इलाम: दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भन्नुभयो, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो ।” कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन् । “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ ।” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भन्नुभयो, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो । अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ । कोदोबाट नगद आम्दानी छैन । बरु अकबरेको व्यावसायिक खेती गर्छन् । कोदो भटिँदैन । कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ । “जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ ।” ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भन्नुभयो, “त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको छ ।” इलामका १० स्थानीय तहमै आंशिक रुपमा कोदो खेती हुने गरेको छ । तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताउनुभयो । इलामका बजारमा भारतबाट आयात गरिएको कादो पाइन्छ । सूर्योदय–४ का प्रदीप गिरीले पर्यटकलाई खुवाउने कोदो पनि स्थानीय भनेर भारतबाट ल्याउनुपरेको बताउनुभयो । मकरजुङका टीकाराम अधिकारीले पोहोर नौला बुझाउन गाउँभरि कोदो खोज्दा कतै नभेटेपछि यसवर्ष बारीको एकछेउमा एक मानाको बीउ रोप्नुभएको छ । “दुई वर्ष नौलो बुझाउन पुग्ला त्यसपछि फेरि राप्नुपर्छ । यति रोप्नलाई बारी खन्ने खेताला नभेटेर बिजोग भयो । जमाना फेरिएछ अब ।” उहाँले भन्नुभयो, “रोप्ने पनि थिइन । पोहोर एक मुठी कोदो खोज्न गाउँ डुल्दा कतै नभेटेपटि यसपाली झ्वाँक चलाको ।” कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा कोदो खेती हुने गरेको छ । प्रदेशभरमा ६५ हजार तीन सय ७२ हेक्टरमा कोदो खेती हुने गरेको छ । त्यसबाट एक लाख आठ हजार तीन सय ७५ टन कोदो उत्पादन हुने गरेको छ । यो करिब रु पाँच अर्ब २० करोड २० लाख बराबरको उत्पादन हो । तर यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि विनियोजन गर्दे आएको बजेट कटौती गरेको छ । सरकारको बेवास्तामा परेसँगै कोदो बाली हेलाँमा परेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासको प्रभावस्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढिरहेको पाइन्छ तर विडम्बना उत्पादन भने घटिरहेको छ ।” पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७ सय ९७ टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो । कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । संयोजक अधिकारी भन्छन्, “खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो”, उहाँ भन्नुहुन्छ, “पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ ।” कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्ययनले देखाएको छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइने विज्ञहरू बताउँछन् । सामान्य स्वस्थ व्यक्तिमात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको जनाइएको छ ।
कास्की: चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो । भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । “पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भन्नुभयो । एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी निदुभयो । उहाँले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताउनुभयो । प्रवक्ता गुरुङले भन्नुभयो, “पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक(लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।” मङ्गलाबार गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिनुभयो । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताउनुभयो ।
गण्डकी: लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ युट्युबमा सार्वजनिक हुँदासाथ वरिष्ठ गीतकार राजेन्द्र थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अदभूत !” उक्त गीतको युट्युब भिडियो फेसबुकमा साझा गर्दै उहाँले अचानक मरुभूमिमा विष्णु माझीको सरस्वतीमय स्वरको मुसलधारे वर्षा भएको भन्दै बिम्वात्मक शैलीमा गीतप्रति टिप्पणी गर्नुभयो । तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौँ ‘भ्यूज’ पुग्ने गरी दर्शक÷स्रोताले साथ दिनुपर्ने उहाँको भनाइ छ । गायक एवं सङ्गीतकार बसन्त थापा पनि माझीको तीज गीत आउँदा उत्साहित बन्नुभयो । “बल्ल तीज आए झैँ भो, प्यासीले पानी पाए झैँ भो...” फेसबुकमा उहाँले लेख्नुभएको छ । उहाँको पोष्टमा टिप्पणी गर्दै रमेश क्षेत्रीले लेख्नुभएको छ– “यसलाई भनिन्छ तीज गीत, त्यसैले आजबाट मेरा लागि तीज सुरु भयो ।” सुनिता क्षेत्रीको टिप्पणी पनि उस्तैउस्तै छ– “साँच्चै हो नि विष्णु माझीको तीज गीत नआएसम्म तीज गीत आएजस्तो हुँदैन ।” शनिबार ‘सपना म्यूजिक इण्ड्रष्टिज’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत लोकसङ्गीतप्रेमीको रोजाइमा परेको छ । सार्वजनिक भएको दुई दिन नबित्दै उक्त गीतको म्यूजिक भिडियोलाई युट्युबमा ३० लाखभन्दा बढी पटक हेरिएको छ । गीतको सर्वत्र चर्चा र प्रशंसा भइरहेको छ । तीज पर्वको छेकोमा सार्वजनिक भएको उक्त गीतमा १८ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीतलाई धेरैले रुचाएको गायक तथा सङ्गीतकार आशिष अविरलले बताउनुभयो । “महिलाको संवेदना र मनोविज्ञान गीतमा झल्किएको छ, समग्रमा गीतको मौलिक पक्ष सशक्त छ, गायकीका हिसाबले विष्णु माझी अब्बल हुनुहुन्छ”, उहाँले भन्नुभयो, “तीज गीतको मुल प्रवृत्तिलाई यो गीतले पक्डेको छ ।” विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्षपनि दर्जनबढी त्यस प्रकृतिका गीत विवादमा मुछिएका छन् । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपर्ने स्थिति सिर्जना भयो । ऐतिहासिक पर्व गीतमाथि खलल पु¥याएकामा लोकसङ्गीतप्रेमीले विरोध जनाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रीता थापा मगरले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा माझीको गीतले त्राण दिएको उल्लेख गर्नुभयो । उक्त गीतले पाएको चर्चा र प्रशंसालाई इङ्कित गर्दै उहाँले समाज सँधै स्तरीय सिर्जनाको खोजीमा रहने हुँदा गायिका माझीको गीत पनि त्यही कोटीमा परेको बताउनुभयो । कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरुले तीज गीतलाई विकृत पारिरहेका बेला विष्णु माझी जस्ता कलाकारका गीतले उनीहरु निरुत्साहित बनेको उहाँको भनाइ छ । वरिष्ठ लोकगायिका हरिदेवी कोइराला पनि तीजमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्नुहुन्छ । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उहाँको बुझाइ छ । पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको प्रसङ्ग जोड्दै उहाँले तीज गीतमा विशेष गरी नारी मुक्तिको आवाज मुखरित हुने गरेको स्मरण गर्नुभयो । बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक÷कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ । गायिका माझीद्वारा स्वरबद्ध उक्त तीज गीतमा सुन्दरमणि अधिकारीले शब्द र सङ्गीत दिनुभएको छ । गीतको भिडियोमा कलाकार ललिता पौडेललगायतको अभिनय र नृत्य रहेको छ । तीजमा माइत जान नपाएकी चेलीको मनोभावनालाई गीतले उठान गरेको छ । गायिका माझीले तीन वर्षअघि ल्याएको तीज गीत ‘चरी जेलैमा..’ पनि त्यो बेला चर्चित बनेको थियो । उक्त गीतले हालसम्म युट्युबमा पाँच करोड बढी ‘भ्यूज’ बटुलीसकेको छ । उहाँ र गायक कुलेन्द्र विश्वकर्माले पाँच वर्षअघि गाएको ‘सालको पातको टपरी...’ गीत युट्युबमा सबैभन्दा बढी हेरिएको लोकदोहोरीमा पर्छ । उक्त गीतको भिडियोलाई अहिलेसम्म नौ करोड ६० लाख भन्दा बढीपटक हेरिएको छ । सार्वजनिक रुपमा देखा नपर्ने गायिका माझीले गुमनाम अवस्थामै नेपाली लोकसङ्गीतलाई अमर गीतहरु दिइरहनुभएको छ ।
पर्वत: विगत तीन दिनदेखि आफ्नै घरबाट बेपत्ता भएकी पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी एक महिलाको मृत अवस्थामा भेटिएकी छिन् । स्थानीय ८० वर्षीया वसुन्धरा बगालेलाई मृत अवस्थामा सोमबार दिउँसो २ः१५ बजे प्रहरीले फेला पारेको हो । गत शनिबार साँझ ६ः३० बजेदेखि बेपत्ता भएको भनी प्राप्त भएको सूचनाका आधारमा खोजतलास गर्न पुगेको प्रहरी टोलीले उनलाई घरभन्दा करिब तीन किमी उत्तरतर्फको एकोहोरे जङ्गलको भिरमुनि अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिनुभयो । मोटरबाटोको डिलबाट लडेर तीन÷चार सय मिटर तल पुगेका कारण मृत्यु भएको जस्तो देखिने प्रहरी निरीक्षक बरामले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक वृद्धले लगाएको गरगहना र लुगाफाटो जस्ताकोतस्तै रहेकाले लडेकै कारणले मृत्यु भएको जस्तो देखिएको छ । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला असपताल पर्वतमा राखिएको छ ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा लुम्बिनी मेडिकल कलेजले आयोजक निलोलाई पराजित गरेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा आयोजक निलोलाई ३–२ गोल अन्तरले पराजित गर्दै एलएमसी क्वाटरफाइनलमा प्रवेश गरेको क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । उनका अनुसार एलएमसीको जीतमा म्यान अफ द म्याच घोषित भएका सौगात केसीले १ गोल गरे । भने, आयोजक नव जागृति युवा क्लबको तर्फबाट २ गोल आत्मघाती हुन पुगेको थियो । यता हार व्यहोरेको आयोजक निलोका लागि राजन गाहा र विवश गाहाले समान १ गोल फर्काएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलबाट जीत निकालेको एलएमसीले अब १३ गते हुने प्रकृति एफसी र एमएमसी एबीचको विजेता टिमसँग यही १७ गते प्रतिस्पर्धा गर्नेछ । भोलि (मंगलबार) दिउँसो ३ बजे न्यू हिमाली एफसी र युनाइटेड युथ एफसीबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए । उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा मेला हुन लागेको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । सोही अवसरमा क्रिस कञ्चन ज्वेलरीमा डायमण्डको सोरुम पनि उद्घाटन गरिने अध्यक्ष गुभाजूले जानकारी दिए । मेलामा डायमण्ड खरिदमा विशेष छुट दिइने उनले बताए । मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलामा हिराबाट बनेका फूल, औंठी, हार, टप, झुम्का लगायतका गहनाहरु राखिने उनले सुनाए । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौं, उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताको बारेमा जानकारी गराउँदै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं । यो पटक हामीले पोखरामै सोरुमको पनि शुभारम्भ गर्दैछौं ।’ तिज तथा डायमण्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरुमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिए । हिराका गहना काठमाडौंमा बढि प्रचलनमा रहेकाले पोखरामा पनि डायमण्डको गहना उपलब्ध गराउन कञ्चन क्यापिटल लागिपरिरहेको उनले बताए । ‘पोखरामा डायमण्डको सोरुम थिएन् । सबै काठमाडौं जान्थे,’ उनले भने, ‘त्यसैले यताको ग्राहकलाई पोखरामै सुविधा दिउँ भन्ने उद्देश्यले सोरुम स्थापना गरेका हौं ।’
पोखरा: जापानको टोकियोमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र आइतबार प्रदर्शन गरिएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक समाज जापानको आयोजनामा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन गरिएको हो । जापानको टोकियो शहरमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शन समारोहमा बोल्दै नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले आफु बेलायत राजदूत भएर बेलायत जाँदा नेपाल घुमेर बेलायत फर्किएहरुले स्वर्गको एउटा टुक्रामा टेकेर आएको प्रतिक्रिया दिएको बताए । ‘कास्कीको घान्द्रुक, चितवनको सौरहा, लुम्बिनी, पाल्पाको श्रीनगर , इलामको कन्याम जस्तै स्वर्गका धेरै टुक्राहरु नेपालमा छन्, सिङ्गै स्वर्ग जस्तो हाम्रो देश छ, राजदूत सुवेदीले भने, ‘ पत्येक टुम्काटुम्का देवताको वास भएको देश हो हाम्रो, प्रत्येक ढुङ्गाहरुमा देवता खोपेको देश हो हाम्रो चिनाउन बाँकी छ, पर्यटन प्रवद्र्धन गर्न बाँकी छ ।’ नेपाली राजदूत डा. सुवेदीले जापनीज साथीले नेपालको भ्रमण गरेपछि नेपाल विविधता भएको देश भएको समेत बताए । ‘मलाई एकजना जापनीज साथीले भन्नुभयो नेपाल विविधता भएको देश हो, १० किलोमिटरको हिडेपछि त्यही महोत्तरीबाट सिन्धुली चढ्दा खेरी गर्मीबाट चिसोमा पुग्छ, चितवनबाट अलिकति माथि पुग्दा आबुखैरेनी हुँदै गोरखा नपुग्दै पुनः शितल हुन्छ यो विविधता हो यो प्रकृतिले दिएको हो ।’उनले भने, उनले नेपाल प्रकृति र संस्कृतिको केन्द्र भएको समेत बताए । ‘ प्रकृति र संस्कतिको धनी हो नेपाल हो, प्रकृति र संस्कृतिको केन्द्र हो नेपाल, प्रकृति र संस्कृतिको धनी हो पोखरा, घान्द्रुक, घलेगाउँ ।’ उनले भने । जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठले नेपालमा पर्यटन प्रवद्र्धन गर्दा एक ठाउँको मात्र नभएर नेपालको समृद्धिमा नै सहयोग पुग्ने बताए । उनले नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएकाले यसको प्रवद्र्धन गर्न नेपाल सरकार र समुदाय नै लाग्नुपर्नेमा जोड दिए । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले घान्द्रुकमा पर्यटक प्रवद्र्धन गर्न वृत्तचित्र निर्माण गरेर प्रदर्शन गरिएको बताए । ‘घान्द्रुकमा पहिलो पटक प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई बेलायत र हङकङपछि जापानमा प्रदर्शन गरेका हौ ।’ लामा अमृत फाउण्डेशन घान्द्रुक संस्थापक अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ । कार्यक्रममा बे्रज मेश्रो घान्द्रुक समाज जापानका अध्यक्ष युक्तमान गुरुङ गुरुङको अध्यक्षता र लामा अमृत घान्द्रुकका संस्थापक अमृत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शनमा तामाकी रेष्टुरेन्टका सञ्चालक बुद्धि गुरुङ (ज्या) र नेपाल जापान चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठको विशेष सहयोग रहेको थियो ।
काठमाडौं: ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभयो । उहाँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आउनुभएको हो । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नुहुनेछ । उहाँ भोलि भदौ ११ गते काठमाडौँबाट प्रस्थान गर्नुहुने कार्यतालिका छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको छ । टुँडिखेलमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताउनुभयो । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गर्नुभयो ।