लेखनाथ नेवा: खलको आह्वानमा गगन नेवा खल:द्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवा: खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवा: खल तेस्रो तथा मिलीजुली नेवा: खल पोखरा–३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुुनेले क्रमश: रु ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन नेवा: खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बन्नुभयो भने वेशभूषामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवा: खलकी सोनिसा श्रेष्ठ पुरस्कृत बन्नुभएको छ । प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए । तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवा: खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताउनुुभयो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुुपर्नेमा जोड दिनुभयो । नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालकिा वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगन नेवा: खलका सचिव शरणकुमार प्रधानलगायतले तायमचाको सांस्कृतिक महत्वसँगै यसको जगेर्ना गर्नुपर्ने लगायतमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
म्याग्दी: पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ । सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको पोखरेबगर–घोडेपानी सडकमा लुलिया, हल्लेखर्क र घोप्टेखर्कको पहिरो चुनौती बनेको छ । लुलिया र हल्लेखर्कमा साँघुरिएको र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर जिप, ट्रयाक्टर र मोटरसाइकल आवतजावत गरे पनि घोप्टेखर्कको पहिरोले घोडेपानी दुई महिनादेखि यातायात सम्पर्कबिच्छेद भएको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो । “गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीययाम सुरु हुन लागे पनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनौँ ।” घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । लुुलियामा करिब ५० मिटर र हल्लेखर्कमा एक सय मिटर दूरीमा पहिरोसँगै सडक बगेको छ । लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन नसकेको अन्नपूूर्ण–६ बिरौटाका कृषक शिव खड्काले बताउनुभयो । बिरौटाको फार्मबाट पोखरेबगर जाने क्रममा शनिबार खड्का चढेको मोटरसाइकल लुलियाको पहिरोमा पल्टिएर करिब एक सय लिटर दूध, दही पोखिएको थियो । “साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर मोटरसाइकल र जिप उकाल्नुुपर्छ”, उहाँले भन्नुभयो, “याँ ठाउँमा ज्यानको माया मारेर सवारीसाधन चलाउनुपर्छ । यस ठाउँको सडकको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि बेवास्ता भएको छ ।” अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर–चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो । अन्नपूूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का बासिन्दाका साथै घोडेपानी जाने आउने पर्यटकले यो सडक प्रयोग गर्छन् । वार्षिक ३० हजारजनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवातिलिजा पुनले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेटेर पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।
फुङ्लिङ: लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो । धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो । यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर, आधुनिकताको प्रभाव र समयको परिवर्तनसँगै धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । धाननाच स्तम्भ निर्माण गर्न करिब रु ५० लाख लाग्ने किरात याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । लाखे जात्राका अवसरमा यो निर्माण कार्य सुरु गरिने छ । “तोक्मेडाँडाको भित्तामा निर्माण गरिने उक्त स्तम्भको पछाडिपट्टि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य समावेश गरिने छ”, उहाँले भन्नुभयो । स्तम्भको अगाडि धाननाच प्रस्तुत गर्दै गरेका दुई पुरुष र दुई महिलाको आकृति राखिने छ । प्रत्येक आकृति ६ फिट अग्ला हुनेछन् । यसले धाननाचको मौलिकतालाई प्रदर्शन गर्नेछ । धाननाच स्तम्भ निर्माण गर्न रु ३२ लाखमा स्थानीय कालीगढसँग समझदारी भएको अध्यक्ष मेन्याङबोले बताउनुभयो । स्तम्भ निर्माणस्थल वरिपरि सिँढी बनाइनेछ र घेराबेरा गरेर स्थललाई आकर्षक बनाउन अतिरिक्त संरचना थपिनेछन् । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार, स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक सम्पदाको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने छ । “स्तम्भ चार महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । यसअघि पनि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याबु्रङ स्तम्भ बनाइएको थियो । धाननाच, लिम्बू समुदायको महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो । यो विशेषगरी वैवाहिक क्रियाकलापमा नाचिन्छ ।
पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घरबास सेवा सुरु र नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार तयार पारिएको हो । ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले ६ घरमा एक सय २० जना क्षमताको घरबास सुरु गर्नुका साथै पाखाथरबाट काडेकोडाँडा हँुदै किटेनीसम्म पदमार्ग निर्माण गरिएको जानकारी दिनुभयो । “ढोरपाटन घुम्न आउने पर्यटकको सुविधाका लागि नयाँ घरबास बनाएर क्षमता बढाएका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धनमा जुटेका छाैं ।” गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक नमूना होमस्टे कार्यक्रममार्फत रु १२ लाख बजेटमा घरबासको क्षमता विस्तार र पर्यटकीय पूर्वाधार तयार पारिएको हो । अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउनुका साथै पर्यटकीयस्थलको जानकारी र सूचनामूलक काठको बोर्ड राखिएको सचिव पुनले बताउनुभयो । काठैकाठले बनेका परम्परागत घरमा पाहुनाका लागि कोठा बनाइएका छन् । कोदो, फापरको ढिडो, आलु, च्याउ, टुसा, लोकल कुखुरा, खसीको मासु र दुग्धजन्य परिकारको स्वाद चाख्न पाइन्छ । ढोरपाटन सिकार आरक्षका अनुसार त्यहाँ रहेका २९ होटल र होमस्टेमा दैनिक तीन सय पाहुना बास बस्न सक्छन् । देशका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको चाप बढेपछि घरबासको क्षमता विस्तार गरिएको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीले बताउनुभयो । पाखाथरमा सञ्चालन हुनुअघि ढोरपाटनमा दुईवटा होमस्टे थिए । पाखाथर होमस्टेमा बास बस्ने पर्यटकका लागि समुद्री सतहबाट काडेधुरी, थारसिङ, गुराँस पार्क र किटीनी धुरीमा हाइकिङ गर्न पाउनु आकर्षण हो । पाखाथरबाट तीन घण्टा उकालो पैदलयात्रापछि पुगिने चार हजार मिटर एक सय १० मिटर उचाइमा रहेको किटीनी धुरीबाट ढोरपाटन उपत्यका, सिस्ने, पुथा, गुर्जा, धवलागिरि, चुरेन, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । फराकिलो फाँट, बुकी, गाईभैँसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पक्षी, वनजङ्गलको दृष्यावलोकन गर्न पाउनु पनि यहाँको आकर्षण हो । एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षले पूर्वीरुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ । आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ पर्यटकले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा रु १९ लाख ३३ हजार राजस्व सङ्कलन भएको संरक्षण अधिकृत मण्डिप पङ्गेनीले बताउनुभयो । ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।
पाल्पा: बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी फुटबल प्रतियोगितामा दमकडा ब्रदर्श सेमिफइनलमा प्रवेश गरेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शनिबार भएको खेलमा युनाइटेड युथ एफसीलाई ४–० गोल अन्तरले सहजै हराउँदै दमकडा ब्रदर्श सेमिफाइनलमा प्रवेश गरको हो । दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका आवेश शाहीले र आशिष रानाले समान २/२ गोलको योगदान दिए । अब दमकडा एफसीले सेमिफाइनलमा आज हुने मणिमुकुन्द बि र आयोजक नव जागृति युवा क्लब (ब्ल्याक) बीचको विजेता टोलीसँग १८ गते प्रतिस्पर्धा गर्नेछ । भने, प्रतियोगिताको फाइनल हरितालिका तीजको दिन २१ गते हुनेछ । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । भने, प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । नव जागृति युवा क्लब वि.स २०३८ सालदेखि निरन्तर रुपमा सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय रहदै आएको छ ।
लमजुङ: पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताउनुभयो । उहाँका अनुसार सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् । यो स्थानमा विगत तीन वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो । बेँसीसहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रीलाई समस्या भएको छ । साथै यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्दछन् । बर्खा लागेयता दर्जनौँपटक यो सडकका विभिन्न स्थानमा पहिरो पटकपटक सडक अवरुद्ध बनाउँदा यात्रीलाई सास्ती भएको छ ।
चितवन: भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताउनुभयो । दुर्घटनामा तीनजना घाइते यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको अवस्था मध्यम छ । उहाँका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ । यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ ।