काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...

पोखरा:  नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको अध्यक्षमा किशोरप्रसाद गौतम सर्वस्म्मत चयन हुनुभएको छ  ।   संघको शनिबार सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।   संघको उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल चयन हुनुभयो ।   यसैगरी सदस्यहरुमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भीमसेन क्षेत्रीले जानकारी दिनुभयो ।   यसैगरी गण्डकी प्रदेशस्तरीय हेभी इक्युपमेन्ट अपरेटर संघको प्रथम भेलाले प्रेमबहादुर थापा(कास्की)लाई अध्यक्षमा चयन गरेको छ । नवगठित संघको प्रदेश समितिको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री(बाग्लुङ),महासचिव देवेन्द्र चोखाल(म्याग्दी) र कोषाध्यक्ष गुरुप्रसाद धमला(कास्की) चयन हुनुभयो ।   यसैगरी सदस्यहरुमा अवतार शर्मा(म्याग्दी),कुमार श्रेष्ठ(गोरखा), सुवोध गौचन(मुस्ताङ), हरिप्रसाद भुसाल(पर्वत), सन्दीप पौडेल(पर्वत) चयन हुनुभयो । प्रदेश समितिको विशेष सल्लाहाकारमा श्यामनन्द शर्मा र सुशील कुमार वाग्ले शर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।   यसअघि अधिवेशन तथा भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीका अध्यक्ष टंकराज बरालले निर्माण व्यवसायी र अपरेटहरुको सम्बन्ध नङ र मासुको जत्तिको रहेको चर्चा गर्नुभयो ।   अपरेटरहरुका समस्या समाधानका लागि संघ प्रतिवद्ध रहेको बरालले बताउनुभयो । “निर्माण व्यवसायी र अपरेट फरक हुन् भन्ने सोच्नु आवश्यक छैन । व्यवसायी र अपरेटर सँगै हिँड्ने छौँ ।” बरालले भन्नुभयो ।   नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले अपरेटहरुले व्यवसायीबाट पाउनुपर्ने पारिश्रमिक लगायतका समस्या भए संघमा जानकारी गराउन आग्रह गर्दै संघले २४ घण्टाभित्रमा समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघका पूर्व अध्यक्ष एवं भेलाका संयोजक सुशील वाग्ले, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्कीका सचिव भीम केसी, अटोवेज प्रालिका प्रेमराज पौडेल, कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलकप्रसाद रिमाल, अपरेटर संघ स्याङ्जाका अध्यक्ष म्याग्दी अध्यक्ष देवेन्द्र चोखाल, बाग्लुङका अध्यक्ष गणेश श्रेष्ठ, संघ कास्कीका सचिव किशोरप्रसाद गौतम, संघका सदस्य एवं कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेल, संस्थाका पूर्वउपाध्यक्ष एवं संघ कास्कीका सदस्य उमानाथ आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।   साधारणसभाका अवसरमा संघलाई सहयोग गर्ने सहयोगदाता तथा आजीवन सदस्यहरुलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । 

पोखरा:   नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा बल बहादुर रोकामगर सर्वसम्मत चयन भएका छन् ।   शनिबार भएको २० औं जिल्ला अधिवेसनबाट रोका मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।   सो समितिको उपाध्यक्षमा कवितामा घर्तिमगर, सचिवमा दिपाल थापा मगर, सहसचिवमा प्रमिला थापा मगर र कोषाध्यक्षमा इन्द्रा थापा मगर निर्विरोध चयन भए ।   यस्तै सदस्यहरुमा करण पुन मगर, जीत बहादुर राना मगर, मिलन रोका मगर, मनोज खासु मगर, अस्मिता बुढाथोकी मगर, विजय बरम मगर, गुँरास राना मगर, कृपा थापा मगर, विना पुन मगर, सृजना घर्ति मगर, लक्ष्मी थापा मगर, सविना सोती मगर, दिपिका पुन मगर, चन्द्र बहादुर रोका मगर र तविना सेरपुन्जा मगर चुनिए ।  

काठमाडौं:  दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’ ले केही हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ ।   आईएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीन हल, गोंगबुस्थित बीएसआर मुभिज, सामाखुसीस्थित क्यूएफएक्सको सिटी स्क्वायर हल र नेपालगञ्जको सिने रोयलमा हलमा फिल्मले शनिबार ५१ दिन मनायो ।   यो खुसीयालीमा निर्माताले शनिबार बेलुका समारोह आयोजना गरेका थिएँ, जहाँ केक काट्नेदेखि प्रदर्शनमा सघाउने सबैलाई सम्मान प्रदान गरियो ।   उक्त समारोहमा उपसभामुख इन्दिरा राना, कलाकार, निर्माता, निर्देशकसहित फिल्मको टोली सहभागी थियो ।     असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको पनि अभिनय छ । फिल्मले ५१ औं दिनसम्म साढे ५ करोडको व्यापार गरेको जनाइएको छ ।   फिल्म दुई करोड रुपैयाँको लागतमा निर्माण भएको हो । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित फिल्मलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

दमौली:  तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ ।   वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा दैनिक सर्वसाधारणको घुइँचो लाग्छ ।   स्वस्थ जीवनका लागि व्यायाम अतिआवश्यक रहेको र वडाले निर्माण गरेको खुला व्यायामशाला सर्वसाधारणको ध्यान खिच्न सफल भएको व्यास नगरपालिका–३ सिर्जनाटोलका त्रिभुवन श्रेष्ठले बताउनुभयो ।   स्थानीय प्रेमप्रसाद पौडेलले खुला व्यायामशालाको संरक्षण महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणको बाक्लो उपस्थितिले यसको संरक्षणमा चुनौती थपिएको छ । यहाँ टिकट प्रणाली लागू गरेर यसको संरक्षणमा ध्यान दिनुपर्छ ।”   शारीरिक स्फूर्ति र शरीरका लागि आवश्यक व्यायामका लागि बनाइएको खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।”   उहाँका खुला व्यायामशालामा बालबालिका, युवा र वृद्धवृद्धा व्यायाम गर्न आउने गरेका छन् । जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आकर्षण बढ्ने विश्वास गरिएको छ ।   रु १३ लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको हो । यहाँ विभिन्न १६ प्रकारका व्यायाम सामग्री जडान गरिएका छन् ।   व्यायामशाला क्षेत्रलाई सुरक्षित बनाउन तारबारसहित सिसी क्यामेरा जडान गरिएको छ । व्यायामशालाको नजिकै प्रसिद्ध व्यास गुफा क्षेत्र रहेकाले धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको वडा सदस्य दधिराज घिमिरेले बताउनुभयो ।

लेखनाथ नेवा: खलको आह्वानमा गगन नेवा खल:द्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ ।   शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवा: खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवा: खल तेस्रो तथा मिलीजुली नेवा: खल पोखरा–३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन् ।    प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुुनेले क्रमश: रु ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।   प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन  नेवा: खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बन्नुभयो भने वेशभूषामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवा: खलकी सोनिसा श्रेष्ठ पुरस्कृत बन्नुभएको छ ।   प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए ।    तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवा: खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताउनुुभयो ।   प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुुपर्नेमा जोड दिनुभयो ।    नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालकिा वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगन नेवा: खलका सचिव शरणकुमार प्रधानलगायतले तायमचाको सांस्कृतिक महत्वसँगै यसको जगेर्ना गर्नुपर्ने लगायतमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।  

काठमाडौँ:   स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।   यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ ।   शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

काठमाडौँ:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।   आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।   बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

म्याग्दी:    पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ ।   सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ ।   गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको पोखरेबगर–घोडेपानी सडकमा लुलिया, हल्लेखर्क र घोप्टेखर्कको पहिरो चुनौती बनेको छ ।   लुलिया र हल्लेखर्कमा साँघुरिएको र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर जिप, ट्रयाक्टर र मोटरसाइकल आवतजावत गरे पनि घोप्टेखर्कको पहिरोले घोडेपानी दुई महिनादेखि यातायात सम्पर्कबिच्छेद भएको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।   “गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीययाम सुरु हुन लागे पनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनौँ ।”   घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । लुुलियामा करिब ५० मिटर र हल्लेखर्कमा एक सय मिटर दूरीमा पहिरोसँगै सडक बगेको छ ।   लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन नसकेको अन्नपूूर्ण–६ बिरौटाका कृषक शिव खड्काले बताउनुभयो ।   बिरौटाको फार्मबाट पोखरेबगर जाने क्रममा शनिबार खड्का चढेको मोटरसाइकल लुलियाको पहिरोमा पल्टिएर करिब एक सय लिटर दूध, दही पोखिएको थियो ।   “साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर मोटरसाइकल र जिप उकाल्नुुपर्छ”, उहाँले भन्नुभयो, “याँ ठाउँमा ज्यानको माया मारेर सवारीसाधन चलाउनुपर्छ । यस ठाउँको सडकको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि बेवास्ता भएको छ ।”   अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर–चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।   अन्नपूूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का बासिन्दाका साथै घोडेपानी जाने आउने पर्यटकले यो सडक प्रयोग गर्छन् ।   वार्षिक ३० हजारजनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।   अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवातिलिजा पुनले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताउनुभयो ।   अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेटेर पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

फुङ्लिङ:   लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ ।   किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो । धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो ।   यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर, आधुनिकताको प्रभाव र समयको परिवर्तनसँगै धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ ।   धाननाच स्तम्भ निर्माण गर्न करिब रु ५० लाख लाग्ने किरात याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो ।   लाखे जात्राका अवसरमा यो निर्माण कार्य सुरु गरिने छ । “तोक्मेडाँडाको भित्तामा निर्माण गरिने उक्त स्तम्भको पछाडिपट्टि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य समावेश गरिने छ”, उहाँले भन्नुभयो ।   स्तम्भको अगाडि धाननाच प्रस्तुत गर्दै गरेका दुई पुरुष र दुई महिलाको आकृति राखिने छ । प्रत्येक आकृति ६ फिट अग्ला हुनेछन् । यसले धाननाचको मौलिकतालाई प्रदर्शन गर्नेछ ।   धाननाच स्तम्भ निर्माण गर्न रु ३२ लाखमा स्थानीय कालीगढसँग समझदारी भएको अध्यक्ष मेन्याङबोले बताउनुभयो ।   स्तम्भ निर्माणस्थल वरिपरि सिँढी बनाइनेछ र घेराबेरा गरेर स्थललाई आकर्षक बनाउन अतिरिक्त संरचना थपिनेछन् ।   किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार, स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक सम्पदाको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने छ ।   “स्तम्भ चार महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । यसअघि पनि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याबु्रङ स्तम्भ बनाइएको थियो ।   धाननाच, लिम्बू समुदायको महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो । यो विशेषगरी वैवाहिक क्रियाकलापमा नाचिन्छ ।