी रहँदारहँदै नरहने हाम्रा नामहरु हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरु !
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि सराई र दमकडा एफसी भिड्ने भएका छन् । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक नव जागृति युवा क्लब (कालो) लाई ४–३ गोल अन्तरले पेनाल्टी सुटअउटमा पराजित गर्दै दमकडा फाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटअउटमा धकेलिएको थियो । यसअघि सराई एफसीले मणिमुकुन्दलाई २–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको थियो । अब दमकडा र सराईबीच फाइनल खेल हरितालिका तीज (२१ गते) को दिन कोठीचौर खेल मैदानमा हुने क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बागलुङ (गलकोट): अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । रु नौ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । बागलुङ–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रुपमा त्यहाँ पुग्नुभएको थियो । प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाउनुभएको नगरपालिकाले जनाएको छ । “बागलुङमा जन्मेर अन्टार्क्टिकामा पुग्ने पहिलो नेपालीका रुपमा देशभर परिचय बनाइसक्दा उहाँको गृह नगरपालिकाले सम्मान गर्न आवश्यक थियो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “बागलुङ जिल्लाको नाम चिनाउन उहाँको महत्वपूर्ण योगदान छ ।” विश्वकर्मा हाल बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ । उहाँका नाममा बुटवल उपहानगरपालिकाले ‘भुुवनसिंह मार्ग’ भनेर सडकको नामाकरण गरेको छ । सम्मान ग्रहणपछि विश्वकर्माले प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित हुँदाभन्दा गृह पालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताउनुभयो । उहाँले गृह नगरले सम्झेर गरेको सम्मानप्रति आफू सदैव कृतज्ञ रहने उल्लेख गर्नुभयो । “नेपालका विभिन्न जिल्लामा सम्मान भइसक्दा बागलुङले सम्झेन भन्ने लाग्दथ्यो, बागलुङ नगरपालिकाले भव्य कार्यक्रमकाबीच सम्मान गरेको छ, जन्मगाउँमा केही गर्नका लागि बागलुङ नगरपालिकासँग सहकार्य गर्नेछु”, विश्वकर्माले भन्नुभयो ।