पोखरा महानगरपालिका वडा नं –१५ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा माछापुच्छ्रे चौतारी आमा समूह प्रथम भएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा वडाका २२ आमा समूहलाई पछि पार्दै माछापुच्छ्रे चौतारी आमा समूह प्रथम बनेको हो । प्रथम भएसँगै सो समूहले नगद रु २० हजार प्राप्त गर्याे । यस्तै चेतना कृषि आमा समूह दोस्रो बन्दै नगद रु १३ हजार ४ सय हात पार्याे । भने, जन जागृति आमा समूह तेस्रो स्थान हासिल गर्दै ९ हजार ४ सयको साथमा प्रमाणपत्र प्राप्त गरेको वडाध्यक्ष तोरण बाँनियाले जानकारी दिए । उनका अनुसार स्यानिमजुवा आमा समूह, स्यानिपाटन आमा समूह र कोलपाटन आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरूले चार–चार हजार नगद र प्रमाणपत्र हात पारे भने, उत्कृष्ट नृत्यमा दुई जनाले तीन – तीन हजार प्राप्त गरे । निर्णायकहरूमा वडा नं १५ निवासी लोकप्रिय गायिका माया गुरुङ, सिता केसी, सिता देवी दुरा, बुद्धिमान दुरा (धम्पु) रहेका थिए । प्रतियोगिताको सञ्चालन गायक रामजी पौड्यालले गरेका थिए । सो प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गा सिंह चन्दले गरिन् । उनले समाजमा व्याप्त विभेद विरुद्ध महिलाहरू नै अगाडि सर्नुपर्ने भन्दै महिलाहरूले पनि विभेद नगरी आफू र आफ्नो समाजलाई अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।
चितवन: चितवनमा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन् ।
कञ्चनपुर: जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि बढाएपछि दर्शन गर्न आउनेको चहलपहल बढेको हो । यहाँ साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएको छ । “धाममा धार्मिक गतिविधि बढेपछि यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ”, स्थानीय पदम बोहराले भन्नुभयो, “अहिले त चतुराधाम पूर्वको झापासम्मका मानिस यहाँ आउने गरेका छन् ।” द्वापार युगमा पाण्डवले वनवासमा रहँदा यस क्षेत्रमा आइ कुवाबाट पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको विश्वास छ । “यो सिद्धबैजनाथको भूमि भएकाले यसको विशेष महत्व छ नै त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंम्वदन्ती छ ।” स्थानीय महेश जोशीका अनुसार यहाँ दर्शन गर्न आउनेको सङ्ख्या बढ्दो छ । उहाँका अनुसार धाम परिसरमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको पहिचान झल्कने गरी फरक–फरक कुण्ड निर्माण गरिएका छन् । जगतगुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रममा गर्दा करिब २२ टन तामा र पित्तल सङ्कलन भएको थियो । त्यसबाहेक तीन टन धातु स्थानीयले दान गरेका थिए । सङ्कलन भएका धातुबाट नेपाल आमाको मूर्ति निर्माण सुरु भएको हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो । “कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बसाइँसराइ, जलवायु परिवर्तन तथा सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।” हिमाल पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीबीच लोकतन्त्रको अभिन्न अङ्गका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सके आम जनताको मताधिकारको सम्मान हुने उहाँले उल्लेख गर्नुभयो । फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो । सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा: जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ केन्द्रित भई छलफल हुनेछ । उद्घाटनसत्रका अवसरमा उक्त मञ्चका अध्यक्ष भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गर्नुभयो । सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी हुनुहुन्छ । फेम्बोसाको ११औँ सम्मेलन दुई वर्षअघि भूटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो ।
पर्वत: आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौं मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । तत्कालीन कोभिड–१९ को सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् । गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाख लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन । पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू कक्ष निर्माण गरिएको थियो । तीनजना डाक्टर र तीनजना नर्सले भेटन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउन पाएको छैन । पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उहाँले बताउनुभयो । एउटा भेन्टिलेटर चलाउन छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिष्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उहाँको भनाइ छ । सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एकजना पनि नहुँदा समस्या भएको उहाँले बताउनुभयो । “पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ । त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ । पन्ध्र शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन”, उहाँले भन्नुभयो । कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए । झण्डै रु पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेलाबेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको अस्पतालको दाबी छ । स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टर पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएका अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटकपटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताउनुभयो । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पाउन नसकेको उहाँको भनाइ छ । अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । “हामीसँग स्रोत भएर के गर्नु ? यहाँ रहेका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन ?”, गिरीले भन्नुभयो । ‘भेन्टिलेटर’ प्राप्त गर्ने र जडान गर्ने बेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताउनुभयो । पहाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आइसीयू’ बनाउन ‘पेड्रीयाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको रु दुई करोडबाट सामग्री किनिएका थिए । त्यहीबेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो । “सबै भयो जनशक्ति भएनन् । यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने ? यसमा खास तीनजना डक्टर चाहिने रहेछन् । एकजना इन्टरनल मेडिसिन पढेको, एकजना एनेस्थेसियोलोजिष्ट, एकजना नेफ्रोलोजिष्ट चाहिने रहेछ”, उहाँले भन्नुभयो, “यी तीनजना नै नभएसम्म डक्टरले रिस्क नलिने रहेछन् ।” पर्वत अस्पतालमा आइसीयू र भेन्टिलेटरको सुविधा भइदिएको भए पोखरा र काठमाडौँका अस्पतालमा जान सक्ने उतै गए पनि आर्थिक समस्यामा रहेकाहरूले भने जिल्लामा जीवन बचाउने मौका पाउन सक्ने उहाँको गुनासो छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो दिउँसो बैठक साढे १२ बजे बस्न थालेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको बताउनुभयो । उहाँका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टयाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने जनाइएको छ । आजसम्म चल्ने पोलिटब्यूरो बैठकको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिकासमेत रहेको कार्यालय सचिव डा अधिकारीले बताउनुभयो ।
कास्की: जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो । गाउँपालिकाले प्रअ नियुक्तिका लागि आवेदन माग गरेको थियो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाका माध्यमबाट पाँच वर्षका लागि करारमा प्रधानाध्यापक नियुक्त गरेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो । उहाँले देशमै नमूनाका रूपमा शिक्षा क्षेत्र सुधारका लागि आफूहरूले सुरुआत गरेको बताउनुभयो । “पालिकाका सामुदायिक विद्यालयका कार्यरत योग्यता पुगेका शिक्षक र हाल कार्यरत प्रधानाध्यापक समेतबाट आवेदन माग गरेका थियौँ । आवेदकको विद्यालय सुधार कार्ययोजनाको प्रस्तुतिसहित विज्ञ सम्मिलित मूल्याङ्कन समितिबाट पारदर्शी रूपमा नियुक्ति गरेका छौँ । सबै जना खुसी हुनुभएको छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८) का लागि १०, माध्यमिक तह (९–११)का लागि चार र माध्यमिक तह (११–१२)का लागि छ जना प्रधानाध्यापकसँग सम्झौता गरेको हो । विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा प्रअको छनोट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो । प्रधानाध्यापकको विधिपूर्वक छनोट गरी विद्यालयको शैक्षिक प्रशासनमा गुणस्तरीयता, शैक्षिक विकास र उपलब्धि तथा विद्यालयको कुशल व्यवस्थापनका लागि पहिलोपटक प्रतिस्पर्धामा जोड दिइएको उहाँले बताउनुभयो । “विद्यालयका प्रधानाध्यापकको पद विभिन्न कारणबाट अस्थिर हुने, प्रअले पूरा अवधि राम्रोसँग काम गर्ने वातावरण थिएन । पाँचवर्षे सम्झौताले प्रअहरूले आफ्नो विद्यालयमा ढुक्कले काम गर्ने वातावरण बनेको छ । यसबाट पालिकाको समग्र शिक्षा क्षेत्रमा सुधार हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले चालु वर्षमा पालिकाले प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाएको थियो । सोही कार्यविधिलाई टेकेर खुला आवेदनसहित प्रक्रिया सुरु गरिएको अर्यालले बताउनुभयो । प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छनोट मूल्याङ्कन समिति बनाइएको थियो । सो समितिमा गाउँ शिक्षा समितिले तोकेका दुईजना विज्ञ, गाउँ शिक्षा समितिको अध्यक्षले मनोनित एकजना सदस्य र गाउँपालिका शिक्षा अधिकृत सदस्यसचिव रहेका थिए ।
बागलुङ(गलकोट): सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए । लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उहाँले बताउनुभयो । “धान फल्ने खेत दान गरेको लामो समयपछि भए पनि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो”, भण्डारीले भन्नुभयो, “बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उहाँको सम्झना भने रहिरहनेछ ।” पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो । बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन् । जग्गादाता गोविन्द उपाध्यायले भन्नुभयो, “नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ ।” उहाँले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताउनुभयो । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिनुभयो । “बसपार्क कूल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताउनुभयो । विसं २०५८ सालमा स्थानीयले कुल ५९ रोपनी जग्गा नगरपालिकालाई दिएका थिए । उपयोग नभएको जग्गामा हाल पलटिङ भइरहेको छ । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउन नक्शाङ्कन अन्तिम चरणमा पुगेको जनाइएको छ । बसपार्कमा ७० बस, एक सय वटा कार पार्किङको क्षमता छ । त्यसबाहेक २० वटा व्यापारिक सटर समेत राखिएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८४ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनियय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।