पोखरा: पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । पोखरेल प्यानलको १६ बुँदे प्रतिबद्धता पत्रमा केः छ ? पोखरा उद्योग वाणिज्य संघको ३५ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिबद्धता पत्रसहित व्यवसायीको घरदैलोमा पुगीरहेका छन् । पोखरेल प्यानलले १६ बुँदे प्रतिबद्धता पत्रमा पोखरा उद्योग वाणिज्य संघको छविलाई उठाउने, आर्थिक मन्दीका समयमा समस्यामा परेका व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न पहलकदमी गर्ने उल्लेख गरेका छन् । यस्तै पोखरा भित्रिने जीर्ण राजमार्गलाई छिटो निर्माण गर्न समन्वयकारी भूमिका खेल्ने, यातायात व्यवसायी र सर्वसाधारणका समस्यालाई समाधान गर्न समन्वय गर्ने, पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन पहलकमी गर्ने, ऋण तिर्न नसकेर कालो सूचीमा परेका व्यवसायीहरुको समस्या समाधानमा पहलकदमी गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरेल प्यानलले कर र ऋणको ब्याजमा छुट दिन सरकार र बैँकलाई तोकता गर्ने, उद्यमशीलताको विकास गरी युवालाई स्वरोजगार बनाउने बाटोमा पहलकदमी गर्ने, व्यवसायी संघसंस्थासँग समन्वय गर्दै समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्ने, तीनै तहको सरकारसँग समन्वय गर्दै व्यवसायीमैत्री नीति निर्माणमा पहलकदमी गर्ने व्यवसायी समक्ष प्रतिवद्धता जनाएका छन् । यस्तै घरबेटीले बहाल पाउने र व्यवसायीले तिर्न सक्ने समन्वयकारी भूमिका खेल्ने, फेवातालको मापदण्डको समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्ने, पार्किङको समस्या समाधान गर्न महानगरसँग समन्वय गर्ने र शिक्षा, स्वास्थ्य लगायत सेवामुलक व्यवसायीमा देखिएका समस्या समाधान गर्न अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् । पोखरेल प्यानलका तीन उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्विरोध पोखरेलको प्यानलमा रहेका उत्तममान बुद्धचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष, वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) मा निर्विरोध बनिसकेका छन् । यस्तै पोखरेल प्यानलमा नै रहेका कार्यसमिति सदस्यमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य)मा निर्विरोध बनिसकेका छन् । निर्विरोध भएका उनीहरुलाई निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ । पोखरेलको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) पदमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) पदमा बलराम आचार्य, महासचिव पदमा शोभा गौतम, कोषाध्यक्ष पदमा मनोज कुमार श्रेष्ठ, उपमहासचिव पदमा बालकृष्ण कोइराला रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा क्रमशः भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी (माधव), ललित बहादुर कुँवर, दुधमान (आशिष) गुरुङ, यादव प्रसाद पोखरेल रहेका छन् ।
गण्डकी: विकासमा आयोजनामा हुने ढिलासुस्ती र लापरबाहीबारे जान्न बागलुङ बसपार्क र पोखरा बसपार्क हेरे पुग्छ । निर्माण प्रकृया सुरु भएको २३ वर्षपछि बागलुङ बसपार्कको मङ्गलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो । सहरी पूर्वाधार र व्यावसायिक योजनाको अभावमा उक्त बसपार्क नियमित सञ्चालन हुनेमा भने अझै संशय नै छ । उद्घाटन भएको भोलिपल्ट बुधबारदेखि नै बसपार्क सुनसान बनेको स्थानीयवासीले जनाएका छन् । नगर विकास कोषको ऋण सहयोगमा बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रु ११ करोड खर्चेर बसपार्क निर्माण गरिएको हो । ऋण लिएबापत बागलुङ नगरपालिकाले वार्षिक रु एक करोड २७ लाख सावाँब्याज नगर विकास कोषलाई तिर्दै आएको छ । जग्गा व्यवस्थापन विसं २०५७ मा भएपनि बसपार्क निर्माण विसं २०७८ मा भएको थियो । विसं २०६१ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले शिलान्यास गरेको उक्त बसपार्क निर्माणले गति नलिएपछि पुनः विसं २०७५ फागुनमा तत्कालीन सहरी विकासमन्त्री मोहम्मत इस्तियाक राईले बसपार्कको शिलान्यास गर्नुभएको थियो । स्थानीयवासीले बसपार्क बनाउन ५९ रोपनी जग्गा नगरपालिकालाई उपलब्ध गराएका थिए । जसमध्ये १७ रोपनीमा बसपार्क निर्माण भएको छ भने बाँकी जग्गामा धनीलाई नै फिर्ता गराइनेछ । नगर विकास कोषको ऋण लगानीसँगै दुई दशकदेखिको बसपार्क बनाउने बागलुङ नगरपालिकाको योजनाले सार्थकता पाएपनि बसपार्क सञ्चालनमा आउन भने सकेको थिएन । बसपार्क जोड्ने पहुँच मार्ग निर्माणलगायत कतिपय पूर्वाधार निर्माण समयमा नहुँदा बसपार्क सञ्चालनमा ढिलाइ हुँदै आएको थियो । बसपार्क निर्माणमा आर्थिक अनियमितता गरेको भन्दै तत्कालीन जनप्रतिनिधिसहित कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि बसपार्क सञ्चालन थप अन्यौलमा परेको थियो । निर्माण पूरा भएको तीन वर्षसम्म पनि बसपार्क सञ्चालनमा नआउँदा जनस्तरबाट नगरपालिकाको तीव्र आलोचना हुँदै आएको थियो । जग्गाधनी पनि निराश र आक्रोशित थिए । ढिलै भएपनि बसपार्क उद्घाटन भएर सञ्चालनमा आउने वातावरण बन्नुलाई सुखद् मान्नुपर्ने बसपार्क जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताउनुभयो । “हामीले बसपार्कलाई निःशुल्क जग्गा दियौँ, उद्घाटनका लागि वातावरण पनि बनायौँ, हाम्रो दायित्व पूरा भएको छ”, उहाँले भन्नुभयो, “बसपार्कलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने जिम्मा अब नगरपालिकालगायत अन्य सरोकार भएका पक्षको हो ।” बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा बस्ती नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुली जस्ता पूर्वाधार निर्माण अझै बाँकी रहेको उहाँले बताउनुभयो । “नगरपालिकासँग हाम्रो १२ बुँदे समझदारी भएको छ, त्यसमा उल्लेख गरिएका प्रतिबद्धता नगरपालिकाले पूरा गर्नुपर्छ, जग्गाधनीको माग नै यही छ”, उहाँले भन्नुभयो, “अबपनि बसपार्क नचलाउने हो भने नगरपालिकाको अक्षम झल्किन्छ, बसपार्कलाई नियमित सञ्चालन गर्न सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ ।” बसपार्कमा ५० वटा ठूलो बस र १० वटा मिनी बस अट्ने क्षमता छ । टर्मीनल भवन, व्यापारिक भवन, टिकटकक्षलगायतका संरचना बनाइएको छ । नयाँ बसपार्क नबन्दा बागलुङ नगरपालिका–३ मा रहेको अस्थायी बसपार्कबाट बस सेवा सञ्चालन हुँदै आएको थियो । प्रदेश राजधानी पोखरा पनि ५० वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पखाईमा छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्कको दूरावस्थाले पर्यटकीय राजधानीसमेत रहेको पोखरालाई नै गिज्जाएको महसुस हुन्छ । बसपार्क बनाउन विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर खुम्चदै गएको छ । अव्यवस्थित घरटहरा । फोहोरको दुर्गन्ध । बिजुलीका जीर्ण पोल । लत्रिएका तार । हिलाम्मे सडक । पानी जमेका खाल्डाखुल्डी । आँखा बिझाउने यी दृश्य पोखरा बसपार्कका हुन् । न व्यवस्थित टिकट काउण्टर न बस राख्ने ट्रयाक । अस्तव्यस्त पार्किङ । किनारामा थन्काइएका थोत्रा बस आदिले पनि बसपार्कको बेहाल अवस्थालाई दर्शाइरहेको छ । झण्डै आधा शताब्दी बित्न लाग्दासमेत बसपार्क बन्ने कुनै टुङ्गो छैन । पोखरा उपत्यका नगर विकास समितिले उहिले देखेको सुविधासम्पन्न बसपार्कको सपना अझै अधुरै छ । जीर्ण र कामचलाउ बसपार्कबाट पोखराले कहिले मुक्ति पाउँछ रु चित्तबुझ्दो जवाफ कुनै निकायसँग छैन । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बसपार्कले पर्यटनको राजधानी सहर पोखराकै बदनाम गरेको बताउनुभयो । “नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाउने पोखरामा स्तरीय बसपार्क बन्न नसक्नु दुर्भाग्य हो, बसपार्कको बेहाल देख्दा हामीलाई पनि पीडा हुन्छ”, उहाँले दुःखेसो पोख्नुभयो, “राजनीतिको दुश्चक्रमा बसपार्क फस्यो, राज्यका निकायले पनि बसपार्क बनाउन इच्छाशक्ति देखाएनन् ।” अध्यक्ष केसीका अनुसार सो बसपार्क भएर दैनिक झण्डै तीन सय गाडी देशका विभिन्न गन्तव्यमा गुड्छन् । गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको उहाँको भनाइ छ । “पोखरा एकातिर प्रदेशको राजधानी सहर हो, अर्कातिर पर्यटनको केन्द्र”, अध्यक्ष केसीले भन्नुभयो, “बसपार्कसहित यहाँका सहरी पूर्वाधारले प्रदेशकै चिनारी दिइरहेको हुन्छ, अब पनि बसपार्क नबनाउने हो भने पोखराकै बेइज्जत हुन्छ ।” उहाँले बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको बताउनुभयो । यातायात व्यवसायीले पटकपटक बसपार्क स्तरोन्नतिको माग गर्दै आएपनि पोखरा महानगर र प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको अध्यक्ष केसीले गुनासो गर्नुभयो । बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि बाहिरी सडकमा छन् । हिलाम्मे बाटो र भित्र उभिने ठाउँ पनि नभएकाले यात्रुहरु बसपार्क छिर्नै चाहँदैनन् । अहिलेसम्म बसपार्कलाई चाहिने कुनै पनि पूर्वाधार बन्न सकेको छैन । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्गिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ । जिल्ला ट्राफिक कार्यालय, कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले बसपार्क नबन्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । “व्यवस्थित बसपार्क नहुँदा बस सडकबाटै अवस्था छ, पृथ्वीचोकको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “बसपार्क निर्माणमा पोखरा महानगरपालिका र प्रदेश सरकारको विशेष ध्यान जानु जरुरी छ, पोखरा जस्तो पर्यटकीय सहरमा बसपार्क नहुनु दुर्भाग्यको विषय हो ।” उहाँले पोखरा–मुग्लिन सडक विस्तार हुँदै आएकाले अहिले पृथ्वीचोक क्षेत्र छेउछाउको पार्किङस्थल सडकमा परिणत हुने उहाँले बताउनुभयो । महानगरपालिकाले भुइँमा ग्राभेल बिछ्याएर हिलो र खाल्डाखुल्डी पुर्ने काम गरेपनि वर्षात्का बेला बसपार्क फेरि पुरानै अवस्थामा फर्कने गरेको छ । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने÷ओराल्ने गर्दा पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ । यातायात व्यवसायीहरुले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन् । माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ । सुरुमा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिले बसपार्कका लागि करिब ६० रोपनी मात्र जग्गा बाँकी रहेको महानगरले जनाएको छ । बसपार्क बनाउने भनिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुम्बासी परिवारको बसोबास छ । पोखरा महानगरअन्तर्गत पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेको उक्त जग्गा पटकपटक अतिक्रमणमा पर्दै आएको छ । कति जग्गा घडेरीका रुपमा बिक्री भयो, कति अतिक्रमणमा प¥यो भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग छैन । दुई सय पाँच रोपनीमध्ये केही जग्गा पृथ्वी राजमार्गमा पर्दा पछि बसपार्कका नाममा एक सय ८७ रोपनी कायम भएको थियो । उक्त जग्गा पनि अहिले घट्दैघट्दै ६० रोपनीभन्दा पनि कममा सीमित भएको छ । जग्गाकै कारण पृथ्वीचोकमा ठूलो बसपार्क बन्ने सम्भावना नरहेको भन्दै महानगरले ‘सिटी’ बसपार्कको योजना अघि बढाएपनि त्यसले सार्थकता पाउन सकेको छैन । पोखरा–३२ लामेआहालमा प्रादेशिक बसपार्क बनाउने गण्डकी प्रदेश सरकारको प्रस्ताव पनि अलपत्र परेको छ । दुई सय ७३ रोपनी क्षेत्रफलमा बनाउने भनिएको उक्त बसपार्कका लागि लगानीको स्रोत जुट्न नसकेको प्रदेश सरकारले जनाएको छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित हुन सबैलाई निर्देशन दिनुभयो । “विद्युत् उत्पादन गर्ने समय एकदिन मात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिङ्गो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न हुनेगरी स–साना समस्यालाई समाधान गर्दै लाग्नुपर्छ”, उहाँले भन्नुभयो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । “आयोजनालाई अगाडि बढाउन काहाँकाहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्ति कोको हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु”, मन्त्री खड्काले भन्नुभयो । स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । ऊर्जामन्त्री खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई अगाडि बढाउने कुरामा प्रधानमन्त्रीको समेत चासो र चिन्ता रहेकाले यसलाई समयमा सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले ऊर्जा क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने बताउनुभयो । उहाँले आयोजनागत रुपमा ऐलानी जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको बताउँदै अरुण तेस्रोको लगानी बोर्डमार्फत आयोजना विकास सम्झौता भएकाले बोर्डमार्फत नै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने उल्लेख गर्नुभयो । बैठकमा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्का, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, अरुण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृतलगायतले प्रसारणलाइन विस्तारका क्रममा देखिएका समस्याकाबारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
पोखरा: निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् । पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार (२२ गते) हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् । उनका अनुसार उक्त दिन उनीहरुले रुकुमको मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् । अशोक थापामगरले निर्माण गरेको सो चलचित्रलाई असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी छ । उक्त कार्यक्रममा मिस मगर नेपालका अन्तिम ११ प्रतिस्पर्धीमध्येबाट एक जनाले ताज जित्नेछिन् । अहिले प्रतियोगीहरु अन्तिम प्रशिक्षणमा छन् । एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चराणमा पुगेको निर्देशक सुरज थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रम ग्राण्ड होटलमा यही २२ गते शनिबार दिउँसो २ बजेबाट शुभारम्भ हुनेछ । यि हुन्, अन्तिम ११ प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धीहरुले करिब १ महिनासम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । त्यसैको आधारमा मिस मगर नेपाल चुनिनेछ । सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आलेमगर (रामेछाप) आशिका गर्बुजामगर (बेगखोला, म्याग्दी), अनुजा पुनमगर (तंग्राम, बाग्लुङ) नरिशा पुनमगर (मुदी, म्याग्दी), सरिता थापामगर (मन्थली, रामेछाप), माया दर्लामीमगर (वालिङ, स्याङ्जा), रश्मि आलेमगर (गौशाला, महोत्तरी), जानकी राजकोटीमगर (बर्दीबास, महोत्तरी), अश्मिता बुढामगर (जेल्बाङ, रोल्पा), कृष्टीना पुनमगर (दग्नाम, म्याग्दी) र जेरुशा सारुमगर (काठमाण्डौं) रहेका छन् । कार्यक्रमलाई विभिन्न संस्थाको साथ उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ तथा संस्थाहरुले साथ दिएका छन् । सो संस्थाहरुमा निट डेन्टल केयर प्रा.लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङ्व्येज, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको छ । यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ ।
म्याग्दी: अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक देखिन्छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा अवस्थित ऋखार ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यस क्षेत्रको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित ऋखार धौलागिरि हिमालको काखमा चार हजार १० मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सुन्दरताको छटाले भरिएको ऋखारकोे लेकाली भू–भागमा यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराइतोलगायत बहुमूल्य जडिबुटी पाइन्छ । तलाउमाथि रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर ऋखारको मुख्य आकर्षक रहेको छ । भक्तजन र स्थानीयको पहलमा ऋखार क्षेत्रमा अन्य मन्दिरसमेत निर्माण भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वर, गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला, घ्याँसीखर्क, दुवाडी, पात्लेखर्क हुँदै दुई दिनको यात्रामा ऋखार पुग्न सकिन्छ । मुस्कुराइरहेको आँखैमा ठोक्किने हिमाल र हरियालीले सजिएका अग्ला पहाडको सुन्दरताभित्र लुकेको ऋखार ऋषिले तपस्या गरेको प्रसिद्ध तपोभूमिका रुपमा रहेको ऋखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताउनुभयो । उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा अवस्थित रहेकाले वैशाखदेखि असोजसम्म पूजाआजा हुन्छ । ऋखार मन्दिरमा ऋषितर्पणी अर्थात् जनैपूर्णिमाको दिन बिशेष पूजा हुने गरेको छन्त्यालले जानकारी दिनुभयो । केही वर्षअघिसम्म कुइनेमङ्गले आसपासका बासिन्दाको कम चहलपहल हुने ऋखारमा पछिल्लो समय प्रचारप्रसारको कारण जिल्ला बाहिरबाट ठूलो सङ्ख्यामा पर्यटक र भक्तजन आउन थालेको उहाँको भनाइ छ । यस मन्दिरमा पूजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजन बढ्दै गएका छन्त्यालले बताउनुभयो । यहाँ म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, नवलपरासी, काठमाडौँलगायत क्षेत्रबाट भक्तजन पुग्ने गर्छन् । दुर्गम र भौगोलिक रुपमा कठिन क्षेत्र पार गरी ऋखारमा पुगेका भक्तजन र पर्यटकलाई यस क्षेत्रबाट देखिने मनोरम दृष्यले लोभ्याउने गर्दछ । पहिलो पटक यहाँ पुग्नुभएका बेनीका दामोदर शर्माले धार्मिक महिमा र प्राकृतिक सुन्दरताले भरिएको ऋखारमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न सकेमा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताउनुभयो । उहाँले यहाँबाट देखिने दृष्यले आफू लोभिएको बताउनुभयो । मन्दिर परिसरमा रहेको दमाह आकारको तामाको भाँडोमा कहिल्यै पानी नसुक्ने नौलो विशेषता रहेको ऋखार संरक्षण समितिका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षौँदेखि मन्दिर परिसरमा रहेको उक्त भाँडोमा कतैबाट पनि पानी नराखे पनि भाँडोमा सधँै भरिभराउ हुने गर्दछ । पूजाआजा र दर्शनका लागि पुगेका भक्तजनले सोहि भाँडोको पानीलाई पवित्रजलका रुपमा लैजाने गरे पनि भाँडो कहिल्यै नरित्तिने छन्त्यालले उल्लेख गर्नुभयो । “पौराणीक कथाअनुसार संसारको प्रलय भई जलमग्न हुँदा सत्यव्रत राजाले डुङ्गामाथि चढेर सप्तऋषि, महत्वपूर्ण जडिबुटी र आफ्नो सुरक्षा गरेको र कालन्तरमा उनीहरु यही क्षेत्रमा आएर विश्राम गरेको जनविश्वास रहेको छ । यहाँ रहेको उक्त ढुङ्गालाई प्रयलकालको अवशेषका रुपमा लिने गरिन्छ भने सप्तऋषिको तपस्थली, हिउँले खारिएको ठाउँ र हजारौँ फूलहरुले सजिएको रमणीय ठाउँ भएकाले यस क्षेत्रको नाम ऋखार रहनगएको किंवदन्ती छ”, उहाँले भन्नुभयो । ऋखार धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताको दृष्टिकोणले पनि पर्यटकीय गन्तव्यको सम्भावनायुक्त ठाउँ रहेको सप्तऋषि युवा क्लबका संरक्षक अङ्कित पुनले बताउनुभयो । मनोरम हिमाल, जङ्गली फूलले रङ्गिएका खर्क, हरियाली डाँडा, छलछल बग्ने झरना, खोलानाला, परम्परागत भेडाबाख्रा र गाईभैँसीको गोठले यस क्षेत्रको पदयात्रामा जाने जो कसैको मन लोभ्याउने उहाँको भनाइ छ । धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले ऋखार संरक्षण समिति गठन गरेर यसको विकास र प्रवर्द्धनको काम गर्दै आएका छन् । स्थानीयको अगुवाई, भक्तजन र समुदायको सहयोग तथा सरोकार भएकाको पहलमा दुवाडी, पात्लेखर्क, बगरखोलामा तिर्थयात्री भवन, ऋखार जाने बाटोमा पुल, पदमार्गलगायत संरचना निर्माणले गरिएको संरक्षक पुनले बताउनुभयो । स्थानीय सरकार कार्यान्वयनमा आएसँगै रघुगङ्गा गाउँपालिका र वडा नं ८ को कार्यालयले ऋखारलाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रचारप्रसार र पूर्वाधार विकासलाई जोड दिएको छ । सरकारी निकाय र संरक्षण समिति, स्थानीय आमा समूह, युवा क्लबको समेत सक्रियता बढेको संरक्षक पुनले बताउनुभयो । उहाँका अनुसार यहाँका सम्भावना र समस्या पहिचान गरी दीर्घकालीन र तत्कालीन पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाउने कार्यलाई वडा कार्यालयले अघि सारेको छ । अप्ठ्यारा ठाउँमा पदमार्ग, खोलामा झोलुङ्गे पुल, प्रयाप्त आश्रयस्थललगायत पर्यटन पूर्वाधार निर्माणसँगै ऋखार हुँदै धवलागिरि हिमालको चेमाली आधार शिविरलाई व्यवस्थित पदमार्गले जोड्न सके यहाँ धार्मिक पर्यटकको आगमन बढाउन सकिने क्लबका संरक्षक पुनको भनाइ छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको रघुगङ्गा–८ कुइनमङ्गलेको विकासमा ऋखार क्षेत्रको धार्मिक, पर्यटकीय पूर्वाधार विकासले महत्वपूर्ण सहयोग पु¥याउने ऋखार संरक्षण समितिका अध्यक्ष छन्त्यालले बताउनुभयो । छन्त्याल समुदायको कला संस्कृति पर्यटकका लागि थप आकर्षक बन्न सक्ने भन्दै उहाँले यस क्षेत्रको विकासले समग्र रघुगङ्गा गाउँपालिकाको आर्थिक विकास र समृद्धिमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
चितवन: चोध वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गर्नुभएकी नमिताले यस अघिका पर्वमा मासु र भातमात्रै खाएको सुनाउनुभयो । अनदिको चामलबाट बनेको चाम्रो, गुलियो भात खाँदै गर्दा नमितालाई नौलो लाग्यो । केन्द्रमा रहेका एक सय ५० चेपाङ बालबालिकालाई तीजको अवसरमा नेपाल प्रेस युनियनले आज लट्टे खुवाएको हो । नमिताले भन्नुभयो, “तीज मैले पहिलो पटक सुनेकी हुँ, हामीले त न्वागी पर्व मनाउथ्यौं ।” सोही केन्द्रमा रहनु भएकी १६ वर्षिया जुना चेपाङले पनि पहिलो पटक लट्टेको स्वाद लिनुभयो । खाँदै गर्दा उहाँले भन्नुभयो “मलाई त नौलो परिकार मिठो लाग्यो ।” कक्षा नौ मा अध्ययनरत जुनाले आफूहरुले खासै गुलियो नखाने गरेको भन्दै भातमा चिनी हाल्दा मिठो लागेको सुनाउनुभयो । उहाँ जस्तै केन्द्रमा रहेका ४८ छात्रा र एक सय दुई छात्रले लस्करै लाइन लागेर दर खाएका थिए । केन्द्रमा शिशु कक्षादेखि स्नातक पढ्नेसम्म रहेका छन् । उनीहरुमध्ये शहीद स्मृति क्याम्पसमा तीन, नेपाल माविमा पाँच, केन्द्रसँगै रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा ८२ र बाँकी पञ्चकन्या मावि जयमङ्गलामा अध्ययनरत छन् । केन्द्रका संस्थापक अध्यक्ष केपी किरण शर्माका अनुसार अधिकांश बालबालिकाले पहिलो पटक लट्टे खाएर तीज पर्व मनाएका हुन् । त्यहाँ चितवनको भरतपुर महानगरपालिका वडा नं २९, इच्छाकामना गाउँपालिका, कालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने बालबालिका रहेका छन् । त्यस्तै गोरखाको गण्डकी गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बालबालिका पनि रहेका छन् । उनीहरुलाई तीजमा दर खुवाएर नचाउन रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, नगरपालिकाका प्रवक्ता कुलप्रसाद सापकोटा पुग्नुभएको थियो । सँगै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्याल, जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवालसँगै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल सहित जिल्लाका पत्रकार उपस्थित हुनुभएको थियो ।
भोजपुर: युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा नयाँ बन्ने घरको शिलान्यास गर्नुभएको थियो । गेसोका अध्यक्ष राईले आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिनुभएको छ । करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो । उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ । लगभग ३३ वर्ष हराएका ४३ वर्षीय तामाङ गत शनिबार षडानन्द–१० साङपाङको छाप्लेगाउँस्थित बाबुआमासँग बस्दै गरेको घर आइपुग्नु भएको थियो । आगामी दिनमा बाबुआमासँगै बसेर खेती किसानी गर्ने उद्देश्य रहेको प्रकाशले बताउनुभयो । प्रकाशका लागि अहिले सहयोगी निकायबाट विभिन्न सहयोग हुँदै आइरहेको छ । साथै उहाँको घरमा गएर सरकारी टोलीले प्रकाशको जन्मदर्ता र नागरिकतासमेत बनाइदिएको छ ।
पोखरा: मेडिपल्स हस्टिपलको पार्किङ क्षेत्रमा कार पार्किङ गर्ने क्रममा सेती खोँचमा खसेको कार निकालिएको छ । पोखरा महानगरपालिका–११ स्थित मेडिपल्स हस्पिटल पछाडि कार पार्किक गर्ने क्रममा खोँचमा खसेको कार आज (बिहीबार) दिउँसो क्रेनको मद्धतमा सुरक्षाकर्मीले निकालेको हो । बुधबार साँझ हस्पिटलको पछाडि ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा सेती खोँचमा खसेको थियो । कारसँगै सेती खोँचमा खसेका पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने कार चालक ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय सितल आचार्यको सकुशल उद्धार गरेको कास्की प्रहरीले जनाएको छ ।
झापा: वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मेसिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समिति र मेचीनगर नगरपालिकामा रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ ले मेसिनबाट सालको पातको दुना टपरी उत्पादनको तयारी गरेका हुन् । दुवै सामुदायिक वनलाई डिभिवन वन कार्यालयले मेसिन अनुदानमा उपलब्ध गराएको जनाएको छ । रु पाँच लाख मूल्य बराबरको मेसिन गत वर्ष जामुनखाडी र यसवर्ष मागुरमाडीलाई उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता समितिले अति विपन्न तथा गरिब उपभोक्ताको छनोट गरी दुना टपरी बनाइ स्वरोजगार बनाउनुपर्ने बताउनुभयो । बजारमा भारतबाट आयतीत प्लाष्टिकका सामग्रीलाई यसले विस्थापित गर्ने उहाँको भनाइ छ । सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले स्थानीय वनले उत्पादन गरेका दुनाटपरीको बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने उहाँको भनाइ छ । यसअघि जिल्लामा सुपारीको पातको दुना टपरी बनाउने कारखाना स्थापना भए पनि सालको पातको टपरी बनाउने मेसिन भने पहिलो पटक ल्याइएको हो । दशैं अघिदेखि नै दुवै सामुदायिक वनले उपभोक्तामार्फत दुना टपरी उत्पादन सुरु गर्ने जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो ।