कञ्चनपुर: कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ ।
धनगढी: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उहाँविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताउनुभएको छ । कैलालीको धनगढीमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उहाँको भ्रमण अत्यन्त सफल ढङ्गले भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।” महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निःसर्त सहयोग गर्नुपर्छ ।” मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर सरकार गठन गरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामी संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्न चाहन्छौँ, संविधानका सबल पक्ष र कमजोर पक्ष खोज्न चाहन्छौँ ।” पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएपछि उद्योगी–व्यवसायीमा आशा जागेको, अर्थतन्त्रमा सुधारको लक्षण देखिएको, वैदेशिक लगानी भित्रिने क्रम सुरु भएको तथा लगानीको वातावरण बनेको महासचिव पोखरेलले बताउनुभयो ।
कञ्चनपुर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुर टेकेन्द्रप्रसाद भट्ट, कैलाली नेपबहादुर चौधरी, डडेल्धुरा कुन्ती जोशी, डोटीमा त्रिलोचन भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी, बैतडीमा नरेन्द्र कुँवर, दार्चुला लक्ष्मणदत्त जोशी, बझाङ मीनबहादुर कुँवर, बाजुरा कर्णबहादुर विश्वकर्मा र अछाम जिल्ला इन्चार्जको जिम्मेवारी शरद्सिंह भण्डारीलाई दिइएको छ । जिम्मेवारी पाएर कार्यक्षेत्रमा खटिएका इन्चार्जले सङ्गठन सुदृढीकरणसँगै विस्तारका लागि कार्य अगाडि बढाउने बताइएको छ । अन्य केन्द्रीय समिति सदस्यलाई प्रदेश, जिल्ला, सदन, विभाग, जनवर्गीय समिति, मोर्चामा जिम्मेवारी दिइने पोखरेलले बताउनुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दाङ: दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो । चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उहाँकी छ वर्षीया छोरी सविना साहु घाइते हुनुभएकामा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ । सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ । पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले अहिले साल्ट ट्रेडिङसँग हतारमा सहकार्य गरिएकाले धेरै ठाउँमा पसल सञ्चालन गर्न नसकिएको बताउनुभयो । आगामी दिनमा साल्ट ट्रेडिङसहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसित पनि सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । नेपाली उत्पादनलाई सर्वसुलभ बनाउन सङ्घ लागिपरेको उहाँ बताउनुहुन्छ । उहाँले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन जुत्ता उत्पादक सङ्घले पहल गरिरहेको बताउनुभयो । जुत्ता उत्पादक सङ्ले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पु¥याउन प्रयत्न गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार नेपाली जुत्ताको सुपथ पसल सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत सकारात्मक भूमिका रहेको छ । सङ्घका अध्यक्ष न्यौपानेले भन्नुभयो, “नेपाली जुत्ताको बजार प्रवद्र्धनमा उद्योगमन्त्री दामोदर भण्डारीले पनि हामीलाई राम्रो साथ दिनुभएको छ, उहाँले नेपाली जुत्ता उत्पादकलाई बढीभन्दा बढी जत्ताको बजार बढाउन उत्साह दिई रहनुभएको छ, मन्त्री ज्यूले हामीलाई नेपाली जुत्ताको विदेशी बजारमा बजारीकरणलगायत अन्य व्यापार मेला तथा महोत्सवमा उद्योग मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।” सङ्घका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले सरकारको प्रतिष्ठित संस्थासँग जोडिएर उपभोक्तालाई विश्वास दिलाउनु जुत्ता उत्पादक सङ्घको प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँले नेपाली उत्पादित वस्तुबारे आम उपभोक्तालाई जानकारी गराउन पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताउनुभयो । यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले सरकार मातहतमा सञ्चालन गरिने सुपथ मूल्य पसलमा आगामी दिनमा देशैभर नेपाली जुत्ताका सुपथ मूल्य पसल पनि सञ्चालन गरिने बताउनुभयो । उहाँले सकभर सङ्घले देशैभर वर्षभर नै सञ्चालन गर्ने गरेर सबै नेपाली ब्राण्डमा जुत्ता एकै स्थानमा राखेर बजार सञ्चालनको प्रयास गर्ने बताउनुभयो ।
जलेश्वर: आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत हुनुहुन्छ । पहिले इशारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्नमा व्यस्त हुनुहुन्छ । भूईमै कार्पेट ओछ्याएर कक्षाभरि पलेटी मारेर पढ्न सक्ने गरी बनाइएको बेञ्चमाथि कापी, किताब, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री राखी सबै विद्यार्थी शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारले देखाएकी विभिन्न सङ्केत र इशाराको भरमा पढ्ने गर्दछन् । बाल कक्षादेखि माध्यमिक स्तरसम्मको पठनपाठनका साथै १० जोड २ र प्राविधिक क्षेत्रमा इञ्जिनीयरिङसम्मको पठनपाठन हुने यस विद्यालयमा सुस्त श्रवण भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सञ्चालन भइरहेको छ । करिब दुई हजार बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा एकै सिफ्टमा सबै कक्षा तथा विद्यार्थीको पठनपाठन सम्भव नहुँदा दुई सिफ्टमा चलाउनु परेको प्रधानाध्यापक विनोद महतो बताउनुहुन्छ । कक्षा ११ र १२ को बिहानको अध्यापन सकेपछि १० बजेदेखि सुरु हुने माध्यमिक स्तरसम्मको पठनपाठन हुने गर्दछ । विद्यालयको एउटा कक्षा कोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेको हेर्न सकिन्छ । उहाँले विशेष शिक्षाअन्तर्गत साङ्केतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गर्नुभएको थियो । कक्षा ११÷१२ को पढाइ पोखराबाट पूरा गर्नुभएकी उहाँले साङ्केतिक भाषामै सिरहाबाट नेपाली भाषामा बटिएड।सम्मको अध्ययन गर्नुभएको हो । त्यसपछि उहाँले त्रिभुवन विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा पढाउने जागिर करारमा पाउनु भएको हो । कानले राम्ररी सुन्न नसक्ने र मुखले पनि राम्ररी बोल्न नसक्ने भएकाले उहाँ र उहाँका विद्यार्थीलाई बाहिर कहाँ, के भइरहेको छ भन्ने कुरामा खासै चासो रहेको पाइँदैन । सायद त्यसैले होला सबै विद्यार्थीहरु पठनपाठनमा निक्कै अब्बल र मेधावी देखिएको प्रधानाध्यापक महतो बताउनुहुन्छ । बालबालिकाहरुले कसरी शिक्षिका गौतमको सबै कुरा बुझ्छन् र कसरी उहाँसँग इशारा र सङ्केतमै कुराकानी गर्छन् भन्नेमा धेरैलाई अनौठो र आश्चर्य लाग्नसक्छ । बालबालिकाहरुले कुराकानी मात्रै नभएर उहाँको सङ्केत र इशाराकैभरमा आफ्नो अध्ययन अध्यापनलाई पनि अगाडि बढाएका छन् । इशारा र सङ्केतकै भरमा उनीहरु शिक्षिका गौतमले भनेको कुरा लेखेर, गृहकार्य गरेर र कक्षामा प्रस्तुत गरेर पनि देखाउँछन् । ती सबै विद्यार्थी कक्षा १ देखि ५ सम्म अध्ययनरत छन् । प्रत्येक वर्ष अन्य छात्रछात्राहरु सरह बहिरा बालबालिकाले पनि परीक्षा दिने र उत्तीर्ण भएर नयाँ कक्षामा जाने गरेको शिक्षिका गौतम बताउनुहुन्छ । कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक र बालबालिकालाई अध्ययनको लागि उपयोगी हुने चित्र र सङ्केतहरु कोरिएको छ । विद्यार्थीहरुले ती चित्र र सङ्केतहरु र आ–आफ्नो कापी किताबको माध्यमले अध्ययन गर्ने गर्दछन् । आफूजस्तै फरक क्षमता भएका विद्यार्थीलाई पढाउन पाउँदा आफू निक्कै खुसी भएको बताउँदै शिक्षिका गौतमले शिक्षाको ज्योतिले आफू जस्तै बालबालिकालाई आफूजस्तै संसार हेर्ने र बुझ्ने बनाउन पाउँदा निकै खुसी लागेको त्यहाँ पुगेका सञ्चारकर्मीलाई लेखेर देखाउनुभयो । उहाँले बहिरा बालबालिकालाई पठनपाठन गराउँदा देखिएका चुनौतीको बारेमा सोध्दा उहाँ भन्नुहुन्छ, ‘‘सुस्त श्रवण (फरक क्षमता) भएका छात्रछात्राहरु सामान्य मानिसभन्दा अलिक फरक हुन्छन् ।’’ त्यस्ता क्षमता भएका बालबालिकाहरु सामान्य विद्यार्थीभन्दा बढी जिद्धी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृतिको हुने गरेकोले उनीहरुलाई सम्हाल्न निक्कै समस्या र कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । अन्य कक्षा जस्तो वैकल्पिक शिक्षिक, शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनुपर्दा आफू र विद्यार्थीहरु पनि थकित हुने गरेको उहाँको गुनासो छ । शिक्षिका गौतमले अरु शिक्षक, शिक्षिका सरह सामान्य परिस्थितिमा बिदा पनि पाउनुहुन्न । बिरामी वा अन्य कारणले उहाँ विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । आफू विद्यालय आउन नसक्ने दिन आफैँले विकल्पको रुपमा अरु शिक्षक ल्याउनुपर्ने र विद्यार्थीलाई पनि सम्झाइबुझाइ जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । शिक्षिका गौतमले विद्यार्थीहरु त आफूजस्तै भएकाले उनीहरुसँग बस्न, पठनपाठन गर्न कुनै समस्या नभएको तर विद्यालयमा बाहिरबाट आएका आगन्तुक, अतिथि र अन्य व्यक्तिहरुसँगको संवादको लागि विद्यालयमा बहिरा विद्यार्थी र आफ्नै लागि पनि दोभासेको व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो । शिक्षिका गौतम फरक क्षमताका बालबालिकाहरु देशभर नै रहेकाले उनीहरुलाई पढ्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारहरुले गम्भीरता देखाउनुपर्ने बताउनुहुन्छ । प्रत्येक गाउँबस्तीमा रहेका सुस्त श्रवण भएक बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र सामान्य नागरिक जस्तो बोल्न र सुन्न नसके पनि शिक्षाको माध्यमले ज्ञानको ज्योतिको साहारामा यस संसारमा सम्मानित जीवनयापन गर्न सकुन् भने उहाँको धारणा रहेको छ । उहाँ फरक क्षमता भएकाहरुका लागि जिल्ला, प्रदेश र सङ्घमा रहेका विभिन्न सङ् सस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ । हाल उहाँ महोत्तरी जिल्ला बहिरा सङ्घको अध्यक्ष हुनुहुन्छ भने राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेशको सचिव हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय बहिरा महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय अपाङ्ग महासङ्घको मधेश प्रदेश सदस्यको रुपमा समेत शिक्षिका गौतम कार्यरत रहनुभएको छ । फरक क्षमताका सवालहरुमा देश विदेशमा आयोजना हुने सभासमारोहमा पनि उहाँको प्रतिनिधित्व रहने गर्दछ । प्रधानाध्यापक महतोका अनुसार त्यस विद्यालयमा २० वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ । उहाँले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पाएर यहाँबाट गइसकेको बताउनुभयो । यहाँबाट उत्तीर्ण भएका विद्यार्थी सिरहा र सर्लाहीसहितका जिल्लामा जाने गर्दछन् । शिक्षिका गौतम जस्तै थप शिक्षक, सुस्त श्रवण भएका विद्यार्थी र शिक्षकलाई बाहिरी व्यक्तिसँगको संवादका लागि दोभासे र उनीहरुको समूचित व्यवस्थापनका लागि आफूले पटक–पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा माग गर्दै पत्राचार गर्दै आएको प्रधानाध्यापक महतोले बताउनुभयो । विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी रु चार हजारका दरले प्राप्त हुने गरेको र त्यसै रकमबाट विद्यालयले उनीहरुको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन हुँदै आएको छ ।
पर्वत: आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले रु। एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो । गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उहाँले बताउनुभयो । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उहाँले बताउनुभयो । अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।
तनहुँः मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९/८० को तुलनामा रु छ करोडले बढी हो । गत आवमा रु ३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सङ्कलित रकममध्ये रु १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा, रु चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छभने बाँकी रु १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ । जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ । कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो । बैं तथा वित्तीय सङ्घसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व सङ्कलन बढ्नुको अर्को कारण हो ।

