सयपत्री फूलको बिक्रीबाट ५ लाख आम्दानी
स्याङ्जा | कात्तिक २२, २०८१
स्याङ्जाः यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु ५ लाख आम्दानी गर्नुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट ५ लाख बढी आम्दानी गर्न सफल हुनुभएको हो ।
उहाँले दसैँ तथा तिहारका अवधिमा माला १ हजार ८ सय ४५ गोटा र फूल १ हजार ३ सय ७६ केजी बिक्री गर्नुभएको हो । फूल बिक्रीबाट ३ लाख ४४ हजार र माला बिक्रीबाट १ लाख ४७ हजार ६०० गरी कूल ४ लाख ९१ हजार ६०० आम्दानी गरेको उहाँले बताउनुभयो ।
भण्डारीले फूलका थुङ्गा प्रतिकेजी रु २ सय ५० देखि ३ सय र माला प्रतिगोटा रु १ सय ५० सम्म बिक्री गर्नुभएको हो । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उहाँले बताउनुभयो ।
“माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौंँ” उहाँले भन्नुभयो, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।” बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उहाँले बताउनुभयो ।
यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको ब्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताउनुभयो ।
पेसाले कृषि प्राविधिक अध्ययन गर्नुभएका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आउनुभएको छ ।
“फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ” रामचन्द्रले भन्नुभयो, “अब उत्पादन हुनेमध्येको केही फूलको माग भईआएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुने छ ।”
दसैँ तिहारको अवधिमा फूलको ब्यापारबाट झण्डै रु ५ लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै २ लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ ।
बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पकोरुपमा फूलखेती थाल्नुभएको हो । खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पकोरुपमा फूल खेती गर्नुभएका भण्डारीले यसवर्षदेखि सयपत्री फूलको ब्यावसायिक उत्पादन थाल्नुभएको हो ।
“विगतमा मकै, गेडागुडी, मौसमी तथा बेमौसमी तरकारीसहितका अन्नबाली उत्पादन गर्दै आएका थियौँ” उहाँले भन्नुभयो, “पछिल्ला वर्षमा बाँदरले अन्नबाली सखापै पार्न थालेपछि अन्नबाली लगाउन छाडेर विकल्पकोरुपमा फूल खेती थालेका हौंँ ।”
दसैँ, तिहारलाई लक्षित गरेर २ हजार बिरुवा सयपत्री फूल रोप्नुभएको थियो । स्थानीय जलपादेवी आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका भण्डारीले विकल्पकोरुपमा प्रयोग गरेको फूलखेतीमा बाँदरले क्षति नपु¥याएकालेआगामी वर्षदेखि अझै ठूलो परिमाणमा फूलको ब्यावसायिक उत्पादन गर्ने तयारीमा रहनुभएको छ ।
काठमाडौं: परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमो...
चितवन: मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरक...
काठमाडौं: सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी)को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुग्नुभएको छ । उहाँलाई क...