काठमाडौं: सांसद कृष्णबहादुर रोेकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोन्दै उहाँले भन्नुभयो, “साउन ३२ गते दिउँसो करिब ११ः३० बजे आएको बाढीका कारण खुम्बु पासाङ लाह्मु गाउँपालिकामा २० घर, क्लिनिक, विद्यालयलगायत भवन बगाएको छ, थामेखोलाको उक्त बाढीमा एक जना बेपत्ता भएका छन् अन्य थुप्रै घर पुरिएका छन् ।” उहाँले बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार तत्काल गर्न सरकारसँग आग्रह गर्नुभयो । “हिमताल फुटेको भनिएको छ, हिमताल कसरी फुटे भन्नेबारे अनुसन्धान हुन जरुरी छ । थप ताल फुट्न सक्ने जोखिमका बारेमा सरकार संवेदनशील हुनुपर्छ”, सांसद रोकायाले भन्नुभयो । सांसद रुक्मीणी कोइरालाले भन्नुभयो, “कोशी प्रदेशको सोलुखुम्बुमा आएको आकस्मिक पहिरोले थुप्रै घरमा क्षति तथा केही व्यक्ति बेपत्ता भएका छन, दूधकोसीमा बाढी आएको छ, खतरा छ, हिमताल र बाढीको वास्तविक क्षतिको विवरण र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग माग गर्दछु, जलवायु परिवर्तनले भएको भन्ने छ यसमा ध्यानाकर्षण होस् ।” सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “भौगोलिक हिसाबले कमजोर हिमाली क्षेत्रमा मनसुनी वर्षा निरन्तर आइरहेको र यस्ता ठाउँमा अत्यधिक क्षति हुने भएकाले अझै पनि अरू हिमताल जोखिममा छन भनिएको छ, पुनः निर्माण वा पुनःवासको व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो । यसअघि आकस्मिक समयमा बोल्दै सांसद जयन्तीदेवी राईलगायत सांसदहरुले पनि खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बसोबास गर्ने बासिन्दालाई अन्यत्र सार्नुपर्नेमा जोड दिनुभएको थियो ।
पोखरा: पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल मोडिफाइड गरि ध्वनी प्रदुषण गरी चलाएको आरोपमा साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । ‘कास्की प्रहरी मातहतमा रहेका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएर कारवाही गर्दै आएका छौं, डिएसपी शर्माले भने, ‘हामीले पछिल्लो ४ दिनमा पुनः अभियान नै चलाएर १ सय ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही गर्ने तयारीमा छौं ।’ उनले अभियानको क्रममा पहिलो पटके देखि चौथो पटक सम्म मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने समेत बताए । उनले यस अगाडि समेत कास्की प्रहरी र ट्राफिक प्रहरीले २०८० असोज २१ देखि अनुमति विना नै मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने २२ वटालाई कारवाही गरिएको समेत बताए । मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने (मोडिफाइड) गरी ध्वनी प्रदुषण गर्ने २ हजार ३५ थान मोटरसाइकललाई कारवाही गर्दा २९ लाख ८ सय रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए । यो पनि पढ्नुहोस एक्सनमा कास्की प्रहरी: मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुन्ने कास्की प्रहरीले यस अगाडि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसपलाई समेत नियन्त्रणमा लिई मोडिफाइड नगर्ने शर्तमा छाडेको थियो । मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न सवारी धनी र वर्कसप सञ्चालकहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्धा चलाउने कास्की प्रहरीले जनाएको छ । स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पाटपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम रु १५ हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
महोत्तरी: जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिट्ठीमा लेखेर रु ९२ हजार माग गरेको र पैसा मागेर धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी दिनुभएको थियो । सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
नवलपुर: ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोरमा ठूला पहिरो खसेर यातायात सञ्चालनमै कठिनाइ भएको बताउनुभयो । “यो करिडोरले पहाडी क्षेत्रका बासिन्दाको यात्रालाई सहज भएको थियो । तर विभिन्न ठाउँमा खसेका पहिरोले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो पहिरो गैँडाकोट, बुलिङटारलगायतका क्षेत्रमा छन् ।” पहिरोले सडक अवरुद्ध हुँदा सामान्य रुपमा पहिरो हटाइए पनि पूरै सफा गर्न नसकिएको उहाँको भनाइ छ । “पहिरो आएर सडक रोकिन्छ, अलिअलि हटाउँदै यातायात सञ्चालन गरिँदै आएको छ,” उहाँले भन्नुभयो, “पहिरो पूर्णरुपमा नहटाउँदा सानो पानी पर्दा समेत माथिबाट पहिरो खसेर पुनः सडक अवरुद्ध हुने गरेको छ ।” पहिरोले सडकसमेत भासिएको तिवारीले जानकारी दिनुभयो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाका प्रमुख कल्पना अधिकारीले सडकमा खसेको पहिरो र भासिएको सडक मनसुनपछि मर्मत गरिने बताउनुभयो । “अहिले पानी परिरहेको छ, पहिरो पूरै सफा ग¥यो भने फेरि उस्तै हुन्छ, अब मनसुन सकिएपछि राम्रोसँग सफा गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “भासिएको सडक पनि पानी पर्न रोकिएपछि निर्माण कम्पनीले बनाउने भनेको छ ।” करिडोरमा खसेको पहिरो रोकथामका लागि बजेट नभएको उहाँको भनाइ छ । “पहिरो नियन्त्रणका लागि धेरै बजेट लाग्छ, हामीले बजेटका लागि मन्त्रालयलाई पत्र लेखेका छौँ” उहाँले भन्नुभयो, “पहिरोको दीर्घकालीन समाधान नगरी सामान्य रुपमा हटाउने हो भने समय र पैसा खेर जान्छ ।” करिडोरको विभिन्न ठाउँमा एक किलोमिटर भन्दा लामो पहिरो गएको योजना प्रमुख अधिकारीले बताउनुभयो । करिडोरको पहिरो जोखिम क्षेत्रबाहेक सबै सडक कालोपत्र सकिएको उहाँको भनाइ छ । पहिरो नियन्त्रणका लागि छुट्टै ठेक्का आह्वान गरेर काम गरिने भए पनि सडक भासिएको ठाउँमा निर्माणको जिम्मा पाएकै व्यवसायीले सडक मर्मत गर्ने उहाँले बताउनुभयो । “गैँडाकोट–राम्दी–पीपलबोट खण्ड इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड काठमाडौँले बनाएको हो, गत वर्ष निर्माण सकिएको सडक आगामी मङ्सिरमा हस्तान्तरण गर्ने तयारी भइरहेको थियो,” उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएको एक वर्षभित्र सडक बिग्रिएमा भासिएमा निर्माण कम्पनीले बनाउनेगरी सम्झौता भएकाले अब सडक भासिएको ठाउँमा निर्माण कम्पनीले सडक बनाएर हस्तान्तरण गर्नुपर्छ ।” निर्माण कम्पनीलाई पूरा पैसा भुक्तानी नगरिएको भन्दै उहाँले सडक मर्मतपछि मात्रै भुक्तानी गरिने बताउनुभयो । बुलिङटार गाउँपालिका–१ को देउढा नजिकै करिब १५ मिटर सडक भासिएर कालीगण्डकी नदीमा पुगेको छभने विभिन्न ठाउँमा सडक चर्किएको छ । भासिएको ठाउँमा भित्ता काटेर सवारीसाधन एकतर्फी सञ्चालन गरिएको छ ।
पोखरा: अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुने छ । ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ’, प्रबन्ध निर्देशक थापाले, ‘यसले ग्राहकलाई फरक खालको अनुभूति दिने छ । मुलुकका विभिन्न ठाउँमा खुलेका सपिङ मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ तर यसमा होटल पनि रहनेछ । पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने छन् । यसमा सपिङ्गदेखि होटल सम्मको सेवा उपलब्ध हुनेछ ।’ अंशुभरा ३१ औँ वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ३१ एभिन्यु नामकरण गरिएको उनले जानकारी दिए । भवनमा बीस कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने छ । उनका अनुसार तीनवटा रेष्टुरेण्ट र एउटा बार रहने छ । पाँच वटा रिटेल पसल हुनेछन् । विभिन्न ब्राण्डका लुगा पसल, ह्यान्डिक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने छ । जग्गासहितको ६० करोडको लगानीमा उक्त भवन सञ्चालन हुन लागेको उनले जानकारी दिए । अंशुभराले यसअघि पोखरामा नेपालको सबैभन्दा ठूलो ’पोखरा ट्रेड मल’ सञ्चालनमा ल्याइसकेको थापाले दाबी गरे । जुन मलमा ५ सय २५ वटा पसलहरू सञ्चालनमा रहेका छन् । यसअघि लेकसाइडमा अंशुभरा ग्रुपले ‘अंशुभरा स्क्वायर’ व्यावसायिक मल सञ्चालनमा ल्याइसकेको छ । यस अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ । अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुले खोलिएको उक्त कम्पनिमा धेरै आश्रित छन् । नेपालमा नै रोजगारीको सिर्जना गर्दै विदेश पलायन हुनबाट युवालाई रोक्ने चाहना सौगातको छ । समयसापेक्ष व्यवसायिक लगानीमा उनी विश्वास गर्छन् । प्रविधिमैत्री वातावरणलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय बजारीकरणमा समेत अंशुभराको प्रचारप्रसारमा उक्त प्रोजेक्ट मार्फत सहयोग पुग्ने विश्वास उनको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै यहाँ बन्ने व्यवसायिक संरचना पनि पर्यटनमैत्री नै बन्नुपर्ने ध्येयका साथ लगानी गरिएको उनले उल्लेख गरे ।
सर्लाही: प्रसारणलाइन विस्तारमा अवरोध हुँदा सर्लाहीको हरिपुर्वालगायत क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । हरिपुर्वा नगरपालिका–२ स्थित सबस्टेशनसम्म ३३ केभिए प्रसारण लाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण सम्पन्न भइसकेको सबस्टेशन अलपत्र छ । निर्माण भएको लामो समयसम्म पनि सञ्चालन नहुँदा बत्ती बाल्न समस्या भएको हरिपुर्वा नगरपालिका–६ का विजयप्रसाद साहले गुनासो गर्नुभयो । प्राधिकरणले सबस्टेशनसम्म ३३ केभिए लाइन जोड्न विभिन्न रूट भएर पोल गाड्ने र तार तान्ने काम अधुरो रहेकाले समस्या भएको स्थानीय वडा नं ९ वसन्तपुर निवासी अवधेश साहको भनाइ छ । स्थानीयले प्राधिकरणले पोलका गाड्न गलत रूट प्रयोग गरेका कारण अवरोध भएको बताएका छन् । गाउँलाई क्षति नपुग्ने गरी विद्युत्को तार विस्तार गर्न स्थानीयको माग छ । सोही माग राखेर स्थानीयले पोल गाड्न नदिँदा यहाँ समस्या भएको हो । हरिपुर्वा सबस्टेशनका प्रमुख जगदीश यादवले स्थानीयको मागलाई मध्यनजर गरी प्रसारण केन्द्रसम्म विद्युत् लैजान विभिन्न चार रूट प्रयोग गर्दा पनि स्थानीयले अवरोध गरेका बताउनुभयो । “हामीले स्थानीयको सहजताका लागि नै विद्युतीय प्रसारणलाइन विस्तार गर्न खोजेका हौँ तर यहाँ विभिन्न स्वार्थका कारण स्थानीयले नै अवरोध गरिरहेका छन्, जसले गर्दा सबस्टेशन सञ्चालनमा समस्या भएको छ”, उहाँले भन्नुभयो । हरिपुर्वा, ईश्वरपुर नगरपालिका तथा पर्सा र ब्रह्मपुरी गाउँपालिकामा सेवा पुर्याउने उद्देश्यसहित दुई वर्षअघि नै सबस्टेशन निर्माण भएको थियो तर हालसम्म सञ्चालन हुनसकेको छैन । प्रयोग नहुँदा सबस्टेशनमा प्रयोग भएका उपकरण तथा निर्माण भएको भौतिक संरचना जीर्ण हुँदै गएको छ । यसरी निर्माण सम्पन्न संरचना अलपत्र पर्दा दोहोरो घाटा भएको छ । एकातिर लगानी खेर गइरहेको छभने अर्कातर्फ स्थानीयले गुणस्तरहीन सेवा प्रयोग गरिरहनुपरेको छ । पछिल्लो समय राजनीतिक खिचातानीको सिकार भएका कारण सबस्टेशन सञ्चालन चुनौतीपूर्ण बनेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहको भनाइ छ । सबस्टेशन सञ्चालन गरी गुणस्तरीय विद्युत् सेवा प्रवाहका लागि पहल गरिरहेको उहाँले बताउनुभयो । हरिपुर्वा नगरपालिका–१ र ५ का स्थानीयले ३३ केभिए प्रसारण लाइनका लागि एक किलोमिटर विद्युत् पोल गाड्न अवरोध गरेपछि सबस्टेशन अलपत्र बनेको नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेशकुमार यादवले बताउनुभयो । उक्त सबस्टेशन निर्माणका लागि रु १९ करोड ६० लाख लागतमा आर्थिक वर्ष २०७३/७४ मा ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले सबस्टेशनका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न गरिसकेको छ । हरिपुर्वा क्षेत्रमा लामो दूरी पार गराएर मलङ्गवा वितरण केन्द्रबाट विद्युत् आपूर्ति हुँदै आएको छ । यसरी आपूर्ति गर्दा अत्यधिक लोड हुने गरेको प्राधिकरण प्रमुख यादवले जानकारी दिनुभयो । “लामो दूरी कम्जोर लाइन विस्तार संरचनालगायत कारण स्थानीयले उखरमाउलो गर्मीमा पङ्खा प्रयोेग गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो, “पटकपटक लाइन गइरहने समस्या झेल्दै आउनु परिरहेको छ ।”
तनहुँ: जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा चार हजार सात सय ८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर विनु लोहनीले जानकारी दिनुभयो । सोही अवधिमा दुई हजार घरमा निजी धारा जडान गरिएको छ । हालसम्म जिल्लाका १५ हजार नौ सय ९४ घरमा निजी धारा जडान भएका छन् । उहाँले सशर्त, प्रादेशिक र विशेष खानेपानी योजनाबाट चार हजार सात सय ८० जना लाभान्वित भएका जानकारी दिनुभयो । उक्त आर्थिक वर्षमा सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाका लागि रु दुई करोड ७५ लाख, प्रादेशिक खानेपानी आयोजनाका लागि रु २१ करोड ९१ लाख, विशेष अनुदान खानेपानी आयोजनाका लागि रु एक करोड ४० लाख र खानेपानी सेवा विस्तार तथा पुन:स्थापनाका लागि रु दुई करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो । कार्यालयले कार्यान्वयन गर्ने योजना सङ्ख्याको तुलनामा जनशक्तिको अभाव हुँदा समस्या भइरहेको इन्जिनियर लोहनीले बताउनुभयो । अठारजनाको दरबन्दी रहेकामा हाल १२ जना कार्यरत छन् । उक्तआर्थिक वर्षमा न्यून बजेटका कारण म्याग्दे–७ स्थित झाप्रेखोला कैडले खानेपानी योजना, भानु नगरपालिका–२ स्थित भकुन्थोक बेलटार खानेपानी योजना, बन्दीपुर गाउँपालिका–६ स्थित साराङघाट खानेपानी योजना, समादी खानेपानी योजना, व्यास नगरपालिका–११ स्थित केशरी खानेपानी आयोजना र बेल्टारी डिप बोरिङ खानेपानी योजना सञ्चालन गर्न नसकिएको इन्जिनियर लोहनीले बताउनुभयो ।
बागलुङ: भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । अवरद्ध सडक खोल्ने प्रयास जारी छ ।
महोत्तरी: महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेको जानकारी दिए । श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।