पोखरा: पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० बट्टा सलाईको काँटी प्रयोग गरेर पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएका परियारको गण्डकी मेडिकल कलेज पोखरामा उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरण लगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज एमाले पार्टी कार्यालयल निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा लिएर काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म निवेदन दाबी बमोजिम विपक्षीहरूबीच निवेदनमा उल्लेखित मिति २०८१ आसोज २५ मा दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा दान लिइ हक हस्तान्तरणलगायत काम कारबाही नगर्नु नगराउनु ।” आदेशमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ (३) र ३८ (६) को व्यवस्था अनुकूल नदेखिनुका साथै सोही ऐनको दफा ३८(५) मा भएको आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्न हुँदैन भन्ने कानुनी व्यवस्था तथा सत्तामा रहेको दललाई फाइदा हुने, पारदर्शिता नहुने, निर्वाचन लगायत प्रक्रियाहरू प्रभावित हुने उल्लेख छ । व्यवसायी गुरुङले एमालेलाई जग्गा दान दिने निर्णय बदर गर्न माग गर्दै अधिवक्ता डा। ज्ञानबहादुर बस्नेतले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो । अदालतले यही कात्तिक २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पत्ति र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास समेत गरिसक्नुभएको थियो । अदालतको आदेशसँगै एमालेको पार्टी कार्यालय निर्माणको काम तत्कालका लागि रोकिएको छ ।
काठमाडौं: आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता– २०८१को उपाधि गण्डकी प्रदेश प्रहरीले हात पारेको छ । आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधि हात पारेको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यही कात्तिक ७ गतेदेखि सुरु प्रतियोगिताका विजेता खेलाडी तथा अफिसियलहरुलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, सहभागी टिमलाई मायाको चिनो, निर्णायकहरु एवं प्रतियोगितामा सहयोग पु¥याएकाहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विधामा प्राप्त ख्याती तथा प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाइ हासिल गरेको सफलता प्रशंसनीय रहेको बताउनुभयो । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद रु एक लाख एक हजार र रु ५१ हजार एवं ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । सर्वोत्कृष्ट हुने खेलाडीलाई रु १० हजार पाँच सय ५५ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु सात हजार पाँच सय ५५ प्रदान गरिएको छ । उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही कात्तिक १४ गते हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शक रङ्गशालाको क्षमताभन्दा बढी भएको र खेलाडी एवं दर्शकको सुरक्षाको लागि तत्कालको लागि टिकट बिक्री गर्न स्थगन गरेको एन्फाको भनाइ छ । साफको टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले दोस्रो सेमिफाइनल खेलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यस विषयमा सत्यतत्य बुझेर मात्र टिकेटिङको व्यवस्था गरिने एन्फाले जनाएको छ । “नेपाल र भारतबीचको खेलमा सङ्घसँगको सम्झौता विपरीत रङ्गशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको छ । त्यसैले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्नरनगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ,’ एन्फाद्वारा आज जारी प्रेस विज्ञपप्तिमा उल्लेख छ । यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जबाफदेही नहुनेसमेत एन्फाले जनाएको छ । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल यही कात्तिक १४ गते साँझ ६ः३० बजे हुने तय भएको छ ।
अर्घाखाँची: अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् । सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग निवासी दीपक केसीको घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । बिरामीहरूमा झाडापखाला, बान्ता , ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनुभयो । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड पोइजन’ का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ । बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय पारी खेल्दै नटआउट रहे । ११९ बलमा ८ चौका र २ छक्का समेत प्रहार गरे । यस्तै कृष्ण पौडेल २७ रनमा नटआउट रहे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । विमल विक्रम खत्रीले ६९ रनको योगदान दिदै आउट भए । उनले ६६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । नविन पोख्रेल ५, निर्मल क्षेत्री १६, अस्विन अधिकारी १ रनमा आउट भए । पोखराका लागि देव शाहले १० ओभरमा ४६ रन खर्चदै सर्वाधिक ३ विकेट लिए । अमन सुवेदीले १ विकेट लिए । त्यस अघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिको निम्तो पाएको पोखरा क्रिकेटले ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन बनायो । पोखराका लागि सुवाष भण्डारी ८८ रनमा नटआउट रहे । उनले १०५ बलमा ९ चौका र १ छक्का प्रहार गरे । ओपनर मुस्कान थापाले ३२ रन जोडे । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अर्जुन बुढाथोकी ११, रोशन पौडेल १३, मनिस भण्डारी ४, अनिस खड्का २, इशान श्रेष्ठ १८, देव शाह १० र विजय राउत ६ रनमा आउट भए । अमन सुवेदी २ रनमा नटआउट रहे । राइजिङका लागि अन्जन केसीले १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । समिर भुजेलले १० ओभरमा ४३ रन खर्चेर २ तथा कृष्ण पौडेल र सविन खत्रीले समान १÷१ विकेट लिए । पोखरा क्रिकेट क्लबका सुवाष भण्डारी प्लेयर अफ द सिरिज घोषित भए । उनले जारी प्रतियोगितामा कुल ९ अंक बटुल्दै सर्वोत्कृष्ट घोषित भएका हुन् । उनले कुल चार खेलमा ८ विकेट लिए भने १२० रन बनाए । यस्तै राइजिङका अनिल गुरुङ उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले चार खेल खेल्दै कुल १९१ रन बनाए । उनी फाइनल खेलको म्यानअफ दि म्याच समेत घोषित भए । पोखराकै देव शाह उत्कृष्ट बलर घोषित भए । उनले कुल चार खेलमा १४ विकेट लिए । उनीहरुले ट्रफी हात पारे । कात्तिक १ गतेदेखी प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरामा अब राउन्डरोविन लिग खेलाउने प्रयास गर्ने बताए । जारी प्रतियोगितालाई हेर्दा समेत क्लबहरुले पहिलो खेल भन्दा त्यसपछिका खेलहरुमा राम्रो गरेका कारण क्रिकेटको विकासका लागि लिगको आवश्यकतालाई मध्येनजर गरेको सुनाए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगिताको पुरस्कार वितरण समारोहमा प्रदेश खेलकुद परिषदका वोर्ड सदस्य ऋषि गौतम, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, सदस्य राजन वडगामी, गण्डकी अञ्चलका पूर्व कप्तान रविन्सन प्रजु, विग्नेश थापालगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव विरेन्द्र पुनले गरेका थिए ।
काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी ९धनतेरस० पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।
पोखरा: पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत रहेको कोईली ट्राभल्सले पोखराको हेमजाबाट भक्तपुरसम्म सुविधायुक्त बस सञ्चालनमा ल्याएको छ । ट्राभल्सले आजदेखि पोखराको हेमजाबाट पोखरा पर्यटन बसपार्क हुँदै २ वटा सुविधायुक्त बस सञ्चालनमा ल्याएको हो । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक एवम् जगदम्बा ट्राभल्सका सञ्चालक केशवराज अधिकारीले ट्राभल्सले आजदेखि सञ्चालमा ल्याएको पोखरा–भक्तपुर बस सेवाको शुभारम्भ गरे । बस सेवाको शुभारम्भपछि बोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक एवम् जगदम्बा ट्राभल्सका सञ्चालक केशवराज अधिकारीले समय अनुसार यात्रुहरुलाई सेवा दिने उद्धेश्यले सुविधायुक्त बसहरु सञ्चालमा आइरहेको बताए । ‘कुनै समय बस व्यवसायीहरुले यातायात क्षेत्रमा सिन्डिकेट लगाए भन्ने आरोप पनि लगाए, चुहिने भाचिएको सिट भन्ने लगायतका आरोप खेप्दै व्यवसायमा अगाडि बढ्यौ’, अधिकारीले भने, ‘अहिले समयमको माग अनुसार राजमार्गमा व्यवसायीहरुले सुविधायुक्त बसहरु सञ्चालन ल्याइरहेका छौं ।’ उनले सुविधायुक्त बसहरु सञ्चालमा ल्याएपनि सडका कारण व्यवसायमा चुनौती थपिएको बताए । ‘यातायात व्यवसायीहरुमा अहिले सडक र मौसमका कारण चुनौती खडा भइरहेको छ’, उनले भने, ‘चुनौतीकाबीच व्यवसायीहरुले यात्रुहरुलाई सहज रुपमा सेवा दिन सुविधायुक्त बसहरु सञ्चालनमा ल्याएका छन् । व्यवसायी अशोक कुमार चौधरी र मेघराज त्रिपाठीले कोईली ट्राभल्सबाट २ वटा सुविधा युक्त बसको सेवा सुभारम्भ गरेका हुन् । बसमा २१ वटा सोफासहितको र ८ सिल्परसहितको सिट रहेको छ । पोखरा–भक्तपुर र भक्तपुर–पोखरा एक जनाका लागि १ हजार ६ सय रुपैयाँ भाडा निर्धारण गरिएको बसमा यात्रुका लागि खाजा, चियाको सेवासमेत रहेको सञ्चालक अशोक कुमार चौधरीले बताए ।
पोखरा: गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह त मिल्छ नै, सँगै देशको अर्थतन्त्रलाई पनि टेवा पुर्याउँछ ।’ नजिकिदै गरेको फूलहरु समेतको पर्व तिहारमा पनि देशमा उत्पादीत फूलको प्रयोग गर्न उनको सुझाव छ । ‘देशको उत्पादनले मात्रै फूलको माग धान्न सक्ने अवस्था अहिले छैन । केहि समय अघिको वर्षाले पनि यसको खेतीमा असर गरेको छ । तर मिलेसम्म, उपलब्ध भएसम्म तिहारमा देशमै फूलेका फूलले शुभकामना र आशिष दिऔँ’ मन्त्री श्रेष्ठले भनिन् । आज कात्तिक १२ देखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको प्रर्दशनी तथा मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ ।