पोखरा: संरक्षण, सम्वद्र्धन र विकासका माध्येमबाट विश्वसामु परिचित हुन सफल सामुदायिक वनलाई समृद्धिसंग जोडन मौजुदा नीति बाधक बनेको आज यहाँ आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टिएफ परियोजना लागु भएका गण्डकी र लुम्विनी प्रदेशका पालिका प्रमुखहरुका लागि पोखरामा आयोजित प्राकृतिक श्रोत उपयोग सम्वन्धि स्थानीय सरकारसंग नीतिगत छलफल कार्यक्रमका सहभागिहरुले प्राकृतिक श्रोत उपयोगमा सर्वसुलभ नीतिको खाँचो औल्याएका हुन । सामुदायिक वन व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्नेमा संघ र प्रदेश सरकारसंग सामुहिक माग गर्दै सहभागिहरुले उपयुक्त नीतिको अभावका कारण प्राकृतिक श्रोतलाई उद्यम र रोजगारीसंग जोडन अप्ठेरो परेको धारणा राखेका थिए । संविधानिक व्यवस्था अनुसार जमिन प्रदेश र रुख संघ सरकारको जिम्मामा भएको हुँदा जनताको आवश्यकताको लागि सामुदायिक वन भित्र बाटो होस वा कुनै भौतिक संरचना निर्माणमा अवरोध हुने गरेको सहभागि विभिन्न २० जना गाउँ र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सामुहिक धारणा रहेको थियो । वन पैदावारमा आधारित उद्यम निर्माण,वन कार्यायोजना नविकरण, सामुदायिक वन समुहको सम्पूर्ण डाटा संकलन गर्दै प्राकृतिक श्रोतको पहिचान र उपयोगमा सहयोग पु¥याउनु परियोजना लक्ष्य रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो । मुलुकका १२७ पालिकाका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, सामुदायिक वन समुहमा सुशासन कायम गर्दै सम्भाव्यता अध्ययनका आधारमा वनमा आधारित उद्यम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । २०५२ साल जेठ १८ गते स्थापना भएको महासंघमा २३ हजार २६ सामुदायिक वन उपभोक्ता समुहका ३१ लाख ९५ हजार ३२३ घरधुरीले २४ लाख २५ हजार ३९२ हेक्टर क्षेत्रफल वन व्यवस्थापन गर्दै आएका छन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले प्रदेश सरकारहरुले वन पैदावार बिक्रीमा जथाभावि कर लगाएको कारण जनतामा संरक्षणप्रति चासो घटेको बताउनुभयो । फेकोफन, ग्रिन फाउण्डेशन र आदिवासी जनजाति महासंघद्धारा संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका १४ र लुम्विनी प्रदेशका छ वटा गरि कूल २० वटा पालिका प्रमुखहरुको सहभागिता रहेको थियो । टिएफ परियोजनाका सुजन खनालले परियोजना सञ्चालान भएका सामुदायिक वनको डाटा पोर्टल शुरु गरिएको जानकारी दिनु भएको थियो ।
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना गर्ने निर्णय गरेका छन् । मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै उनले मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राही सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्न परिपत्र गर्ने निर्णय गरेका हुन् । गण्डकी प्रदेश सरकार मातहत कास्कीमा दुई, नवलपुर, बागलुङ र तनहुँमा एक÷एक गरेर पाँच वटा यातायात व्यवस्था कार्यालय छन् । यातायात कार्यालयमा सेवाग्राहीको चाप बढी हुने तर सेवा लिन जाँदा हुने अन्योलको स्थिति अन्त्य गर्न यो निर्णय गरेको मन्त्री केसीले बताए । अत्यावश्यक बाहेक भेला, समारोह, गोष्ठीजस्ता काममा धेरै नलाग्ने योजना मन्त्री केसीले बनाएका छन् । उनले मन्त्रालयको समयमा मन्त्रालयको नियमित काम छोडेर अत्यावश्यक बाहेकका कार्यक्रममा नजाने निर्णय पनि गरेका छन् । उनले आफू मातहतका कार्यरत कर्मचारी संयन्त्रलाई समयमै आयोजना सक्ने गरेर काम गर्न निर्देशन दिएका छन् । ‘भौतिक पुर्वाधार प्रदेशको विकासको मेरुदण्ड हो । राम्रा सडक, पुल, बाटोघाटो नभई प्रदेशको समृद्धि हुँदैन भन्ने मेरो विश्वास छ,’ मन्त्रालयका कर्मचारीलाई उनले भने, ‘अतः समयलाई खेर नफाली आफूलाई सुम्पिएको कार्यलगायत प्रभावकारी रुपमा निर्धारित समय नकट्ने गरी कार्यसम्पादन गर्न म निर्देशन दिन्छु ।’ प्रदेशलाई नेपालको नमुना प्रदेश बनाउन प्राविधिक, निर्माण व्यवसायी सहित सबैको साथ आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो । काम गर्दा एक पक्षले अर्को पक्षलाई दोषारोपण नगरी समन्वय गर्न मन्त्री केसीले आग्रह गरे ।
पोखरा: हुलाक निर्देशनालय पोखराको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्देशनालय पोखरा मातहतका १६ जिल्ला हुलाक कार्यालय र इलाका कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीको सहभागीतामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आफ्नो मातहतका कार्यालयहरूको प्रगति, समिक्षा तथा हुलाक कार्यदिशा विषयक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो। आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा र हुलाक विषयक गोष्ठी कार्यक्रम गरेको निर्देशनालयका निर्देशक कीर्तनराज पौडेलले जानकारी दिए। कार्यक्रममा निर्देशनालय मातहतका १५ जिल्ला र एक निर्देशनालयको प्रगति विवरण प्रस्तुत गरिएको उनले जानकारी दिए। यस्तै हुलाक सेवाको विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे थिए भने विशिष्ट अथिति हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्य थिए । कार्यक्रममा वार्षिक प्रगति समिक्षाका साथै सामूहिक प्रश्नोत्तर पनि गरिएको हुलाक निर्देशक पौडेलले जानकारी दिए । कार्यक्रममा सहभागीले हुलाक सेवालाई प्रभावकारी बनाउन सरकारले चासो नदेखाएको आरोप लगाएका थिए। यस्तै तत्कालीन समयमा हुलाकले सूचना र खबर आदनप्रदानमा पुर्याएको योगदानको पनि कार्यक्रममा चर्चा गरिएको थियो।
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले नसर्ने रोगको स्क्रिनिङ (पहिचान)योजनालाई कार्यान्वयनमा लैजाने पहिलो निर्णय गरेका छन् । सोमबार मन्त्रीको शपथ लिएपछि पदभार ग्रहण गर्दै उनले स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान थाल्ने निर्णय गरेका हुन् । बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, धुम्रपान, अत्यधिक तनावले नसर्ने रोगको संख्या बढिरहेको छ । नेपाल बर्डन अफ डिजिज, २०१९ को तथ्यांकअनुसार नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोग स् रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरबाट हुने गरेको छ । प्रारम्भिक अवस्थामै समुदायमा नसर्ने रोग पहिचान गर्न सकेमा त्यसले ठूलो रूप लिन नसक्ने र मृत्यु दर न्यूनीकरण गर्न सकिने भएकाले नसर्ने रोगको स्क्रिनिङको निर्णय गरेको मन्त्री पाठकले बताए । नेपाल सरकारले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२५ कार्यान्वयनमा ल्याएको छ । त्यसैअनुसार स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान गरिने मन्त्री पाठकले बताए ।
काठमाडौं: अर्को महिना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) लाई वात्सल्य नेपाल मुख्य प्रायोजन गरेको छ । इडब्लुभिएलको आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्य नेपालबीच आइतवार प्रायोजन सम्झौता भएको हो । वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चौलागाईबीच सम्झौतामा हस्ताक्षर गरे । वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले लिगसॅंग आबद्ध हुन पाउँदा खुसी लागेको बताए। उनले भने ‘हामीले यस प्रतियोगिताको हिस्सा हुन पाएकोमा सम्मानित महसुस गरिरहेका छौं, जसले हाम्रो राष्ट्रिय खेलको विकासका लागि सशक्त मञ्च प्रदान गर्दछ र खेलकुदको दुनियाँमा महिलाहरू पनि समान रूपमा सक्षम र मनमोहक छन् भन्ने कुरालाई प्रमाणित गर्दछ ।’ प्रमुख प्रायोजकका रुपमा वात्सल्यलाई स्वागत गर्न पाउँदा खुसी ड्रिम्सकी सिइओ चौलागाईले बताइन् ।’ लिगको पहिलो संस्करणको लागि शीर्ष प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले महिलाहरूको उपलब्धिलाई मान्यता दिने र जीवनका सबैक्षेत्रमा उत्कृष्टता हासिल गर्न स्वतन्त्रता दिने समाज निर्माण गर्ने हाम्रो दृष्टिकोणलाई उजागर गर्दछ,’चौलागाईंले अगाडि भनिन् । कार्यक्रममा लिगमा सहभागी ६ टोलीका मार्की खेलाडीहरुको उपस्थिती रहेको थियो । आयोजकका अनुसार लिगमा सहभागी ६ मध्ये ५ टोलीको नाम टुंगो लागि सकेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म सन्चालन हुनेछ।
पोखरा: पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटी होम गरिने भएको छ । आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो । सोमबार कोटी होम बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशकपछि पोखरामा कोटी होम हुन लागेको बताए । पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमि हुँदै जाँदा पोखरा १५ गण्डकी रिभर साइड युवा क्लब भने धार्मिक कार्यमा जुटिरहेको उनले बताए । कोटी होम भनेको के हो ? कसरी गरिन्छ र यसस्को महत्व के हो भन्ने बारेमा समेत जानकारी दिनेगरि आफुहरुले कोटी होमको आयोजना गर्न लागेको उनले बताए । कोटी होम शास्त्रअनुसार नै हुने र त्यसका लागि दान गर्न सक्नेले गर्ने नसक्नेले निशुल्क रुपमा सहभागि हुन सक्ने उनले बताए । ‘हामीले कोटी होमका लागि रकम दिनपर्छ भनेर भन्दैनौं न त दबाबनै दिन्छौ । यदि दिनसक्ने हुनुहुन्छ भने दिन सक्नुहुन्छ सक्नु हुन्न भने पनि आएर पुण्य कार्यमा सहभागि हुन सक्नुहुन्छ’ उनले भने, ‘ढुंगे साघु लुकेको तिर्थस्थल हो । यहाँ धार्मिक महत्व बोकेको ठाउँ छन् तिनीहरुको पहिचान गराउनु हाम्रो उदेश्य हो ।’ उनका अनुसार त्यहाँ विभिन्न पूजाअराधाना पनि हुन्छ । यस्तै कोटी होमकै क्रममा निशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्ध–वृद्धाका लागि पूजा समेत लगाउने व्यवस्था गरिने छ । रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जिवन्त पार्न कोटी होमको आयोजना गर्न लागेको बताए । सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटी होमको आयोजन ागर्न लागेको जानकारी दिए । ढुंगेसाँघु पितृ र देउतालाई पुज्ने एकै थलो भएकाले यसको महत्व छुट्टै भएको सुनाए । अर्जुन ढकालले ढुंगेसाँघु धार्मिक क्षेत्र भएपनि प्रचार प्रसारको अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जिवन्त पार्ने कोसिसको थलानी गरेको बताए । उनले कोटी होममा आइ पुण्यको काम गर्न समेत अनुरोध गरे । उक्त कोटी होममा प्रमुख बाचकको रुपमा जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल रहेका छन् ।
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सराई एफसी उपाधि नजिक पुगेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा मणिमुकुन्द क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको आयोजक संस्थाका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । उनका अनुसार सराइको जीतमा म्यान अफ द म्याच घोषित भएका सुजन रानाले १ गोल गरे । भने, दिलु थापाले १ गोलको योगदान दिए । यता हार ब्यहोरेको मणिमुकुन्दको तर्फबाट रामकृष्ण पौडलले सान्त्वना १ गोल फर्काए । अब सराइले भोलि (मंगलबार) हुने आयोजक नव जागृति युवा क्लब र दमकडाबीचको विजेता टोलीलाई फाइनलका लागि स्वागत गर्नेछ । प्रतियोगिताको फाइनल यही २१ गते हुनेछ । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्युठान: प्युठानमा मानव कङ्काल भेटिएको छ । माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो । स्थानीय दलबहादुर खत्रीको घरमा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए । ओत लागेको समयमा मानव कङ्काल देखिएको स्थानीय बताएका छन् । कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कङ्काल भेटिएको प्रहरीले जनाएको छ । मानव कङ्काल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो । घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ । सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली आज घटनास्थलमा पुगेको हो । प्रहरीले कङ्काललाई प्यूठान अस्पताल लिई डिएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ । त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरु हुने प्रवक्ता केसीको भनाइ छ ।
काठमाडौं: अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको उपाधि युवातर्फ साङ्ग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप प्राप्त गर्यो । त्यसैगरी सिनियर युथ समूहबाट एफसी रिभाइभल, भेट्रान्सतर्फ कोलम्बस भेट्रान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन् । उनीहरुले क्रमश, १० हजार, १० हजार र आठ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीका लागि मात्र यी खेलहरु आयोजना गरिएको थियो । अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा आइतबार सम्पन्न यी खेलका विजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गर्नुभयो । प्रतियोगिताका विभिन्न विधाका उपविजेता टिमहरुले क्रमशः १० हजार, आठ हजार र पाँच हजार डलर नगद पुरस्कार प्राप्त गरेका छन् । युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए । सुनको रनिङ कपको लागि लगातार तीन पल्ट खेल जित्नुपर्ने नियम छ । उपविजेताहरुलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलसहितले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली दर्शकहरुको उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका ३४ टिम प्रतिस्पर्धामा सहभागी भएको प्रतियोगिताका संयोजक चन्द्र पराजुलीले जानकारी दिनुभयो । फाउण्डेशनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका खेलाडीका लागि हरेकबर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।