म्याग्दी:   म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं-२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन्। यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा...

गोरखा:    गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए ।  भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो ।  पहिराले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे । पहिराले सिङ्गो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ ।  पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेकाहरू पुरानै थाकथलोमा फर्किन थालेको स्थानीयवासी सुकबहादुर तामाङले बताउनुभयो । “पहिरोले गाउँले सबै तितरवितर भएका थिए”, उहाँले भन्नुभयो, ‘‘अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन्, यो वर्षदेखि बल्ल अलि ढुक्क भएको छ ।” जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षरोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ्ग गुरुङले जानकारी दिनुभयो । पहिरो नियन्त्रण भएपछि गाउँ छाडेर बसाइँ गरेकाहरू अहिले गाउँमै फर्किएको उहाँको भनाइ छ । अहिलेसम्म पहिराले विस्थापित भएका छ घरपरिवार गाउँ फर्किसकेको गुरुङले जानकारी दिनुभयो । “पहिरोले गाउँ नै लैजान थालेपछि परिवार नै गाउँ छाडेर बसाइँ सरेका थियौँ । नजिक बस्ने ठाउँ थिएन, घरवरपर जताततै पहिरोको त्रासले झण्डै चार वर्ष चितवनमा गएर बसे पनि पहिरो रोकिएपछि गाउँ फर्किएका छौँ”, पहिरोबाट विस्थापित हुनुभएका स्थानीय शेरबहादुर गुरुङले भन्नुभयो । पहिरो नियन्त्रण भएसँगै गाउँमा ढुक्कले बस्नसक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।    पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेका क्षेत्रमा गाउँलेहरूले पशुवस्तु चरनमा समेत पूर्ण रूपमा रोक लगाएका छन् । पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आयआर्जन गर्ने लक्ष्यसमेत लिएको उहाँको भनाइ छ । गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्णचेतावनी प्रणाली जडान भएकाले स्थानीयले सुरक्षित महसुस गर्न थालेका छन् ।

काठमाडौं:    यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो ।   उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ ।  उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ ।   उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।  मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।   मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।  आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहनेगरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।

लमजुङ:    बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ । बाइसे/चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माणले गति लिन नसक्दा लमजुङवासी चिन्तित बनेका छन् । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्यसम्पन्न हुन सकेन ।  तेस्रो वर्ष लाग्यो तर काम भएको छैन । “हामीले निर्माणकार्य नभएपछि गत दसैँपछि काठमाडौँ पुगेर पुरातत्व विभाग र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीयसचिवलाई भेटेर आवश्यक बजेटको व्यवस्थापनका लागि आग्रह गरेका थियौँ तर पनि काम सुरु हुनसकेको छैन”, उहाँले भन्नुभयो,“यहाँ दरबारसँगै मन्दिर पनि निर्माण भइरहेको छ, समयमा सकिएन, मान्छेको आस्था घट्यो, काममा ढिलाइ हुँदा स्थानीय बेखुसी छन् ।” स्थानीय सुरेश श्रेष्ठले धार्मिक तथा एतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनःनिर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताउनुभयो ।  वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माणकार्य ढिलाइ भइरहेको र हालसम्म कामसुरु नभएको बताउनुभयो ।  “दरबार निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ । यसअघि गरेको काम पनि सो बेलाको ठेकदारले गुणस्तरीय काम नगरेको गुनासो छ । यस विषयमा गुनासो गरे पनि विभागले ध्यान दिएको छैन”, उहाँले भन्नुभयो । पुरातत्व विभागका अनुसार दरबार पुनःनिर्माणमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।  विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार अघिल्लो आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्याएको थियो ।  पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस÷विष्णु जेभीले दरबार पुनःनिर्माणको जिम्मा पाएको थियो । इन्जिनियर अधिकारीले चालु आवका लागि रु ५५ लाखमात्र बजेट रहेको बताउनुभयो । बजेट अभावका कारण निर्माणकार्य लम्बिरहेको र यस वर्षको बजेटले पनि निर्माण सम्पन्न नहुने उहाँको भनाइ छ ।  “बजेट निकासा, किस्ता किस्तामा बोलपत्रलगायत प्रक्रियाका कारण यस वर्ष यतिका महिनासम्म निर्माण कार्यले गति लिन सकेको छैन । बोलपत्र प्रक्रियामा गइसकेको र आधिकारिक रूपमा बोलपत्र परेको कम्पनीको नाम आउन बाँकी रहेकाले पनि केही समय लागको हो । अब केही समयमा बोलपत्र परेका ठेकेदारसँग सम्झौता गरेर ठेकेदारलाई ल्याएर हेर्न आउँछौँ अनि करिब एक महिनापछि काम सुरु गर्छौँ, हालको बजेटको काम सुरु गरेको करिब तीन महिनाभित्रमै काम सम्पन्न हुने हाम्रो विश्वास छ”, इ अधिकारीले भन्नुभयो ।    पुरानै शैली र स्वरूपमा दरबारको पुनःनिर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ ।   दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर चाँडो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ । 

लमजुङ:   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस–एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको बताउनुभएको छ ।       लमजुङ सुन्दरबजार नगरपालिका–५ गहतेमा आज गहते कालिका मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले विगतमा पटक–पटक सरकार परिवर्तन भएकाले विकास हुन नसकेको, त्यसले जनतामा निराशा छाएको र अहिलेको सरकारले आशा जगाएको बताउनुभयो ।      संविधानमा दिएको अधिकार कागजमा मात्र सीमित भइरहेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले संविधानमा उल्लेख गरिएका हकअधिकार सुनिश्चित गर्न सरकार लागिरहेको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य, शिक्षा, यातायात, खानेपानीजस्ता आधारभूत सेवामा सबै जनताको पहुँच पुग्नेगरी काम गर्न सरकार लागिपरेको बताउनुभयो ।       सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले तत्कालै विकासको अनुभूति गराउन नसकिए पनि दुई पार्टीको सरकार आगामी साढे तीन वर्षसम्म रहने र सो अवधिभित्र जनताले केही न केही अनुभुति पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने एवं बेरोजगारीको समस्यालाई विस्तारै हटाउँदै जानेगरी सरकार अघि बढेको स्पष्ट पार्नुभयो ।       आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा गरीबमुक्त प्रदेश, घरघरमा खानेपानी, बिजुलीको उपलब्धता, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, स्मार्ट कृषि अभियान, तीन सयभन्दा बढी घरवासलगायत कामले तीब्रता पाएको उल्लेख गर्दै मन्त्री गुरुङले धेरै राम्रो काम गर्ने सोचका साथ विभिन्न अभियान सुरु गरे पनि अस्थिर राजनीतिका कारण सरकारको कामले गति लिन नसकेको स्मरण गर्नुभयो । उहाँले पाँच वर्ष नै मुख्यमन्त्री बनेर काम गर्न पाएको भए प्रदेशले काचुली फेरी सक्ने दाबी गर्नुभयो ।      सरकार गाउँगाउँमा विकास गर्न लगेपनि बसाइँ सराइ नरोकिएको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “बसाइँ सराई आजको समयको माग हो, आज कसैले रोकेर रोकिँदैन । पहिलाभन्दा अहिले धेरै विकास भए पनि विकासको तृष्ण र अनुभव पुगेको छैन ।” 

पोखरा:    युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपका लागि छनोट हुन सफल नेपाली टोलीमा आबद्ध गण्डकी प्रदेशका खेलाडीलाई पोखरामा स्वागत गरिएको छ । प्रादेशिक क्रिकेट संघ, प्रदेश खेलकुद परिषद्ले उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एक ¥यालीसहित पोखरा रंगशालामा स्वागत गरेका थिए । उनीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीसहित विभिन्न खेल संघ र खेलाडीहरुले रंगशालामा स्वागत गरेका थिए । यु १९ राष्ट्रिय टिममा गण्डकीबाट सिमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सिनिका मरासिनी सहभागि थिए । उनीहरुले विश्वकप छनोट खेलमा उत्कृष्ट प्रदर्शनी समेत गरेका थिए । गत बुधबार युएईको अजमानमा बुधवार घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ ।

सिन्धुपाल्चोक:    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताउनुभएको छ ।        जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राख्नुभएको हो ।       थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रहसमेत गर्नुभयो । उहाँले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताउनुभयो ।       महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउँदै कृषि क्षेत्रको विकास नभई देश समृद्ध नबन्ने बताउनुभयो । 

गलकोट:     नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोपकारी काम उदाहरणीय रहेको बताउनुभएको छ । उहाँले नेपालको आर्थिक विकासमा लायन्स र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्न आफू इच्छुक रहेको बताउनुभयो ।       बागलुङमा आज आयोजित लायन्स डिस्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भूकम्प, बाढीपहिरोजस्ता विपद्मा लायन्सको परोपकार प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले आर्थिक विकासमा लायन्ससँग निजी क्षेत्रले मिलेर काम गर्दा धेरै जनतालाई रोजगारी सृजना गर्न सकिने बताउनुभयो ।      लायन्सका सदस्यलाई उत्पादनसँग जोड्ने र निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई लायन्ससँग जोड्दै परोपरकारी बनाउन आवश्यक रहेको ढकालको भनाइ छ ।  “परोपरकार क्षेत्रमा लायन्सको बढी भूमिका देखिएको छ, अब लाइन्स निजी क्षेत्रसँग जोडिएर उत्पादनमूलक कार्यमा लाग्न आवश्यक छ, जनतालाई उद्योगसँग जोड्का लागि १० अर्ब लगानीको नेपाल पब्लिक डेभलपमेन्ट कम्पनी स्थापना गरेका छौँ, जनता मालिक बन्ने यो सुनौलो अवसर हो, लायन्सका मित्रहरू आउनुहोस् सहकार्य गरौँ, देशको आर्थिक अवस्था उकासौँ”, अध्यक्ष ढकालले भन्नुभयो ।       व्यवसायलाई एकीकृत गर्न सकेमा ठूलो उपलब्धि हासिल हुने भन्दै पछिल्लो समयमा निजी क्षेत्रका व्यवसायहरू एकीकृत ढङ्गले सञ्चालनमा आउन थालेको ढकालले बताउनुभयो । जिल्ला जिल्लामा गरिने क्याबिनेट बैठकले पर्यटनको विकाससँगै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।       दोस्रो क्याबिनेट बैठकमा देशभरका एक हजार सदस्यहरूको उपस्थिति रहेको डिस्ट्रिक मलिन थापाले जानकारी दिनुभयो । 

काठमाडौं:    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाइने बताउनुभएको छ ।       माओवादी केन्द्र काभ्रे–काठमाडौँ सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनःआवश्यक भएकामा जोड दिनुभयो ।      “हामीले संविधान जारी हुँदा जे ‘नोट अफ डिसेन्ट’ लेखेका थियौँ, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगतको अनुभवले देखाइसकेको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ योपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने सङ्कल्प लिएको छु ।” उहाँले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहित नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गर्नुभयो ।      पार्टी छाडेर बाहिर बसेका पूर्वसहकर्मीलाई गोलबन्द गरी समाजवादी अभियान अघि बढाउन सकारात्मक पहल भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “छिट्टै माओवादी धाराहरू एकताबद्ध हुनेछन्  र शक्तिशाली माओवादी आन्दोलन फेरि सृष्टि हुने छ ।”      आफूले नेतृत्वले गरेको पहिलो सरकारले भौतिक पूर्वाधारका रुपमा मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण कोरिडोर निर्माणको थालनी गरेको, गरिब किसानको ऋण मिनाहा गरेको, दोस्रो कार्यकालमा मुलुकलाई लोडसेडिङबाट मुक्त गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा थालनी गरिएका सुशासनको अभियान अब निरन्तर अघि बढ्ने स्पष्ट पार्नुभयो ।      माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालले सबै मित्र राष्ट्रसँग समदूरीको सम्बन्ध राखेर जान सक्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले नेतृत्वको पूर्ववर्ती सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा महत्त्वपूर्ण फड्को मारेको जिकिर गर्नुभयो ।

काठमाडौं:    आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।  निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।        आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।        राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालयमहाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।        यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ ।        आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।         “निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवम् नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रुपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुनेमा आयोग विश्वस्त छ”, प्रवक्ता पोखरेलले भन्नुभयो ।        आचारसंहिता विपरीतका कार्य भएरगरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ ।        यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने आयोगले जनाएको छ ।  विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकरएक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।