काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ । विहीबार प्रतितोला रु एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।
काठमाडौं: संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उहाँले सत्य निरुपण र मेलमिलापसम्बन्धी सबै मुद्दा निरुपण गर्न सहज हुने बताउनुभएको छ । बिहीबार राति जेनेभामा जारी गर्नुभएको वक्तव्यमा उच्चायुक्त टर्कले पारदर्शी ढङ्गले स्वतन्त्र व्यक्तिहरू दुवै आयोगमा पदाधिकारीहरू नियुक्त हुनुपर्नेमा जोड दिनुभएको छ । शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्याउने उदाहरणीय मुलुकका रुपमा नेपाल क्षेत्रीय एवं अन्तरराष्ट्रिय जगत्मा स्थापित भएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई हरतरहले सहयोग गर्न आयोग तत्पर रहेको बताउनुभएको छ ।
पर्वत: मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले रु पाँच लाख ३५ हजार प्रदान गरेका छन् । जापानी नागरिक मात्सुसिता हिरोयुकी र उहाँकी पत्नी रियो मितोको आर्थिक सहयोगमा २० वर्ष अगाडि उक्त विद्यालयका दुईवटा भवन निर्माण भएका थिए । यसपटक उहाँहरूले बस खरिद गर्न उक्त रकम विद्यालयका प्रधानाध्यापक अजय लामिछानेलाई बिहीबार हस्तान्तरण गर्नुभएको हो । प्रधानाध्यापक लामिछानेका अनुसार यसअघि जापानको नागासाकी निची लायन्स क्लबले बस खरिद गर्न रु १० लाख प्रदान गरेको थियो । उक्त रकबाट बस खरिद गर्न अपुग भएपछि विद्यालयले स्थानीय मोदी गाउँपालिकासँग रु १५ लाख सहयोग मागेको थियो । उक्त पालिकाबाट ऋण सहयोग प्राप्त नभएका बेला जापानी दम्पतीबाट सहयोग भएको हो । यो दम्पतीले विद्यालयका लागि पाँचकोठे भवन निर्माण गरिदिएका थिए भने हरेक दुई वर्षमा विद्यालयमा नै आएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरूले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सीप र कला सिकाउने गरेका छन् । स्थानीयवासी डा खड्गबहादुर केसीमार्फत जापानी दम्पती विद्यालयसँग जोडिएका हुन् । डा केसी त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष हुनुहुन्छ ।
पोखरा: पोखरामा लागूऔषध किनबेच गरेको आरोपमा फार्मेसी सञ्चालकसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिभुती फार्मेसीका सञ्चालक ४८ वर्षीय केदार अधिकारी र २७ वर्षीय बिजय पोख्रेललाई लागूऔषध किनबेचको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक अविनाश दिप जिसीले जानकारी दिए । पोखरामा लागूऔषध किनबेच गरेको आरोपमा पक्राउ परेका आरोपित पोखरा महानगरपालिका–९ नयाँबजारमा शंकास्पद अवस्थामा हिडिरहेका २७ वर्षीय पोख्रेलको शरीर खानतलासी गर्दा उनले भिरेको झोलाबाट लागूऔषध बरामद गरेको प्रहरी निरीक्षक जिसीले बताए । ‘पोखरा–९ नयाँबजारमा धादिङ निलकण्ड नगरपालिका घर भएका बिजय पोख्रेल शंकास्पद अवस्थामा हिडिरहेका थिए’, जिसीले भने, ‘रितपूर्वक पोख्रेलको शरीर खानतलासी गर्दा लागूऔषध (ट्यापेनडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखेको १ सय २० चक्की फेला पारेपछि नियन्त्रणमा लिएका हौं ।’ पक्राउ परेका पोख्रेललाई सोधपुछ गर्दा लागूऔषध पोखरा–९ नयाँबजारस्थित बिभुती फार्मेसीबाट खरिद गरेको बयान दिएपछि उक्त फार्मेसीमा खानतलासी गर्दा ९० चक्की ट्यापेनडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखेको लागूऔषध बरामद भएको उनले बताए । पक्राउ परेका फार्मेसी सञ्चालक अधिकारीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ९ र पोख्रेललाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
मुस्ताङ: मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा आज जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो । “जात र गुणको आधारमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको छ”, उहाँले भन्नुभयो, “स्याउ पाक्ने बित्तिकै टिपेपछि बजारको समस्या हुँदैन र किसानले मूल्य पाउँछन ।” अघिल्ला वर्षमा मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्ने गरिएको थियो । कृषक कर्म गुरुङले तापक्रम वृद्धिका कारण यसपाली स्याउमा छिटो गुलियो पसेकाले टिप्ने समय अघि सारिएको बताउनुभयो । अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैँचामा नपाग्दै अग्रीम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोशेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ ।
बैतडी: बैतडीमा सर्पले डस्दा तीन घाइते भएका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानमा सर्पले डस्दा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक जना सर्पको डसाइबाट घाइते भएका हुन् । बुधबार जिल्लाको दशरथचन्द नगरपालिका–२ मगराउँकी ३५ वर्षीया भावना बोहरा, मेलौली नगरपालिका–३ बागगोठका १८ वर्षीय धीरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका–४ विनायककी ३० वर्षीया धौली चन्द सर्पले डस्दा घाइते भएका हुन् । बोहरालाई घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् । मेलौली नगरपालिका–३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडिरहेका बेला बुधबार दिउँसो सर्पले डसेको थियो । पञ्चेश्वर गाउँपालिका–४ विनायककी चन्दलाई खेतबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
गोरखा: गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पु¥याइएको थियो । उहाँका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी०रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते हुनुभएको छ । उहाँको एपोलो अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइन पुग्दा दुवैलाई करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद् को आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो । टिकटकको प्रयोग गरेर बिकृती बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।