काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

पोखरामा आठौं सस्करणको खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।    पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।    पोखरा ३ नदीपुरस्थित छन्तयाल समाजको खेल मैदानमा यही असोज ९ देखि १३ गतेसम्म खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।    ‘भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो’, संयोजक खड्काले भने, ‘प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र ए फोर ग्राफिक्स डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा यही असोज ९ देखि १३ गतेसम्म पोखरा–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुनेछ ।’   उनका अनुसार प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   पुरुषतर्फ भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।    यस्तै महिलातर्फको विजेताले नगद ५० हजार  र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।      प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।    उक्त प्रतियोगितामा पुरुषतर्फ कुनै पनि १ टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौं,आठौं र नवौं प्रतियोगितामा सहभागितामा जनाएको ३ जना र महिलातर्फ २ जना मात्र खेलाडी समावेश गर्न पाउने प्रतियोगिता संयोजक खड्काले बताए ।     उनका अनुसार पुरुषतर्फको खेल लिगकम नकआउट र महिलातर्फको खेल नकआउट सिस्टममा सञ्चालन गरिने छ ।   २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्यमा समेत काम गर्दै आएको छ ।   प्रशिक्षण केन्द्रले गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई मृगौला प्रत्यारोपण तथा उपचारका लागि १लाख र मनकुमारी पुनलाई ब्लड क्यान्सर उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।    प्रतियोगितामा १० लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकन लागि दर्शकलाई दोस्रो दिनबाट टिकट दर कायम गरिने आयोजकले जनाएको छ ।   

महोत्तरी:    जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन् । बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन् ।      केन्द्रले विसं २०७१ साउन ३१ गतेदेखि उपचार सेवा दिँदै आएको हो । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जनाले सेवा लिएका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार गत साउनमा ५० र भदौमा ५१ जनाले उपचार लिएका छन् । केन्द्रमा स्थापना भएदेखि उपचारमा नेपाली सेनाका छ जना दक्ष जनशक्ति खट्दै आएको छन् ।      सबैभन्दा बढी सर्पदंशका बिरामी आव २०७६/७७ र आव २०७८/७९ मा देखिएका छन् । ती वर्षमा क्रमशः तीन हजार नौ सय ४७ र तीन हजार नौ सय २२ जनाले उपचार लिएका केन्द्रको अभिलेखले जनाएको छ । गत आवमा आठ सय ८४ जनाले उपचार लिएका नेपाली सेनाका उपचारटोलीका प्रमुख मानसिंह कुँवरले जानकारी दिनुभयो ।      लामो खडेरीपछि एक्कासी ठूलो पानी परेका बेला सर्पदंशका घटना बढ्ने भन्दै आवश्यक सर्तकता अपनाई सचेत हुन कुँवरले सर्वसाधरणलाई आग्रह गर्नुभयो । सर्पदंशका घटना भदौमा बढी हुने गरेकाले यो समयमा बढी सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।       महोत्तरीको बर्दिबास नगरक्षेत्रमा सर्प बढी देखिने गरेका छन् । पछिला दिनमा बर्दिबास नगरक्षेत्रको बढ्दो सहरीकरणले मानव चहलपहल वृद्धि चएसँगैपछि सर्पको बिगबिगी घट्दै गएको यहाँका स्थानीय बताउँछन् ।  केन्द्रमा महोत्तरी, सिन्धुली, धनुषा र सर्लाहीलगायत मधेस प्रदेशका जिल्लाका सेवाग्राही उपचारका लागि आउने गर्दछन् । 

सङ्खुवासभा:     सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।       खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।  मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।       टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताउनुभएको छ ।      राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको स्पष्ट गर्नुभयो । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।      “एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ । हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सात सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँगाउँमा स्वतःस्फूर्त रुपमा शिक्षा विकासको लहर चलेको थियो तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ । राणा र राजाहरु आफ्ना ऐस आराम र शासनमा मात्रै बढी रमाएका थिए । अहिले गणतन्त्र आइसकेको छ । यस व्यवस्थाको शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व हो ।”       उहाँले विश्वस्तरमा प्रातस्पर्धा गर्नसक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गर्नुभयो ।      कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गर्नुभयो ।  ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ ।  प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।

बझाङ:    बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।  आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।      जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।  ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एक जना बेपत्ता भएका उहाँले जानकारी दिनुभयो ।       ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताउनुभयो ।  अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको बताउँदै बेपत्ताको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । 

मुस्ताङ:    मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीमाथिमा रहेको ऐतिहासिक महत्वको काठेपुलको जीर्णोद्धार  गरिएको छ ।       ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एलटिएलआरपी) मार्फत एक शताप्ब्दी पुरानो पुल जीणोद्धार र सौन्दर्यकरण गरेको हो ।  घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुलको मौलिकता नमेटिने गरी स्थानीय प्रविधि र सामग्रीको प्रयोगबाट जीर्णोद्धार गरिएको जानकारी दिनुभयो ।       “स्थानीय मौलिक सीप र प्रविधिको प्रयोगबाट एक सय वर्ष भन्दाअघि काठैकाठबाट बनेको पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको थियो”, अध्यक्ष लालचनले भन्नुभयो, “बलियो काठ प्रयोग गरेर पुरानै शैलीमा जीर्णोद्धार गरिएको पुलमा लाइट जडान गरेर रातिमा झलमल्ल देखिने गरी सौन्दर्यकरण गरेका छौँ ।”       पच्चिस मिटर लामो पुलको जीर्णोद्धारका लागि रु १० लाख खर्च भएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिनुभयो । पालकाको ५८ प्रतिशत र एलटिएलआरपी परियोजनाको ४२ प्रतिशत लागत साझेदारीमा उपभोक्ता समितिमार्फत पुल जीर्णोद्धार गरिएको उहाँले बताउनुभयो ।         सोही परियोजनाअन्तर्गत काठको पुलबाट केहीमाथि रहेको मोटरेबल पुलको छेउमा रु २५ लाखको लागतमा निर्माण भएको दुई कोठे भवनमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । जीणोद्धार भएको पुलले पर्यटक लोभ्याउन थालेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार पुल तर्ने, अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने आन्तरिक पर्यटकक आगमन बढ्न थालेको छ ।       जीर्ण काठेपुलमा पुराना काठका सामग्री विस्थापित गरी नयाँ काठका संरचना बनाउने, काठेपुलको रेलिङ फेर्ने र धेरै भार थेग्न सक्नेगरी साविक भन्दा थप बलियो बनाइएको छ । जोमसोमका ८९ वर्षीय टीकाप्रसाद शेरचनले यो पुल एक सय वर्षअघि निर्माण भएको बताउनुभयो ।       मुस्ताङका स्थानीयवासी, पशु चौपाया, दामोदरकुण्ड, मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री तथा घुम्न आउने पर्यटकलाई सुरक्षित रुपमा कालीगण्डकी नदी वारपार गर्ने सुविधाका लागि काठको पुल निर्माण भएको थियो ।  जोमसोमस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि काठको पुलको प्रयोग घटेको थियो । विसं २०४४ मा कालीगण्डकीमा आएको बाढीले क्षति गरेको पुल विसं २०७२ को भूकम्पका कारण बीचभागबाट चोइटिएको थियो । 

काठमाडौं:    निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ ।  उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।      साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।  बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ ।  यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ ।      काठमाडौँबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा रु ११ हजार ३६० रहेको छ । काठमाडौँबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ ।  बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२ १६ गरी कुल १८ विमान छन् । 

काठमाडौं:    चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।  जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो ।       देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरेको जनविश्वास अनुसार हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यो मेला लाग्दै आएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास अनुसार आज बिहानैदेखि स्नान र दर्शनका लागि भक्तजन आउने क्रम रहेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।      दशनार्थीलाई सहज रुपमा स्नान र दर्शन गर्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले आज साँझसम्म करिब २० हजारले मेला भर्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । आज मेला भर्न काठमाडौँसहित ललितपुर, भक्तपुर र उपत्यकाका आसपास क्षेत्रबाट धार्मिक पर्यटकको आगमन भइरहेको नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।      मेलामा कुनै पनि सङ्कट आइनपरोस् भनेर मङ्गलबार साँझ दह तथा त्यस परिसरमा दिप प्रज्वलन गरिएको थियो । इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत कलात्मक रूपले राखिएको छ ।      कलङ्कीबाट करिब नौ किलोमिटरको दूरीमा रहेको इन्द्रदह धार्मिक तथा ऐतिहासिक महत्व रहेकाले मेला लोकप्रिय बन्दै गएको नगरप्रमुख गिरीले बताउनुभयो । मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करिब एक सय स्वयंसेवक परिचालन गरिएको छ ।      इन्द्रदहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्मजन्मको पाप नाश हुने जनविश्वास रहेको छ । चन्द्रागिरि–१ का पूर्ववडाध्यक्ष राजेन्द्र केसीका अनुसार इन्द्रदहको परिसर करिब दुई सय रोपनीेमा छ ।  भ्यूटावर, सडक स्तरोन्नति, बहुउद्देश्यीय भवनलगायत पूर्वाधार निर्माण सुरु भइरहेकाले आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

काठमाडौं:    संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ ।       भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।         कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजे सम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको छ ।  बिहीबार साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रमको आयोजनाका लागि अहिले धमाधम मञ्च निर्माण, सरसफाइलगाय काम भइरहेका छन् ।