पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । ]   काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।   दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो ।   दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।   दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिनुभयो ।   कूल ३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।   काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।   विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले भन्नुभयो, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।”   दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।   नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिनुभयो ।   हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटाँैडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ ।   लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।   नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् ।   हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उहाँले बताउनुभयो । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो ।   यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताउनुभयो ।   पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।   उहाँले भन्नुभयो, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।” पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् ।   त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो ।   २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो ।   सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।   निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताउनुभयो ।

यसपालीको दसैँ पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् ।   मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङ्ग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।   केन्द्रका प्रमुख पशु चिकित्सक लालमणी अर्यालले उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपाली भेडाच्याङ्ग्राको बिक्री बढेको बताउनुभयो ।   “घटस्थापनाको दिनदेखि शुरु भएको स्वास्थ्य परीक्षण गरेर च्याङ्ग्रा बजार पठाउने काम मङ्गलबार सकिएको छ,” उहाँले भन्नुभयो, “कृषकले तौलअनुसार प्रतिगोटा रु २८ हजारदेखि ३७ हजारका दरले च्याङ्ग्रा बिक्री गरेका छन् ।” सरदर मूल्यअनुसार मुस्ताङ, डोल्पा र मुगुका कृषकले रु २६ करोड ४० लाख मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री गरेका केन्द्रका प्रमुख अर्यालले बताउनुभयो ।   पाँच सय भेडा (च्यालु) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो ।   म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत सहरमा मुस्ताङी भेडाच्याङ्ग्रा बिक्री भइरहेका छन् ।   जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिने भएकाले दसैँतिहारमा हिमाली च्याङ्ग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो ।   तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुनेगर्छ । यसपाली गत वर्षको तुलनामा मूल्य सस्तीएकाले च्याङ्ग्राको बिक्री बढेको व्यापारी टसी छेवाङ गुरुङले बताउनुभयो ।   “गत वर्ष खोरमै प्रतिगोटा रु ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका थियौँ, यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेर ल्याएका छौँ,” उहाँले भन्नुभयो “ठाउँअनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटेको हो ।”   गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा रु ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपाली रु ४५ हजारभन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।   मुुस्ताङको बारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताउनुभयो ।   विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ ।   होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको जानकारी दिनुभयो । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई उहाँले अनुरोध गर्नुभयो ।   भ्रमण र पदयात्राका लागि पोखरा र सिङ्गो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप विगत केही वर्षदेखि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो । “पर्यटन क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीहरूको सामाना गर्दै यस क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सङ्घको सत्प्रयास निरन्तर अगाडि बढिरहेको छ । यस छुट अभियानले आन्तरिक पर्यटनकहरूलाई आकर्षित गरी सो प्रयासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष सुवेदीले भन्नुभयो ।   सङ्घका महासचिव राजेन्द्र ढकालले भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, हवाई दुर्घटनालगायत कारणले सिथिल भएको पर्यटन क्षेत्र हालैको वर्षापछिको बाढीपहिरो तथा डुबानले थप प्रभावित भएको धारणा राख्नुभयो ।   उहाँले केही दिनअघिको विपत्तिका कारण परेको असर हाल सामान्य बन्दै गएकामा ३० प्रतिशतसम्म छुटको कार्यान्वयनले त्यसलाई थप सहज बनाउँदै लग्ने अपेक्षा व्यक्त गर्नुभयो ।   सङ्घका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नति काम पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गको अवस्थासमेत सुरक्षित नै रहेकाले पोखरा भ्रमणक लागि सबैलाई आह्वान गर्नुभयो ।   पोखरामा रहेका होटेल क्षेत्रले १५ हजार जनाभन्दा बढीलाई रोजगारी दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको हो ।    विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्कर चालक २६ वर्ष रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।    ट्याङ्करको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।   घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

घोराहीमा ५० किलो १५२ ग्राम लागू पदार्थसहित तीन जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाउँपालिका–४, रुकुम पूर्वका ३७ वर्षीय सुबिन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र भूमे गाउँपालिका, रुकुम पूर्व घर भई हाल घोराही–१८, मसिना बस्ने ४२ वर्षीया बिनी पुन रहेको उनले जानकारी दिए ।   घोराही उपमहानगरपालिका–१८ मसिनाबाट मंगलबार दिउँसो ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम जस्तो देखिने लागू पदार्थसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए । सुबिन्द्र र चेतन लागूऔषध अफिम बोकी हिँडिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा डीएसपी ईश्वर थापाको नेतृत्वमा खटिएको १० जनाको प्रहरी टोलीले खानतलासी गर्दा दुई पोका लागूऔषध फेला पारेको थियो ।

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान गर्ने भएका छन्।   राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिपतिबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ।   इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्रीज्यू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जङ्गी अड्डा, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकलाई अपराह्न ३ बजेदेखि ३:३० बजेसम्म टीका तथा प्रसाद प्रदान हुनेछ।   इच्छुक आमनागरिकका लागि अपराह्न ३:३० बजे देखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गरिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।     टीका ग्रहण गर्न आउने व्यक्तिका लागि मर्यादित पोशाक र प्रवेश गर्न प्रवेशद्वार नं १ तोकिएको पनि विज्ञप्तिमा जनाइएको छ।  

पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित एक महिने कृष्ण चरित्र प्रशिक्षण मंगलवबार सम्पन्न भएको छ ।   समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षण गर्नु यस्तै सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले समाजले स्तुत्य कार्य गरेको धारणा राखे ।   कार्यक्रम संयोजक केशबहादुर गुरुङले गण्डकी प्रज्ञा–प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित उक्त प्रशिक्षणमा एक सय जना सहभागी रहेको जानकारी गराए ।    संस्थाका अध्यक्ष सि.आई. हरि ध्वोज गुरुङले हाम्रो मौलिक संस्कार संस्कृतिको संरक्षण महत्वपूर्ण विषय रहेकाले समाजबाट लोपोन्मुख हुन लागेको कृष्ण चरित्रलाई जीवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।    गायन र नृत्यतर्फ कुलवीर गुरुङ, हरिध्वज गुरुङ र मानध्वज गुरुङले सहजीकरण गरेका थिए । यस्तै, वाद्यवादनतर्फ गोविन्द गुरुङले सहयोग गरेका थिए ।   प्रशिक्षणपछि सबै लिलामा गाउन, बजाउन र नाच्न सक्षम भएको सहभागी नेत्रबहादुर गुरुङले बताए ।   कृष्णबहादुर गुरुङले कृष्ण चरित्र प्रशिक्षणमा सहभागी सबैलाई आभार व्यक्त गर्दैै गुरुङ समुदायमा प्रचलित कृष्ण चरित्र नाच जेठा छोराको वंश निरन्तरताका लागि विजोड वर्षमा नाच्ने गरिएको बताए ।   एक महिनासम्म चलेको प्रशिक्षणमा श्रीकृष्ण जन्म लिला, बाल लिला, राधाकृष्ण लिला, होली लिला, पे्रम लिला, नाग लिला र चिर लिला गरी सातै लिलाको प्रशिक्षण गराइएको थियो ।