काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई रु ६५ लाख नै दिने स्पष्ट गर्नुभयो । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् । प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताउनुुभयो । “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यसपटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जीत नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीर्तिमान तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।” सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।
काठमाडौं: नेकपा (एमाले) को पोलिटब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने सहमति भएकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पोलिटब्युरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड दिनुभएको थियो । सुझावमा पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूयाङ्कन पार्टीमा हुन नसकेको कुरा पोलिटब्युरो सदस्यले उठाउनुभएको थियो । “पारदर्शी ढङ्गबाट एउटा विधि बनाएर पार्टी कमिटी र नेता तथा कार्यकर्ता गरेको कामको मूल्याङ्कन प्रणाली बनाउने कुरा भएको छ”, उहाँले भन्नुभयो, “मूल्याङ्कन कमिटीगत रुपमा हुनुपर्नेमा पोलिटब्युरो सदस्यको सुझाव रहेको छ ।” बैठकमा प्रचार विभाग प्रमुख गौतमले संविधान संशोधनको सन्र्दभमा नेपाली कांग्रेससँग गरिएको सम्झौताअनुसार नै संविधान संशोधन गर्न पोलिटब्युरो सदस्यले सुझाव दिएको बताउनुभयो । उहाँले संविधान पुनरावलोकन आवश्यक र पुनरावलोकनको आधारमा संविधान संशोधन गर्न सुझाव दिइएको बताउनुभयो । बैठकमा ५१ जना पोलिटब्युरो सदस्यले महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि सुझाव दिनुभएको थियो । बैठक दुई दिनसम्म पार्टी कार्यालयमा सञ्चालन भएको थियो ।
पोखरा: पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण रोकिएको छ । पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको महिलातर्फको खेलमा डायमण्डले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेटमा २५–१३ ले हराएको डायमण्डले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । विहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण निकै ढिला गरि सुरु भएको थियो । दुइ खेलबाट डायमण्डको स्पष्ट ६ अंक छ । डायमण्डले यस अघि एभरेष्ट भलिबल क्लबलाई ३–० कै सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई ३–० कै सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५–१० र दोस्रो सेट २५–११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टलाई २५–१३ ले हराउँन सफल भएको हो । यो संगै एपिएफको पनि स्पष्ट ६ अंक छ । गण्डकी र एभरेष्ट भने अंक विहिन रहेका छन् । चार टिम सहभागि प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको छ । लिगका अनितम खेलहरु भोलि हुनेछन् । एपिएफ र डायमण्डले फाइनलको यात्रा सुरक्षित गरिसकेका छन् । उता पुरुषतर्फ भएको खेलमा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको ६ अंक छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । दिनको अन्तिम खेलमा गण्डकी र एपिएफ प्रतिस्पार्धा गर्दैगर्दा दोस्रो सेट सकिदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १÷१ सेट जितेका थिए । गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९–२५ ले गुमाएको थियो । विहान वर्षा भएपछि खेल ढिला गरि सुरु हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शंकर केसीले जानकारी दिए । राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा स्थगित एपिएफ र गण्डकीको खेल भोलि हुनेछ । यस्तै लिगका अन्य बाँकी खेल समेत भोलि नै हुने केसीले जानकारी दिए । प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार(चार टिमको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् । मंगलबारदेखी प्रतियोगिता सुरुभएपनि औपचारि उद्घाटन भने आज (बुधबार) भएको थियो । गण्डकी प्रदेशका डिल्लीराज भट्टले रेफ्रीलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्तै रेफ्री संयोजक टहलसिंह थापा, नेपाल पुलिसकी खेलाडी विनिता बुढाथोकीले सपथ ग्रहण गरेकी थिइन् । भोलीको खेलः महिलातर्फः एभरेष्ट विरुद्ध गण्डकी, न्यु डायमण्ड विरुद्ध एपिएफ त्यस्तै पुरुषतर्फः गण्डकी विरुद्ध गलकोट र पुलिस विरुद्ध एपिएफको बिच रहने छ ।
पोखरा: पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी छ । अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की भिड्ने भएका छन् । यस्तैमा गोकर्ण कार्की र उपमहासचिव पदका उम्मेदवार सुदिप प्रधानाङ्गको फेसबुक पोस्टलाई लिएर अर्जुन पोखरेल प्यानलले विज्ञप्ती नै निकाली आपत्ति जनाएको छ । खासगरी पोखरेल प्यानलका ५ पदाधिकारी सहित ८ जना निर्विरोध भएपछी कार्की र प्रधानाङ्गले आफ्नै टीमको जसरी फेसबुकमा पोस्ट गरिएको सामाग्रीलाई तोडमोड गरि प्रचार गरेको प्रति पोखरेल समुहले आपत्ती जनाएको हो । टीमलाई भाड्न खोजिएको पोखरेल समुहको तर्क छ । विज्ञप्तीमा निर्विरोध भएका पदाधिकारीहरु उत्तममान बुद्दाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष , वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् । ूप्रजातान्त्रिक अभ्यास अनुसार चुनावी प्रक्रियालाई आत्मसात् गर्दै हामीले एउटा बलियो टीम गठन गरेको छौँ । हामीलाई निर्बिरोध निर्वाचित गराउन अथक प्रयास गर्नुहुने हाम्रो समुहका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेल, उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला र अन्य साथीहरुप्रति आभार व्यक्त गर्दछौं ।ू, विज्ञप्तीमा भनिएको छ । अर्जुन पोखरेल प्यालनबाट निर्विरोध भएको जानकारी हुँदाहुँदै पनि आफ्नै टीमको जसरी गरि प्रतिस्पर्धी गोकर्ण कार्की र सुदिप प्रधानाङ्गले सामाजिक संजाल फेसबुकमा हाम्रो टीमले तयार पारेको बधाई तथा शुभकामनाका सामाग्रीलाई तोडमोड गरी आफ्नै टीमको जसरी प्रचार गरेकोमा हामी खेद प्रकट गर्दछौं भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ । निर्विरोध भएका ५ पदाधिकारीले हाम्रो फोटोलाई प्रयोग गरी सामाजिक संजालमा भ्रम फैलाउने प्रयत्न भईरहेको र भ्रममा नपर्न सम्पूर्ण साधारण सदस्यलाई आग्रह गरेका छन् । अर्जुन पोखरेल प्यानललाई अत्याधिक मतले विजयी गराउन उनीहरुको अनुरोध छ । आफुहरु निर्विरोध भए पनि टीम प्रति बफादार र प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।
काठमाडौं: नेपाल रेडक्रस सोसाइटीको ६२औँ स्थापना दिवस ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज देशव्यापी रूपमा मनाइएको छ । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहचलमा रेडक्रसको झण्डोत्तोलन गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवक र कर्मचारीको योगदानको सराहना गर्दै सम्पूर्ण रेडक्रसकर्मी सदैव मानवीय सेवामा उत्रनुपर्ने बताउनुभयो । नेपाल रेडक्रसका उपाध्यक्ष राधा नेपालीले रेडक्रसका स्वयंसेवक र कर्मचारीको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधि सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताउनुभयो । सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवामा तल्लीन रहेको जानकारी दिनुभयो । हाल सोसाइटीअन्तर्गत सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् । रेडक्रस सोसाइटीले विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि सञ्चालन गरिरहेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का नेपाल प्रमुख अजमत उल्लाले नेपाल रेडक्रस सोसाइटी र आइएफआरसीको साझेदारीमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनबाट पर्ने प्रभाव, स्वास्थ्य र महामारीका साथै सामाजिक समावेशीकरणलगायत क्षेत्रमा देशव्यापी रूपमा गतिविधि सञ्चालन भइरहेको जानकारी गराउनुभयो । नेपाल रेडक्रस सोसाइटी कर्मचारी सङ्घ र कर्मचारी कल्याण कोषद्वारा आयोजित कार्यक्रममा २५ वर्ष काम गरिसकेका कर्मचारीलाई सम्मान, कर्मचारीका छोराछोरीलाई प्रोत्साहन स्वरुप शैक्षिक सहयोग वितरण गरिएको थियो ।
पर्वत: पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीस्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुवाहक बस र एम्बुलेन्स ठोक्किदा तीन जना घाइते भएका छन् । नारायणगढबाट आज बागलुङतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०३०० नम्बरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन् । घाइते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका–१ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गीताकुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको छ । उहाँलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य दुईको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पर्वतको जलजला गाउँपालिका–७ की ५५ वर्षीया महिला बिरामी भई पोखरा लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । दुईवटै सवारीसाधन र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् । चीनको साङ्घाइमा आर्किटेक्चर पढिरहेकी उनले रातभरी नसुतिकन मेहनत गरेकै कारण आज यस सफलता हासिल गर्न सफल भएको बताइन् । उनले भनिन्, “दिनभर कलेज, राति १० बजेदेखि निरन्तर अभ्यासमा लागेकै कारण आज नेपाली इतिहासमा पहिलो पदक हात पार्न सकेको हो ।” सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनी विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पहिलो पटक भाग लिँदा १३ वर्षकी थिइन् । काठमाडौँंको बागबजारमा सन् २००३ मा जन्मेकी पलेशाको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भागको विकास भएको थिएन । पलेशाले अन्तर्राष्ट्रिय प्रतियोगिता, २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यु गर्दै पाँचौँ स्थान हासिल गरेकी थिइन् । त्यसपछि सन् २०१७ मा लण्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा खेल जित्दै सातौँ स्थान हासिल गरेकी थिइन् । सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा उनले कास्य पदक जितकी थिइन् । त्यसपछि सन् २०१९ मा जोर्डनको अम्मान र जापानको टोकियोमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनी पदकविहीन भएकी थिइन् । तर सन् २०२१ को एसियाली युथ पारा गेम्समा भने पहिलोपटक स्वर्ण पदक जित्न उनी सफल भएकी थिइन् । सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिँदै आएका पलेशाको मुख्य प्रशिक्षक कविराज नेगीले पलेशाको सफलताले आफूलाई खुसी प्राप्त भएको बताए । उनले पलेशाको मेहनतले नै आज ओलम्पिक्समा कास्य पदक जित्न सफल भएको उल्लेख गरे । प्रशिक्षक नेगीले आफू जिन्दगीभर स्वयंसेवकका रुपमा काम गरेको भन्दै आगामी दिनमा पनि सोहीअनुसारको स्वयंसेवक गर्ने प्रतिबद्धता व्यक्त गरे । राज्यले खेलाडीलाई खाने, बस्ने व्यवस्था मिलाएर तालिमको वातावरण बनाइदिए ‘पारा’ बाट धेरै खेलाडीले पदक जित्ने सम्भावना रहेको उनले बताए । पारा तेक्वान्दोका प्रशिक्षक नेगीले सन् २०१५ देखि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । पेरिस पारा ओलम्पिकमा के–४४ विधाअन्तर्गत ५७ किलोमुनि तौल समूहमा नेपालकी पलेशाले कांस्य पदक जितेकी हुन् । नेपालले यसअघि सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन रहेको थियो । नेपालले सन् २००४ को ग्रीसको एथेन्स पारा ओलम्पिकदेखि ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । पदक विजेता खेलाडी पलेशा र नेगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म सहर परिक्रममा गराइएको थियो । त्यसैगरी पलेशालाई आज काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई नगद पुरस्कारसहित सम्मान गरे । महानगरले सम्मानबापत पेलेशालाई रु पाँच लाख लाख तथा प्रशिक्षक नेगीलाई रु तीन लाख प्रदान गरेको छ । आज नै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलाडी, प्रशिक्षक, खेलप्रमि लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पलेशालाई स्वागत गरेका थिए । पलेशाको सम्मानमा त्रिभुवन विमानस्थलबाट एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर ¥याली टुङ्गिएको थियो । पेरिस पारा ओलम्पिक–२०२४ अन्तर्गत भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित हुन पुगिन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्यपदक नजिक पुगेकी हुन् । गत चैतमा चीनको ताइवानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् ।
पोखरा: युनाइटेड क्लब पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लबको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि लोक बहादुर थापालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन । यस्तै कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम बहादुर कार्की(बिजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिम बहादुर क्षेत्री, गणेश खडका र सुरेश थापा निर्वाचित भएका छन । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुक बहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण गराएका थिए । यसैविच अधिवेशनको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले युनाइटेड क्लवले सामाजिक कामको माध्यामबाट आफुलाई अब्बल बनाउन सक्षम भएको बताउदै युवाहरुले चाहेको खण्डमा कुनैपनि काम सफल हुने बताए । युनाइटेड क्लबमा आवद्ध युवाहरुले एकीकृत भइ सामाजिक काम गरेकै कारण क्लब १५ औं साधारण सभा सम्म आइपुुगेको समेत बताए । पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लब र समाजसेवा एक अर्काबीच पर्यायबाची शब्द रहेको वताउदै युनाइटेड क्लव पोखरामा स्थापना भएतापनि नेपाल भर सामाजिक काम मार्फत आफुलाई अब्बल बनाउन सफल भएको बताए । विगतमा पनि युनाइटेड क्लब संग सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि सहकार्य गरेरै आफुहरु अगाडी वढ्ने उनको भनाइ रहेको थियो । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले लिएको मुख्य एजेण्डा खुल्ला चिडियाखानाले चिडियाखानाको रुपमा नभइ उद्धार केन्द्रको रुपमा बिकास भइरहेको बताउदै त्यस तर्फ सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गराए । क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा उल्लेख्नीय काम गर्दै आइरहेको भएतापनि क्लबले शिक्षाको क्षेत्रमा देशकै नमुनाको रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक विद्यालयको थालनी गर्ने र उक्त योजनाको लागि क्लबले ८ रोपनी जग्गा खरिद गरी योजनालाई अगाडी विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न गरी योजनालाई मूर्त रुप दिनेतर्फ लाग्ने बताए । युनाइटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले युनाइटेड क्लबमा आवद्ध सम्पुर्ण एकजुट भएर अगाडी वढेकै कारण आज सम्म सफलता पाइरहेको वताउदै आगामी दिनमा पनि सम्पूर्ण एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा युनाइटेड क्लबको सुरुवातका दिनहरुमा महत्वपूर्ण भुमिका रही क्लबको उन्नतीलाई सधै आत्मासाथ गर्दै हाल सम्म साथ सहयोग गर्दै आएका क्लबका पूर्व सल्लाहकार विश्व प्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई सम्मान गरिएको थियो । सो अवसरमा क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । साथै उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताउनुभयो । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जित्नुभएको थियो ।