सरसफाइमा सक्रिय महिला कामदार

काठमाडाैं | कात्तिक १४, २०८१

सरसफाइमा सक्रिय महिला कामदार

काठमाडौँः  चाडपर्वका लागि खर्च जुटाउन शङ्खमूलकी ३७ वर्षीया जैसरा दवाडी कामको खोजीमा भौतारिरहनुभएको थियो ।


जीविकोपार्जनका लागि आफैँले खर्च जुटाउनुपर्ने बाध्यतामा रहनुभएकी उहाँ छोटो समयमा पर्व मनाउने खर्च जुटाउन कामको खोजीमा हुनुहुन्थ्यो । 


काम खोज्ने क्रममा उहाँले एकजना साथीमार्फत काठमाडौँ महानगरपालिकामा रोजगार माग गर्न पाइने सूचना पाउनुभयो । 


तिहार आफैँमा खर्चिलो पर्व भएकाले दवाडीले सुरुमा श्रीमान्लाई निवेदन दिन आग्रह गर्नुभयो ।


श्रीमती र श्रीमान् भएर पालिकामा पुग्नुभयो र रोजगारको बारेमा सोध्नुभयो । 


सडक र बाटोघाटो सरसफाइमा काम पाइने जानकारी पाएपछि दवाडीका श्रीमान्ले काम नगर्ने जनाउनुभयो ।


“फोहर उठाउने काम गर्दिन भन्दै श्रीमान् घर फर्किनुभयो”, दवाडीले भन्नुभयो । दवाडीले भने पाएको रोजगारी गुमाउन चाहनुभएन् ।


उहाँले पालिका वरिपरिको बाटो, पार्क र सडक सफा गर्ने काम सुरु गर्नुभयो । 


९ दिनका लागि उहाँले ज्यालादारीमा काम पाउनुभएको थियो । दिनको रु सात सय पाउँदा पर्व खर्च जुट्ने भन्दै उहाँको मुहार उज्यालो थियो । 


मङ्गलबार शङ्खमूलस्थित बागमती किनारामा बाढीले ल्याएका फोहरका पोका बटुल्दै उहाँले भन्नुभयो, “काम गर्न के को लाज रु जे जानेको छु, त्यही गर्छु ।” 


श्रीमान्ले फोहर उठाउने काम गर्दिन भन्दै कामलाई गरेको अपमानप्रति दवाडी दुःखी हुनुहुन्थ्यो । 


१ सातादेखि ज्यालामा श्रम गर्न पाएकोमा तिहार रमाइलो गरी मनाउन सक्नेमा उहाँ खुसी हुनुहुन्थ्यो । 


सरसफाइ गरेर तिहार खर्च जुटाउने समूहमा हुनुहुन्थ्यो, धादिङकी चाँदनी पुन । 


उहाँको परिवारमा परिश्रम गर्न सक्ने छोराछोरी र श्रीमान् भए पनि उनीहरु मजदुरी गर्न लाज नमानेपछि पुनले आफैँ काममा जाने निर्णय गर्नुभयो । 


उच्चशिक्षा उत्र्तिण गरेको छोरो बेरोजगार भएर घरमा बस्दा ५५ वर्षिया पुन भने सरसफाइ गर्ने रोजगारी पाउनुभएकामा उत्साहित हुनुहुन्थ्यो । 


“छोराछोरी सानोतिनो मजदुरी गर्न मान्दैनन् बरु मोबाइल हेरेर बस्छन्”, पुनले भन्नुभयो, “पेट पाल्नै प¥यो । काम पाउनु ठुलो कुरा हो ।” 


उहाँसँगै महानगरको श्रम बैंकबाट सरसफाइको काममा खटिनुभएकी कोटेश्वरकी ज्ञानु मर्हजन (नाम परिवर्तन)ले महानगरको सडक सफा गर्ने रोजगार पाएको कुरा घरमा सुनाउनुभयो ।


घरमा छोराछोरीले र श्रीमान्ले सडकमा काम गर्न अनुमति नदिए पनि उहाँले भने आर्जनको बाटो गुमाउन चाहनुभएन् ।


परिवारलाई थाहै नदिइ लुकेर सडकमा सफाइ गर्न आएको महर्जनले बताउनुभयो । 


बेरोजगार बस्नु भन्दा पाएको काम गर्नुपर्छ भन्ने उहाँको बुझाइ छ । 


“परिवारले भने सडकमा रोजगार गर्दा लाज हुने मान्यता राख्छन्”, महर्जनले भन्नुभयो, “मुख छोपेर कसैले न देख्ने गरी काम गर्छु । छोरोछारीले थाहा पाए भने गाली गर्छन् ।” 
 

कामपाले बाढीका कारण फोहर बनेको सहर, बाटो, बगैँचालगायत स्थान सफा गर्न कामदार खटाएको छ । महानगरले श्रम बैंक खोलेर बेरोजगारलाई रोजगार दिने कार्य सञ्चालन गरेको हो ।


गत साउन, भदौ, असोज र कात्तिकमा श्रम बैंकबाट रोजगार लिने छ सय ४७ जना रहेका महानगरको श्रम बैंक शाखा प्रमुख पवनकुमार ठाकुरले जानकारी दिनुभयो । 


उहाँका अनुसार तीमध्ये ४६ जना अपाङ्गता भएका कामदार छन् ।शाखा प्रमुख ठाकुरले रोजगार लिनेमा महानगरको सरसफाइ व्यवस्थापनदेखि सिभिल इञ्जिनियर पदसम्म रहेका बताउनुभयो । 


अधिकांश काम सडक, सहर र बाटोघाटो सरसफाइमा जनशक्ति सक्रिय रहेका उहाँले उल्लेख गर्नुभयो । 


तथ्याङ्क छुट्याएर नराखिए पनि महानगरको सरसफाइ व्यवस्थापनमा महिला जनशक्ति बढी रहेको ठाकुरले बताउनुभयो ।


“पुरुष महिला सङ्ख्या छुट्याएका छैनौँ तर, सरसफाइको काममा महिला कर्मचारी बढी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “महानगरको सफाइमा उहाँहरुको योगदान बढी छ ।”


काठमाडौँ महानगरपालिकाको महिला समूह परिचालन गर्ने भवानी कपालीका अनुसार सरसफाइमा महिला कामदार सजिलै पाउने गरिएको छ ।


महिला समूहमा पुग्दा उहाँहरुले महानगरको रोजगारबारे जानकारी दिँदा महिला बढी प्रोत्साहन हुने भएकाले सहभागिता पनि बढी देखिएको उहाँले बताउनुभयो ।


“कतिपय श्रीमान् घरमा समय खेर फाल्न रुचाउँछन्, सरसफाइ जस्ता काममा आउन नचाहेएको बुझेकी छु”, कपालीले भन्नुभयो, “त्यो भनेको पितृ सत्तात्मक धारणाको असर हो भन्ने मेरो बुझाइ छ ।” 


समूहमा स्थलगत अवलोकनमा जाँदा आफूले महानगरमा रोजगारका लागि निवेदन दिनु भनेर सिकाउने गरेको महिला समूह परिचालिका कपालीले बताउनुभयो ।


धेरै महिलाले सरसफाइका काम गर्न अघि सरे पनि पुरुष कम मात्रामा रुचि देखाउने गरेका उहाँको अनुभव छ । 
 

पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

थप पढ्नुहोस्

काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका छन्  ।  सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन र...

थप पढ्नुहोस्

म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

थप पढ्नुहोस्