काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

कैलाली:     उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यसअघि बनेका सरकार पटकपटक परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेर सरकार बनाउनुपरेको धारणा राख्नुभयो ।  “पटकपटक सरकार परिवर्तन हुँदा विकास निर्माण, शान्ति सुरक्षादेखि आर्थिक गतिविधिमा समेत समस्या देखियो, जसले जनतामा निराशा थप्न भूमिका खेल्यो ।  त्यसैकारण हामीले सात बुँदे समझदारीसहित वर्तमान सरकार बनेका हौँ । सोहीअनुसार सरकारले काम गरिरहेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।  उहाँले वर्तमान सरकारले भूकम्प, कोरोना महामारीलगायत कारणले शिथिल बनेको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ काम अगाडि बढाएको धारणा राख्नुभयो ।  सङ्घीयताको मर्म र जनचाहनाअनुसार राष्ट्रिय हित, संविधानको प्रभावकारी कार्यान्वयन, विकासका काममा गतिदिने गरी काम गर्न आफूहरू प्रतिबद्ध भएर लागेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।   सहकारी बचत रकम दुरुपयोगका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सहरी विकासमन्त्री सिंहले संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले काम अगाडि बढाउने स्पष्ट पार्नुभयो ।  “हिजो मात्रै समितिले प्रतिवेदन बुझाएको छ । सरकारले गर्नुपर्ने कामका विषयमा सिफारिस र सुझाव आएका छन्, त्यसको अध्ययन गरेर थप कारबाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ । आमबचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउँछौँ”, उहाँले भन्नुभयो । 

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ ।      बुधवारसम्म भल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गर्नुभयो । पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गर्नुभयो ।  उहाँले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्नुहुँदै पार्टी नेता कार्यकर्तालाई पनि  जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गर्नुभयो । “हामी र हाम्रो पार्टीमाथि निरन्तर प्रहार भइरहने छ ।   यस्ता आक्रमण तथा प्रहार सामना गर्न तयार रहौँ । रास्वपा जित्न र हार्नका लागि नभइ परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो । हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो अरुले लडाउन सक्ने छैन”, सभापति लामिछानेको भनाइ थियो ।       उहाँले इलाममा सङ्गठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्वीकार्दै आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।   सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका सम्बन्धमा सभापति लामिछानेले आफूलाई लाञ्छाम लाउनेहरूले प्रमाण दिन नसकेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो मात्रै प्रतिवेदन संसदमा पेश भएको छ । थाहा भयो प्रमाण भनेको कस्तो हुन्छ भन्ने कुरा, अब सहकारीको कुरा त सकियो । विषय सहकारीबाट गोखा मिडियातिर जान्छ ।”       उहाँले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसुस गरेको सुनाउनुभयो ।       राष्ट्रिय भेलाको पहिलो दिन आज कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस तथा छलफल र भोलि सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ । भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ ।       भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।       भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुने छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ ।       भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो । 

पोखरा:     गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए । “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो ।”, उनले भने । मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरुलाई सहि ठाउमा प्रयोग गर्न सके मात्र लाभ मिल्ने उल्लेख गरे ।  आजको युग विज्ञान र प्रविधिको युग भएको बताउँदै मन्त्री थापाले कुनै पनि वस्तु वा विषयको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन नै विज्ञान हो भएको बताए । आजको समयमा विज्ञान र प्रविधिलाई देशको विकास र समृद्धिको आधारका रुपमा लिन सकिने भनाई उनको छ ।   प्रा।डा।भरत पहारीले विज्ञानले अरुको गाली गर्न नसिकाउने र जिज्ञासा बढाउने बताए । विषयको विशिष्टिताको ज्ञान हुन आवश्यक रहेको भनाई उनको छ । प्रा।डा। नवराज देवकोटाले साइन्स एण्ड टेक्नोलोजी उत्पादन सङ्ग जोडिनुपर्ने बताए । डा।ढाकाराम भण्डारीले रिसर्चमा वहुवर्षीय रुपमा काम गर्न आवश्यक रहेको बताए । सस्तो लोकप्रियताले विज्ञानमा फड्को मार्न नसकिने भनाई उनको छ । डा।पुनम गौचनले रिसर्चमा महिलाहरुको उपस्थिति कम भएको बताइन् । पारिवारिक कारणले गर्दा यस्तो हुन गएको भनाई उनको छ । विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि भन्ने नारा सहित मनाइएको विज्ञान दिवसको समय पारेर प्यानल डिस्कसन गरिएको थियो । जसको सहजीकरण डा। कपिल अधिकारीले गरेका थिए ।

काठमाडौं:   आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्बिर राखी विधिपूर्वक पूजाआराधना गरी दिवस मनाइएको हो । विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध नदी किनारमा लगेर सेलाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औँजारको पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।  द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रबीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ ।      प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा लिइन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको बताइन्छ ।  विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । स्थापत्यलाई अथर्व वेदको उपवेद मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ । यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् ।      वास्तुशास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।       वास्तु दिवसका अवसरमा आज नेपाल ज्योतिष परिषद्ले कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीलगायतले वास्तुविद्याको प्रवर्दनमा काम गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गर्नुभएको छ । उहाँ नयाँ सडककस्थित  जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर जानुभएको थियो ।  गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थाल्नुभएको हो । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो ।   इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायत समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।        भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । बुधबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।            असोज ५ गते शनिबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ । सोही दिन अपराह्न राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ ।      असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो ।  वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज पूजार्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।

काठमाडौं:   अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।      गए राति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले जितेको थियो ।  नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन् ।  प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर (रु १६ लाख नौ हजार) जितेका छन् । उनीहरूलाई आयोजक संस्था ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले सो पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।      त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ । नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमण्टले १० तोला सुनको गोल्डकप र नौ हजार डलर (रु १२ लाख ६ हजार) जितेको थियो ।      यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर (रु १० लाख ७२ हजार) र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर (रु आठ लाख चार हजार) पुरस्कार प्राप्त गरेको छ ।  खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने हुन्छ । पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमण्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन् । अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन् ।       पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुद बनाएको बताउनुभयो ।  उहाँले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुद बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताउनुभयो ।      पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएकामा आयोजक संस्थाको सराहना गर्नुभयो ।      खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङका अनुसार इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए ।  प्रतियोगितामा पुरुषतर्फ तेस्रो हुन सफल सानफ्रान्सिस्को टिमले पाँच हजार डलर (रु छ लाख ७० हजार) र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले तीन हजार डलर (रु चार लाख दुई हजार) प्राप्त गरेका छन् ।

पर्सा:    प्रहरीले सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।  वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मण वा भन्ने २१ वर्षे ओमकुमार पटेललाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा आज पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पटेलले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर, ह्वाट्सएप लगायतमा ‘किङ्स अफ पर्सा’मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरेर डर त्रास सिर्जना गरेकाले पक्राउ गरेको जानकारी दिनुभयो ।   ‘‘पक्राउ परेका पटेलले अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेकाले नियन्त्रणमा लिएका हौँ,’’ उहाँले भन्नुभयो, ‘‘सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।’’ सो कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । 

  काठमाडौँ:  सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।   उहाँले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने औँल्याउनुभएको छ ।   विसं २०७२ मा ‘नेपालको संविधान’ जारीपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र समग्ररूपमा जनजीवनमा महसुस हुने गरी उल्लेखनीय सकारात्मक परिवर्तन भइरहेको जिकिर गर्दै उहाँले राज्यसँग सीमित स्रोतसाधन भए पनि समग्रमा भएका प्रगति धेरै उल्लेखनीय रहेको बताउनुभएको छ ।   सभामुख घिमिरेले जनताको जीवनस्तर माथि उठेको तथा तिनले आधारभूत स्वास्थ्य सेवा र शिक्षा केही हदसम्म पाएको पनि जनाउनुभएको छ ।   संविधान दिवस–२०८१ का सन्दर्भमा प्रतिनिधिसभाका सभामुख घिमिरेसँग राससका निमित्त प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता कालिका खड्काले संविधान संशोधन, कानुन निर्माण र समसामयिक विषयमा केन्द्रित रही लिएको अन्तर्वार्ताको सम्पादित अंश:   -सभामुखज्यू, सङ्घीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्न प्रतिनिधिसभाले के–कस्तो भूमिका निर्वाह गरिरहेकोे छ ?   नेपालको संविधान जारी भएको नौ वर्ष भयो । यहाँसम्म आइपुग्दा संसद्का कामलाई प्रभावकारी तुल्याउन प्रयत्न भइरहेको छ । संविधान जारी भएको पहिलो निर्वाचनपछि गठित संसद् कानुन बनाउने कार्यमा मूलभूत रूपमा केन्द्रित भयो ।   त्यसबेला नै जरुरी परेका कानुन धेरथोर बनाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई प्रभावकारी तुल्याउने काम भयो । दोस्रो निर्वाचनपछि पनि थप आवश्यक कानुन बनाउने कार्यमा संसद् अहिले पनि क्रियाशील नै छ ।   त्यससँगै कानुन कार्यान्वयन कसरी भइरहेको छ, त्यसको अवलोकन गर्ने तथा कार्यान्वयनका लागि आवश्यक बहस र छलफल गरी सरकारलाई सल्लाह, सुझाव र निर्देशन दिने काममा अलि बढी ध्यान केन्द्रित भएका छौँ ।     -राजनीतिक फेरबदलले यसबीचमा संसद्को नियमित कार्यमा केही असर प¥यो कि ?   यसबीचमा परिस्थिति अलि भिन्न ढङ्गबाट विकास भएर आयो । सङ्घीय संसद्को बनावट आफैँमा एउटा दलको मात्र बहुमत र सरकार बन्न सक्ने अवस्थाको छैन । ससाना दल मिलेर सरकार बने । त्यस्ता सरकार पनि छोटो समयमै फेरबदल भइरह्यो ।   यसले संसद्का नियमित गतिविधिलाई केही न केही प्रभाव पार्दाेरहेछ, ग¥यो पनि । प्रदेशमा पनि त्यसको असर गम्भीर रूपबाट देखाप¥यो । सबैजसो प्रदेशमा सरकार बन्ने तथा निरन्तर र नियमित संसद् बैठक चल्ने एवं यसप्रति उत्तरदायी भएर काम गर्ने, बनेका कानुन कार्यान्वयन गर्ने र परिणाम दिनेमा समस्या देखियो ।   केन्द्रमा पनि अपेक्षाकृत रूपबाट दोस्रो संसद्ले पनि काम गर्न सकेन । करिब दुईवर्षे यस अवधिमा संसद्ले अति गति लिनुपथ्र्याे तर यसको भूमिका र संविधान कार्यान्वयनको पाटो प्रभावकारी भएन तथा संविधान र संसद्को लोकप्रियता घट्यो भन्ने ढङ्गको टीकाटिप्पणी हुनु पनि आवश्यक छैन ।   बरु जनताका भावना सांसद्मार्फत प्रत्यक्ष आउने कुरा अझ मुखरित गरिएको छ ।   तलका आवश्यकता र जनताका भनाइ के छन् भन्ने कुरा देशको कार्यकारी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर तथा सामूहिक विषयमा बहस र छलफल चलाउने कार्यबाट सजीव, प्रभावकारी र नियमित ढङ्गबाट प्राप्त भइरहेको छ ।   त्यस्तै जरुरी परेका विधेयकमाथि प्राथमिकताका साथ छलफल गरी समयसीमाभित्र टुङ्ग्याउने कार्यमा अहिले संसद् केन्द्रित छ । यसलाई नियमित ढङ्गबाट सञ्चालन गर्न ‘क्यालेन्डर’ बनाएर कार्यसूचीका आधारमा जान प्रयत्न भइरहेको छ ।   -एकातिर नेपालको संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका अझै केही ऐन बनाउनुपर्नेछ भने अर्कातर्फ बनेका कानुन कार्यान्वयनको अवस्था कस्तो पाउनुभएको छ ?   कुन कानुन, कुन क्षेत्रमा बनेन र कुन कानुनको अभाव भयो वा कुनै क्षेत्रमा काम भएन भन्ने कुरा मूर्त रूपमा आएको छैन । बरु यसलाई नकारात्मक सोचबाट प्रचार गर्न खोजिएको छ । संविधानसम्मत कानुन पहिलो निर्वाचनपछिको संसद्बाट बनिसकेको छ ।   कतिपय कानुनमा पुराना प्रावधान, भनाइ र शब्दावली मिलाउनुपर्ने छ ।   खासगरी सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती सेवा ऐन परिवर्तित सन्दर्भमा समयसीमाभित्र आउनुपथ्र्याे, त्यो अहिले पनि आउन सकेको छैन । त्यसबाट देशका कर्मचारी कोप्रति उत्तरदायी हुने, खासगरी प्रदेश र स्थानीय तहमा कसरी उनीहरूले काम गर्ने भन्ने थोरै समस्या देखिएको छ ।   त्यसलाई प्राथमिकताका साथ पेस गर्नुपर्छ भनी संसद्ले कोसिस गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।   प्रधानमन्त्रीलाई यसमा संसद्ले प्रेरित र सहयोग ग¥यो । परिणामस्वरूप अहिले संसद्मा पेस भएको छ । यसलाई प्राथमिकताका साथ दफावार छलफल गरी टुङ्ग्याउन समितिमा पठाइएको छ । संसद्को अहिले चलिरहेको अधिवेशनमा बढी समय यसमा बिताउनुपरेको छ ।   त्यसमा पनि कतिपय बजेटसँग सम्बन्धित कानुनलाई प्राथमिकताका साथ तुरुन्त पारित गर्नुपरेको छ । त्यसले पनि निजामती सेवालगायत विधेयक अघि बढाउन केही ढिला भएको छ, अब छिटो टुङ्ग्याउने गरी जानुपर्छ ।     -संसद्मा प्रतिनिधित्व गर्ने ठूला दलको स्पष्ट बहुमत प्राप्त सरकार छ, विधेयकहरू छिटो अघि बढाउने सन्दर्भमा संसद् स्वयंले केकस्तो कार्यतालिका बनाएको छ ?   हो, संसद्ले कार्यतालिका बनाएको छ, विधेयकलाई यसरी छिटो लैजानुपर्छ भनी छलफलको सुरुआत गराएको छ । समयमै यसलाई प्राथमिकताका साथ समितिमा पु¥याइएको छ ।   त्यहाँ बहस र छलफल भइरहेको छ । असार मसान्तभित्रमै बजेट पारित गर्नुपर्ने र त्यससँग आश्रित विधेयक पास गरी कानुन बनाउनुपर्नेतर्फ ध्यान र समय खर्चनुप¥यो ।   अब भने ती महत्त्वपूर्ण विषयसँग सम्बन्धित विधेयकमा केन्द्रित भएका छौँ । नतिजा निकाल्न ‘क्यालेन्डर’ बनाएर कोसिस गरिरहेका छौँ । समितिलाई तलसम्मको राय–परामर्श, आवश्यक बहस, छलफल र अवलोकनसमेत गरी त्यसमा लाग्नूस् भनिएको छ ।   मिल्दाजुल्दा प्रणाली अवलम्बन गरेका मुलुकको अभ्यास समेत बुझ्नुपर्ने आवश्यकता छ ।   यसरी विधेयक सिलसिलेवार ढङ्गबाट लैजानुपर्छ भनी कार्ययोजना बनाएर अघि बढाउने काम भइरहेको छ ।     -सुदृढ संसदीय व्यवस्था भएका मुलुकमा धेरैजसो सांसदका तर्फबाट गैरसरकारी विधेयक संसद्मा पेस गर्ने अभ्यास देखिन्छ, संसद्को अभिभावक भएका हिसाबले यसमा यहाँले केही सोच्नुभएको छ ?   सभामुखः जरुर । परम्परागत ढङ्गबाट चार सय वर्षसम्म संसदीय अभ्यास गरेका, दुई सय वर्षदेखि प्रयास गरेका मुलुकका तुलनामा हामीले करिब एक दशकका बीचमा यी क्षेत्रमा धेरै सोचिरहेका र प्रगति गरिरहेका छाैं । निजी क्षेत्रबाट आउने प्राइभेट बिल वा सरकारले ल्याउने सरकारी विधेयक बीचमा तादात्म्य मिलाउनुपर्नेछ ।   विधेयक भन्नासाथ व्ययभारको कुरा स्वाभाविक आउँछ । राज्यलाई व्ययभार कति पर्छ, कहाँबाट पूरा गर्छाैं, हाम्रो स्थिति के छ, त्यसले राष्ट्रिय आम्दानीमा कति फाइदा गर्छ भनी लेखाजोखा गरिनुपर्छ ।   यी सबै सरकारसँग गाँसिएको विषय भएकाले तादात्म्य मिलाउन र सल्लाह गर्नुपर्ने जरुरी छ ।   अर्कातर्फ यस अवधिमा निजी क्षेत्रका तर्फबाट बिल भटाभट ल्याउन सक्ने सांसदका क्षमता र व्यावहारिकता पनि हेर्नुपर्छ ।

एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ ।   सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले सङ्कटाविरुद्ध ३–० को जित निकालेको हो ।   यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ । प्रतियोगिता सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ सातौँ स्थानमा छ ।   एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे ।   खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् । खेलको ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् ।   एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदैछ ।