काठमाडौं:   संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...

महोत्तरी:    महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार पाठकले बताउनुभयो । जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ३२ वर्षीया उषा देवी, १४ वर्षीया शिवानी मिश्रा, ३३ वर्षीय दिलीपकुमार मण्डल र सात वर्षीय अर्पितकुमार महतोलाई घरै अगाडि वन क्षेत्रबाट आएको स्यालले टोकेर घाइते बनाएको छ ।  त्यस्तै जलेश्वर नगरपालिका–६ बस्ने ३५ वर्षीया लिलम देवी, १२ वर्षीया माया कुमारी र १२ वर्षीया सङ्गीता मण्डललाई वन क्षेत्रबाटै आएको स्यालले टोकेर घाइते बनाएको जनाइएको छ । विगत दुई दिनदेखि जलेश्वर नगरपालिका–३ र ६ को वन क्षेत्रमा स्यालले आतङ्क नै मच्चाएको छ भने वनक्षेत्र वा साँझ र एकाबिहानै वन क्षेत्रको बाटो भएर आउजाऊ गर्नेमाथि स्यालले आक्रमण गरेर घाइते बनाउने गरेकोछ ।  स्यालले जिल्लामा आतङ्क नै मच्चाइरहेका बेला जिल्लामा कुकुरले टोकेर सात जना घाइते भएका छन् । कुकुरले टोकेर घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–२ का ६० वर्षीया सागर देवी, ४० वर्षीय विलास साह, जलेश्वर–१० का ६९ वर्षीया निर्मला देवी, ६४ वर्षीय रासिद अन्सारी, बलवा नगरपालिका–३ का ३७ वर्षीय जुगेश्वर यादव र लोहारपट्टी नगरपालिकाका ५३ वर्षीय नसरुद्दिन राईन रहेको प्रादेशिक अस्पताल जलेश्वरले जनाएको छ । स्याल र कुकुरले टोकेर घाइते भएकालाई उपचारको लागि चाहिने एन्टिरेबिज भ्याक्सिन ५० जनालाई पुग्ने रहेकाले तत्कालै भ्याक्सिनको अभाव नहुने जनाइएको छ । यसै क्रममा अनुहार, मुख र ओठ नै काटिने गरी गम्भीर घाइते भएका तीन जनालाई उपचारको लागि ‘इमिनो ग्लोबिन’ लगाउनुपर्ने तर सो भ्याक्सिन  प्रादेशिक अस्पताल जलेश्वरमा उपलब्ध नरहेको कारण उनीहरूलाई थप उपचारको लागि जनकपुर पठाइएको हो । स्याल र कुकुरले टोकेर घाइते भएकालाई एन्टि रेबिज भ्याक्सिन (एआरभी) को तीनरतीन डोज लगाउनुपर्ने छ । विगत दुई दिनमा जिल्लामा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भए पनि स्याल र कुकुर नियन्त्रणको लागि कुनै निकायबाट कुनै पहल भएको छैन ।

काठमाडौं:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिनुभएको छ ।      विद्युत् नियमन आयोगले आज यहाँ आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तुरको निर्धारणसम्बन्धी निर्देशिका’माथिको छलफलमा उहाँले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताउनुभएको हो  ।         “सुशासन र न्यायिक सुधारको काम गर्दा नत्थी लगाउने गरीकनको व्यवस्था गर्नुभएन, कानुन, नियम अग्रगामी हुनुप¥यो, पश्चगामी हुनुभएन”, उहाँले भन्नुभयो । मन्त्री खड्काले सरकारले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।            “हामीले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि लक्ष्य पूरा हुनेगरी काम हुन सकेको छैन, निजी र अन्तर्राष्ट्रियजगत्लाई विश्वासमा लिएर उक्त लक्ष्य हासिल गर्न लाग्नुपर्छ”, मन्त्री खड्काले भन्नुभयो ।       ऊर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणबीच एकापसमा समन्वय गरेर ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नियमावली तथा कार्यविधि बनाउनुपर्ने उल्लेख गर्नुभयो । जहाँ समस्या छ त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।           ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले जलविद्युत् उत्पादनको लाइसेन्स लिने तर काम नगर्ने प्रवृत्ति बढेकाले यसको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रको विकासका लागि देखिएको बाधकलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।           मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले निजी क्षेत्रको लगानीमा प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउँदा सरकारले राखेको ऊर्जा विकासको लक्ष्यलाई हासिल गर्न सहयोग पुग्ने बताउनुभयो ।           विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आयातीत इन्धनलाई न्यूनीकरण गर्दै विद्युत् खपत बढाउने रणनीतिका साथ आयोग अगाडि बढेको बताउनुभयो । धेरै विद्युत् खरिद गर्ने संस्थालाई नै महँगोमा विद्युत् बिक्री गर्नुपरेको अवस्थालाई अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ थियो । 

काठमाडौं:   सांसद सुमित्रा विसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गको दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले कर्णाली राजमार्गको मर्मत सम्भारमा सरकारले विशेष चासो देखाओस् भन्ने माग गर्नुभयो । उहाँले सडक निर्माणका क्रममा प्रयोग हुने डोजरका कारण बाढीपहिरोमा वृद्धि भएको पाइएकाले त्यसलाई नियन्त्रण गर्न सुझाव दिनुभयो ।  पहिरो नजाने गरी सडक पूर्वाधार निर्माण गर्न आग्रह गर्दै सांसद विसीले कर्णाली राजमार्गलाई ‘मृत्यु राजमार्ग’ का रुपमा परिचय बनाएकाले तत्काल स्थानीयको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।  सांसद सुरेशआले मगरले मुलुकमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । व्यवस्था बदलिए पनि नेपाली नागरिकको अवस्थामा कुनै पनि सुधार नभएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।  संविधान संशोधनको विषयमा पछिल्ला दिनमा चर्को बहस भइरहेको उल्लेख गर्दै उहाँले समावेशी समानुपातिक प्रतिनिधित्वलाई थप सबल बनाउनैपर्ने भएकाले त्यसविरुद्ध जाने छुट कोही कसैलाई नभएको बताउनुभयो ।  सांसद आनन्दप्रसाद ढुङ्गानाले मुलुकको राजनीतिक परिवर्तनमा शान्तिपूर्ण सङ्घर्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले हरेक पटकको राजनीतिक परिवर्तनलाई नेतृत्व र संस्थागत गरेको स्पष्ट पार्नुभयो । राजनीतिक स्थिरताका लागि पछिल्लो पटक नेपाली कांग्रेस र नेकपा९एमाले०का बीचमा सहमति र सहकार्य भएको उहाँको जिकिर थियो ।    सांसद सावित्री मल्लले देशव्यापी रुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो । तीनै तहमा सरकार क्रियाशील भए पनि सडक निर्माणमा लापरवाही उस्तै रहेको भन्दै समस्या समाधानमा ध्यान दिनुपर्ने उहाँको कथन छ ।  सांसद वामदेव गौतमले समस्याग्रस्त सडक सुधारका लागि आफूले पटक–पटक सदनमार्फत ध्यानाकर्षण गराए पनि कुनै पनि सुनुवाइ नभएकामा गुनासो गर्नुभयो । सदनमा सांसदहरुले राखेको विषयका बारेमा सरकारले कुनै पनि प्रतिक्रिया नजनाएको र कुनै पनि जानकारी नगराएकामा आपत्ति प्रकट गर्नुभयो ।  सांसद गौतमले राजमार्ग प्रहरी निर्माण गरी सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल हुने बताउनुभयो । सांसद गोपालकुमार बस्नेतले भ्रष्टाचार नियन्त्रणका लागि कठोर कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो ।  सांसद घनश्याम रिजालले ग्रामीण क्षेत्रमा युवा जनशक्तिको अभाव रहेको तथ्य पेस गर्दै आम रुपमा आशा जगाउनका लागि निर्यात बढाएर देशभित्र रोजगारीको अवसरमा वृद्धि गर्नु जरुरी रहेको बताउनुभयो ।  सांसद उर्मिला अर्यालले निर्माण व्यवसायीको बक्यौता तत्काल भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले निर्माण व्यवसायीको समस्या समाधानका लागि पूर्ववर्ती सरकारले गठन गरेको कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । उहाँले निर्माण सम्पन्न हुन नसकेका देशभित्रका पुल तथा विकास निर्माणका बारेमा सत्य तथ्य पहिचान गरी समस्या समाधान गर्न दलिय एकतामा जोड दिनुभयो ।  सांसद रुकमिणी कोइरालाले महिला तथा बालबालिकाको स्वास्थ्य सुधारका लागि विशेष चासोका साथ सरकारले विशेष पहल गर्नुपर्ने र कार्यान्वयनमुखी कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो । 

काठमाडौं:   प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले उक्त आयोगले प्रवेश परीक्षामा मानवीय त्रुटि भएको भनिए पनि सत्य बुझन जरुरी भएको बताउनुभयो ।   “चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा त्रुटिपूर्ण भयो भनिएको छ”, सांसद कार्कीले भन्नुभयो, “परीक्षामा मानवीय त्रुटि होइन, दानवीय त्रुटि भएको छ, यस्ता त्रुटि गर्नेलाई कडा कानुनी सजाय दिनुपर्छ ।” उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।  नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिकित्सा शिक्षा आयोगले अङ्कभारको आधारमा विद्यार्थीको नजिता सार्वजनिक गर्नुपर्नेमा रोल नम्बरको आधारमा गरिएकोप्रति सम्बन्धित निकायको ध्यानार्षण गराउनुभयो ।  “कसरी रोल नम्बरका आधारमा आयो, मानवीय गल्ती भनेर आइरहेको छ, विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो”, उहाँले भन्नुभयो, “झण्डै तीन हजार विद्यार्थीलाई मेडिकल साईन्सको विषयमा यस्तो गञ्जागोल बनाउन हुँदैन, मेरिटका आधारमा पढ्न पाउने व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु ।”        राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको नजिता प्रकाशन गरेको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।  “परीक्षामा भएको प्राविधिक त्रुटि भनेको के हो ? त्यो भविष्यमा दोहोरिन नदिने के गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सबैले परीक्षा दिन काठमाडौँ आउने व्यवस्थाको पनि अन्त्य गर्नुपर्छ, परीक्षामा प्राविधिक त्रुटि भएको भनिएको छ, त्यो के भएको हो रु भावी दिनमा नदोहोरिन के गर्नुपर्छ ?”       आयोगले यही भदौ १ गते परीक्षा लिएर १४ गते निकालेको नतिजाप्रति सांसदहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा योग्यता क्रमको आधारमा गर्नुपर्नेमा त्यसो नगरिनु गम्भीर त्रुटि भएको सांसदहरुको भनाइ छ । 

काठमाडौं:    सेप्टेम्बर ४ तारिखलाई गणतन्तन्त्र कोरियाले एक विशेष दिनका रुपमा लिने गरेको छ । यस दिन तेक्वान्दो खेलले ओलम्पिक खेलका रूपमा आधिकारिकता पाएको दिनको सम्झनामा तेक्वान्दो दिवसका रुपमा मनाइन्छ ।  एक साताअघि अगस्त ३० तारिखलाई नेपालको एक विशेष ऐतिहासिक दिनका रुपमा लिन सकिन्छ । नेपालले ओलम्पिक खेल तथा पाराओलम्पिक खेलकुदमा सहभागिता जनाउँदै आएकामा पहिलोपटक पदक जितेको दिनलाई इतिहासको पानामा लेखिनेछ भन्ने लाग्छ ।       नेपाली चेली पलेशा गोवद्र्धनले तेक्वान्दो खेलमा हासिल गरेको यो ऐतिहासिक र बहुमूल्य उपलब्धिले विश्व समुदायमा नेपालको छवि उच्च बनाएको छ ।  यही जुलाई महिनाको २३ तारिखको दिन नेपालस्थित गणतन्त्र कोरियाली दूतावासमा नेपाल तेक्वान्दो सङ्घका अध्यक्षलगायतका पदाधीकारीसहित पलेशासँग भेट्ने अवसर मिलेको थियो ।  दश वर्षको उमेरमा तेक्वान्दो खेल्न थालेकी यी खेलाडी विश्वस्तरीय खेलाडीका रूपमा धेरै प्रतियोगितामा सक्रिय सहभागिता जनाएको जानकारी मलाई रहेको छ । वार्तालापका क्रममा मैले पलेशालाई एक शान्त, निर्भिक तथा आत्मविश्वासी महिला तेक्वान्दो खेलाडीका रुपमा लिएको थिएँ ।       पेरिस पाराओलम्पिक खेलकुदमा पलेशालगायत दुई तेक्वान्दो खेलाडीलाई पेरिसबाट नेपाली जनतालाई सुखद समाचार दिलाउनका लागि तथा आफ्नो कुशल क्षमता प्रदर्शन गर्न हौसला प्रदान गरेको थिए ।  आज नेपालका तर्फबाट फरक क्षमता भएकी महिला खेलाडीका तर्फबाट नेपालको शिर उच्च राख्न सफल भएको क्षणलाई ओलम्पिक इतिहासले अवश्य न्याय गर्नेछ भन्ने लागेको छ । मलाई यत्ति धेरै खुसी मिलेको छभने सम्पूर्ण नेपाली जनतालाई झनै खुशी दिलाएको छ भन्ने लाग्छ । बधाई छ खेलाडी पलेशा गोवद्र्धनलाई, अनि प्रशिक्षक कविराज नेगी लामा, तेक्वान्दो सङ्घ तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई ।        नेपाल तेक्वान्दो सङ्घका अनुसार नेपालमा तेक्वान्दो खेल खेल्नका लागि आधिकारिक रुपमा दर्ता भएका खेलाडीको सङ्ख्या झन्डै एक लाख ५० हजार रहेको छ । तीमध्ये महिला खेलाडीको सङ्ख्या २० प्रतिशत हाराहारी रहेको अनुमान गरिएको छ ।  नेपालमा तेक्वान्दो खेल्नेको सङ्ख्या बढ्दै गएर यस खेलको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउने विश्वासका साथ खेल धेरै व्यक्तिले मन पराएका छन् ।  सन् १९८८ मा दक्षिण कोरियाको सउलमा भएको ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक जितेका थिए, जुन विषय आजका दिनमा पनि सुखद क्षणका रुपमा लिइन्छ ।  नेपालमा तेक्वान्दो खेलको सुरुआत प्रहरी–सेना तथा अन्य सुरक्षा निकायमा शारीरिक प्रशिक्षणको माध्यमबाट भएको जानकारी रहेको छ । तर आज यस खेलको महत्व आम जनतामाझ प्रचार भएको छ ।       सन् १९८३ मा औपचारिक रुपमा नेपाल तेक्वान्दो सङ्घको स्थापनापश्चात् खेलको विकासमा उल्लेख्य भूमिका खेलेको देखिन्छ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले तेक्वान्दो खेलको प्रवद्र्धनका लागि हरेक दुई वर्षमा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएको छ ।  गत सेप्टेम्बरमा करिब एक हजार आठ सय तेक्वान्दो खेलाडीको सहभागितामा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो । मलाई त्यस क्षणमा साना नानी–बाबुहरु तथा युवाहरुको तेक्वान्दोप्रतिको उत्साह तथा प्रेम देखेर हर्षित भएको क्षण सबै सामु साट्ने अवसर मिल्दा खुसी छु ।  नेपालमा तेक्वान्दो खेल प्रशिक्षकको भूमिकामा एक कोरियाली प्रशिक्षक ख्वन यङदाल सन् १९९८ देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा तेक्वान्दो प्रशिक्षकको भूमिकामा रहनुभएको छ ।        तेक्वान्दो खेलको लामो पृष्ठभूमि रहेको छ । कोरियाली युद्धपश्चात् परम्परागत कोरियाली मार्सल आर्टलाई जोडेर तेक्वान्दोलाई व्यवस्थित रूपमा अभ्यास गर्न थालियो ।  तेक्वान्दो खेलको प्रकृति युद्धकलासँग पनि जोडिएको हुँदा, प्रशिक्षणको आधारभूत उद्देश्य आफैँलाई सुरक्षित राख्नु रहेको छ । अन्तिम लक्ष्य थप गहन प्रशिक्षणमार्फत आफ्नो पूर्ण क्षमतालाई कलात्मक रुपमा प्रदर्शन गर्नु हो ।  तेक्वान्दो प्रशिक्षण प्रक्रिया बारम्बार अभ्यासमार्फत शरीर र दिमाग परिवर्तन गर्ने प्रक्रिया पनि हो र कालान्तरमा र यस खेलको माध्यमबाट विश्वसामु खेलाडी तथा देशको परिचय गराउनु नै हो भन्ने लाग्छ । तेक्वान्दोको भावनामा ‘आफू माथि विजय गरी विश्वलाई सकारात्मक सन्देश फैलाउँ’ भन्ने मान्यता समावेश छन् ।       तेक्वान्दोका यी मूल्य–मान्यता तथा गुणहरू तेक्वान्दो प्रशिक्षण प्रक्रियामा प्रतिबिम्बित हुन्छन्, जस्तै कि प्रशिक्षण प्रक्रियाको समापनपश्चात् खेलाडीले एक अर्कालाई अभिवादन गर्ने, प्रशिक्षकलाई खेल सुरु हुनु अगाडि र समापनपश्चात् गर्ने शिष्टाचार आदि कोरियाली परिवारमा विगतदेखि रहँदै आएको आपसी सम्मान र सद्भावको प्रतीकका रुपमा रहेको छ ।  कोरियाली आमाबाबुले पनि आफ्ना छोराछोरीलाई तेक्वान्दो खेल्नका लागि प्रोत्साहन दिनाका कारणका रुपमा शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनु, निडरपनको विकास गर्नु, शिष्टता, सद्भाव, स्वयंसेवाको भावनालगायतको विकास गर्नु पनि रहेको छ ।  भनेको नमान्ने बच्चाहरु पनि तेक्वान्दो प्रशिक्षणपश्चात् अनुशासित भएको बारेमा धेरै सुनिन्छ । तेक्वान्दो खेललाई दुई तरिकामा तालिम दिइन्छ । पहिलो पुम्सेः जसमा आधारभूत चालहरू समावेश हुन्छन् र अर्को ख्यरुगी रहेको छः जुन तेक्वान्दो अभ्यासकर्ताहरूबीचको प्रतिस्पर्धात्मक रुपमा खेल्नका लागि खेलाडीलाई तयार गरिन्छ ।       यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोरियाली तेक्वान्दो प्रतिनिधि मण्डलले नेपाली तेक्वान्दो खेलाडीसँग सीप तथा भावना आदान–प्रदान गर्न तथा प्रदर्शनात्मक कार्यक्रममा सहभागी हुनका लागि यही अक्टोबरको मध्यमा नेपाल आउने योजना बनाएको छ ।  कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्षमा तेक्वान्दो खेलबाट ओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक प्राप्त भएकामा म अत्यन्त खुसी हुँदै यस सुखद क्षण सम्पूर्ण नेपालीहरुसँग बाँड्न चाहन्छु । कोरियाली संस्कृतिको महत्वपूर्ण हिस्सा बनेको तेक्वान्दोलाई नेपालमा थप फैलाउन तथा यस खेलको माध्यमबाट विश्वसामु नेपालको उपस्थिति थप मजबुत गराउनका लागि गणतन्त्र कोरिया सरकारले सहकार्य जारी राख्ने योजना बनाएको छ ।      पेरिसबाट पलेशाको ऐतिहासिक पदक प्राप्तिको खबरले नेपाली जनतामा आशा जगाएको छ । त्यसैगरी गर्न सकिन्छ भन्ने भावनाले स्थान पाएको छ ।  म पलेशालाई प्रशिक्षणका क्रममा उनको मेहनेत–परिश्रम, उनले बगाएको पसिना र पेरिसमा पदक प्राप्त गर्ने दृढ विश्वास, धैर्यता, साहस, आफूलाई जित्नु परेको मानसिक शक्तिप्रति मेरो आत्मादेखि सम्मान व्यक्त गर्दछु ।  नेपाल सरकार खेलकुद मन्त्रालय तथा सम्बन्धित विभागको समन्वयमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हासिल गर्दै जानेछन् भन्ने विश्वास लिएको छु ।  नेपालका हरेक क्षेत्रमा पलेशाजस्ता व्यक्तिहरु हुनुहुन्छ, उहाँहरु सबैको प्रयासले विश्वसामु नेपालको छवि उच्च गर्नका लागि भूमिका खेल्नेछ भन्ने लागेको छ । कोरिया सरकारले पनि नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रको विकासमा हातेमालो गर्दै जानेछ ।  (नेपालका लागि गणतन्त्र कोरियाली राजदूतसँग गरिएको कुराकानीमा आधारित)  

सिरहा:    यहाँको गोलबजार नगरपालिका—१ मुक्सारमा सोमबार राति लुटेराको एक समूहले धनमाल लुटपाट गरेको छ । स्थानीय जागेश्वर रामको घरमा राति १२ बजेको आसपासमा १२/१५ जनाको समूहमा आएका लुटेराहरुले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगेका हुन् । लुटेरा समूहले जागेश्वरलाई कुटपिट गरी उहाँको मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिनुभयो । घटनालगत्तै स्थानीयले मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि चार घण्टा पछिमात्र प्रहरी आइपुगेको बताएका छन् ।  इलाका प्रहरी कार्यालय गोलबजारले भने सामान्य चोरीको घटना भएको जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले भन्नुभयो, “सामान्य चोरी भएको भन्ने सूचना आएको थियो । हामीले प्रहरी टोली खटाइसकेका छौँ । थप अनुसन्धान गर्दै छौँ ।”       सिरहाको लहान, धनगढीमाई, गोलबजार लगायतका स्थानमा पछिल्लो समय चोरी तथा डकैतीका घट्ना बढेका छन् । खासगरी घरमै धनमाल राख्ने वित्तीय साक्षरता कम भएका दलित समुदायमा यस्ता घट्ना बढ्दो छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।       पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा सचिवालय बैठकबाट तयार पारेको पार्टी कामको योजना र समसामयिक राजनीतिक अवस्थाका विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो ।  उहाँका अनुसार कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई अझ व्यवस्थित गर्ने, बाँकी जिल्ला अधिवेशन तथा पालिका अधिवेशन समयमै व्यवस्थित रूपमा सम्पन्न गर्ने उल्लेख छ ।        यसैगरी, बैठकमा कार्ययोजनामा पार्टी प्रवेश गर्नुभएकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने उल्लेख छ । पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्नेसमेत कार्ययोजनामा समेटिएको छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कूलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको जनाइएको छ ।       साथै कार्ययोजनामा प्रचार कार्यलाई थप व्यवस्थित बनाउने र कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने कुरा उल्लेख गरिएका छन् ।  यस्तै, पार्टीको हरेक वर्षका लागि तय भएका र बाँकी रहेका काम पार्टीको इतिहास लेखन, ‘सेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेलगायत महत्वपूर्ण कार्य कार्ययोजनामा समेटिएको प्रमुख गौतमले जानकारी दिनुभयो । 

काठमाडौं:  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ ।       शून्य समयमा बोल्दै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो ।       सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । सांसद भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गनुपर्नेमा जोड दिनुभयो ।       यस्तै, सांसद उर्मिला अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीले केही दिनपहिले प्रहरी प्रमुखका सम्बन्धमा दिनुभएको भनिएको अभिव्यक्तिका बारेमा सत्यतथ्यसहित यथार्थ कुरा सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद नारायणदत्त मिश्रले ब्राजिलको विमानस्थलमा नेपाली अलपत्र परिरहेको तथा रसियामा पनि नेपालीको अवस्था उस्तै रहेको बताउनुभयो ।       सांसद मदनकुमारी शाह गरिमाले रसियाले गैरकानुनी रुपमा नेपाली नागरिकलाई सेनामा भर्ना गरेको र हालसम्म ४० नेपालीको निधन भइरहेको पाइएकाले तत्काल नेपाली नागरिकको जीवन सुरक्षाका लागि पहल गर्न माग गर्नुभयो ।       सांसद युवराज शर्माले सङ्घीय प्रणालीलाई सुदृढ बनाउनका लागि प्रहरी समायोजनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

काठमाडौं:   नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियनल लिग खेल्ने भएकी छिन् । गोलकिपर एञ्जिलाले ग्रिसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्ने भएकी हुन् । २९ सेप्टेम्बरबाट लिग सुरु हुँदै छ । एञ्जिलाले १ वर्षका लागि सम्झौता गरेकी छन् । यससँगै उनी युरोपमा व्यावसायिक फुटबल खेल्ने दोस्रो खेलाडी बनेकी छन् । यसअघि साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन क्लब ग्वेङगाम्फबाट दोस्रो सिजन खेल्दै छिन् । एञ्जिलाले यसअघि भारत र पाकिस्तानबाट पनि व्यावसायिक खेल खेलिसकेकी छन् । एञ्जिला एपीएफमा आबद्ध भएर फुटबल खेल्दै आएकी छन् ।