पोखरा: कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना महिलालाई पक्राउ गरी अदालत बुझाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । उनीहरुबाट ८ वर्ष १० महिना १ दिन कैद सजाय र रु.४६,४२,९०० (छ्यालिस लाख बयालिस हजार नौ सय) जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको उनले बताए । कनु मुद्धामा कति ? १. चेक अनादार मुद्दामा – ५२ जना २. लागू औषध मुद्दामा – ९ जना ३. चोरी सम्बन्धी मुद्दामा – १ जना ४. अपहरण तथा शरिर बन्धक मुद्दमा – १ जना ५. हातहतियार तथा खरखजना मुद्दामा – १ जना ६. नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा– १ जना ७. राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा – २ जना ८. बाल यौन दुरुपयोग मुद्दामा – २ जना ९. बैंकिङ कसूर मुद्दामा – ६ जना १०. अभद्र व्यवहार मुद्दामा – ३ जना ११. लेनदेन मुद्दामा – ३ जना १२. सवारी ज्यान मुद्दामा –२ जना १३. जालसाझी मुद्दामा – ३ जना
पोखरा: गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन् । क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार ! प्लेकार्ड देखाएर भण्डारीको विरोध गरे । पत्रकार महासंघले भदौ २९ गते निर्वाचनको कार्यातालिका सार्वजनिक गर्दै अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । अन्तिम नामावलीमा कास्की शाखाले छनोट गरी गण्डकी प्रदेश कार्यालय पठाएकोमा प्रदेश कार्यालयले समेत उक्त नाम अनुमोदन गरेर पठाएपछि पनि केन्द्रले सबैको नाम नसमेटेकोमा भण्डारीले कास्की शाखाकोतर्फबाट नबोलेको भन्दै सपथ ग्रहणबाहिर विरोध गरिएको समूहका सदस्यले बताएका छन् । सदस्यता वितरणमा राजनीतिकरण हुँदा ३२ भन्दा बढी पत्रकार महासंघ जिल्ला शाखाले नै क्रियाशील पत्रकारलाई समेट्न माग गर्दै संयुक्त विज्ञप्ति निकालेका छन् । तर, कास्की शाखाकी अध्यक्ष भण्डारीले सदस्यता वितरणमा राजनीतिकरण गर्दै मौनता साधेको, पत्रकार महासंघमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी बोलाएर आन्दोलन तुआउन खोजेको आरोप समूहको छ । डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र अन्तिम नामावलीमा प्रकाशन गरेको भन्दै १८ जना क्रियाशील पत्रकार नै पुनः आन्दोलन उत्रर्दै सोमबार नै कास्की शाखामा तालाबन्दी गरेका छन् । कास्की शाखामा तालाबन्दी लगत्तै सपथ ग्रहणमा पुगेर क्रियाशील पत्रकार समूहले विरोध प्रदर्शन गरेका हुन् । क्रियाशीप पत्रकार समूहले यसअघि महासंघ भवनमा ताला लगाउँदा कास्की अध्यक्ष विमला भण्डारी र विभिन्न संगठनका नेताले सदस्यता आउने आश्वासन दिएपछि ताल्चा खालेको समूहको भनाइ छ । तर, सहमति अनुसार गरिएको वाचा पूरा नगरिएको भन्दै १८ जनाको समूह पुनः आन्दोलनमा उत्रेको बताए । ‘हामीले लगाएको ताला खोलेका थियौं । अहिले फेरि हाम्रो आन्दोलन र मागलाई कमजोर ठानेर जुन तरिकाले नाम प्रकाशन भएको छ यसमा हाम्रो सहमति छैन,’ क्रियाशील पत्रकार समूहले निकालेको ध्यानकर्षण पत्रमा उल्लेख छ ।
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौथो अधिवेशन आज रातिदेखि अन्त्य हुने बताउनुभयो । “नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन २०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ”, राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख घिमिरेले भन्नुभयो । सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाउनुभएको थियो । प्रतिनिधिसभाको चौथो अधिवेशन २०८१ वैशाख २८ गते प्रारम्भ भई २०८१ भदौ ३१ गतेसम्म एक सय ३० दिन चलेको छ । जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा दुई सय छ घण्टा २५ मिनेट समय संसदीय काम कारबाहीमा व्यतित भएको सभामुख घिमिरेले बताउनुभयो । यस अवधिमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बसेको थियो । यो अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका छन् । जसमध्ये पाँचवटा विधेयक सङ्घीय संसदको दुवै सदनबाट पारित भएको र तीनवटा विधेयक समितिमा विचाराधिन रहेको सभामुख घिमिरेले बताउनुभयो । त्यसैगरी, सभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १३ वटा विधेयकमध्ये सातवटा विधेयक सम्बन्धित समितिमा विचाराधिन र एउटा विधेयक दुवै सदनबाट पारित भएको छ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई सरकारले फिर्ता लिएको छ भने प्रतिस्थापन विधेयकका रुपमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० समयमै पारित हुन नसक्दा र औषधि तथा स्वास्थ्य सामग्री नियमन तथा नियन्त्रण विधेयक २०८० सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने सांसद मन्त्री भएका कारण स्वतः निष्क्रिय भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराउनुभयो । प्रतिनिधिसभाको चालु अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरुको अनुपस्थितिको सङ्ख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ । चालु अधिवेशनमा सांसदहरु गीता बस्नेत ४७ दिन, मनोरमा शेरचन ५६ दिन, अम्बिका बस्नेत २६ दिन, राजु थापा १० दिन, डा नारायण खड्का १६ दिन, प्रकाशमान सिंह १७ दिन, डा सुनीलकुमार शर्मा ११ दिन, कान्तिका सेजुवाल १५ दिन, वसन्तकुमार नेम्वाङ ५६ दिन, प्रेमबहादुर महर्जन १० दिन, गोकर्णबहादुर विष्ट १२ दिन, दीपक बोहरा ५६ दिन र कालुराम राई १८ दिन बैठकमा अनुपस्थित रहनुभएको थियो । सांसदहरुको अनुपस्थितिको सङ्ख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ ।
पोखरा: संविधान दिवसको अवसरमा आज पोखराको फेवातालमा सरसफाइ गरिएको छ । कास्कीस्थित जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, नागरिक समाज, पोखरा महानगरपालिकाको संयुक्त संयोजनमा पोखराको फिर्के खोला मिसिएको फेवाताल किनारा एवं ड्यामसाइड क्षेत्रमा सरसफाइ गरिएको हो । सरसफाइमा सबै सुरक्षा निकाय, नगर प्रहरी, सरकारी कर्मचारी र नागरिक समाजको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवसका अवसरमा प्रदेशस्तरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । फेवाताल यहाँको मुख्य सम्पदा भएको बताउँदै उहाँले फेवातालले छिट्टै आफ्नो आकार पाउने विश्वास व्यक्त गर्नुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संविधान दिवसका अवसरमा फेवातालको सरसफाइ आयोजना गरिएको बताउँदै यसको संरक्षण सबैको दायित्व भएको बताउनुुभयो । कर्मचारी मिलन केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रका तर्फबाट हरेक महिनाको एक दिन पोखराका सम्पदास्थल सरसफाइ गरिएको बताउँदै संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम फेवातालमा केन्द्रित गरिएको जानकारी दिनुभयो । नागरिक समाज कास्कीका संयोजक रामबहादुर पौडेलले पोखराको गौरव फेवातालको संरक्षणका लागि राज्यको ध्यान पुग्नु जरुरी भएको बताउनुुभयो । फिर्के खोलाबाट फेवातालमा फोहर नआउने गरी व्यवस्थापन गर्नुु जरुरी रहेको उहाँको भनाइ छ । संविधान दिवस असोज ३ गते मनाउने गरिन्छ ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् । सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन् । समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा प्रहरी बोलाएर आन्दोलनलाई दबाउन खाजेको आरोप लगाएको छ । समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन गरेको अन्तिम नामावलीप्रति आपत्ति जनाएको हो । डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र अन्तिम नामावलीमा प्रकाशन गरेको भन्दै १८ जना क्रियाशील पत्रकार नै पुन: आन्दोलनमा उत्रेका छन् । महासंघले लिष्टमै नभएका व्यक्तिको नाम पनि नामावलीमा देख्दा महासंघले राजनीतिक भागबण्डाअनुसार सदस्यता प्रदान गरेको समूहको आरोप छ । ‘पत्रकारको छाता संगठन बन्नुपर्नेमा पत्रकार महासंघ दलीय भातृ संगठनको रुपमा उभिएकोमा हाम्रो घोर विरोध छ । महासंघले प्रकाशन गरेको नामावलीमा ३२ जिल्ला शाखाले आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्दा हाम्रो कास्की र गण्डकी प्रदेश शाखा मौन हुनुले केन्द्रसँगको साँठगाँठ भएको स्पष्ट छ,’ समूहले जारी गरेको पत्रमा उल्लेख छ । उनीहरुले महासंघमा नेता पत्रकार कुरीकुरी’, ‘१८ जनामा ३ जनाको मात्र सदस्यमात्र कसरी आयो,’ ‘सिफारिसमै नभएकाको नाम कसरी आयो’, पत्रकार महासंघ कस्ले चलाउँछ,’ ‘पत्रकार महासंघ पत्रकारको छाता संस्था कि कार्यकर्ता भर्ती केन्द्र’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । यो समूहले यसअघि पनि महासंघ भवनमा ताला लगाउँदा कास्की अध्यक्ष विमला भण्डारीलगायतले सदस्यता आउने आश्वासन दिएपछि खुलेको थियो । तर, सहमति अनुसार गरिएको वाचा पूरा नगरिएको भन्दै १८ जनाको समूह पुन आन्दोलनमा उत्रेको हो । ‘हामीले लगाएको ताला खोलेका थियौं । अहिले फेरि हाम्रो आन्दोलन र मागलाई कमजोर ठानेर जुन तरिकाले नाम प्रकाशन भएको छ यसमा हाम्रो सहमति छैन,’ पत्रमा उल्लेख छ । समूहले माग सम्बोधन नभए पत्रकार महासंघको कुनै पनि निर्वाचन हुन नदिने धम्की दिएको छ । यस्तो परिस्थितिमा हुने क्षतिको सम्पूर्ण जिम्मेवारी नेपाल पत्रकार महासंघले नै लिनुपर्ने उल्लेख छ । नेपाल पत्रकार महासंघ कास्कीले २०७९ मंसिरमा आवेदन मागेको थियो । कास्कीबाट १८ जनाको नाम सिफारिस भएका थिए । यी सदस्यलाई प्रदेशले पनि अनुमोदन गरेर पठाए पनि पत्रकार महासंघ केन्द्रले सदस्यता वितरणमा राजनीति भागबण्डा गरेको समूहको आरोप छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई रु पाँच÷पाँच लाख क्षतिपूर्ति दिइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले मृतकका परिवारजनलाई सरकारले उक्त रकम बराबरको क्षतिपूर्ति दिन लागेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले घाइतेको उपचारको जिम्मा सरकारले लिने पनि सदनलाई जानकारी गराउनुभयो । “पाँचथरमा दुई बालबालिकाको दुःखद् मृत्यु भयो । अहिले त्यत्ति भनौँ, कसरी निधन भयो भन्ने विषय पछि कुरा गरौँला”, उहाँले भन्नुभयो, “बिस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो, यहाँ अन्यौल भइरहेको छ तर पनि विस्फोटबाट दुई बालबालिकाको दुःखद मृत्यु भयो, मृतकका परिवारलाई सरकारले रु पाँच–पाँच लाख क्षतिपूर्ति दिने र घाइतेको उपचार सरकारले गर्ने सभामुखमार्फत सदनलाई जानकारी गराउन चाहन्छु ।” यही भदौ १३ गते पाँचथरको फलेलुङ गाउँपालिका–५ प्रङबुङस्थित एउटा घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा दुईजना बालबालिकाको मृत्यु भएको थियो । ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा भएको विस्फोटमा ज्ञानबहादुरका छिमेकी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले देशभरि विभिन्न स्थानमा केही समययता प्राकृतिक विपत्तिका घटनाहरु भइरहेका तथा ती घटनामा जीवन गुमाउने, अङ्गभङग हुने, जनजनको क्षति हुने अवस्थाप्रति दुःख व्यक्त गर्दै दिवङ्गतप्रति श्रद्धासुमन अर्पण गर्नुभयो । साथै उहाँले दुर्घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै घाइतेहरुको उपचारको जिम्मा सरकारले लिने बताउनुभयो ।
पोखरा: नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवस पोखरामा पनि मनाइएको छ । हेमबहादुर पुन स्मृति प्रतिष्ठा–नेपाल र नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा मगरका संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवस मनाएको हो । स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवसको अवसरमा बोल्दै गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले स्व.हेमबहादुर पुनमगरले देशका लागि महत्वपूर्ण योगदान पु¥याएको बताइन् । ‘बेलायत आर्मीबाट अवकाश लिएर नेपाल प्रहरीको निरीक्षक सम्म हुनुभएका स्व. हेमबहादुर पुनमगरले राष्ट्र र देशका लागि महत्वपूर्ण योगदान दिनुभएको छ’, उपसभामुख थापाले भनिन्, ‘मगर समुदाय र पिछडिएका वर्गको उत्थानका लागि नै उनले जागिर छोडेर तत्कालिन समयमा आन्दोलन होमिए जसको कारण आज हामी यो स्थानमा पुग्न सकेका छौं ।’ उपसभामुख थापाले स्व. हेमबहादुर पुनमगरले सम्पूर्ण मगर जातिलाई एकतावद्ध भएर अगाडि बढाउन मगर संघको स्थापना गरेको बताए । ‘स्व. हेमबहादर पुनमगरले सम्पूर्ण मगर जातिलाई एकतावद्ध बनाउन २०३८ सालमा लाङघाली परिवार संघको स्थापना गर्नुभयो’, उनले भनिन् ‘मगरहरुको हकहित र सामाजिक परिवर्तनमा काम गर्दै आएको लाङघाली परिवार संघलाई मगर संघमा रुपान्तरण गरिएको छ जसको नेतृत्व समेत उहाँले नै गर्नुभयो जसको कारण हामी मगर जातिलाई फुटाउन केही तत्वहरु लागेका छन् जसबाट हामी बच्नु पर्छ ।’ कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठान–नेपालका संरक्षक, नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरका छोरा एवम् पूर्व मन्त्री उत्तमबहादुर पुनमगरले सामाजिक कार्यमा अग्रसर हुन स्मृति प्रतिष्ठान खोलिएको बताए । ‘अहिले देशमा धेरै नेता तथा व्यक्तिहरुको नाममा स्मृति प्रतिष्ठान स्थापना भएका छन्, यसैको शिलशिलामा हामीले पनि मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादर पुनको नाममा प्रतिष्ठान स्थापना गरिसकेका छौं, पुनमगरले भने, ‘सामाजिक कार्यक्रममा अग्रसर हुन र सम्पूर्ण मगर समुदायलाई एकतावद्ध बनाएर अगाडि बढाउन प्रतिष्ठान स्थापना गरेका छौं ।’ उनले पुनमगर र पुन जाति भनेर अलग हुन खोजको भन्दै जाति टुक्रिदा समुदाय नै कमजोर भएर जाने भकाले एकताबद्ध भएर अगाडि बढ्नसमेत सुझाब दिए । यस्तै नेपाल मगर संघका केन्द्रीय समितिका सल्लाहकार बालसिंह काउछामगरले स्व. हेमबहादर पुन प्रतिष्ठानलाई राज्यले सहयोग गर्न आवश्यक रहेको बताए । ‘स्व. हेमबहादुर पुनको योगदानलाई राज्यले उचित न्याय गर्नुपर्छ, हिजोका दिन बेलायत आर्मी र नेपाल पुलिसको जागिरबाट अवकाश लिइसकेपछि राणा शासन देखि जनताको हकअधिकारका लागि लडेका हुन् राज्यले सम्मान गर्नुपर्छ’, काउछामगरले भने । अर्का वक्ता नेपाल मगर संघका पूर्व केन्द्रिय महासचिव एवम् अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल मगर संघका केन्द्रिय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल मगर संघका केन्द्रिय सल्लाहकार एवम् नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष हर्कबहादुर पहरेपुनमगर र नेपाल मगर संघ गण्डकी प्रदेश समितिका अध्यक्ष तारामाया थापामगर लगायतले बोलेका थिए । कार्यक्रममा स्व. हेमबहादुर पुनमगरको योगदान र जिवनीसँग सम्बन्धित पुस्तक ‘ज्यूँदो इतिहास’ लेखक बालकृष्ण काउछा मगरलाई सम्मान गरिएको थियो । यस्तै हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालका महासचिव मेकबहादुर पुनमगरले स्व. हेमबहादुर पुनमगरको जीवनी प्रस्तुत गरे । कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठान–नेपालका अध्यक्ष संगिता पुनमगरको अध्यक्षता, नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरको स्वागत र सचिव लालबहादुर रानामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा: गण्डकी प्रदेशमा नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सपथ लिएकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई सोमबार सपथ खुवाएका हुन् । भण्डारीलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रजिस्ट्रारमा नियुक्त गरेको थियो । गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ । भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष हुन् । गण्डकी प्रदेश सरकारले आमसञ्चार सम्बन्धी व्यवस्था गर्नेबारेको कानुन निर्माण गरेपछि सोही कानुनको व्यवस्था अनुसार प्रेस रजिस्ट्रार नियुक्ति गरेको हो । प्रेस रजिस्ट्रारले प्रदेशमा आमसञ्चारको व्यवस्थापन र नियमनको काम गर्ने कानुनी व्यवस्था छ । प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाले दरखास्त दिएका थिए ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गर्नुभएको छ । महासभामा उठाइने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने उल्लेख गर्नुभयो । उहाँले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने “विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्या जे छन् र हाम्रो प्रयासमा अपुुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसङ्घमा राखिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल असल छिमेकीसम्बन्ध राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । हामी पनि छिमेकीप्रति त्यस्तै व्यवहार गर्छौँ । छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोच हुनेछ ।” प्रधानमन्त्री ओलीले आफूहरुले देश र जनताको लागि राजनीति गर्ने, आजका लागि र त्योभन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले महासभामा ‘फ्युुचर समिट’ मा सम्बोधन गरी मानवजाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको ‘इको–सिस्टम’बारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको बताउनुभयो । उहाँले अमेरिकामा रहँदा न्यूर्योकस्थित कोलम्बिया विश्वविद्यालय र बोष्टर्नस्थित हवार्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरुले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने स्पष्ट गर्नुभयो ।

